मकवानपुर कैलाशको प्राकृतिक गुफाः गुप्तेश्वर

शनिबार पदयात्रा गर्ने क्रममा नयॉ गन्तब्य खोज्ने क्रममा यसपटक मकवानपुरतिर लाग्ने सोच आयो । हाईकर मित्रहरु राम श्रेष्ठ, प्रदिप कडेल, सहदेव गुरुंग, कृष्ण थापा, हेमन्त ढकाल, रामशंखदेव र निराकर श्रेष्ठसंग छलफल गरियो । हामी सबै मकवानपुरको कैलास गाउपालिकामा रहेको पर्यटकिय संभावना रहेको गुप्तेश्वर गुफा जाने निर्णयमा पुग्यौ ।

आवश्यक तयारीको काम सुरु गरियो । आवश्यक परामर्श हेटौडाका पत्रकार मित्र गणेश दुलालजीसंग गरियो । रुट र बाटोको अवस्थिति बुझ्न उनले कैलास गाउपालिकाका अध्यक्ष लोक मोक्तानसंग कुरा गर्न सुझाए । अध्यक्षज्यु हामी घुम्न आउन लागेको सुनेर निकै दंग पर्नुभयो । “वडा नं.२का वडाअध्यक्ष राजेन्द्र धिसिंगजीसंग समन्वय गर्नु होला । सबै कुरा उहाँलाई भनिदिन्छु“ भन्नु भयो ।

उत्साहित हुदै राजेन्द्रजीलाई कल गरे । कुरो सुनेर उहाँ पनि निकै खुशी हुनुभयो । “तपाईहरु आउनुस गर्नु पर्ने सहयोग सबै गर्छौ“ भनेर हाम्रो उत्साहमा साथ दिनु भयो । हामीलाई हौसला दिन गजुरी गाउपालिका वडा नं २ का वडा अध्यक्ष दोर्ण कडेलजी पनि अधि सर्नु भयो । यसरी स्थानिय सरकारका प्रतिनिधिहरु समेत हाम्रो यात्रामा हौसला दिन कस्सिए पछि हाम्रो उत्साह झन् बढ्यो ।

आवश्यक तयारी सकिएपछि ह्याप्पी हाईकर्सको मेसेन्जरमा पुर्ण विवरण राखियो । पोस्ट राखेको ३० मिनेटमा ५२ जाना साथीहरु जान तयार भएर सुचीमा आ–आफ्नो नाम टिपाए । नयॉ ठाउप्रतिको उत्साह साथीहरुमा निकै राम्रो देखियो । शुक्रवार सॉझ सम्म ५८ जाना साथीहरु जान तम्सिए ।

म यात्राको लागि बिहान ५ बजे नै घरबाट निस्केर साथीहरु बटुल्दै कलंकी पुगे । भक्तपुर र ललितपुरका साथीहरुलाई बटुल्दै रामशंखदेव भाइ पनि कलंकी आईपुग्यो । दुबै बस कलंकीमा भेट भएर संगै बाँटो लागियो । हामी ५८ जाना यात्रीहरु बसमा आरामपुर्वक मिठा मिठा गफ गर्दै रमाउदै गजुरी पुगेर बिहानी खाजा खायौ ।

ठूलो समुह भएकाले खाजाघरका आमाछोरीलाई निकै गाह्रो पर्यो हाम्रो टोलीलाई सम्हाल्न । जेनतेन लगभग १ घण्टा १५मा खाजा खाएर हामी गजुरीकै चालिसेमा आयौ । त्यहा हाम्रो प्रतिक्षामा गजुरी गाउपालिका वडा नं २ का अध्यक्ष दोर्ण कडेलजी आफ्नो टोली सहित बस्नु भएको थियो । आत्मियता पुर्वक परिचय गर्दै हामीलाई अविर र खादा ओडाएर शुभेच्छा दिदै बिदा गर्नु भयो ।

गजुरी चालिसेबाट हामी उकालो लाग्यौ । सुरुमा पक्की नै रहेछ सडक । १ किलोमिटर जति पक्की सडक पार गरेपछि कच्ची धुलौटे सडकमा धुलो उठाउदै हाम्रो बस गुडिरहेको थियो । उकालो कडा थियो । ड्राईभर भाइले निकै कुशलता पुर्वक उकालो चढाउदै लग्यो । हामी दाया बाया हेर्दै रमाई रहेका थियौ । पृथ्वी राजमार्ग छोडेर कहिल्यै दक्षिण नलागेका हामी धादिंगका पहाडी क्षेत्र देखेर निकै आनन्दित भैरहेका थियौ ।

