पृथ्वी राजमार्ग ओहरदोहर गर्दा प्राय सधै खोलापट्टीको साईडमा बस्ने गर्थे । खोला किनार र अग्ला डाडामै नजर हुन्थ्यो । कतै वन वुट्यान त कतै नांगा डाडा हेर्दै हिड्न आनन्द लाग्थ्यो । त्यो डाडापारी के होला ? टुप्पोबाट यताउति हेर्दा कस्तो देखिएला भन्ने कौतुहलता सधै हुन्थ्यो । सुरु सुरुमा राजमार्ग यात्रा गर्दा २०४५ साल आसपास खोलापारी गाउँ वस्ती देखिदैन थिए । सोच्थे यो खोलापारी त मान्छे नै छैनन् ।
तैपनि जान मन लागिरहन्थ्यो । स्कुले जीवन सकिए पछि उच्च अध्ययनको लागि कलेज प्रवेश गरेपछि सहपाठीका रुपमा धादिङकै साथीहरु भेट हुन थाले । उनीहरुबाट त्यो डाडापारी पनि गाउ वस्ती रहेको जानकारी पाए पछि त्यहॉ जाने उत्सुकता झन् बढ्यो । अझ मलेखु बजारमा गाडी खाजा खान रोकिदा यसो खोलापारी चिह्याउने मौका मिल्थ्यो । पारी जान झोलुंगे पुल थियो । बस गुड्ने पुल थिएन । त्यो झोलुंगे पुल तरेर पारी जाने सौभाग्य मैले पनि पाएको थिए । धादिङतिर जाने साना साना बस त्यो पुल पारीबाट लाग्थे । धादिङको सदरमुकाम र आसपासका ठाउमा जानु पर्दा त्यहिबाट अर्को बस चढ्नु पर्थ्यो । कहा पाउनु अहिले जस्तो एउटै बसबाट सिधै जान ।
काठमाडौ नजिकैको जिल्ला भएकाले अनि सहपाठी धेरै भएकाले धादिङ मेरो लागि नौलो थिएन । धादिङप्रति उत्साह र जिज्ञासा कहिल्यै घटेन । धादिङ डुल्ने मनको रहर भने पुरा हुन सकिरहेको थिएन । त्यो रहर यसपाली मेटियो । शनिबार पदयात्रा गर्न त्यतै जाने तय भएपछि धादिङकै ऐतिहासिक सम्पदा किन नपुग्ने भनेर यसपटक भैरवी मन्दिर र गुप्तेश्वर गुफा जाने निर्णय ह्यप्पी हाईकर्स समुहले गरेपछि हामी ३१ जना त्यहा जान तयार भयौ । त्यसै अनुसारको तयारी पनि गर्यौ ।
धादिङको गाउँघर डुल्ने उत्साह मनमा बोकेर बिहान ५ बजे नै घरबाट निक्ल्यौ । साथीहरुलाई बटुलेर कलंकीबाट ६ बजे यात्रा प्रारम्भ गरियो । जिर्ण राजमार्गमा यात्रा गर्नु आफैमा कष्टकर त थियौ नै तैपनि पदयात्रा भनेको यस्तै त हो नि भनेर मन बुझायौ । ३१ पदयात्रीमैं उत्साह बढिरहेको थियो । निर्धारित समयभन्दा २ घण्टा ढिलो मलेखु पुग्यौ । हामीलाई स्वागत गर्न गजुरी गाउपालिका वडा नं ३ का अध्यक्ष दोर्ण कडेल ३ घण्टा अधि नै त्यहॉ आएर बसिरहनु भएको थियो । हामीलाई कुराउन त मन थिएन तर राजमार्गको अवस्था नै त्यस्तै थियो । हामी ढिलो भयौ । मिठो खाजा खाईयो अनि पदयात्रा गर्न दोर्णजीले नै चिनाउनु भएको भाइ पुकार कडेललाई लिएर हामी परेवाटार तिर लाग्यौ ।
परेवाटारमा गाडीबाट झरेर हामी पैदलयात्रामा लाग्यौ । परेवाटारबाट अरु ५ जाना पदयात्री थपिए । हामी आउने खबरले उत्साहित भएर उहॉहरुमा पनि जॉगर चलेको देखेर हामी थप उत्साहित भयौ । ८० वर्षका बा टपराज कडेल र १२ वर्षका अल्विन उपाध्याय पनि हाम्रो टोलीमा थपिए पछि हाम्रो उत्साह दोम्बर भयो ।
