-राजाराम फुयाल
नेपालको सुदुर पूर्वी जिल्ला ताप्लेजुंग र पॉचथरको उत्तरी सिमाना नक्सामा हेर्दा वाणको टुप्पो झै ठाडो र तिखो छ । यहि भागमा संसारको ऑखाबाट ओझेल परेर बसेको छ धर्ती भित्रको एक स्वर्ग मुन्धुमी शक्ति केन्द्र तिम्बु पोखरी वा तिम्बुङ पोखरी क्षेत्र अर्थात् तिम्बुक वरक । अझ हिन्दूहरुले त विष्णु पोखरी पनि भन्दा रहेछन् । जसले जे नाम दिए पनि यो हामी सबैको साझा सास्कृतिक क्षेत्र । प्रकृतिले दिएको अनुपम उपहार ।

तिम्बुङ पोखरी जाने रहर निकै पहिलेको हो । तर मौका र समय मिलिरहेको थिएन । यसपाली जसोतसो समय मिलाएर लागियो तिम्बुङ पोखरी | साथमा थिए म बाहेक अरु छ पदयात्री नरेश फुयाल, कमल ढकाल , भवन थकाल,सुमन लुईटेल,रोशन सापकोटा र मनिष धोरासैनी । पदयात्री सबै मनकारी र हितैषी ।

तिम्बुङ पोखरी जान बसले चाबहिलमा ११ बजे बोलायो तर आफु भने १२ बजे मात्रै आयो । बस खाली थियो । हामी सात चढेपछि बस गुड्यो । कोटेश्वरमा पुगेर फेरि अडियो । बसका कर्मचारी यात्रु खोज्न थाले । जसोतसो बस भरेरै छाडे तिनले । अनि ३ बजे गुड्यो बस ताप्लेजुंङ तिर । अरनिको राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग , कोशी राजमार्ग,तम्बर करिडोर र मेची राजमार्ग हुँदै हामी बिहान ६ बजे पॉचथरको गणेशचोक पुग्यौ ।
विहानैबाट चलाएमान छ गणेश चोक । यहिबाट सुरु हुन्छ तिम्बुङ पोखरी यात्रा । गणेश चोक मध्यपहाडी राजमार्ग र मेची राजमार्गको संगम स्थल पनि हो । यहॅाबाट ७ किलोमिटर थर्पु बजारसम्म मध्यपहाडी राजमार्गमा गुडेपछि बाटो फेरिन्छ । सानो नाम मात्रको बाटो रहेछ त्यहॅाबाट । राजमार्ग भने चुवातर्फ लाग्दो रहेछ । कच्ची सडकमा करिव ४५ किमी गुड्नु पर्छ कालीखोला पुग्न । थर्पु बजारबाट कच्ची सडक भएर हामी ओरालो झर्यौ ।
अब करिव ५ घण्टा कच्ची सडकको मोटर यात्रा रहने छ । बिच बिचमा रोचक सुन्दर गाउॅबस्ती झरना हेर्दै गुड्न पाइने छ । निकै तल झरेपछि इवा अर्थात् इन्द्रावती खोला भेटियो । यसको शिर हो हाम्रो गन्तब्य तिम्बुङ पोखरी । इवा खोलाको रहेको पक्की पुल तरे पछि पॅाचथर जिल्ला सकियो । यहीबाट पारी ताप्लेजुंग सुरु हुने रहेछ । ताप्लेजुंगको सिदिङ्वा गाउँपालिका यहिबाट सुरु भयो । यहिबाट सुरु भयो पहाडी गाउॅघर । सुरुमै निकै आकर्षक घरहरुले स्वागत गरे । हरेक घरमा टिनका छाना र मकै झुण्डाइएका । परम्परागत ढुंगा र माटोका घरहरु निकै आकर्षक थिए । अझ कुनै कुनै त खरका छाना पनि भएका ।

