बिक्रम संम्मत २०७६ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) र नेपाल पर्यटन बोर्डले घुम्नैपर्ने ग्रामीण गन्तव्यको रूपमा घोषणा गरेपछि पहिलो पटक मैले कुन्छालको नाम सुनेको थिए । त्यसपश्तात त्यहा जान मनलागेको थियो । यसपटक पदयात्रा गर्न गौरवशाली इतिहास बोकेको गाउतिर जाने मुडमा ह्याप्पी हाईकर्स पुग्यो । अनि लाग्यो, नेपालमा सबैभन्दा पहिला शासन गर्ने गोपालवंशी सन्ततिहरूको गाउँ कुन्छाल । म पनि त्यहि हुलमा मिसिए ।
यो गाउँलाई चिन्न नेपालको प्राचीन इतिहासलाई कोट्ट्याउनुपर्ने हुन्छ । नेपालमा शासन गर्ने वंशहरूबारे लेखिएको इतिहासका पानाहरू पल्टाउनुपर्ने हुन्छ । सबैभन्दा पहिलो पानामा आउँछ, गोपालवंश र यसको इतिहास । वंशावली एवम् विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख भए अनुसार ‘निप’ जातिका व्यक्तिहरू नेपालको दक्षिणतर्फको भू–भागबाट आएर काठमाडौं उपत्यका बसोबास गर्न थाले । त्यस समयमा यहाँ बसोबास गरिरहेका ‘नाग’ जातिका मानिसहरूलाई युद्धमार्फत पराजित गरी उपत्यकामा आधिपत्य जमाए ।
‘ने’ नाम गरेका ऋषिले निप जातिका ‘भुक्तमान’ लाई नेपालको पहिलो राजा घोषित गरिदिए । भुक्तमानले मातातिर्थ भन्ने ठाउँलाई केन्द्र बनाई शासन व्यवस्था सुरु गरे । यसरी गोपालवंशको सुरुवात भएको थियो । यिनीहरूको मुख्य पेसा गाई पालन थियो । त्यसैले यिनीहरूलाई ‘गोपाल’ भनिन्थ्यो । उनीहरूले नै पालेको एउटा गाईले हालको पशुपति क्षेत्रमा आफैँ दूध चढाएको देखेर गोपालहरूले खोजी गर्दा ‘पशुपतिको ज्योतिर्लिङ्ग’ फेला परेको थियो ।
गोपालवंशका ८ जना राजाहरूले ५२१ वर्षसम्म शासन गरेका थिए । गोपालवंशको अन्तिम राजा ‘यक्षगुप्त’ हुन् । अब प्रश्न उठ्छ, नेपालमा सबैभन्दा पहिला शासन गरेका गोपालहरू कहाँ गए ? तिनका सन्तति कहाँ छन् ? हो, यी प्रश्नको जवाफ हो, कुन्छाल गाउँ । यस गाउँमा तिनै गोपालका सन्ततिहरूको बसोबास छ । कुन्छाल गोपालहरूले बसालेको गाउँ हो । त्यसैले कुन्छाललाई ‘गोपाली गाउँ’ पनि भनिन्छ । जहाँ गोपाली समुदायको मात्रै बसोबास छ ।
यहि ऐतिहासिक गाउ डुल्न हामी २७ जाना पदयात्रीहरु बिहान ६ बजे कलंकी हुदै चन्द्रागिरितर्फ लाग्यौ । हिमवत्खण्ड अन्तर्गत पर्ने चन्दनागिरि पर्वत शृङ्खला चित्लाङ्ग जाने प्रमुख बाटो पनि हो । भारतका सम्राट अशोकले यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङ्गमा चैत्य निर्माण गरेका थिए । उनकी छोरी चारुमती पनि बौद्ध दर्शनको प्रचार गर्दै आएकी थिइन् । नेपालको इतिहासमा विभिन्न वंश र ऋषिमुनिहरुले यात्रा गर्नुपर्दा थानकोट चित्लाङ्ग मार्ग प्रयोग गरेको कुरा इतिहासमा भेटिन्छ । संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको चित्लाङ्गको नाम पहिले चित्रापुर थियो । पछि चैत्य जाने बाटो भएकाले यसको नाम चैत्य लँः रहन गएको र पछि अपभ्रंश भएर चित्लाङ्ग रहन गएको हो ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएका थिए । संभवत पहिलो बास यहि बसेको पनि हुनसक्छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा आउदा सजिलो होस् भनेर निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष अझै छ । पाहुनाघरले चाहि मुहार फेर्ने अवसर पाएछ । जिर्णोधार भएको देख्दा मन प्रफुल्ल भयो ।
कुनैबेला भारतबाट भीमफेदी कुलेखानी, मार्खु, चित्लाङ्ग हुँदै यही चन्द्रागिरि मार्गबाट उपत्यकामा गाडी भित्रीन्थ्यो । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि चित्लाङ्ग चन्द्रागिरि मार्ग काठमाडौं उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको थियो । त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ्ग सुनसान बनेको थियो । यसले गर्दा बाउ आमा मरेको अनाथ जस्तो यो बाटो अपहेलित र तिरस्कृत भइ रह्यो ! बिडम्बना !
लगभग २३ सय वर्षको इतिहास बोकेको चन्द्रागिरि सडक खण्ड हाल सम्म पनि उस्तै अवस्थामा रहेको छ । सरकारले यो बाटोलाई गणेशमान सिंह राजमार्ग नाम दिएको छ । यो नेपालको प्राचीन मार्ग मध्येको एक प्रमुख मार्ग हो । ऐतिहासिक, पुरातात्त्विक, साँस्कृतिक महत्व बोकेको यो मार्गको अवस्था निकै दयनिय छ । बस यात्रा गर्न निकै ठूलो सहास गर्नु पर्ने अवस्था यद्यपी रहनु २१ औ शताब्दीमा आएर लाजमर्नु हो ।
थानकोट चन्द्रागिरिको मृत्युमार्ग पार गरेर हामी एकाबिहानै चित्लाङ्ग पुगेका थियौ । भर्खर आधुनिकताले छोएको चित्लाङ्गमा बचेखुचेका पुराना घरमा गृहणीहरु लिपपोत गर्दै थिए । मुलसडक भन्दा पर बनेका भव्य रिसोर्टका झिलीमिली बत्तीको पावर सूर्यको कारण मधुरा हुदै थिए । हामी एकोहोरो सडकमा हुईकिरहेका थियौ ।
चित्लाङ्गको बचेखुचेको ऐतिहासिक साँस्कृतिक साथै अर्थ सामाजिक पक्ष र त्यहाँको जनजीवन, उत्पादन समेतलाई बसको झ्यालबाट हेर्दै रमाउर्दै कतै कालोपत्रे कतै ग्राबेल सडकमा यात्रा गर्दै बिहान ८ बजे बज्रबराही सरस्वती बजार पुग्यौ । त्यहा हाम्रो यात्रालाई पुर्णता दिन शिक्षक निराजन गोपाली आउनु भएको थियो । उहाको आत्मिय स्वागतमा रमाउदै हामी टिस्टुंग कटेजमा बिहानी खाजा खान पुग्यौ । आधा घण्टा त्यहा अलमल गरेर हामी पदयात्रामा सरिक भयौ । टिस्टुंगको फाट निकै गुल्जार देखियो ।
