हराउँदै याक र चौंरी साँघुरिंदै खर्क

हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको पुर्ख्यौली पेशा हो, याक, चौंरी, पहाडी गाई तथा भेडापालन। देशको करीब ६.०९ प्रतिशत जनसंख्याको बसोबास रहेको हिमाली क्षेत्रको प्रमुख आधार पनि पशुपालन नै हो। तर पछिल्लो समय हिमाली क्षेत्रमा पशुपालन व्यवसायको अवस्था खस्कँदो छ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ नेपालमा याक, नाक, चौंरीको संख्या ६९ हजार ९७८ रहेको थियो। तर आव २०७८/७९ मा आइपुग्दा ६२ हजार ५६१ मा झरेको छ। कुनै समय मुस्ताङ, डोल्पा र सगरमाथा क्षेत्रमा प्रशस्त पाइने जंगली याक तथा नाकको अवस्थाबारे अहिले यकीन जानकारी छैन भने घरपालुवा याककै संख्या पनि चौंरीको तुलनामा निकै कम छ।

सन् १९८२ मा प्रकाशित दुर्गादत्त जोशीको ‘नेपालमा याक र चौंरी पालन’ लेखमा त्यति वेला नेपालभर आठ हजार याक रहेको उल्लेख छ। त्यस्तै, सन् १९९९ मा अध्येता मोहन खरेलले गरेको अध्ययनमा त्यति वेला तीन हजार जति याक भेटिएको उल्लेख छ। अझ पछिल्लो समय याक घट्दै गएको स्थानीय बासिन्दा सुनाउँछन्।

हिमाली क्षेत्रमा व्यावसायिक रूपमा महत्त्वपूर्ण रहेको चौंरीको संख्या पनि घट्दै गएको छ। यस लेखमा चौंरीबारे चर्चा गरिएको छ।

बढ्दो तापक्रम घट्दो पशुपालन

हिमाली क्षेत्रका २९ जिल्ला याक र चौंरी पालिने मुख्य भेग हुन्। पूर्वमा ताप्लेजुङ, पाँचथर, संखुवासभा हुँदै सोलुखुम्बु, ओखलढुंगा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ (सोमदाङ, तिप्लिङ र पाङसाङ क्षेत्र), रसुवा, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा र पश्चिममा डोल्पा, हुम्ला, मुगु, जुम्ला, दार्चुला लगायत जिल्लामा चौंरी पालिन्छ।

मनाङ र मुस्ताङमा याक, नाक र चौंरी खुला छोडेर पाल्ने गरिन्छ। रसुवा, डोल्पा र ताप्लेजुङमा दिनको आठदेखि १० घण्टा चरन क्षेत्रमा छाडिन्छ। अन्य वेला आराम वा दाना खुवाउन गोठमै राख्ने गरिन्छ।

तीनदेखि ६ हजार मिटर उचाइसम्म भेटिने र माइनस ४० डिग्री सेन्टिग्रेडको तापक्रमसम्ममा बाँच्न सक्ने घरपालुवा याक तथा चौंरीको संख्या केही दशकदेखि निरन्तर रूपमा ओरालो लागिरहेको छ। हिमाली क्षेत्रमा महत्त्वपूर्ण भए पनि याक तथा चौंरीपालन मार्फत निर्वाहमुखी कृषि पेशा अवलम्बन गर्नु असाध्यै कष्टकर बन्दै गएको छ। यसका विविध कारण छन्।

न्यूजिल्यान्डको म्यासी विश्वविद्यालयमा अध्ययनरत एस. सापकोटा सहितको टोलीले सन् २०२२ मा हिमाली क्षेत्र र जलवायु परिवर्तनबारे अध्ययन गरेको थियो। जलवायु परिवर्तनले हिमाली क्षेत्रको तापक्रम बढेको, मौसमको ढाँचा परिवर्तन (पहिलेभन्दा धेरै गर्मी र जाडोे हुने) भएको, अनियन्त्रित वर्षा (उच्च वर्षा र लामो खडेरी) एवं बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप बढेको र चरन क्षेत्रका रैथाने घाँसलाई बाह्य प्रजातिले प्रतिस्थापन गरेर पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको अध्ययनमा देखिएको छ।

त्यस्तै, डा. उत्तमबाबु श्रेष्ठको टोलीले गरेको अध्ययनले जाडो याममा हिमाली क्षेत्रको तापमान निरन्तर बढिरहेको देखाएको छ। सन् १९८२ देखि २००६ सम्म हिन्दूकुश पर्वत शृंखलाको तापक्रम वृद्धिदर प्रतिवर्ष जाडो याममा ०.०७ डिग्री र गर्मी याममा ०.०३ डिग्री रहेको अध्ययनमा देखिएको छ। यो २०२० देखि २०५० सम्म एकदेखि दुई डिग्रीसम्म पुग्ने अनुमान छ।

हिउँदे याम लगायत ६ महीनामा बाक्लो हिमपातका कारण पोषणयुक्त खानाको अभाव हुँदा याक तथा चौंरीको तौल १७ देखि २५ प्रतिशतसम्मले घटिरहेको पाइएको छ। यसको प्रत्यक्ष असर दुग्ध उत्पादन एवं प्रजनन क्षमतामा देखिएको छ।

त्यस्तै, एकातिर मौसमी रूपमा हुने हिमपात र हिउँ पर्ने दर कम हुँदा कृषकले हप्तौंसम्म पशुका लागि खानेकुरा र पानीको अभाव झेलिरहेका छन् भने अर्कातिर उच्च हिमपातपछि हिमपहिरो र चट्टानी पहिरोका कारण पनि याक एवं चौंरी मर्ने क्रम बढिरहेको छ। त्यस्तै, नाक (पोथी याक) धेरै बिरामी पर्ने र रौं गुमाउने समस्या पनि बढ्दै गएको छ।

उच्च हिमाली क्षेत्रको जनजीवनमा तापक्रम वृद्धिले पारेको असरबारे कृष्णराज तिवारीको टोलीले लाङटाङ, मनास्लु, मकालु वरुण र अन्नपूर्ण संरक्षण क्षेत्रमा अध्ययन गरेको थियो। जलवायु परिवर्तनबाट निम्तिएका अस्वाभाविक घटना (हिमपहिरो, हिमआँधी, चट्टानी पहिरो)ले हिमाली समुदायले पशुपालन छाड्दै गएको देखिएको छ। झन्डै ३० प्रतिशत हिमाली क्षेत्रका कृषकले याक र चौंरीपालन पेशा छाडेको अध्ययनमा उल्लेख छ।

यसैगरी, वन तथा वातावरण मन्त्रालयको जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलनको उपाय सम्बन्धी प्रतिवेदनमा नेपालमा जलवायु परिवर्तनले कृषि, पशुपालन र खाद्य सुरक्षाको दृष्टिले ४५ जिल्ला संकटमा रहेको उल्लेख छ। तीमध्ये ११ जिल्ला अति उच्च, १२ जिल्ला उच्च र २२ जिल्ला मध्यम संकटमा छन्।

हाल २९ जिल्लामा हुँदै आएको याक तथा चौंरीपालन पेशामा आबद्ध किसान मर्कामा परेको देखाउँछ। यसका कारण, परिणाम एवं समाधानका प्रयासबारे चर्चा गर्नु जरूरी छ।

चौंरीगोठ भेट्नै गाह्रो

अहिले गाउँ रित्तिने क्रम बढेको छ। बाउबाजेले अँगालेको पेशा युवा पुस्ताले छोड्दै गएका छन्। लेकाली जंगलमा बसिरहन कठिन भएकाले गोठालाको अभाव हुँदा याक, नाक र चौंरीपालन कम हुँदै गएको छ। त्यस्तै, चरिचरन क्षेत्र घट्दै जानु, उच्च हिमाली भेगबाट बसाइँसराइ बढ्नु जस्ता समस्याले याक तथा चौंरीपालक किसान निरुत्साहित छन्। त्यस्तै, परम्परागत कृषि प्रणाली हराउँदै जानु, शहरीकरण र बेसाएर खाने संस्कारको विकास हुनुले पनि याक तथा चौंरीको व्यावसायिक विकासलाई निर्धो बनाएको छ।

हिन्दूकुश हिमालय क्षेत्रका चरन क्षेत्र र त्यहाँ गरिने पशुपालनमा जलवायु परिवर्तनले पारेका असर एवं सम्भावित समाधानबारे अध्ययन गर्दै आएका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)मा कार्यरत डा. टासी दोर्जी चौंरीगोठ घट्दै गएको बताउँछन्। “हिमाली क्षेत्रको पहिचान हो, गोठ। चीन र मंगोलिया क्षेत्रमा चौंरीपालन फस्टाएको छ। यता हिन्दूकुश हिमालय क्षेत्रमा पर्ने नेपाल, भारत, भूटान, अफगानिस्तान, पाकिस्तानमा भने गोठ घट्ने क्रममा देखिन्छ,” दोर्जी भन्छन्, “नेपालको हिमाली क्षेत्रमा कच्ची सडक, सञ्चार एवं भेटेरिनरी सेवासुविधाको अभाव हुँदा गोठहरू क्रमशः घट्दै छन्।”

उनका अनुसार हाल हिन्दूकुश हिमालय क्षेत्रमा करीब चार लाख हाराहारीमा चौंरी छन्। भिन्न रोगसँग जुध्न सक्ने र कठिन वातावरणमा पनि उत्पादन दिन सक्ने याक तथा चौंरीको संरक्षण र विकासमा सरकारले लगानी बढाउनुपर्ने उनी बताउँछन्। यससँगै याक तथा चौंरीको आधारभूत तथ्यांक, उत्पादन र व्यवस्थामा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।

हिमाली भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको चौंरीपालन व्यवसाय संकटमा पर्दै गएको छ। यसलाई जोगाउन पशु स्वास्थ्य व्यवस्थापन एवं बीमा, उन्नत चरन, खर्क विकास र सुधारका लागि घाँसेबालीको नर्सरी स्थापना गर्न सकिने डा. दोर्जीको सुझाव छ। त्यस्तै, व्यावसायिक रूपमा छुर्पी बनाउने तरीकाबारे तालीम, पहाडी गाईसँग क्रस गराई वर्णशंकर याक, नाकको उत्पादन बढाउन सकिन्छ।

यसैगरी, जंगली जनावरबाट संरक्षण गर्ने तरीका, सहुलियत ऋण, भेटेरिनरीका सेवा, पशुपालन उद्यम सम्बन्धी तालीम जस्ता प्रयास पनि सरकारी तवरबाट आवश्यक रहेको उनको जिकिर छ। जलवायु परिवर्तनको सन्दर्भमा रैथाने नश्लको संरक्षण गर्नुपर्ने सुझाउँछन्।

साँघुरिए खर्क

देशको कुल क्षेत्रफलको २३ प्रतिशत भूभागमा चरन क्षेत्र छ। यसमध्ये पनि ७० प्रतिशत चरन क्षेत्र हिमाली भेगमा पर्छ। तर उचित सदुपयोग हुन नसक्दा खर्कहरू झाडीमा परिणत हुँदै गएका छन् भने चरन क्षेत्र साँघुरिंदै छ।

हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण चिसो तापक्रममा हुर्कने बोटबिरुवा माथि उक्लिंदै गएका छन्। त्यो ठाउँलाई न्यानो तापक्रममा हुर्कने बिरुवा प्रजातिले प्रतिस्थापन गरेका छन्। जसका कारण चौंरी, याक र नाकका लागि उपलब्ध घाँसेबाली र डालेघाँस (बुकी, बेनाकक्षी, एलपीपी, ह्वाइट क्लोभर, राई ग्रास, बाची, ओक, सिंगकाक्षे, राम्बे, चेन्दी, माछी, पान्ग, भेना, ब्रिखर, निगालो, गादर, पासी, तिउरे, हकातो, कामलया, गोजेंग, ढाडे बुकी, खार आदि) तथा दुधालु घाँस मालिंगो (झाप्रो) मासिने क्रम बढ्दो छ। जसले गर्दा किसानलाई आहारा जुटाउन हम्मेहम्मे परिरहेको छ।

