मङ्सिर महिना प्राय बिहे भोजमा व्यस्त तर हामी ह्याप्पी हाईकर्स समुह भने प्रकृतिको सामिप्यता खोज्न चन्द्रागीरीलाई गेटवे बनाएर पदयात्रा तर्फ लाग्यौ । स्वच्छ प्रकृतिमा रम्न काठमाडौंबासीका लागि चन्द्रागिरि गजबको गन्तब्य हो । ऐतिहासिक–धार्मिक रुपमा समेत महत्वपूर्ण चन्द्रागिरिमा अनेक गन्तब्य छन्, जुन एकै दिनमा घुमेर सकिन्न । एकाबिहानै २० जाना पदयात्रीलाई बटुलेर हामी थानकोटको गोदाम पुग्यौ । गोदाम पुग्दा ७ बजेकै थिएन एकछिन् यता उता अलमल गरेर ७ बजे हिड्न सुरु गर्यौ । थानकोटको कोलाहललाई पछि छाडेर गोदाम पुगेपछि प्रकृतिको समिपता हुनथाल्छ । ४,५ वटा घर भएको छेउबाट हिड्दै माथी सडकमा पुग्यौ । अनि आयो पुर्खाले हिडेको पदमार्ग । केवलकार बनेपनि चन्द्रागिरि डाँडासम्मको पुरानो पैदलमार्ग बन्द भएको छैन । पैदल यात्रीहरुका लागि यो गजबको रुट हो ।
यो पदमार्गले पनि काचुली फेरेछ । मार्गमा आधुनिक बिकास पुगेछ । सिमेन्टको सिढी बनेछ । पहिले भन्दा हिड्न निकै सहज भयो । समय पनि कमलाग्यो । जंगलको बिचमा भए पनि झाडीबाट बेला बेलामा टुपलुक्क हिमाल देखिन्थो । हामी रमाउथ्यौ । हिमाल हेर्ने रहर कहिल्यै नपुग्ने हामीलाई । लेकाली जंगलको खोँचखोँचबाट आक्कल झुक्कल शहरी दृष्य हेर्दै उकालो लाग्दा बाटो कटेको पत्तै हुँदैन । विश्राम गृह पनि बनेछ । पानी पर्दा ओत लाग्न र थकाई मार्न पनि सजिलो भयो । करिव २ घण्टाको उकालो बाटो पच्छ्याउँदा ४ किलोमिटर यात्रा गरियो । पसिना निकाल्ने उकालो हिँडाइ भयो । थाकियो पनि । हिमाल हेर्दै उक्लिन पाएकाले आनन्द पनि भयो ।
चन्द्रागिरि भञ्ज्याङ पुगेपछि दायाँतर्फ चित्लाङ जाने ओरालो बाटो छ । भालेश्वर मन्दिर जाने बाटो बाँयातर्फ सोझिन्छ । त्यहाँबाट केवलकारको माथिल्लो स्टेशनसम्म व्यवस्थित पदमार्ग बनेको छ । भञ्ज्याङबाट करीव आधा घण्टामा भालेश्वर पुगिन्छ । पश्चिम लागे तोप्लांग पुगिन्छ । तोप्लांग जाने बाटो पनि निकै सजिलो बनेको छ । पहिला पहिला यहि भन्ज्यांग हुदै काठमाडौका मान्छे तराई झर्थे । त्यतिवेला गोदाम व्यापारिक नाका थियो ।
ऐतिहासिक महत्त्वका हिसाबले पनि चन्दागिरी निकै महत्त्वपूर्ण स्थान हो । नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए । उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ । शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिरको उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको छ । उहिल्यै समुद्र मन्थनको बेला महादेवले विस सेवन गरेपछि उनलाई धेरै डाहा भयो । उनी भौतारिदै यहा आईपुगेछन् । छेउकै डाडामा त्रिसुल गाड्ने प्रयास गरेछन् । त्रिशुल गाडिएन । उनी क्रोधित भए ।” कस्तो चण्डालगिरी रहेछ” भन्दै त्यहाबाट हिडेछन् । पछि चण्डालगिरी अपभ्रंस भएर चन्द्रागिरी भएको जनश्रुति छ ।