टिस्टुंग खोलाको किनारमा नन्दिकेश्वर महादेव मन्दिर रहेछ । ६४ ज्योतिर्लिङ्ग मध्येको एक त्यहि मन्दिरमा दर्शन गरेर हाम्रो यात्रा सुरु भएको थियो । भर्खर खनिएको डोजरबाटोमा २ मिनेट हिडेपछि जंगल पस्ने सानो बाटो आयो । त्यहि बाटोबाट हामी वाराही डाँडातर्फ लाग्यौ । घना जगलको बिचमा एक फुटे बाटोमा बिहानको तुसारो फाड्दै हिड्दा निकै चिसोको अनुभव गरियो । केहि बेर हिडेपछि हामी तात्न थाल्यौ । १७ सय मिटरबाट हिड्न सुरु गरेका हामीले क्रमश उचाई चढिरहेका थियौ । लगभग ४५ मिनेट हिडेपछि भने तुलनात्मक रुपमा निकै सजिलो पदमार्ग भेट्टायौ ।
त्यहि पदमार्गबाट वाराही डाँडातर्फ हाम्रा पाईला सोझिए । लभभग १० मिनेट उकालो चढेपछि एउटा चौर आयो । लामो चौरको बिचमा एउटा इनार आकारको खाल्डो रहेछ । त्यहि ठाउमा प्राचिनकालमा बज्रबराहीको मन्दिर थियो रे ! त्यहि मन्दिरमा भक्तजनले प्रसाद स्वरुप बलि दिइएको बोकाको मासु एक खडकुलो पकाए छन् । एक्कासी त्यो खडकुलो गुडेर तल झरेछ । लगभग २ किलोमिटर तल झरेछ । भक्तजनहरु पनि त्यसरी खडकुलो आफै गुडेपछि अचम्मित हुदै खडकुलोको पछि पछि तल नै झरेछन् । त्यसरी डाडाको टुप्पोबाट गुड्दा पनि एक चोक्टो मासु पनि भुईमा नखसेको देख्दा सबै जिल परेछन् । पक्कै यो दैवि शक्तिको चमत्कार हो भन्ने निष्कर्षमा पुगेछन् । डाडैको टुप्पामा बराहीलाई बस्न मन नलागेको अनुमान गरेछन् । त्यहि खडकुलो गुडेर आएको ठाउमा अर्को मन्दिर स्थापना गरेर देवीलाई विराजमान गराएछन् । तलै मन्दिर भएपछि माथी कोहि नगएपछि माथीको मन्दिर हराउदै गएछ ।
डाडाको टुप्पोबाट मार्खुमा अवस्थित इन्द्रसरोवर तालको दृश्य हेर्दै निराजन सरको मुखबाट यो किम्बदन्ती सुन्दै हामी पदयात्री तल बाराही मन्दिरतिर झर्न थाल्यौ । निकै ठाडो ओरालो थियो । हामी ३० मिनेटमा मन्दिरको प्रांगणमा आईपुग्यौ । टिस्टुंग खोलकै किनारमा भव्य मन्दिर रहेछ । निकै पर परबाट भक्तजन आउदा रहेछनं । हामीले पनि टिस्टुंग बज्रबराहीको दर्शन गरेर पुन पदयात्रा प्रारम्भ गर्यौ । अबको गन्तब्य थियो नासपाती बगान हुदै कुन्छाल ।
बज्रबराही मन्दिरको भर्खरै बनेको ढुंगे सिढि उक्लेर एउटा चौरमा आईयो । चौरको सिरानमा हेटौडा जाने राजमार्ग भेटियो । त्यहि पारी रहेछ नासपाती बगैचा । निकै ठूलो क्षेत्रमा फैलिएको थियो बगैचा । त्यहि बगैचाको बिचबाट रहेछ कुन्छाल जाने पदमार्ग । बाटो उकालो थियो तर चौरमा हिड्न पाएकाले हामी दंग थियौ । पातै नभएका नासपातीको रुख र सुकेका धास पनि हामीलाई आकर्षक लागिरहेका थिए । १५ मिनेट बगैचामा हिडेपछि फेरि भर्खर डोजरले खनेको बाटो आयो । त्यहि बाटोमा ५ मिनेट हिडेपछि सडकबाटै देखियो कुन्छाल गाउ । कुन्छाललाई अझ राम्रोसंग हेर्न एउटा थुम्कोमा उक्लियौ । थुम्कोबाट निकै मनमोहक देखियो गाउ । हामी सबै लठ्ठ परेर गाउ हेरेको हेरै भयौ । कोण कोणबाट फोटो खिचियो । निराजन सरले हामीलाई आफ्नो पुरानो अनि नया दुवै घर पनि देखाउनु भयो ।