सडक कच्ची छन् । सडकमै झर्झन झरनाहरु । सॉझ ७ बजे पुगियो कालीखोला । कालीखोला मिचिम गाउॅको सिरानमै बास बस्यौ । अमिर राई भाइको निकै सुन्दर होटल रेड पाण्डामा । ठूलो क्षेत्रफलमा फैलिएको यो होटल बाटोमै पर्ने अनि वरिपरी निकै सुन्दर दृश्य हेर्ने भ्यु पोईन्ट नै रहेछ । सिदिङ्वा गाउँपालिकाको वडा नं. एक माँ पर्दों रहेछ कालीखोला । यहॉभन्दा पर मोटर जॉदैन । हुन त गाउँ पालिकाको उद्देश्य अझै पर बाटो लाने योजना भने रहेछ । धमाधम बाटो खनिदै रहेछ । तिम्बुङ पोखरी जान यहॉबाट हिड्नुको बिकल्प छैन । पर कालीखोला पारी गोरु जुधे डाडा चढेर जानु पर्छ तिम्बुङ पोखरी ।
कालीखोला मिचिम गाउँ परम्परागत रुपमा चल्दै आएको छ । यहॉको आफ्नै रिती छ । कालीखोलामा कालीको बास छ । वर्षेनी बोकाको भोग दिने चलन छ यहॉ । काली खोला माथी झोलुंगे पुल छ । त्यहि पुल तरेर तिम्बुङ पोखरी यात्रा सुरु हुन्छ । खोलाको पानी निकै सफा छ । खोला पारी डोजर बाटो छ । आकाशे पारी पनि एउटा गॉउ रहेछ । त्यो गाउँ नगइ हामी उकालो लाग्यौ । अलि माथी गएपछि त्यहिको एउटा घरमा खाजा खाइयो । उकालो निकै कडा । गाउँघर तल छोडिदै गयो । सबैतिर हरियाली छाएको छ । पदमार्ग उकालो छ तर अफ्ठ्यारो छैन । हिड्नलाई गोरेटो छ । ढुंगा छापेकाले हिलो छैन । भुईफूल धेरै छन् । छिन छिनमा कुहियो आईरहने । बिस्तारै हिड्दै गएपछि कुवापानी पुगियो । केहि बेरमा डडुवा पुगियो । त्यहॉ लालिगुरॉस होमस्टे रहेछ खान बस्न मिल्ने । उकालो चढ्दै जॉदा थाम डाडा पुगियो । त्यहॉ केहि गोठ रहेछन् । तर रित्ता ।

केहि बेर चौरमा हिडेपछि फेरि उकालो सुरु भयो । कालीखोलाबाट सात घण्टा हिडेर नुनथला पुगियो । नुनथलामा उभिएर हेर्दा वरिपरी डाडाको पत्रैपत्रा । निकै सुन्दर डाडा । पॉचथर र ताप्लेजुंगका निकै सुन्दर भुगोल देखिने ठाउ रहेछ नुनथला । पाथीभरा पनि देखिने । केहि हिमाल पनि देखिने । सानो पाथीभरा थान पनि त्यहि रहेछ । गोठ बाटोमा भएकाले अलि फोहर भए पनि निकै राम्रो भ्यु पोईन्ट रहेछ नुनथला ।
सॅाझ मौसम खुलेकाले वरीपरीका दृश्य निकै राम्रो देखियो । रमाइ रमाइ फोटो भिडियो खिचियो । पश्चिमतर्फ निहालेर हेर्दा पाथीभरा पनि देखियो । केहि हिमाल पनि देखिए । सॅाझको मौसम निकै मनमोहक बनिदियो । आजको रात त्यहि बास बसियो ।

विहान सवेरै तिम्बुङ पोखरीतर्फ हिडियो । उचाई चढ्नु पर्ने भएकाले बाटो उकालो नै थियो ।मौसम सफा नै थियो । हिमाल टल्केको थियो । हिजोको भन्दा बाटो सजिलै रहेछ । आजको पहिलो उकालो काटेपछि एउटा गोठ आयो । यसलाई पोखरी ताल भनिदो रैछ । त्यो कटेपछि फूलैफूलको सानो खर्क आयो । फूलले खर्क पहेलपुर थियो । पर क्षितिजमा हिमालले मुस्कान दिईरहेको थियो ।
बाटो ओरालो थियो यहॅा चाहि । केहि बेर अरालो र तेर्सो हिडेपछि एउटा चौतारो आयो । केहि बेर आराम गरियो अनि देउरालीको उकालो चढियो । देउरालीमा एउटा बाटुलो बिश्राम गृह रहेछ । त्यहॅा पनि निकै बेर आराम गरियो साथीहरु तल्लो बाटो गएछन् । मलाई नदेखेर फोन गरे । देउरालीबाट ओरालो थियो बाटो । वरीपरी चिमालको धना जंगल । यहॅाबाट ट्रि लाईन सकियो । चौर आयो । चौर पुरै पहेलपुर । यहॅा पनि गोठ रहेछ । पांगदुवा भनिदो रहेछ यो ठाउलाई । गोठभन्दा माथी होटल रहेछ । त्यहि हाम्रो लागि ब्रेकफास्ट पाकिरहेको थियो । उकालो फेरि चढियो । युवा नागी र तावा नागीको बिचमा रहेकाले यसलाई दोवाटो पनि भनिदो रहेछ । भोक लागेको थियो रोटी तरकारी अण्डा खाइयो ।

