तेस्रो ‘बिग बटरफ्लाई’ अभियानमा १२९ प्रजातिका ३३५ पुतली पाइए

नेपालमा १२९ प्रजातिका ३३५ पुतली पाइएका छन् । पुतलीको विविधता र संख्याबारे जानकारी लिने उद्देश्यसहित गरिएको ‘बिग बटरफ्लाई’ गणना अभियानले नेपालमा पाइने पुतलीको प्रजातिको संख्या र प्रकार पहिचान गरेको हो ।

बटरफ्लाई वाचर्स नेपाल, भक्तपुरले ३ मार्चदेखि सुरु गरेको ५९ दिने ‘बिग बटरफ्लाई’ अभियान अप्रिल ३० मा सकिएको छ । खोटाङ, कास्की, सुनसरी, लमजुङ, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, सुर्खेत, कपिलवस्तु, धादिङ, झापा र कञ्चनपुर जिल्लाका २५ ठाउँमा पुतली गणना गरिएको थियो । अभियानमा स्वयंसेवी र संरक्षणको काममा ३२ जना गणक सहभागी थिए । उनीहरूले मुलुकको २५ ठाउँमा गरेको गणनामा १२९ प्रजातिका ३३५ पुतली गणना गरेका थिए । गणनामा विज्ञान, प्राणीशास्त्र र व्यवस्थापन संकाय अध्ययनरत स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थी सहभागी थिए । पुतलीप्रेमी फोटोग्राफर र फोटो पत्रकार पनि गणनामा सहभागी थिए ।

नेपालमा पाइने पुतलीका प्रजाति, पाइने क्षेत्र, संख्या र फोटो खिच्ने उद्देश्यले गणना अभियान चलाइएको बटरफ्लाई वाचर्स नेपालका संस्थापक तथा पुतलीविद् सनेजप्रसाद सुवालले बताए । ‘यो तेस्रो अभियान हो,’ उनले भने, ‘यसको थिम बटरफ्लाई म्याराथन राखिएको छ ।’ गणनामा सहभागी हुनेले धेरैभन्दा धेरै पुतली गणना गरून् भनेर अभियानलाई ‘बटरफ्लाई म्याराथन’ नाम दिइएको उनले बताए । अभियानमा सबैभन्दा धेरै पुतलीको तस्बिर खिच्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । अमृत साइन्स क्याम्पस, काठमाडौंमा वातावरण विज्ञानमा स्नातक अध्ययनरत सिद्धार्थ सापकोटाले सबैभन्दा बढी तस्बिर खिचेर पहिलो पुरस्कार पाएका छन् ।

उनले पोखरा र काठमाडौं उपत्यकामा ६३ प्रजातिका ६८ पुतलीको फोटो खिचेका थिए । त्यस्तै, फ्रिलान्स नेचुरलिस्ट अञ्जुकुमारी ढकालले दोस्रो पुरस्कार जितेकी छन् । उनले १८ प्रजातिका २३ पुतलीको तस्बिर खिचेकी थिइन् । पुतली गणनामा साइटिस सूचीमा रहेका कमन वर्डविङ र विरलै देखिने लोपोन्मुख सिरिन पुतलीको पनि गणना गरिएको थियो । बटरफलाई वाचर्स नेपाल सोसल साइन्स बेस्ड सोसल मिडिया प्लेटफर्म हो । यसले पुतलीको अध्ययन अनुसन्धान, संरक्षण, सचेतना र शिक्षामूलक काम गर्दै आएको छ । मौसमका हिसाबले पुतली बढी देखिने समयमा अभियान चलाएर बढीभन्दा बढी सूचना संकलन गर्न अहिले गणना गरिएको वाचर्स नेपालले जनाएको छ । मार्च, अप्रिल, जुन र जुलाई महिनामा वन क्षेत्रमा पुतली र दुर्लभ पुतली बढी देखिन्छ ।

नेपालमा सबैभन्दा बढी ६ सय ९२ प्रजातिका पुतली पाइएको अभिलेख छ । यसअघिको दोस्रो पुतली गणनामा दुई सय ५० बढी प्रजातिका पुतली पहिचान भएको थियो । तराईदेखि हिमालको ७ हजार मिटरसम्म पुतली पाइएको रेकर्ड छ । वैज्ञानिकहरूका अनुसार विश्वमा पाइने पुतलीका ५ परिवार हेस्पिरडाई, प्यापिलिनोइडी, पिरिडी, लाइसिनिडी, रियोनिडी र निम्फालिडीकै पुतलीहरू नेपालमा पाइन्छन् । केही पुतलीहरू भने नेपालमा मात्र ‘रेकर्ड’ भएका छन् । विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर, केसरी हिन्द पुतली, नेपाल वाल, नेपाल स्किपर, नेपाल मेडो ब्लु र मनाङ मेडो ब्लु प्रजातिका पुतली नेपालमा मात्र पाइन्छन् । ग्रेक हकस्टिक सेलर, केसरी हिन्द पुतली, नेपालको गोदावरीमा र मनाङ मेडो ब्लु मनाङमा मात्र पाइन्छ ।

नेपालमा पाइने सबैभन्दा ठूलो पुतली गोल्डेन वर्डविङ हो । यसको लम्बाइ १५० मिलिमिटरदेखि १९४ मिलिमिटर हुन्छ । यो साइटिसमा पनि सूचीकृत छ । यहाँ पाइने सबैभन्दा सानो पुतली स्मल ग्रास ज्वेल हो । यसको लम्बाइ १५ मिलिमिटर र २२ मिलिमिटरसम्म हुन्छ । नेपालमा सबैभन्दा बढी पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पहिचान भएका छन् । काठमाडौं उपत्यकामा गोदावरी र तराईको चितवन पनि पुतली बढी पाइने क्षेत्रमा गनिन्छ । वातावरणलाई मनमोहक बनाउने पुतलीले समाजपयोगी काम पनि गर्छ । यसले अप्रत्यक्ष रूपमा कृषि उत्पादन बढाउन सघाउँछ । अन्नबाली, तेलहन र फलफूलमा परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्छ । फूलको रस चुस्दाचुस्दै भाले–पोथी फूलबीच परागसेचन भई उत्पादनमा राम्रो योगदान गर्छ । पुतलीले जलवायु परिवर्तनको सूचकका रूपमा पनि काम गर्छ ।

पुतली भेटिनु भनेको स्वस्थ वनको सूचक पनि हो । आकर्षक देखिने पुतलीले पर्यापर्यटनका लागि समेत भूमिका खेल्ने वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । ‘मौरीपछि सबैभन्दा बढी पुतलीले पोलिनेटरको काम गर्छ । संसारका ८० प्रतिशत खाद्यान्न उत्पादन गर्न परागसेचन आवश्यक पर्छ,’ उनले भने, ‘नभए उत्पादन हुँदैन । भोकमरी हुन्छ । यसले जनजीवन नै प्रभावित पार्छ । वातावरणलाई मनमोहक बनाउने पुतली समाजपयोगी काम पनि गर्छ ।’