एउटा सुन्दर हरियाली थुम्काको काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला–अग्ला दुई÷तीन तले घरहरू एकै ठाउँमा झुप्प मिलेर बसेका थिए । एउटै रङ्ग र आकार–प्रकारका टाइलले छाएका दुई पाखे छानो अनि बुट्टे झ्याल ढोकाहरू । छानोलाई टेको दिइरहेका टुँडाल अनि तिनमा झुन्डिइरहेका मकैका झुत्ताहरू, बुट्टे झ्यालसँगैका साना–साना बार्दलीहरू घरलाई झनै सुन्दर देखाउन गहना बनेका थिए । झट्ट हेर्दा लाग्छ, निकै पुरानो बस्ती हो ।
ऐतिहासिक महत्त्वले भरिएको यो गाउँ टिस्टुङ उपत्यकाको उत्तर–पश्चिमी कुनामा समुन्द्री सतहबाट करिब एक हजार सात सय मिटरको उचाइमा चुपचाप बसेको छ । महाभारत पर्वत श्रृङ्खलाकै एक पहाडको काखमा विराजमान कुन्छाल गाउँको हावापानी न्यानो समशीतोष्ण खालको छ । ग्रीष्म याममा धेरै गर्मी नहुने र शिशिर याममा धेरै ठन्डा नहुने भएकोले यस प्रकारको हावापानीलाइ सबैभन्दा उत्तम हावापानी मानिन्छ । कुन्छालको यस प्रकारको हावापानीले गाउँमा पुग्ने पाहुनालाइ बाह्रै महिना स्वागत गर्दछ ।
कुन्छाल गाउँको नामकरण सम्बन्धमा दुइ थरि भनाई भेटियो । अलि कुनामा पहाडको फेदमा कसैले नदेख्ने र हावा नलाग्ने ठाउँ भएकोले ‘कुन्चा’ भन्ने गरेको र पछि अपभ्रंश हुँदै ‘कुन्छाल’ भएको कतिपय स्थानीय कुरो आयो । अर्को भनाइअनुसार धेरै वर्ष पहिले बाहिरका मानिसले स्थानीयलाई “कुन सालदेखि यहाँ आएर बसेको ?” भनी सोध्दा यकिन मिति थाहा नभएपछि स्थानीयले “खै ! कुनसाल–कुनसाल” भनेर जवाफ दिएको र त्यसैको अपभ्रंश भएर कुन्छाल भएको रे ! तर, ती दुईमध्ये कुन चाहिँ सत्य हो भन्ने विषयमा भने मैले चाहि पत्तो लगाउन सकिन ।
नामपट्टी टाउको नदुखाई हामी गाउको सौन्दर्यतर्फ लाग्यौ । गाउलाई नजिकबाट हेर्न हाम्रा पाईला त्यतैतिर लागे । उहि अधिकै डोजरबाटो गाउतर्फ ओरालो झरियो भर्खर आलु रोपिएको खेतै खेत ।
जति नजिक पुगियो, त्यति नै अग्ला देखिन्छन् घरहरू । गाउँभित्र पसेर हेर्दा गगनचुम्बी महल जस्तै देखिन्छन् । घरको आँगन छेउछाउमा बाँधिएका गाई–भैँसी र गोबरको गन्ध अनि सँगै खेलिरहेका, हुल बाँधेर यताउता ओहोरदोहोर गरिरहेका हाँसका बथानहरूले गाउँको सुगन्ध दिन्छ । दौरा–सुरुवाल र इस्टकोटमा ठाँटिएर पिँडीमा बसेर हुक्का तान्दै गरेका हजुरबाहरू, हाकुपटासीमा सजिएका आमाहरू, झ्यालबाट गर्दन तन्काउँदै बाटो नियालिरहेका वृद्ध–वृद्धाहरू नयाँ मान्छे देख्ने बित्तिकै सोध्छन्, “बाबु कहाँबाट आयौ ? भोक तिर्खा लाग्यो होला, चिया खाने हो ?”
