नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा आइतबार एपीएफ र सेनाको टीएसी महिलातर्फ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । एपीएफले समूह ए को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी)लाई ३-० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले बीएमसीलाई २५-११, २५-१२ र २५-१६ ले पराजित गरेको थियो ।
एपीएफको ६ अंक भएको छ । यसअघि एपीएफले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई पराजित गर्दै ३ अंक जोडेको थियो । यस्तै, सेनाको टीएसी पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । टीएसीले जेभिसीलाई २५-११, २५-५, २५-११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो ।टीएसीले शनिबार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो । समूह बिजेता र उपबिजेताको टुङ्गो भने एपीएफ र सेना विचको प्रतिस्पर्धा बाट हुनेछ ।
दशरथ रङ्गशालाको कभर्डहलमा जारी च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप डीमा पहिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी)ले पहिलो जित निकाल्ने क्रममा बुद्धटोल युवा भलिबल क्लब (बीवाईसी) लाई २५-१०, २५-१५, २५-११ ले पराजित गर्यो । ग्रुपमा दुई टिम मात्र भएकोले पहिलो जितमानै हेल्प नेपाल क्वाटरफाइनल प्रवेश गर्न सफल भएको हो । हारका बावजुद बिवाईसी पनि समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ ।