नेपाली लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा ‘झोर्ले हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो विष्णुको धेरै वर्षपछि सार्वजनिक आफ्नो सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरी गीत हो। शनिबार सार्वजनिक ‘झोर्ले हजुर’ मा विष्णुसँगै गायक बाबुकृष्ण परियारको स्वर छ। यसको शब्द रमेश बिजीको हो भने बाबुकृष्णकै संगीत छ। संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन्।

गायिका विष्णु माझीले विगत केही वर्षयता आफ्नाभन्दा बाहिरी गीतहरूमा स्वर दिन पूर्णतः छाडेकी थिइन्। वर्षभरि शान्त रहने उनको स्वर तीज गीतमार्फत एकाएक चर्चामा आउँथ्यो। तीज र दशैंमा आफ्नै कम्पनीबाट मात्रै गीत सार्वजनिक हुने गरेका थिए। स्रोताहरू उनको नयाँ गीत सुन्न वर्षदिनभरि तीजकै प्रतिक्षा गर्न बाध्य थिए। तर, यसपटक तीज आउनुभन्दा निकै अगाडि र त्यो पनि तीज विशेषभन्दा फरक विधाको गीतमा उनले स्वर दिएकी हुन्।
तीजको विरह र वेदनाभन्दा फरक, त्यसमाथि लामो समयपछि बाहिरी प्रोजेक्टमा स्वर दिएपछि लोकदोहोरी क्षेत्रमा यसलाई चासोका साथ हेरिएको छ।
मगर संस्कृति र भाषामा अभिवादनका लागि प्रयोग गरिने शब्द ‘झोर्ले’ लाई बिम्ब बनाएर गीत तयार पारिएको छ। यसको भिडिओको कुरा गर्नुपर्दा गायक बाबुकृष्ण स्वयंका साथमा सुजैन सिंह खड्काको नृत्य तथा अभिनय देख्न सकिन्छ। मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडिओमा अमृत चापागाईंको सम्पादन, बुद्ध थापाको छायांकन छ। भिडिओ बाबुकृष्ण परियारको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ।