गाउको पुछारमा उभिरहेको बेला हामीसंगै यात्रा गर्न संचारकर्मी भाइ गणेश विष्ट पालुंगबाट आईपुग्छन् । उनीसंगको पुरानो भेचघाटलाई ताजा बनाउदै हामी कुन्छाल गाउ पस्ने सिढि चट्न थाल्छौ । गाउँ र गाउँभित्रका दृश्यहरूले अर्कै लोकमा पुगेको अनुभूति गराउँछ । त्यसमाथि गाउँका बासिन्दाहरूले प्रेम र सद्भावले भरिएका प्रश्नहरू गर्छन्, जसले साँच्चै भावविभोर बनाउँछ । गाउँमा पुग्दा लाग्छ, प्राचीन कालमा छौँ, प्राचीन गाउँमा छौँ । गाउँमा रहेका प्राचीनता झल्कने घर, मठ–मन्दिर, पाटी–पौवा, धारा, गाउँलेहरूको जीवनशैली, उनीहरूले प्रयोग गर्ने परम्परागत प्रविधि, विश्वास, मूल्य मान्यता, सामाजिक संरचना, सामूहिकता, सद्भाव र सह–अस्तित्वको भावना, जसले प्राचीनताको झल्को दिन्छ । जहाँ मानवता जीवित छ, सांस्कृतिक मुल्यमान्यताले भरिपूर्ण, परम्परागत प्रविधिले सम्पन्न जीवनशैली, कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्र देख्दा हाम्रो मन निकै खुसी भयो ।
यस गाउँका बासिन्दाको मुख्य पेसा र आम्दानीको स्रोत कृषि हो । कृषिजन्य उत्पादनको सदुपयोग गर्न गाउँलेहरू सिपालु रहेछन् । “स्रोत र साधनलाई खेर फाल्नुहुँदैन” भन्ने उनीहरूको मान्यता रहेछ । धान झारेपछि आउने पराल गाई भैसीलाई खुवाएर बढिभएकोबाट सुकुल गुन्द्री बुनेर प्रयोग गर्छन् । मकैको खोस्टाको चप्पल जुत्ता, चकटी बुनेर प्रयोग गर्छन् । प्लास्टिकका बोराहरू धागो निकालेर नाम्लो, खकन, डोरी बनाउँछन् । बढी भएको बेच्छन् । क्या गज्जबको तारिफ योग्य काम ! देख्दा नै आनन्द लाग्ने ।
बाँस निगालोको चोयाबाट बन्ने सामाग्रीहरू अत्यधिक प्रयोग गर्दछन् । मन्जन ब्रस राख्ने टोकरीदेखि छ्याङ छान्ने चाल्नीसम्म चोयाकै बनाउँछन् । ढकिया, सोली, डोको, मोला, भकारी, पेरुङ्गो, मान्द्रो लगायत थुप्रै सामाग्रीहरू उत्पादन गर्छन्, प्रयोग गर्छन् अनि बढी भएको बेच्छन् । गाउँमै आत्मनिर्भर बन्न सकेकोमा उनीहरू गर्भ गर्छन् ।
कुन्छाल गाउँमा अन्य धेरै प्रकारका सामाजिक, धार्मिक, सांस्कृतिक एवम् एतिहासिक मुल्यमान्यताहरू छन्, जुन हाम्रा निम्ति निकै विस्मयकारी छन् । गाउँमा कुखुरा पाल्ने चलन छैन । यसको पछाडि एउटा किंवदन्ती रहेछ । किंवदन्ती अनुसार, “उहिले बाटोमा हिँड्ने बटुवाले भालेकुखुरा पनि सँगै ल्याएर गाउँमा बास बसेको र राति भाले बासेपछि गाउँमाथि रहेको ऋषेश्वर महादेव रिसाएर बसाइ सरेर पालुङ माथिको डाँडामा गएछन् । गाउँमा दुःख बिमार अनिष्ट भएकोले गाउलेले कुखुरा कहिल्यै नपाल्ने थिती बसालेछन् । उनीहरू हाँस पाल्छन् । गाउँका गोरेटा, घर आँगनहरूमा हाँसका हुलहरू भेटिन्छन् ।