८० वर्षका बालाई अधि लगाएर हाम्रो टोली परेवाटारबाट उकालो लाग्यो । साथमा रहेका १२ वर्षिय फुच्चे हाईकरले पनि जोस थपि रहेका थिए । परेवाटारबाट उकालो लाग्दै देखिएको सिद्धलेक र हिमालले हाम्रो साथ छोडिरहेको थिएन । गाउका पातला तर आकर्षक घरले हाम्रो आखालाई शितलता प्रदान गरिरहेका थिए । जेहोस धादिङको यो ठाउमा परम्परागत घर रहेछन् । खुशी लाग्यो । तल बेसीमा त्रिशुली नदि माथी सुख्खा पहरा हेर्दै माघको मध्यमा पनि प्रचण्ड गर्मीमा सेकिदै हामी हिडिरहेका थियौ । हटिया पिप्लेतिर सिमलका अग्ला रुख निकै रहेछन् । सिमल फुल्न तयार थिए । सिमलका पात बिहिन रुखमा लागेको कोपिलाले हाम्रो ध्यान राम्रैसंग खिच्यो ।
हाम्रा पाईला कम्पुर भन्ज्यांग तिर लम्कि रहेका थिए । केहि बेर पक्की सडकमा हिडेपछि गाउतिर पस्ने गोरेटो बाटो आयो । दरो उकालो थियो तैपनि हामीले सजिलै उक्लियौ । घरि सडक घरि सटकट गर्दै हाम्रा पाईला अधि बढि रहे । करिव १ घण्टाको हिडाई पछि खानीगाउ पुगियो । सानो गाउ तर फरासिला गाउले देखेर दंग पर्यौ । खाली भएका पानी बोतल भर्न थाल्यौ । वरिपरी पानीको मुहान कतै थिएन । तैपनि झर्को नमानी गाउले दाइहरुले पानी दिएर तिर्खाएको आतलाई शान्त पारिदिए । गाउमाथी प्राचिन मन्दिर पनि रहेछ । एउटी दिदी मन्दिरको प्राचिनता बारे बताउदै थिइन् ।
उजाड पहाडको टुप्पै टुप्पा हिडे पनि समुद्रि सतहबाटको उचाई भने ७ सय मात्र थियो । त्यसैले हामीलाई निकै गर्मी अनुभव भएको थियो । रुख विहिन पहाड पनि खै किन हो कुन्नी निकै आकर्षक लागिरहेका थिए । तल बेसीमा त्रिशुलीको वगर । वगरमाथी मलेखु , चालिसे, घाटवेसी, आदमघाट , गल्छीका बजारहरु देखिएका थिए । राजमार्गमा दौडिएका सवारी साधन पनि स्पस्ट देखिन्थे । सडक बन्नु अधिका कुनै पनि गोरेटा भेटिएनन् । त्यसैले सडकमै हिड्न बाध्य भइयो । धुलो उडाउदै सडकमा हिड्यौ । मन मनमा लाग्थ्यो “यस्तो सडक छ भन्ने जानकारी भएको भए बस कम्पुरसम्मै ल्याइथ्यो नि त ।”
अब पछुताउनु बाहेक हामीसंग कुनै उपाय थिएन । बाटो निकै सजिलो भए पनि हाम्रा पदयात्रीले हिड्नमा खाशै जागर देखाएनन् । सायद सडक नै सडक हिड्न परेर पनि होला । जेनतेन हटिया हुदै पिप्ले पुगियो । कहि कतै वस्ती थिएन उजाड डाडाहरुले हामी आएकोमा स्वागत गरिरहेका थिए । एकाध महिला र गोठाला पुरुष बाटोमा भेटिन्थे । डाडा उजाड भए पनि तिन ठाउमा पानीको मुल भेटियो । त्यहि मुलबाट हामीले तिर्खा मेटायौ ।
पिप्लेबाट हिडेको एक घण्टामा हामी कम्पुर भन्ज्यांग पुग्यौ । सानो चिटिक्क परेको बस्ती बिचमा चौतारो । त्यहि चौतारोमा बसेर हामीले खाजा खायौ । तिन घण्टाको अविरल हिडाईबाट हामी त्यहा आईपुगेका थियौ । कम्पुर भन्ज्यांगबाट हिमाल पनि हेर्न मिल्ने । बेसीमा आदमघाट पनि देखिने क्या गज्जबको ठाउ रहेछ । करिव ३० मिनेट हामीले त्यहा आराम गर्यौ ।
