अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

कतारमा जारी विश्वकप अन्तर्गत शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । दाेहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । जारी विश्वकपमा नेदरल्याण्ड्सका लागि कुनै पनि खेलमा पहिले गोल गर्दै अग्रता दिलाउन कोडी गाक्पो पछि दोस्रो खेलाडी बने । समूह चरणको तीनवटै खेलमा गाक्पोले पहिले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । यस्तै अमेरिकाले ओपन प्लेमा गोल बेहोरेको पहिलो पटक हो । समूह चरणमा वेल्स विरुद्ध १-१ बराबरी हुँदा अमेरिकाले पेनाल्टीमा गोल खाएको थियो ।

पहिलो हाफमा नेदरल्याण्सले २ सट अन टार्गेट राख्दै २ गोल गर्न सफल हुँदा अमेरिकाले २ सट अन टार्गेट हाने पनि गोल गर्न सकेन । पहिलो हाफको इन्जुरी टाइममा डाले ब्लिन्डले पेनाल्टी बक्सबाट डमफ्राइसकै पासमा गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे ।४२औं मिनेटमा अमेरिकाको टिमोथी वेहले पेनाल्टी बक्स बाहिरबाट हानेको लङ सट डच किपर नोपर्टले बचाए । नेचुरल सेन्टर फरवार्ड बिना मैदान उत्रेको अमरिकाले पाएको अवसर सदुपयोग गर्न सकेन । दुई गोल खाए पनि दोस्रो हाफमा अमेरिकाले सुरुवातदेखि नै नेदरल्याण्ड्समाथि दबाब बनाएको थियो । ४९औं मिनेटमा अमेरिका गोल नजिक पुगेको थियो । तर रियमको प्रहार नेदरल्याण्ड्सका गाक्पोले गोल लाइनबाट बचाएको थियो । दोस्रो हाफको सुरुवाती केही मिनेटपछि अमेरिका सुस्त बन्यो भने नेदरल्याण्ड्सले आक्रमक गर्न थाल्यो । ६१औं मिनेटमा नेदरल्याण्ड्सका डिपाएले पेनाल्टी बक्सछेउबाट प्रहार गरेको बल अमेरिकन किपर म्याट टर्नरले उत्कृष्ट फिंगरटिप सेभ गरेका थिए ।

७१औं मिनेटमा नेदरल्याण्ड्सले दुई अवसर सद्पयोग गर्न सकेन । दुवै प्रहार अमेरिकी गोलकिपर टर्नरले बचाए । ७५ औं मिनेटमा अमेरिकालका हाजी पाइटले गोल गर्ने अवसर गुमाए । ७६औं मिनेटमा उनै राइटले क्रिस्टियन पुलिसिचको पासमा गोल फर्काउँदै अमेरिकालाई खेलमा सम्भावना कायम राखेका थिए । तर, ८१औं मिनेटमा डेन्जल डमफ्राइसले गोल गर्दै नेदरल्याण्ड्सलाई ३-१ को अग्रता दिलाए भने अमेरिकाको खेलमा फर्कने सम्भावना सकियो । ८३औं मिनेटमा डिपाएको स्थानमा मैदान प्रवेश गर्दै युवा स्टार जाभी सिमोन्सले नेदरल्याण्ड्सका लागि डेब्यु गरे ।