दुर्गालाल श्रेष्ठ- जसले सात दशकसम्म लेखिरहे

– राज सरगम

नेपाल भाषाका कवि मात्रै भनेर चिनिने जनकवि दुर्गालाल श्रेष्ठ त्यतिखेर बढी लोकप्रिय भए जतिखेर देशमा ‘फूलको आँखामा फूलै संसार’ बोलको गीत एकनासै सुनिन थाल्यो। संगीतकार न्ह्ययू बज्रचार्यको कम्पोज र गायिका आनी छोइङ् डोल्माको स्वर रहेको गीत ‘माष्टरपिस’ सावित भयो। उनको पहिचान व्यापक बनाइदियो। फूल र काँडाको आँखाबाट फरक-फरक संसार हेर्ने दृष्टिकोणलाई सरल शब्दमा बुन्न सकेका श्रेष्ठले आइतबार मध्यरात ९३ वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै निवासमा अन्तिम सास लिए। आफ्नो सिर्जनामा अनन्त बाँचिरहने कवि श्रेष्ठले सात दशकसम्म लेखिरहे। भाषा, सांस्कृतिक पहिचानको आन्दोलन र साहित्य कर्ममा निरन्तर लागे। श्रेष्ठको निधन प्राकृतिक हो तर नेपाली साहित्यले एउटा युग गुमाएको छ।

‘फूलको आँखामा फूलै संसार’ गीतले उनलाई नयाँ पुस्तासम्म पुर्‍यायो। तर उनको परिचय यो एउटा गीतमा मात्र सीमित थिएन। ‘फूलको आँखामा’ उनको विशाल काव्य–सागरको एउटा थोपा मात्रै हो भन्छन् उनलाई नजिकबाट चिन्ने स्रष्टा। उनकै गीत गाएर लोकप्रिय बनेकी गायिका आनी मेरो जीवनका सबैभन्दा अमूल्य व्यक्तिमध्ये एकलाई गुमाउँदा म अत्यन्तै मर्माहत छु भन्छिन्। उनले भनेकी छन्- ‘फूलको आँखामा’लगायत मेरा धेरै प्रिय नेपाली गीतहरूका पछाडि रहेको त्यो कवि–हृदय अब हामीमाझ भौतिक रूपमा रहनुभएन। कविता, गीत तथा बालसाहित्यका माध्यमबाट उहाँले दशकौँसम्म नेपाली साहित्यमा पुर्‍याउनुभएको योगदान पुस्तौँपुस्तासम्म श्रद्धा र प्रेमका साथ स्मरण गरिनेछ। मेरो जीवनमा उहाँका सुन्दर गीत र शब्दहरूको आशीर्वाद रहनु मेरो लागि सधैँ एउटा अमूल्य सौभाग्य रहनेछ। उहाँप्रति म सधैँ कृतज्ञ र ऋणी रहनेछु,’ उनले लेखेकी छन्।

श्रेष्ठका सिर्जनामा प्रेम थियो, पीडा थियो, विद्रोह थियो, क्रान्ति थियो, दर्शन थियो र अन्ततः जीवन तथा मृत्युबोध पनि थियो। उनी कवि मात्र थिएनन्—गीतकार, नाटककार, बालसाहित्यकार तथा नेपालभाषा र भाषिक पहिचानका अथक अभियन्ता पनि थिए। नेपालभाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित गरेका लेखक श्रेष्ठलाई नेपाल भाषा परिषद्ले २०६० सालमा‘जनकवि’को उपाधिले सम्मानित गरेको थियो। पिजा, जी स्वयम्भू त्वथ, याका फलेचा, इन्क्लाब्य पलासा, ट्विस्ट र टर्न, दुर्गालाल श्रेष्ठका कविताहरू, चिनियाम्हा किसिचा, तैभाबा, चिनिया चम्पा, कुलिकासा, सालछ्योन्या बेला, माछाबखाँचा, सन्ताया कुसा, टपाका  र जंगल कविता  उनका चर्चित कृतिमा पर्छन्।

‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ जस्ता राष्ट्रभक्ति गीतले पनि उनको सिर्जनात्मक सामर्थ्यलाई जनजीवनसँग जोडेको थियो। सो गीतलाई नयाँ भाइबहिनीले किताबमा पढ्दछन्। उनको योगदानलाई राज्य र साहित्यिक संस्थाहरूले पनि विभिन्न सम्मानमार्फत स्वीकारेका थिए। उनलाई २०६७ सालमा ‘जगदम्बा–श्री’ बाट उनी सम्मानित भएका थिए।