गर्मी यामका दुई महीना (जुलाई र अगस्ट)मा याक तथा चौंरी चरिचरनका लागि लगभग चार हजार मिटरको उचाइसम्म पुग्छन्। बाँकी समय दुई हजार ५०० देखि तीन हजार मिटरसम्मको उचाइमा रहन्छन्। अन्य गाईवस्तुभन्दा याक तथा चौंरीलाई बढी चरन क्षेत्र आवश्यक पर्छ। चौंरी एक दिनमा सरदर १६ किलोमिटरको पेरिफेरीसम्म घुम्ने गर्छ। सीमित ठाउँमा चराउँदा घाँसको अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चौंरी नफस्टाउने समस्या बढ्दै गएको छ।

अर्कातिर, सामुदायिक वन क्षेत्रमा चरिचरन निषेध छ। सामुदायिक वन व्यवस्थापनमा स्थानीय बासिन्दालाई समावेश त गरिन्छ, तर वन प्रयोगकर्ताका रूपमा सहभागिता जनाउन सामान्यतया जंगलबाट पाँच किलोमिटरभन्दा कम क्षेत्रमा रहेको हुनुपर्छ। यसले मौसमी र टाढाका प्रयोगकर्ता (गोठाला)लाई सामुदायिक वन व्यवस्थापन र स्रोतको उपयोगबाट टाढा राखेको छ।

त्यस्तै, सीमावर्ती क्षेत्र चीनको चरन क्षेत्रमा चरिचरनमा प्रतिबन्ध लगाइनुको मार याक, चौंरीपालक कृषकले भोगिरहेका छन्। सडक निर्माण, चरिचरन क्षेत्रमा छोडिएका घोडा सहित छाडा चौपाया र विषादीयुक्त घाँसले याक तथा चौंरीको खुट्टा र मुखमा परजीवी रोगको संक्रमण बढ्दै जाँदा पेशालाई थप संकटतिर धकेलिरहेको छ। साथै, खर्कमा बढ्दो पर्यापर्यटनले आगन्तुकले छोडेका प्लास्टिकजन्य फोहोर खाएर याक बिरामी पर्ने र मर्ने क्रम चिन्ताजनक रूपमा बढ्दो छ।

खर्कहरूको वैज्ञानिक व्यवस्थापन, संरक्षण र उपयोग गरी दिगो विकास गर्ने उद्देश्यले जारी गरिएको राष्ट्रिय खर्क नीति, २०६८ अलपत्र छ। जसले गर्दा खर्क सम्बन्धी अध्ययन-अनुसन्धान, खर्क विकास तथा व्यवस्थापनमा पर्याप्त लगानी हुन सकेको छैन। खर्कजन्य स्रोतको अनियन्त्रित दोहन, स्वामित्वको अस्पष्टता, व्यवस्थापन सम्बन्धी प्रविधि विकास तथा प्रसारको अभाव र खर्क विकास राष्ट्रिय प्राथमिकतामा नपर्दा चुनौती थपिएको छ।

बढ्दो क्षति नगण्य क्षतिपूर्ति

हिमाली क्षेत्रमा पाइने भालु, चितुवा, हिउँ चितुवा, हिमाली ब्वाँसो लगायत वन्यजन्तु हिन्दूकुश क्षेत्रका मुख्य जग हुन्। यिनको उपस्थितिले स्वस्थ र बलियो पर्वतीय पारिस्थितिक प्रणालीलाई चित्रण गर्छ। यिनीहरूको अस्तित्व चरन क्षेत्रको गुणस्तरमा भर पर्छ भने चरन क्षेत्रको गुणस्तर याक, चौंरी लगायत पशुधनको चरन र मानव हस्तक्षेपले निर्धारण गर्छ।

हिमाली क्षेत्रमा याक, चौंरी र कृषक मात्रै छैनन्, उनीहरू सँगसँगै ठूला मांसाहारी जनावरको उपस्थितिले निम्तिने द्वन्द्व पनि छ। जसले याक तथा चौंरीपालनमा उदासीनता बढाएको छ भने हिमाली भेगको कृषिजन्य पारिस्थितिक प्रणाली बिथोलिंदै गएको छ। मुख्यतः हिउँ चितुवाको मुख्य आहारा (४० प्रतिशत) का रूपमा याक तथा चौंरीका बाछाबाछी पर्ने गरेका छन्।

