विश्वकपको पहिलो राउण्डका १० किस्साहरू

उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को पहिलो साताले नै फुटबल समर्थकलाई रोमाञ्च, आश्चर्य र अविस्मरणीय क्षणहरू दिएको छ। लियोनल मेसीको ऐतिहासिक ह्याट्रिकदेखि स्पेनको अप्रत्याशित नतिजा र डीआर कङ्गोको साहसी प्रदर्शनसम्म, प्रतियोगिताले सुरुमै चर्चा बटुलेको छ।

१. मेसीको कथा अझै समाप्त भएको छैन

प्रतियोगिता सुरु हुनुअघि धेरैले यो विश्वकप लियोनल मेसीको अन्तिम विश्वकप यात्रा हुन सक्ने अनुमान गरेका थिए। तर अर्जेन्टिनी कप्तानले आफ्नो करिअरकै पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसँग बराबरी गरेपछि उनले आफू अझै पनि विश्व फुटबलको केन्द्रमा रहेको प्रमाणित गरेका छन्।

२. कहाँ हराए रोनाल्डो ?

मेसीकोको चमकबीच उनका लामो समयका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो भने आलोचनाको केन्द्र बने। डीआर कङ्गोसँग १–१ को बराबरीमा रोकिएको खेलमा उनी प्रभाव जमाउन असफल रहे। त्यसपछि समर्थक र विश्लेषकबीच “के रोनाल्डोको स्वर्णिम समय सकियो?” भन्ने प्रश्न उठ्न थालेको छ।

३. एम्बाप्पेलाई रोक्न गाह्रो

किलियन एम्बाप्पेले फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। २७ वर्षीय स्टार अब विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमानभन्दा केवल दुई गोलले पछाडि छन्। उनले नयाँ कीर्तिमान पछ्याउने बानी नै बनाइसकेका छन्।

४. गोल्डेन बुटको दौड रोचक बन्दै

प्रतियोगिताको पहिलो सातामै विभिन्न शैलीका उत्कृष्ट गोलहरू देखिए। हाल मेसी तीन गोलसहित गोल्डेन बुट दौडमा अग्रस्थानमा छन्। यता ह्यारी केन, एर्लिङ हालाण्ड र एम्बाप्पेसहित सात खेलाडी समान दुई–दुई गोलसहित दोस्रो स्थानमा छन्।

५. उपाधि दाबेदारहरूलाई सुरुमै झट्का

विश्वकप जित्ने प्रमुख दाबेदार मानिएको स्पेनले अपेक्षित सुरुआत गर्न सकेन। विश्व वरीयताको दोस्रो स्थानमा रहेको स्पेनलाई अफ्रिकाको सानो द्वीपीय राष्ट्र केप भर्डेले गोलरहित बराबरीमा रोक्यो। करिब पाँच लाख जनसंख्या भएको केप भर्डे विश्व वरीयतामा स्पेनभन्दा ६५ स्थान तल रहेको टोली हो।

६. डीआर कङ्गोलाई हल्का नठान्नू

योआने विस्साले विश्वकपमा डीआर कङ्गोको इतिहासकै पहिलो गोल गरे। पोर्चुगलसँग १–१ को बराबरी खेल्दै अफ्रिकी टोलीले आफू केवल सहभागिताका लागि नभई चुनौती दिन आएको सन्देश दिएको छ। किन्शासादेखि नियाङ्गारासम्म समर्थकहरूले यो उपलब्धिको खुसी मनाएका छन्।

७. कुरासाओको ऐतिहासिक यात्रा

जर्मनीसँग ७–१ ले पराजित भए पनि कुरासाओका समर्थकहरूको उत्साह कम भएन। विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको क्यारेबियन टापुका लागि प्रतियोगितामा सहभागिता नै ठूलो उपलब्धि हो। टोलीका खेलाडी लिभानो कोमेनेन्सिया देशका नयाँ नायक बनेका छन्।

८. गुलाबी बुटको क्रेज

यस विश्वकपमा खेलाडीहरूको खुट्टामा देखिएको चम्किलो गुलाबी बुटले पनि ध्यान तानेको छ। नाइकी, एडिडास र पुमा जस्ता प्रमुख कम्पनीहरूले ‘इलेक्ट्रिक फुसिया’ ( गुलाबी र बैजनी रंगको मिश्रणबाट बनेको एक आकर्षक, चम्किलो र नियोन शेड) शैलीका बुट बजारमा ल्याएका छन्, जुन मैदानभर लोकप्रिय बनेका छन्।

९. समर्थकहरूले बनाए विश्वकपलाई महोत्सव

ब्राजिलका समर्थकहरूले हरियो–पहेंलो जर्सी, झण्डा र ढोलसहित न्यूयोर्कमा रियोको झल्को दिएका छन्। मोरक्कोका समर्थकहरूले रातो धुवाँसहितको उत्सव थप रंगीन बनाए। यता बोस्टनमा स्कटल्यान्डका प्रसिद्ध टार्टन आर्मी समर्थक समूहले पबहरू भरिभराउ बनाउँदै विश्वकपको माहोल तातेको छ।

१०. मेक्सिकोको अनौपचारिक मस्कट ‘मर्लिन’

सह–आयोजक मेक्सिकोमा फुटबलको क्रेज मानिसमा मात्र सीमित छैन। मर्लिन नामको पाल्तु हाँस मेक्सिकोको जर्सी र विशेष मोजा लगाएर सामाजिक सञ्जालमा चर्चित बनेको छ। समर्थकहरूले उसलाई मेक्सिको टोलीको अनौपचारिक मस्कटको रूपमा अपनाएका छन्।