प्रेम, मान्छेका लागि जीवनको नयाँ मोड हुन सक्छ। जिन्दगीमा नयाँ पालुवा प्रेमकै सुगन्धले अङ्कुराउने गरेको कथाहरु हामी सुन्छौँ । र, कवि श्रेष्ठको जीवनमा प्रेमले  कविताको यात्रामा डोर्‍याएको थियो । हो उनको औपचारिक साहित्यिक यात्रा योजनाबाट सुरु भएको थिएन। उनको कविताको पहिलो भूमि प्रेम थियो। युवावस्थामा गणित पढ्दै गर्दा ‘दुई विन्दु जोड्दा रेखा बन्छ’ भन्ने पाठले उनलाई प्रेमको भाषामा कविता लेख्न प्रेरित गरेको प्रसंग उनको जीवनसँग जोडिएको छ—

तिमी बिन्दु, म पनि बिन्दु
जर्जर धरतीमा दुई थोपा पानी…

प्रेमका अनुभूतिबाट सुरु भएको उनको कविता क्रमशः समाज, गरिबी, श्रम, अन्याय, आन्दोलन र पहिचानको प्रश्नसम्म पुग्योको बताउँछन् लेखक समीक्षकहरू।

काठमाडौँ उनको जन्मथलो भए पनि उनको बाल्यकाल गरिबीमा बित्यो। उनका पिता अत्यन्तै गरिब थिए। अभाव र संघर्षसँगै हुर्किएका उनले जीवनका सुरुवाती दिनमै परिवारको आर्थिक कठिनाइ र जीविकोपार्जनका चुनौती नजिकबाट भोग्नु परेको थियो। जीवन चलाउने क्रममा उनले अनेक कठिनाइको सामना गरे। तर अभावले उनको सिर्जनशीलतालाई रोक्न सकेन। बरु गरिबी, दुःख र सामाजिक यथार्थ उनका कविता, गीत र नाटकका महत्वपूर्ण भावभूमि बन्दै आएका थिए।

खेतमा काम गर्ने युवतीसँगको आत्मीयताका क्रममा उनले किसानको दुःख, श्रम र अभावलाई नजिकबाट देखे। त्यही अनुभव उनका गीत र कवितामा रूपान्तरित भए। त्यसैले कवि श्रेष्ठका कविता कल्पनाको मात्र विषय बनेनन्। समाज रुपान्तरणमा टेवा पुर्‍याउने गतिला ज्ञान पनि बने। कवि श्रेष्ठका निकटस्थ र जीवनीकार आर. मानन्धरका अनुसार उनी योजनाबद्ध रूपमा कविता लेख्नेभन्दा तत्कालीन संवेदनाबाट कविता जन्माउने कवि थिए। कुनै दृश्य, घटना, भेट, पीडा वा मानिसको व्यवहारले छोएपछि उनी तत्काल लेखिहाल्थे। त्यसैले उनलाई ‘तत्काल संवेदनाको कवि’ पनि भनियो। साथै संगीतकार न्ह्यु बज्रचार्यले कम्पोज गरेको संगीत सुनेर उनले शब्द कोरेका थिए।

उनको जीवनबारे लेखिएको कवि–कविताको छवि : श्रेष्ठमा प्रेमदेखि आन्दोलनसम्म र बाल्यकालको गरिबीदेखि वृद्धावस्थाको मृत्युबोधसम्मका अनेक प्रसंग समेटिएका छन्। मानन्धरले दुर्गालालसँगको करिब चार दशक लामो सान्निध्य, अनुसन्धान र विभिन्न सामग्रीको अध्ययनबाट उनको जीवनलाई पुस्तकमा उतारेका थिए। कवि श्रेष्ठले आफ्नो जीवनलाई केवल साहित्यकारको रूपमा हेर्दैनथे। साहित्यकारभन्दा ‘भाषिक आन्दोलनको एउटा सिपाही’ भन्न रूचाउँदै उनी आफूलाई।

उनका कवितामा प्रेमका कोमल अनुभूति भेटिन्छन् भने उनका आन्दोलनका गीतमा विद्रोहको स्वर सुनिन्छ। यही द्वन्द्वले उनको सिर्जनालाई विशिष्ट बनाउँदै ल्याएको थियो। उनका निकटस्थहरूका अनुसार उनी संवेदनशील स्वभावका थिए। सानो घटनाले पनि उनलाई गहिरोसँग छुन्थ्यो। त्यो संवेदना तुरुन्तै शब्दमा परिणत हुन्थ्यो। वृद्धावस्थामा समेत उनको सिर्जनशीलता रोकिएन। बरु पछिल्ला रचनामा मृत्युबोध अझ गहिरिँदै गयो। उनले संघारैनेर जस्तो कृतिमार्फत जीवनको अन्तिम सीमातर्फ फर्किएको कविको चेतना व्यक्त गरे।