कुन्छालमा अहिले पनि नाईके प्रथा छ । तिनलाई सबैले मान्छन् । जिउँदोमा जन्ती जान होस् या मर्दा मलामी, नाइकेकै निर्देशन अनुसार जानुपर्दछ । नाइकेले सामाजिक व्यवस्था र संस्कृतिको संरक्षण र संवर्द्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । कुन्छालमा गुठी परम्परा रहेको छ । जसको नेतृत्व नाइकेले गर्दै आएका छन् । यस गाउँमा १३ वटा चाड मनाईन्छ । वर्षमा दुई पटक गुठी बस्ने गरेको छ । त्यसैगरी वर्षमा एक पटक हिले नाच पनि गर्दै आएका छन् । चाडपर्व, मेला, उत्सव, पूजाआजा लगायत सामाजिक कार्यहरूको नेतृत्व र योजना तथा व्यवस्थापन पनि नाइकेले गर्दै आएका छन् । गाउँमा प्रत्येक १२ वर्षमा नाच देखाईन्छ । त्यो नाच तयार पार्न १० जना कजीहरू तोक्ने तोक्ने गरिएको छ ।
गाउको बिचमा रहेको पदमार्गबाट हिड्दै हामी डबलीमा पुग्यौ । त्यहा नाच्ने ठाउ पनि बनाईएको रहेछ । डबली घर चाहि २०७२ सालको भुकम्पले भत्काईदिएछ । नया बनिरहेको थियो । डबली संगै निकै पुरानो पाटी पनि रहेछ । पहिले दुइ तलाको त्यो पनि अहिले पुरिएर एकतलाको मात्रै भएछ । त्यो पार्टीमा कचहरी बसेर न्याय निसाफको काम हुन्थ्यो रे ! पाटीको भुइतलामा अभियुक्तलाई थुनेर माथी कचहरी सभा तल्थ्यो रे त्यहा। हामी निकै वेर त्यहा रमायौ । डबलीमा नाचियो पनि । गाउलेले टिका र फुलले हामीलाई स्वागत गरेर आत्मियता देखाए ।अनि हामी विस्तारै त्यहि सिढिबाट उकालो लाग्यौ ।अलि पर पुगेपछि प्राचिन ढुंगे धारो आयो । पानी निकै मिठो रहेछ । धाराभन्दा थोरै पर गणेश मन्दिर पनि रहेछ । मन्दिर प्रांगण निकै ठुलो थियो । कुन्छालको सिरमा रहेको यहि मन्दिरबाट हामी जंगल पस्यौ । निकै राम्रो धार्मिक बन रहेछ ।
कुन्छालको सिरमा रहेको यो जंगलबाट काठपात लाने चलन रहेन छ । त्यसैले जंगल निकै राम्रो थियो । जंगलको बिचबाट राम्रो पदमार्ग रहेछ । अबको हाम्रो गन्तब्य टिस्टुंग वनस्पति उद्यान थियो । करिव ३० मिनेट हिडेपछि माथी डाडामा नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ भेटियो । त्यहि राजमार्ग पारि उकालो चढेर लगभग ३० मिनेट हिडेपछि टिस्टुंग वनस्पति उद्यान पुगियो । पार्क निकै राम्रो रहेछ । थरि थरिका जडीबुढि फलफूल र सुनाखरीको निकै राम्रो संग्रह देखियो । उद्यानमा पुगेपछि विश्रामसहित प्रकृतिको मनोरमताको अवलोकन गरेर थोरै खाजा खाएर हामी कार्कीछाप गाउँतिर लाग्यौ ।