वेलभन्ज्यांग, कंकालिनीमन्दिर, राक्सिंग, वाल्सिंग, ओपीचुली, नांगेडाडासम्म ड्राईभरभाइले निकै कुशलतापुर्वक बस गुडायो । बाँटो ठूलो भए पनि धुलौटे थियो । बिच बिचमा ठूला ठूला खाडल थिए । ति सबै पार गर्दै बस गुडेको थियो । एक ठाउमा कडा उकालो भएकाले सबै ओर्लिएर बस उकालेका थियौ । खाडलमा ढुंगा माटो थप्दै बस गुडाउदै लग्यौ । दिउसोको १२.३० बजे थाम भन्ज्यांगको नजिक पुग्नै लाग्दा बाटोमा एउटा ठूलै खाल्डो आयो । ड्राईभर भाइले झ्वाम्म त्यो खाल्डोमा बस हाल्यो । बसको अगाडीको भाग केहि चोईडियो । त्यसपछि भाइको मुड खराव भयो ।

हामीले गाडी अधि लान हौसला दियौ तर मानेन । आवश्यक सहयोग पनि गर्यौ तर उसले गतिलो प्रयास गरेन । त्यसपछि हामीले कर गरेनौ गन्तव्यमामा हिडेरै जान तयार भयौ । ३० मिनेटको हिहाईमा थाम भन्ज्यांग पुग्यौ । त्यहाका स्थानियले पनि हाम्रो उत्साह थपिदिए । आत्मियतापुर्वक हामीलाई खादा अविरको टिका लगाईदिएर स्वागत गरे ।

यहाँ केहिबेर अलमल भयो । यतिखेरसम्म घडिले १.३० बजाई सकेको थियो । हिउदको समय छोटो दिन । निर्धारित पदयात्रा गर्न कम्तिमा ४ घण्टा चाहिन्थ्यो । एक त बसले धोका दियो । त्यसमाथी बाटोको अलमलले गर्दा समय गैसकेको थियो । अझै हामी बैकुण्ड पुगिसकेका थिएनौ । अब हिडेर दुरी काट्न सकिदैन भन्ने निश्चयमा पुगेपछि गाउपालिकाले हामीलाई सहयोग र स्वागत गर्न पठाएका भाईहरुलाई एउटा गाडी खोजीदिन आग्रह गरे ।

भाइहरुले चिनेजानेका गाडीवालाहरुलाई फÞोन गर्न थाले । हामीलाई लिन देवराज तामांग भाइ तयार भयो । भाइको आईजर ट्रक अलि पर रहेछ । उ पाउने पक्का भएपछि बल्ल मेरो मन हलुका भयो । सहयोगी भाइहरुले गाडी आउछ ढुक्क हुनुस बरु ऊ त्यो परको गाउमा गएर खाजा खादै गरौ भने पछि हामीहरु वासखर्क तिर लाग्यौ । बासखर्क पनि निकै सुन्दर ठाउ रहेछ । त्यहाबाट बैकुण्ड माथीको डाडा पनि देखिने । वरिपरी अरु थुम्का पनि देखिने । यो ठाउँ बेनिघाट रोरांग गाउपालिका क्षेत्रमा पर्दो रहेछ ।

साथीहरुले आफ्नो इच्छा अनुसारको खाजा खाए । ४५ मिनेटको प्रतिक्षा पछि बल्ल हामीलाई लिन देवराज तामांग भाइ गाडी लिएर आईपुग्यो । हामी सबै चढेपछि २ बजेर ५५ मिनेटमा गाडी गुड्यो । केहि बेरमा सुन्दरनांगे भन्ने ठाउमा हामी पुग्यौ । बासखर्कमा बस्न दिक्क लागेर हिडेका साथीहरु यहि आईपुगेका थिए । उनीहरुलाई पनि चढाएर हामी बैकुण्ठतिर लाग्यौ । बाँटो ओरालो भएकाले आईजर ट्रकमा पनि त्यति कठिन यात्रा भएन । डाडैबाट तल बिष्णुकुण्ड र त्यहा बनाईएको पदमार्ग देखियो । निकै आकर्षक थियो । वरिपरीका दृश्य हेर्दै हामी १ घण्टा ३० मिनेटमा बैकुण्ठ पुग्यौ ।

