लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे । यस्तै विश्वकपमा डेब्यु गरेको उज्बेकिस्तानको लागि अब्बोसबेक फेजुल्लाएभले गोल गरे । कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे ।

विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६०औं मिनेटमा बराबरी गोल गरेका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने । तर उज्बेकिस्तानको बराबरी गोलको खुशी धेरै समय टिकेन । त्यसको पाँच मिनेटपछि नै लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी टाइमको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३-१ को जित दिलाए । यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ ।