चन्द्रागिरी भन्ज्याङबाट भने चिसो शुरु हुन्छ । छिनछिनमा मौसम परिवर्तन भएको अनुभव यो यात्राको रमाइलो पक्ष हो । भन्ज्याङमा सुस्ताउँदै उत्तरतिर पूर्वपश्चिम फैलिएको हिमालय पर्वत श्रृङ्खला नियाल्दा अविष्मरणीय शितलता अनुभव हुन्छ । सिरसिर शितल हावा चलिरहने डाँडाबाट सेताम्य हिमश्रृङ्खला, हरिया पहाडी छटाका साथै काठमाडौं खाल्डोमा उम्रेको कंक्रिटको सहर नियाल्नुको आनन्द पाइन्छ । भन्ज्याङबाट सगरमाथा, गौरिशंकर, लाङटाङ, दोर्जेलाक्पा र गणेश हिमाल देखिन्छ । पूर्वतर्फ तलतिर काठमाडौं उपत्यका गोचर हुन्छ । पश्चिम र दक्षिणतर्फ मकवानपुरसहितको चित्ताकर्षक पहाडी दृष्य आखाँमा ठोकिन्छ ।
यसपटकको हाम्रो यात्रा भालेश्वर नभएकाले हामी त्यहा केहिबेर आराम गरेर पश्चिमतिरको बाटो समायौ । हामीलाई तोप्लांग जानु थियो । यो चन्द्रागिरी चेपांगहिल महाभारत पदमार्ग भित्रको बाटो थियो । चेपांग हिल पुग्ने उदेश्य यसपटक नरहे पनि त्यो मार्गको एउटा खण्डमा आज हामी हिडिरहेका थियौ । घना जंगल बिचको बाटो भएकाले निकै शान्त थियो । खुल्ला आकाश,शिरशिर हावा,हरियाली वातावरण,आखै अघि हामीलाई नै एकनाशले हेरिहरेको डाडाँ,मानौँ बर्षौ देखि हामिलाई नै पखिरहेको छ । त्यसैले हामी पनि ढिला नगरी फटाफट,अघि बढ्यौ । सुरुवाती यात्रा सहज नै थियो ।
करिव २ घण्टा हिड्दा पनि कुनै बस्ती भेटिएन । बाटो अधि बढिरहेको थियो । बिच बिचमा साना ठूला चौरहरु पनि भेटिन्छन् । तिनै चौरमा आराम गर्दै हिड्दा बाटो काटेको पत्तै भएन । एउटा डाडो पुरै काटेर अर्को डाडोमा पुगेपछि प्रकृतिले आफ्नो बिराट रुप देखाईन् । बरिपरी अझ धेरै हिमाल देखिन थाले । धौलागिरीदेखि मकालु बरुणसम्ममा हिम श्रंखला देखिए । पारिलो घाम ताप्दै हिड्नुको मज्जा शब्दमा लेख्नै सकिएन । बहुत आनन्द आईरहेको थियो । पहाडको माथी थाप्लोको बाटो भएकाले वरिपरिका गाउघर र हिमाल हेर्दै हिड्नुको बयान कसरू गरौ खै! कुनै शब्द नै छैन । वरिपरी पहाडको घेरो, साथमा सेताम्मे हिमश्रृखला त्यहाँबाट स्पष्ट देखिने धुनवेसी निकै सुन्दर थियो । अझ हामी २० थरीमा मान्छे, केहीलाई भेट्न गाह्रो निकै अघि केहीलाई पर्खिनुपर्ने निकै पछि तर मनमा भने साहस थियो,एक अर्काको साथ थियो र गन्तव्य पुरा गर्ने अठोट ।
चित्लांगलाई दक्षिण पारेर डाडाबाट रमणिय गाउ हेर्दै हामी धुलौटे बाटोमा हिडिरहेका थियौ । बाटोको दुवै साईडमा हरियो जंगल, मन्द मन्द हावा, पारिलो घाम अनि हामी २० पदयात्री अनि अलि पर तोप्लांग गाउको भ्युटावर पृष्ठभूमीमा हिमालको लस्कर हामी निकै रमायौ । मौसमले गज्जब साथ दिएको थियो । फोटो खिच्दै हामी लम्कीरहेका थियौ । हल्का भोक पनि लागेको थियो । चारैतिर हरिया डाडाले घेरेर राखेको धादिंगको सुन्दर गाउ तोप्लांगमा हाम्रो लागि खाजा पाकिरहेको थियो । हिमालको फेरो हेर्दै हामी गाउतिर झर्दै थियौ ।