दुइटा बाटा रहेछन् । एउटा सुनौला बजार जाने एउटा गुप्तेश्वर गुफा जाने । सुनौला बजार जानुपर्यो भने रोड नै रोड गए पुगिने रहेछ । गुप्तेश्वर जान भने एउटा गज्जबको पदमार्ग रहेछ । हामीले रोज्यौ गुप्तेश्वर जाने बाटो । कम्पुरको स्वास्थ्यचौकीको आगनबाट पदमार्ग रहेछ । हामी त्यहि मार्ग भएर माथी डाडामा रहेको मन्दिर तिर लाग्यौ । मन्दिर माथी पदमार्गमा ढुंगा हाल्ने काम जारी रहेछ । सानो तर निकै सजिलो बाटो हुदै हामी माथी डाडामा पुग्यौ । पृथ्वी राजमार्गको दृश्य निकै राम्रो देखिने ठाउ रहेछ यो । वरिपरीका रमणिय दृश्य हेर्दै हामी पातले वन हुदै गोगनपानी पुग्यौ । त्यहा एउटा पानीको मुल पनि रहेछ । निकै मिठो पानी पाईने ठाउ रहेछ त्यो ।
गोगनपानीमा धाटि सिंचित गरेर टोली नबलपुर तिर अधि बढ्यो । सल्ला नै सल्लाको बनमा करिव ३० मिनेट हिडेपछि एउटा चौर आयो । चौरको पश्चिमपट्टी टेलिकमको टावर जाने बाटो रहेछ । मध्यबिन्दुमा आदमघाट तिरबाट आएको सडक थियो । त्यो संगमबाट भैरवी मन्दिर स्पष्ट देखिन्थ्यो । पर क्षितिजमा मन्दिर देखिएकाले हाम्रा पदयात्रीहरुको सातो गयो “बाफ्रे कति टाढा मन्दिर ! कसरी कुन बेला पुग्ने ?” कम्पुर भन्जंयांगसम्म बस नल्याएकोमा चुक चुक लागिरहेको थियो । तैपनि हामीले हिम्मत गुमाएनौ ।
गुप्तेश्वरतर्फ हाम्रा पाइला अधि बढे । पदयात्राको मज्जा वास्तवमा भन्ने हो भने कम्पुर भन्ज्यांगबाट मात्रै आउन थालेको थियो । जंगलको बाटो हुदै हामी नबलपुर पुग्यौ । कम्पुरबाट आएको सडक त्यहि भेटियो । केहि बेर सडक नै सडक हिडेर एउटा चौरमा पुग्यौ । चौरबाट फेरि पदमार्ग भेटियो । पातलो जंगलको छेउबाट बनाईएको पदमार्ग आकर्षक थियो । मार्गको तल ठूलो भिर । कहालीलाग्दो । पातलो सल्लाका रुख तर ठुला ठुला ढुंगा हेर्दै डर लाग्ने तैपनि सजिलै बाटो पार गरियो । तेर्सो ठाडो ओरालो सबै पार गरेर डाडाको पल्लो छेउमा पुग्दा हाम्रो मन निकै रमायो । रुख विहिन पहाड तल फेदिमा गुफा आउन बनाईएको सिढीको बाटो निकै आकर्षक देखिन्थ्यो ।
करिव १५ मिनेट ओरालो झरेपछि सुनौला बजारबाट गुप्तेश्वर आउन बनाईएको सडक भेटियो । सडकमा ५ मिनेट हिडेपछि गुफा जाने सटकट बाटो आयो । अर्को ५ मिनेट झरे पछि गुफा नै पुगियो । ९० डिग्रीको एंगलमा रहेको पहरामा गुफा रहेछ । करिव ३० मिटर लामो गुफाभित्र महादेवको मुर्ती र त्रिशुल रहेछ । एकातिरबाट पस्ने अर्कोतिरबाट निस्कने दुलो रहेछ । गुफा अगाडीबाट आदमघाट र आसपासका क्षेत्र निकै आकर्षक देखिदा रहेछन् । केहि बेर गुफामा रमाएर हामी सुनौलाबजारतर्फ लाग्यौ ।
सजिलो सडकबाट नांगा डाडा हेर्दै हामी ३० मिनेटमा सुनौलाबजार पुग्यौ । वरिपरिका दृश्य निकै आकर्षक थिए । सुनौलाबजार २०३२ सालसम्म धादिङको सदरमुकाम रहेको ठाउ । २०३२ सालससम्म गुल्जार यो ठाउको ओरालो यात्रा सदरमुकाम तल बेसीमा सारेपछि सुरु भएछ । सुनौलाबजार यति सुनसान देखियो कि चिया पसल पाउन पनि मुस्किल रहेछ । तैपनि ठाउ नरमाईलो लागेन । हावा पानी पनि राम्रो अनि हरियालीपुर्ण वातावरणले हामी मोहित भयौ । सुविधा खोज्दै सबै मानिस तल बेसीमा झर्न थालेपछि यो ठाउ सुनसान बनेको रहेछ ।