कुर्ने क्षण तर सबभन्दा पछि
मेरै मृत्यु म जब कुर्छु…

जीवनभर अरूका दुःख, प्रेम, संघर्ष र सपनालाई शब्द दिएका कवि अन्ततः आफ्नै मृत्युको प्रतीक्षालाई पनि कविताको विषय बनाएर गए। श्रेष्ठको साहित्यिक व्यक्तित्व बुझ्न उनको भाषिक आन्दोलनलाई छुट्याउन सकिँदैन। नेपालभाषाको संरक्षण, प्रवर्द्धन र समानताको पक्षमा उनी निरन्तर सक्रिय रहे। उनका लागि भाषा केवल सञ्चारको माध्यम थिएन; त्यो इतिहास, संस्कृति, स्मृति र पहिचान पनि थियो। त्यसैले उनलाई चिन्ने कविहरु भन्छन्- कवि श्रेष्ठ कोमल गीत  मात्रै लेखेनन् अन्याय र विभेदविरुद्ध तीक्ष्ण आवाज पनि उठायो। उनका लागि मातृभाषा केवल साहित्य लेख्ने माध्यम मात्रै थिएन; आफ्नो अस्तित्व, इतिहास र पहिचानसँग जोडिएको जीवन्त आधार पनि थियो।

कवि साहित्यकार तथा समीक्षक हरि अधिकारी लेख्छन्- ‘विदा दुर्गालाल दाइ ! अत्यन्त लोकप्रिय कवि, गीतकार एवं बालसाहित्य स्रष्टा दुर्गालाल श्रेष्ठ ‘ख्वबिलु’ को ९३ वर्षको समृद्ध वयमा हिजो देहावसान भएको छ। उनको निधनबाट नेपाल भाषा मात्र होइन नेपाली भाषाको साहित्यमा समेत अपूरणीय क्षति भएको छ। नेपाल भाषाले त आफ्नो श्रेष्ठतम साधकलाई सधैंका लागि गुमाएको छ।’

‘ख्वबिलु’ उनले साहित्यमा राखेको एक उपनाम थियो। उनको जीवन नेपालभाषा साहित्यको आधुनिक यात्रासँगै काठमाडौं केन्द्रित भाषिक तथा पहिचान आन्दोलनको इतिहाससँग पनि गाँसियो। उनी अघिको नेपालभाषा काव्य परम्परा र पछिल्लो आधुनिक काव्यधाराबीचको एउटा महत्त्वपूर्ण सेतुका रूपमा पनि सम्झिने गरिन्छ। एघार वर्षको उमेरमा टोलमा भइरहेको नाटकको रिहर्सल हेर्ने क्रममा आँखामा चोट लागेपछि साथीहरूसँग मिलेर आफैं नाटक बनाउने अठोट गरेका थिए। नाटक लेख्ने जिम्मा उनैले लिए। त्यही बाल्यकालीन प्रयासले उनलाई साहित्यको बाटोतर्फ धकेलेको उनका अन्तरवार्ताहरुमा सुन्न पाइन्छ नाटकबाट सुरु भएको यात्रा पछि कविता र गीतको विशाल संसारमा पुगेको हो।

उनका हस्तलिखित अक्षरसमेत चर्चित थिए। आफ्ना कविता र गीत आफैंको सुन्दर हस्तलिपिमा लेख्ने उनको शैलीलाई पछिल्लो समय डिजिटल फन्टमार्फत संरक्षण गर्ने प्रयाससमेत भएको थियो। उनको जीवनलाई समेटेर जीवनी लेखेका आर. मानन्धरले भनेका छन्—उनको जीवनी एउटा कविको कथा मात्र होइन, आजीवन संघर्षमा होमिएको योद्धाको कथा हो। सायद यही नै कवि श्रेष्ठलाई सम्झिने सबैभन्दा उपयुक्त तरिका पनि हो।

उनले प्रेम गरे, प्रेममा हारे, फेरि लेखे। गरिबी भोगे, संघर्ष गरे, फेरि लेखे। भाषा र पहिचानका लागि सडकमा उत्रिए, फेरि लेखे। समाजको पीडा देखे, लेखे। आफूभित्रको मृत्युबोध भेटे, त्यसलाई पनि कवितामा उतारे। बस् ! उनले लेख्न छोडेनन्। त्यसैले उनलाई चिन्नेहरुले भन्छन्- ‘कवि श्रेष्ठले ‘शब्द’लाई कहिल्यै छोडेनन्।’ फूलको आँखामा फूलै संसार’देखि ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’’सम्म उनका रचनाले नेपाली समाजको भावनात्मक स्मृतिमा गहिरो छाप छाडेका सिर्जना हुन्। आज यी गीत जन-जनलाई याद छ।

नयाँ र पुराना पुस्ताको रोजाइमा पर्न सक्ने खालको गीतका सर्जक श्रेष्ठलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्झिएका छन्। ओलीले ‘फूलको आँखामा फूलै संसार–काँडाको आँखामा काँडै संसार’ र ‘सयथरी बाजा एउटै ताल–सयथरी गोडा एउटै चाल’ जस्ता कालजयी रचनामार्फत श्रेष्ठले नेपालीको मनमा कहिल्यै नमेटिने छाप छाडेको बताएका छन्। उनले श्रेष्ठ भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँका अमर गीत र कविताहरू सधैँ गुञ्जिरहने उल्लेख गर्दै श्रेष्ठको काव्य तथा कला क्षेत्रमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका छन्।