भ्युटावर बनाएको ठाउ निकै आकर्षक चौर रहेछ । ठ्यक्कै तोप्लांग माथी रहेको । टावरले त्यो ठाउको शोभाभन्दा पनि कुरुपपन देखाईरहेको थियो । टाउर नै नचाहिने ठाउमा किन बनाएको होला भन्ने कुरा मनमा खेलिरहयो । डाडा आफैमा टावर हो त्यसलाई राम्रो बगैचाको रुपमा बिकास गरिदिएको भए निकै राम्रो हुन्थ्यो । तर के गर्नु जिम्बेवार निकायका मानिसलाई टावरको भुत सवार भएछ । टावर पनि अपुरै रहेछ । ढोका बन्द त्यहा आएका मानिसहरु झ्यालबाट टावर चढ्दा रहेछन् । यो दृश्य आफैमा हासउठ्दो लाग्थ्यो । तल नौबिसे बजार हेर्दै हामी तोप्लांग गाउ झर्यौ । गाउको एउटा घरमा हाम्रो लागि खाजा तयार थियो । घर खोज्दै हामी त्यहा पुग्यौ । नोर्वु लामाको घरमा रहेका दाजुभाइ र दिदि बहिनीहरुले हामीलाई निकै राम्रो सत्कार सहित माला लगाईदिएर स्वागत गरे । आराम पुर्वक पिढिमा बसेर हामीले खाजा खायौ । खाजा निकै मिठो थियो । भोक पनि लागेकाले थपि थपि खायौ । केहि बेर आराम पनि गर्यौ । घडिले ठिक १ बजाए पछि हामी त्यहाबाट बिदा भएर मजुवातर्फ लाग्यौ ।
नोर्वु लामा भाइको आगनबाट १० मिनेट तल झरे पछि चेपांगहिल जाने पदमार्ग भेटियो । त्यहि पदमार्गमा हिड्दै गयौ तोप्लांग गाउलाई उत्तर पारेर । पर अर्को डाडामा पुगेपछि तोप्लाग गाउको वास्तिक सुन्दरता बल्ल देखियो । पारी डाडामा उभिएर तोपंलांगको सबै घर र बारी मज्जाले हेरियो । बारीमा बकुल्लाको हरियाली र आलीमा सयपत्री फूलले गाउ निकै आकर्षक देखियो । अझ हिमालले त गाउलाई निकै शोभा दिएको थियो । गाउमा करिव १ सय घर थिए । गाउलेहरु खेतिपाती र पशुपालनमा रमाएका थिए । उनीहरु मिहेनती र फरासिला लागे । प्राथमिक स्कुल गाउमै रहेछ । त्यो भन्दा माथी पढ्न कि त बिशखेल कि त चित्लांग पुग्नु पर्ने अवस्था रहेछ । अन्यत्रका झै यहाका युवाहरु रोजगारी गर्न हैसियत अनुसार कोहि काठमाडौ कोहि बिदेश नै पुगेका रहेछनं । गाउमा युवाको संख्या निकै कम रहेछ ।
चेपांगहिल ट्रेलमा करिव १ घण्टा हिडेपछि त्यो ट्रेललाई छोडेर मजुवातिर लाग्यौ । करिव १५ मिनेटमा मजुवा पुगियो । सुन्दर गाउको मध्य भागबाट दोभान झर्ने बाटो रहेछ । खेतिपातीले गाउलाई निकै सुन्दर बनाएको रहेछ । मजुवाबाट तिन छागे झरना भएको ठाउ हेर्दै बेपत्ताको ओरालो झर्न थाल्यौ । १ घण्टाको ओरालो झराई पछि बल्ल दोभान आयो । झोलुंगे पुल पारी गरेर केहि बेर आराम गरियो । कोहि साथीहरु तिनछागे झरना तिर लागे कोहि नौबिसे । नौबिसे पुगेर मिठो खाना खाएर पदयात्रा बिट मारियो ।
प्रस्तुति -राजाराम फुयाल
फोटो- प्रदिप कडेल,सहदेव गुरुग,राजन बराल