सानो तर चिटिक्क परेको बजारको टुप्पोमा भैरवी मन्दिर । ३० मिनेटको हिडाईमा हामी मन्दिर पुग्यौ । दुईतिर कहाली लाग्दो भिर, भिरको बीचमा मन्दिर प्रवेश गर्ने सिँढी । माछीकाँडे भौगोलिक बनोटको टुप्पोमा बन्दै गरेको नयाँ मन्दिर । यो दृश्य धादिङको एउटा पहाडको चुचुरोमा रहेको ऐतिहासिक भैरवी मन्दिरको हो । भैरवी मन्दिर अहिले आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि करिब १६ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । एकातिर धार्मिक महत्व र अर्कोतिर यहाँबाट मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र दुबैखाले पर्यटकको गन्तव्यस्थल बनेको छ । हामी पनि यहि मन्दिरले यहासम्म तानेर आएका थियौ । यो मन्दिरको ऐतिहासिक महत्व बुझे पछि हाम्रो मन यहाँ नगई शान्त भएन ।
गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जनभन्दा बढी हिमालहरूको दृश्यावलोकन गर्न सकिने यो मन्दिरमा शनिबार दर्शनार्थीको निकै ठूलो घुइँचो लाग्ने गर्छ । ओझेलमा परेको पुरानो धादिङ बजारलाई जीवन दिन यस्ता धार्मिक र प्राकृतिक महत्वका स्थानलाई प्रवर्द्धन गर्दै आवश्यक प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटकको आकर्षण बढ्ने देखिन्छ ।
पौराणिक भनाइअनुसार यस मन्दिरसँग भैरव र भैरवीको कथा जोडिएको छ । भैरवीलाई सुत्केरी भएका बेला मासु खान मनलाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल भए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिइनन् । प्रसव पीडामा छटपटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ । अहिले यो स्थानमा भैरवी र भैरवको छुट्टाछुट्टै मन्दिर छ ।
राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको छ । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेको र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ । जित पश्चात् पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरिदिए ।
परेवाटारबाट सुरुभएको हाम्रो पदयात्रा भैरवी मन्दिरमा पुगेर समाप्त भएको थियो । साझको ५ बजिसकेको थियो । मन्दिर दर्शन र फोटो खिच्नमा केहि समय खर्चियौ । तिर्थयात्रीले हामीलाई माया गरेर प्रसाद स्वरुप खिर तरकारी पनि खुवाए । भोकाएका हामीले खिर थपी थपी खायौ । यसो उसो गर्दा गर्दै साढे ६ वजिसकेको थियो । रातमा नहिड्ने सोच आएकाले त्यहि भेटिएको एउटा ट्रक चढेर हामी धादिङबेसीको सिरान बजारतिर लाग्यौ । करिव डेढ घंण्टाको ट्रक यात्रा पश्चात बेसी झरियो । त्यहाको रिसोर्टमा हाम्रो लागि खाना पाकिसकेको थियो । भोकाएका हामीले खाना खाएर रातको ९ बजे काठमाडौ प्रस्थान गरेर यात्रा अन्त्य गर्यौ ।
प्रस्तुति- राजाराम फुयाल
फोटो – सहदेव गुरुंग , प्रदिप कडेल ,निराकर श्रेष्ठ