महेशप्रसाद तिवारी सहितको टोलीले अन्नपूर्ण र मनास्लु संरक्षित क्षेत्रको मध्यभागमा पर्ने नार्फु उपत्यकामा सन् २०१७/१८ र २०१८/१९ मा ६० जना गोठालासँगको कुराकानीमा आधारित भई गरेको एक अध्ययनमा क्षति भएका २४२ पशुमध्ये १३६ याक थिए।

अध्ययनमा चितुवाको अधिकांश आक्रमण रातमा भएको (३८ प्रतिशत), त्यसपछि दिउँसो (२८ प्रतिशत), साँझमा (१९ प्रतिशत) र बिहान (१५ प्रतिशत) रहेको देखिएको छ। त्यस्तै, हिउँ चितुवाका कारण प्रतिपरिवार औसतमा दुई पशुको क्षति भएको पाइएको थियो। जबकि दुई वटा गोठालाले मात्रै क्षतिपूर्ति पाएको बताएका थिए।

पलायन हुँदै नयाँ पुस्ता

याक तथा चौंरीपालन हिमाली परम्परामध्ये एक हो, जुन एकीकृत सामाजिक–पारिस्थितिक प्रणालीमा निर्भर हुन्छ। तर युवा पुस्ता सेवासुविधा तथा रोजगारीको सिलसिलामा शहरकेन्द्रित वा विदेश पलायन हुँदा उमेर ढल्किंदै गएका व्यक्ति मात्र यस पेशामा संग्लन देखिन्छन्। पशुपालनमा आबद्ध केही युवा कृषक पनि याक र चौंरीभन्दा जर्सी वा होलस्टिन गाईपालनमा इच्छुक देखिन्छन्। अझ, पशुपालनभन्दा  पदयात्रा र पर्वतारोहण अभियानमा गाइड एवं भरिया पेशाप्रति आकर्षित हुँदै गएको देखिन्छ। दुर्गम क्षेत्रमा चौंरी गोठालो हुनुभन्दा कम लगानीमै ट्रेकिङ व्यवसायमा भविष्य देख्न थालेका छन्। जसले गर्दा याक तथा चौंरीपालनमा युवा पुस्ताको आकर्षण घट्दै गएको छ।

कञ्चनजंघा भूपरिधिमा ६० चौंरी गोठालासँग अन्तर्वार्ता गरी सन् २०२३ मा तयार पारिएको ‘पूर्वी हिमालयको कञ्चनजंघा भूपरिधिमा याक गोठालाको अर्थशास्त्र’ अध्ययनले चौंरीपालन आर्थिक रूपमा आकर्षक पेशा नभएको र बाछा एवं वयस्क याक तथा चौंरीको उच्च मृत्युदरले पेशागत जोखिम बढाएको देखाएको छ। यस पेशाबाट गोठालाले कमाउने प्रत्यक्ष नाफा कम हुने र दुर्गम क्षेत्रमा बस्नुपर्ने भएकाले क्रमिक रूपमा युवा यस पेशाबाट पलायन हुँदै गएको औंल्याइएको छ। अध्ययनले ४० प्रतिशत गोठाला निराश रहेको देखाएको छ।

त्यस्तै, जीविकोपार्जनका लागि अन्य इलमको अभाव एवं चौंरी गोठलाई पर्यटनसँग जोड्न सकिने सम्भावना भएकाले नाफामूलक व्यवसाय बन्ने विश्वास सहित नयाँ व्यक्ति (१५ प्रतिशत) गोठप्रति आकर्षित भएको पनि अध्ययनमा देखिएको छ। यस पेशाप्रति युवाको आकर्षण बढाउने उपायमध्ये याक गोठालालाई पर्यटकसँग जोड्नु उत्तम उपाय भएको ७७ प्रतिशत गोठालाको मत छ।

