विश्वकप फुटबल भनेको नामुद र स्थापित स्टारहरूले खेल कौशल देखाउने मञ्च मात्र होइन, यसले कहिलेकाहीँ आम मानिसको मन छुने र लामो समयसम्म स्मरणमा रहने कथा पनि जन्माउँछ। सोमबार राति अमेरिकाको एट्लान्टा रंगशालामा जब विश्वकप इतिहासमै पहिलो पटक डेब्यू गरिरहेको मुलुक केप भर्डले सन् २०१० को विश्व विजेता स्पेनलाई गोलरहितको बराबरीमा रोक्दै आफ्नो तालिकमा १ अंक दर्ज गरायो, तब पूरा फुटबल जगत स्तब्ध भयो। स्पेनले खेलभरि निरन्तर आक्रमणको वर्षा गरेको थियो। दोस्रो हाफमा त आफ्ना मुख्य स्ट्राइकरलाई नै मैदान उतार्यो। तर दर्जनौं पटक प्रयास गर्दा पनि स्पेनका विश्वविख्यात खेलाडीहरूले केप भर्डका गोलकिपर भोजिन्याको सुरक्षा पर्खाल तोड्न सकेनन्। यो विश्वकप यात्रामा कपे भर्ड धेरै माथि जाला भन्ने आँकलन कसैले गरेका छैनन्, तर त्यसका बाबजुद हिजो स्पेनविरूद्ध गोलकिपर भोजिन्याले गरेको प्रदर्शनलाई विश्व फुटबल जगतले धेरै पछिसम्म सम्झिरहनेछ।

आफ्नो चुम्बकजस्तो गोलकिपिङबाट स्पेनका स्ट्राइकरहरूलाई आच्छु आच्छु पारेर ‘नायक’ बनेका भोजिन्याले ४० वर्ष उमेरमा विश्वकपमा डेब्यू गरेका हुन्। आफ्नो पहिलो विश्वकपको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि भोजिन्या अहिले विश्वभरका फुटबल प्रेमीहरूमाझ चर्चाको केन्द्रमा छन्। खेल सकिएको केही घन्टामै भोजिन्याको इन्स्टाग्राम फलोअर्स ५० हजारबाट ह्वात्तै बढेर ५० लाखभन्दा बढी पुगेको छ। सोमबारको खेलमा स्पेनी स्ट्राइकरहरूले २७ चोटि गोल गर्ने प्रयास गरेका थिए। सात चोटि त गोलपोस्टमै सिधै प्रहार गरे। तर भोजिन्याले उनीहरूको हरेक प्रहारमा आफ्नो मजबुत नियन्त्रण कायम राखे। दोस्रो हाफमा स्पेनका युवा स्टार लामिन यमालले समेत गोलकिपर भोजिन्या र केप भर्डको डिफेन्स तोड्न सकेनन्। जब खेल सकिएको अन्तिम सिट्ठी बज्यो, भोजिन्या आफ्नो पोस्ट नजिकै निहुरिएर रोए। त्यसपछि उनका साथीहरूले उनलाई अँगालो हाले।
भोजिन्याले खेलपछि भावुक हुँदै आफ्नो प्रदर्शन हेर्न नपाएका प्रियजनहरूलाई सम्झिए। भोजिन्यालाई बाल्यकालमा हुर्काउने उनका हजुरबुबा-हजुरआमाको केही वर्षअघि नै निधन भइसकेको छ। उनकी आमा पनि भिसा खर्च जुटाउन नसकेर छोराको खेल हेर्नलाई अमेरिका आउन सकिनन्। ‘मैले जीवनभरि यही एक पल, यही एउटा सपनाका लागि मिहिनेत गरेको थिएँ,’ भोजिन्याले भने, ‘हाम्रो देशमा पुराना धेरै पुस्ताले यही दिनको सपना देखेर जीवन बिताए, तर त्यो सपना पूरा हुन सकेन। आज हाम्रो सपना साकार भएको छ।’ रातारात विश्व फुटबल स्टार बनेका भोजिन्या को हुन्? उनी यहाँसम्म कसरी आइपुगे? भोजिन्याको जन्म सन् १९८६ जुन ३ मा केप भर्डको एउटा सानो टापु मिन्डेलोमा भएको थियो।