राजमार्गबाट उद्यान आउन बनाईएको बाटो हुदै हामी तल झर्यौ । राजमार्ग मुनीको पदमार्गबाट हिड्दै ढल्टगाउँ पुगेर तल फाटमा आईयो । सडक छोडेर हामी पदमार्गमा हिडिरहेका थियौ । तल पुछारमा पुगेपछि फेरि खोला भेटियो । गौखुरेश्वर माहादेवको मन्दिर रहेछ । त्यहा पनि ६४ ज्योतिर्लिङ्ग मध्य एक रहेछ । मन्दिर अगाडिको पुलबाट फाट नै फाट आली नै आली हिडेर उन्मत्तेश्वर महादेवको मन्दिर पुगियो । त्यो पनि ६४ ज्योतिर्लिङ्ग मध्येको एक रहेछ । मन्दिर पश्चात हामी टिस्टुंगमा बनेको सबैभन्दा राम्रो रिसोर्ट हेर्न गयौ । अध्याय नामक रिसोर्ट निकै भव्य रहेछ । रिसोर्टका कर्मचारीले निकै राम्रो आतिथ्यता दिए पछि हामी दग परिहाल्यौ । पुग नपुग ८ हजारको जलपान अनि निशुल्क जुस पिएर हामी त्यहाबाट हिड्यौ । अबको गन्तब्य थियो टिस्टुंग कोतघर ।
रिसोर्टबाट निस्केर सडक नै सडक ३० मिनेट हिडेर बजारमै रहेको कोतघरमा आयौ । सडककै छेउमा रहेको सानो थुम्कोमा रहेछ कोतघर । त्यहा पहिले दरबार पनि थियो रे ! टिस्टुंगे राजाको । थुम्को निकै आकर्षक थियो । हाम्रो पदयात्रा यहि आएर सकायौ । बज्रबाराही, कुन्छाल र टिस्टुंगको सेरोफेरो घुम्दा बेलुकाको ४ बजेको थियो । हाम्रो लागि टिस्टुंग कजेटमा खाना तयार थियो । पदयात्रा बिट सफलतापुर्वक सकिएकाले करिव २ घण्टा त्यहा रमाईलो गरेर ६ बजे हामी काठमाडौ प्रस्थान गर्यौ ।
गोपाली संस्कृति, स्थानीय परम्परागत गोपाली जीवनशैलीको अवलोकन मनपराउने पर्यटकहरू आएमा निकै राम्रो हुन्छ । कुन्छाल ऐतिहासिक पर्यटनको थलो बन्न सक्छ । यो नेपालको इतिहासको उत्खनन गर्न चाहनेहरूले एकपटक पुग्नै पर्ने गन्तव्य हो । अहिले यहाँ नयाँ बन्न थालिएका ढलान घरहरु, पिच बाटो, घर बाहिर निर्मित अशोभनिय शौचालयहरु आदिले बिस्तारै यहाँको सुन्दरता बिनास हुने क्रममा भने रहेको छ । एउटा जीवित संग्रहालयको रुपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरुपलाई नै निरन्तरता दिने हो भने पर्यटकको ठुलै घुईँचो यहाँ लाग्न सक्छ र यहाँको मौलिक स्वरुप, परम्परागत पेशा नै यहाँको स्थानीयको समृद्धिको आधार बन्न सक्छ । यस क्षेत्रलाई यहाँका जनप्रतिनिधि, स्थानीय, प्रदेश र संघीय सरकारले उचित संरक्षण प्रदान गर्ने हो भने नेपालको एउटा महत्वपुर्ण इतिहास बचाई राख्न सकिन्छ । ऐतिहासिक, प्राचीन तथा साँस्कृतिक महत्व बोकेको यो वस्तीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने ठुलो सम्भावना छ ।
प्रस्तुति- राजाराम फुयाल
फोटो – सहदेव गुरुंग , प्रदिप कडेल ,निराकर श्रेष्ठ