यस पेशालाई कृषि पर्यटनसँग आबद्ध गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउन गोठवास, याक राइडिङ, याक ग्यालरी, याक तथा चौंरी प्रजनन केन्द्र तथा याक फेस्टिभल जस्ता गतिविधि सञ्चालन गर्न सकिन्छ। तर सरकारी नीति प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा बहुआयामिक याक, नाक र चौंरीको उत्पादन तथा उत्पादकत्व वृद्धि हुन सकेको छैन।

यस्तै, गाईभैंसीको भन्दा फरक स्वाद भएकाले याक तथा चौंरीको घ्यू र चीजको मूल्य बढी हुन्छ। रैथाने गाईको दूधबाट निर्मित ‘कञ्चन चीज’ को भाउ अहिले प्रतिकिलो ९०० रुपैयाँ छ भने ‘याक चीज’ का लागि व्यवसायीले एक हजार ४०० रुपैयाँसम्म लिने गरेका छन्। जडीबुटी पाइने उच्च पहाडी र हिमाली भेगमा पालिने चौंरीले विभिन्न लेकाली वनस्पति खाने गरेकाले यसको दूध पोषिलो मानिन्छ।

चौंरीको दूधमा ‘फ्याट’ को मात्रा समेत धेरै हुने भएकाले यसबाट बन्ने छुर्पी धेरैले रुचाउँछन्। चौंरीको दूधबाट मुख्यतः छुर्पी, याक चीज, घ्यू, सोहसी, ढुन्डे, ठेकी आदि परिकार बन्छन्। त्यस्तै, नाकको दूधबाट बनेको चिजको माग पनि उच्च छ। तर याक चीज उत्पादन एवं बजारीकरण हुन सकेको छैन। जसले गर्दा किसानले उत्पादनको मूल्य पाउन सकेका छैनन्।

याक दिवसले जगाएको आश

अनेक चुनौतीका बावजूद आशा पलाएको छ। नेपाल सरकारले वैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’ मनाउँदै छ। पाँचथर, मुस्ताङ, सोलुखुम्बु लगायत जिल्लामा स्थानीय रूपमा मेला-महोत्सव गरेर याक र चौंरीको महत्त्व बुझाउने प्रयास हुँदै आएकामा अब अन्तर्राष्ट्रिय चासोको विषय बन्न सक्छ।

त्यस्तै, याक तथा चौंरी कृषक महासंघको गठन प्रक्रियाले औपचारिकता पाएको छ। महासंघलाई याक र चौंरीपालनमा देखिएका व्यावहारिक र नीतिगत समस्याको पहिचान गरेर समाधानका लागि पहल, बीमा र उत्पादित दुग्धजन्य वस्तुको बजार प्रवर्द्धनको अवसर छ। याक र चौंरीपालनलाई पर्यापर्यटनसँग जोड्ने, नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने जस्ता काम गर्न सकिन्छ।

त्यस्तै, याक तथा चौंरीजन्य उत्पादनलाई संकलन, प्रशोधन, प्याकेजिङ र बजारीकरणको कार्यमा प्रोत्साहित गर्न उच्च पर्वतीय क्षेत्रमा खेर गइरहेको चरन क्षेत्रको सदुपयोग गर्न आवश्यक छ। प्रायः संरक्षित क्षेत्र र सामुदायिक वनको मातहत रहने चरन क्षेत्रबाट पाउनुपर्ने लाभको न्यायोचित बाँडफाँडका लागि आवश्यक नीतिगत पैरवी पनि जरूरी छ।

सबैको सहभागितामा राष्ट्रिय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरीय अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकारलाई घचघच्याउन सके महासंघको उपस्थिति सार्थक हुनेछ। कृषिको महत्त्वपूर्ण हाँगाका रूपमा रहेको पशुपन्छी पालनलाई व्यवसायीकरण, आधुनिकीकरण, बजारीकरणसँग जोड्दै किसानको आयआर्जन तथा रोजगारी वृद्धिका लागि महासंघले पहल गर्नुपर्छ।

प्रस्तुति: रमेश तिमिल्सिना र राजेन्द्र भट्ट