स्रोत-साधनविहीन सानो अफ्रिकी टापुमा जन्मेर व्यावसायिक फुटबलर बन्ने सपना देख्नु आफैमा ठूलो आँट हो। भोजिन्यामा सानैदेखि त्यो आँट भरिएको थियो। बाल्यकालमा उनले आफ्नो गाउँका रैथाने टोलीहरूबाट खेलको सुरूआत गरे। आधुनिक फुटबलमा १६-१७ वर्ष उमेरमै खेलाडीहरू व्यावसायिक रूपले जमिसकेका हुन्छन्। ४० वर्ष उमेरसम्म त अधिकांश खेलाडी रिटायर्ड भइसक्छन्। भोजिन्याले भने लामो समय स्थानीय लिगकै संघर्षमा बिताउनुपर्यो। उनले निकै ढिलो गरी आफ्नो देशका बातुके र मिन्डेलेन्से जस्ता क्लबबाट व्यावसायिक फुटबलको सुरूआत गरेका थिए। ६ फिट २ इन्च उचाइका यी गोलकिपरले आफ्नो जीवनमा कहिल्यै सुखको बाटो रोज्न पाएनन्। अवसर र पहिचानको खोजीमा उनी आफ्नो करिअरभरि ६ वटा फरक देशका साना र दोस्रो डिभिजनका क्लबमा भौंतारिए।

उनले एंगोलाको प्रोग्रेसो, मोल्डोभाको जिम्ब्रु चिसिनाउ र साइप्रसको एईएल लिमासोल जस्ता क्लबबाट व्यावसायिक फुटबल खेले। एइएल लिमासोलमा रहँदा उनले २०१८-१९ को सिजनमा साइप्रस कपको उपाधि जितेका थिए, जुन उनको क्लब करिअरको सबभन्दा ठूलो सफलता थियो। हाल उनी पोर्चुगलको दोस्रो डिभिजनको क्लब जिडी चाभेसमा आबद्ध छन्। फुटबलको प्रतिस्पर्धालाई लिएर केप भर्ड र स्पेनबीच कुनै तुलना हुन सक्दैन। एकातिर विश्वका सबभन्दा महँगा र नामुद क्लबहरूबाट खेल्ने स्पेनिस खेलाडीहरू, अर्कातिर विश्वकपमा पहिलो पटक पाइला टेकेको केप भर्ड। सोमबार राति खेल सुरू भएदेखि नै स्पेनले बल आफ्नो नियन्त्रणमा राख्दै केप भर्डको डिफेन्सलाई लगातार दबाबमा राख्यो। पेड्री, यमलले लगायतले दर्जनौं पटक गोलीजस्तै बल प्रहार गरे, तर पोस्टमा तैनाथ भोजिन्याले उनीहरूको हरेक प्रहारलाई विफल पारिदिए। खेलको अन्तिम क्षणतिर स्पेनले पाएको फ्रिकिकमा हेडमार्फत भएको प्रहारलाई भोजिन्याले एक कुशल गोताखोरले झैं हावामा उफ्रिएर बचाउँदा रंगशालामा उपस्थित हजारौं दर्शक जुरूक्क उठेका थिए। एकाएक विश्व फुटबलको चर्चामा आएका भोजिन्या अहिलेसम्म किन ओझेलमा परेका थिए भन्ने प्रश्न अहिले धेरैको दिमाग छ।
उनले यसअघि २०१३, २०१५, २०२१ र २०२३ को ‘अफ्रिका कप अफ नेसन्स’ मा आफ्नो देशको पहरेदारी गरिसकेका छन्। यति लामो अन्तर्राष्ट्रिय करिअर हुँदाहुँदै उनी विश्व फुटबलको मूलधारमा परिचित हुन सकेका थिएनन्। यसका पछाडि केही कारण छन् — पहिलो, केप भर्ड एउटा सानो टापु राष्ट्र हो, जसको जनसंख्या जम्मा साढे पाँच लाख हाराहारी छ। यस्तो साना अफ्रिकी देशका खेलाडीहरू युरोपका शीर्ष पाँच लिग (जस्तै प्रिमियर लिग, ला लिगा) मा नपुगुन्जेल विश्वभरका सञ्चार माध्यमहरूका आँखामा पर्दैनन्। दोस्रो, भोजिन्याले आफ्नो खेल जीवनको स्वर्णिम समय मोल्डोभा, एंगोला र साइप्रस जस्ता देशका क्लबमा बिताए। हाल उनी पोर्चुगलको दोस्रो डिभिजनको जिडी चाभेसमा खेलिरहेका छन्। च्याम्पियन्स लिग वा शीर्ष युरोपियन मञ्चमा देखिन नपाएका कारण पनि उनको प्रतिभा क्षेत्रीय स्तरमा मात्र सीमित रह्यो। तेस्रो, केप भर्डले आफ्नो इतिहासमा कहिल्यै विश्वकप खेल्ने अवसर पाएको थिएन। फुटबलको सबभन्दा ठूलो र बढी हेरिने मञ्च नै विश्वकप भएकाले त्यहाँ नपुग्ने खेलाडीहरू जतिसुकै प्रतिभाशाली भए पनि विश्वव्यापी पहिचान पाउनबाट वञ्चित हुन्छन्। भोजिन्याका लागि यो विश्वकप नै पहिलो र ऐतिहासिक त्यस्तो मञ्च बन्यो, जहाँ उनले संसारलाई आफ्नो वास्तविक क्षमता देखाउन पाए।