घडीमा ४ नाधिसकेको थियो । हामी खाजाघरको भाइलाई तिमी खाना बनाउदै गर हामी गुफा पुगेर आउछौ भनेर सिधै गुफातिर लाग्यौ । हाम्रो प्रतिक्षामा सन्तकुमार स्यांगतान भाइ विहान ११ बजेदेखि नै त्यहि बसिरहेका थिए । उनकै अगुवाईमा हिड्यौ । उनी ट्रकको अधि अधि मोटर साईकलमा हामी पछि पछि ।

बैकुण्ठबाट सिधै ओरालो तर कठिन बाटोमा गुड्दै हामी गुप्तेश्वर गुफा जान हिड्यौ ।   गुफा जान बैकुण्ड गाउँबाट घट्टेखोलातिर झर्न थाल्यौ । घट्टे खोलाको किनारमा अवस्थित उक्त गुफा कैलास डाडा र बैकुण्ठ डाडाको संगम स्थलमा थियो । गुफा पुग्न हामीलाई ट्रकमा ४५ मिनेट लाग्यो । घट्टे खोलाको पारी गाउमा गाडीबाट ओर्लेर करिव १५ मिनेट हिडेर फुलढुंगा पुग्यौ । गुप्तेश्वर गुफा र मन्दिर त्यहि रहेछ । महादेव लुकेको गुफा भएकाले गुप्तेश्वर गुफा भनिएको रे !

दुईपहाड ट्याक्क जोडिएको ठाउमा गुफा रहेछ । गुफा जान खोलाको किनारबाट सिढी बनाएको थियो । मन्दिर र गुफासंगै रहेछ । तलैबाट गुफा निकै आकर्षक देखिन्थ्यो । हामी उत्साही भएर लम्की रहेका थियौ । गुफाको ढोकामा पुगेपछि पालै पालो भित्र झिर्न थाल्यौ । बत्तीको व्यवस्था भएकाले भित्र अवलोकन गर्न त्यति कठिन भएन । सबै कुरा स्पस्ट देखिन्थ्यो ।

करिब २०० मिटर लम्बाइको उक्त गुफा प्रवेश गरेलगत्तै मानिस मात्र छिर्न सक्ने सुरुङ रहेछ । घुमाउरो सुरुङमा हताखुट्टा टेकेर निहुरिएर मात्र प्रवेश गर्न सकिने रहेछ । हामीले पनि त्यसैगरेर पालै पालो भित्र पस्यौ । गुफाको भित्री भागमा दुईवटा कोठा जस्तै आकारका मैदान भाग थियो । गुफाको पहिलो खण्डमा हीरा जस्तो चम्कने ढुङ्गा थियो । हात्तीको सुँड, कलात्मक मादल, चिल, शिवलिङ्ग, खेतका गह्रा, फूलका आकृतिहरू यत्रतत्र देखिन्थे । सहज रूपमा बस्न मिल्ने ठाउँ थियो । करिव ५० फिटको त्यो खण्डमा पुग्दा स्वर्गमै पुगेको अनुभव भयो । अलि बाबाको कथा सम्झे । अलि बाबाले डाकाहरुले लुकाएको खजाना भेटेको गुफाकोे याद आयो ।

पहिलो खण्ड पार गरेपछि दोस्रो खण्ड आयो । दोस्रो खण्डमा प्रवेशमार्ग दुईटा थिए । एउटा पुरै सुतेर पार गर्नु पर्ने अर्को घुडा टेकेर प्रवेश गर्न सकिने । त्यहाँ तपस्या स्थल, शिवलिङ्ग, केही मन्दिर र मूर्ति जस्ता आकृति भेटियो । शिवलिङ्गमा सुरुङको माथिबाट पानी खस्ने रहेछ । यसलाई अमृत जल भनेर नामकरण गरिएको देखियो । सुरुङको माथिल्लो भागमा मादल जस्तै बज्ने खण्ड खण्डका आकृतिकाहरू थिए । सेतो ढुंगाले बनेको उक्त खण्डका आकृतिलाई हातले छुँदा मादल जस्तै आवाज निस्कने गर्थ्यो । त्यहाँ पनि सानो हात्तीको आकृति रहेछ । केही मूर्तिका आकार र माथिल्लो भागको आकर्षक बनोट रहेको उक्त कोठापछि गुफाको अन्त्य हुन्छ ।

गुफाको तेस्रोखण्ड प्रवेश गर्न सकिने अवस्थामा छैन । एउटा ठूलो ढुंगाले टालिएको छ । ढुंगा हेर्दा कुनै कारणले खसेर बाटो टालिएको हो कि जस्तो देखिन्छ । गुफाको अन्तिम भागको तलतिर मानिस छिर्न नसक्ने सुरुङ छ भने माथिल्लो भागमा घुमाउरो सुरुङ छ । त्यसलाई स्वर्गद्वारी नामकरण गरिएको छ । सो सुरुङमा प्रवेश गर्न सकिँदैन । हेर्दा गुफाबाट बाहिर निस्किने आकृतिको देखिने उक्त सुरुङको यात्रा गर्न सक्ने अवस्था छैन ।

गुफाभित्र देखिएका विभिन्न स्वरूपका आकृतिलाई ईश्वरीय शक्तिको स्वरूप मानेर पूजाआज गरेको देखियो । स्थानिय जनताको आस्थाको केन्द्र नै रहेछ । हामी ५८ जाना पदयात्री यो गुफामा निकै रमायौ । निकै बेर भित्र बसेर फÞोटो खिच्यौ । ध्यान गर्यौ । बाहिर निस्कदा साझको ६.३० बजिसकेको थियो । उज्यालोमै वरिपरीको गाउँ र प्रकृति हेरेर भित्र पसेका थियौ । निस्कदा वरिपरी डाडामा बत्ति र आकाशमा तारा चमचम गरिरहेका थिए ।

खोलाखर्क पनि निकै सुन्दर लाग्यो । गुफा अवलोकन सकिएको थियो । हामी खोला किनारमा रोकिएको हाम्रो गाडी चढ्न हिड्यौ । टाउकोमा टर्च बाल्दै खेतका गह्रा र काल्लामा हिड्दै गाडी छेउ आयौ । सबै आएपछि उहि बाँटो बैकुण्ठ चौरमा फर्कियौ । तारा हेर्दै ट्रकमा कहिले अगाडी कहिले पछाडी थकेलिदै हिड्यौ । सधै आफ्नै रफ्तारमा यात्रा गर्ने हामी यसपटक ट्रकको रफ्तारमा यात्रा गर्यौ ।     भाइले पकाएको मासु भात निकै मिठो लाग्यो । भोकाएका थियौ । मासुभात पनि थपि थपि खानदियो भाइले । यति धेरै यात्रीलाई पहिलो पटक खुवाएको भन्दै थियो भाइ ।

हामी आएकोमा उ पनि दंग थियो । हामी खाना खाएर हाम्रो बस भएको ठाउसम्म त्यहि ट्रकमा आयौ । १ घण्टा १० मिनेटमा हामी बस भएको ठाउमा आयौ । आजको हाम्रो पथप्रदर्शक सन्तकुमार स्यांतान भाइ पनि आफ्नो मोटरसाईकलमा हामीलाई छोड्न त्यहि सम्म आएका थिए । उनीसंग आत्मिक बिदाइ पश्चात हामी बस चढेर काठमाडौ लाग्यौ रातको १० बजेतिर ।

 

मकवानपुरको विकट कैलाश गाउँपालिकामा अवस्थित गुप्तेश्वर गुफा भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा ओझेलमा परेको अनुभूति गर्यौ । यति सुन्दर गुफा पुग्न पाएकोमा आनन्दित थियौ । तर निर्धारित दुरी पदयात्रा गर्न नपाएकोमा दुख पनि लागिरहेको थियो । बैकुण्डबाट गुप्तेश्वर गुफा पुगेर कैलास डाडामा अवस्थित कैलास गुफा हुदै बिष्णु कुण्डमा आएर यात्रा बिसर्जन गर्ने योजना हाम्रो अधुरो नै रह्यो । कैलाश गाउपालिकाको सबैभन्दा सुन्दर ठाउ बैकुण्ठ र कैलाश डाडा अनि प्राकृतिक गुफा पर्यटकको प्रतीक्षामा छ । उचित प्रचार प्रसार हुने हो भने यो ठाउ निकै राम्रो गन्तव्य हुन्छ ।

प्रस्तुति– राजाराम फुयाल

फोटो – सहदेव गुरुंग , प्रदिप कडेल , निराकर श्रेष्ठ