यहॅाबाट भने पदमार्ग निकै सजिलो बनाएको रहेछ । उचाई बढ्दै थियो । ठूलो र सजिलो पदमार्ग तर घुमाउरो । धेरै घुम्ति काट्नु पर्ने । अहिले आउला छैन भरे आउला छैन । घरी पानी पर्छ रेनकोट लगायो घरि रहन्छ फेरि फुकालो ! निकै हैरान भैइयो । तल गोठ भएको चौरलाई बिखे चौर भनिदो रहेछ । त्यहॉ गोठमा बस्तु भाउ र मान्छे चलमलाएको देखियो । कुहिरो पनि आउने जाने भइरहयो । बल्ल तल्ल पुगियो ठूला भन्ज्यांग । उचाई रहेछ ४२४० मिटर । हामी बस्ने होटल त्यहि थियो । मौसम बिग्रेकाले वरिपरी केहि देख्न पाइएन । सॅाझ पुगेकाले सिधै कोठामा पसेर आराम गर्न थालियो । मिठा मिठा गफ गरेर समय कटाईयो । खाना खाएर बेलैमा सुतियो ।
विहान सबेरै उठेर हेर्दा त मन नै चंगा । क्या दामी ठाउमा बसिएको रहेछ । वरिपरीका दृश्य निकै मनमोहक ! हिमाली भिरालो खर्क र चौरीको बथान ! हिमाल झलल ! कति राम्रो भुगोल ! मन निकै प्रशन्न भयो । अबको यात्रा तिम्बुङ पोखरीतर्फ । यहॅाबाट बिस मिनेटमै पुगिने दुरीमा थियौ हामी । बाटो उकालो थियो । दश मिनेट हिडेपछि हॅाडी पोखरी आयो । सानो तर आकर्षक पोखरी रहेछ । बयान गरिरहनु नै नपर्ने दृश्य आफै बोल्ने । मुख्य पदमार्गको छेउमै लुकेर बसेको रहेछ हॅाडी पोखरी । हॅाडी पोखरी नपुगी तिम्बुङ पोखरीको दर्शन नगर्नु भन्ने मान्यता पनि रहेछ यहॅा ।

टलक्क टल्किएको हिमाल हेर्दै हॅाडी पोखरीको डिलमा पुगियो । केहि साथीहरु यता नआई बाटै बाटो तिम्बुङ पोखरीतर्फ लागिसकेका थिए । यता आउने म एक्लो नै रहे । आकारमा सानो भए पनि धार्मिक मान्यता बोकेको पोखरी हो यो । निकै सुन्दर ठाउमा रहेको यो पोखरी देख्दा मन निकै प्रफुल्ल भयो । यसैको शिरमा रहेको पदमार्ग चाहि कन्चनजंगा बेसक्याम्प जाने बाटो रहेछ । दुइ दिन हिडे कन्चनजंगा पुगिने रहेछ ।

हॅाडी पोखरी हेरेर पुन मुल पदमार्गमै आईयो । केहि साथीहरु निकै माथी पुगिसकेका केहि तलै रहेको देखे । रमाईलो मान्दै भुईफूल हेर्दै हिड्न थाले । कलिलो घामले निकै न्यानो अनुभूति दिईरहेको थियो । पदमार्ग छेउ धर्मशाला पनि बनाएको रहेछ । तलको दृश्य पनि निकै आकर्षक थियो । तलबाट आउदा पोखरी नदेखिने छेउमै आएपछि मात्रै देखिने तिम्बुङ पोखरी अग्रेजीको एट आकारको रहेछ ।

४३३५ मिटरको उचाईमा रहेको तिम्बुङ पोखरी इवा खोलाको मुहान पनि हो । यहिबाट बगेको देखिन्छ खोला । पोखरीको पूर्वी भागबाट पानी निकास भएको छ तर अलि पर गएपछि भिरमा खोला हराएको छ । अनि फेरि अझै तल गएपछि पुनः पानी निस्केर झरना बनेर गएको छ । प्रकृतिको लिला पनि बिचित्र छ । पानी हराउने अनि फेरि देखिने । प्रतक्ष्य देखिने आश्चर्य भनेको यहि पानीको निकास ।सुरुमा कुलो बनेर निकास देखिन्छ अलि पर गएपछि हराउछ अनि फेरि अझै तल गएपछि निस्कन्छ ।
इवा अर्थात् इन्द्रावती खोलाले ताप्लेजुंग र पॉचथरको सिमा पनि छुट्टाएको छ । अब हामी तिम्बुङ पोखरीलाई छोडेर इवा खोला तरेर पॉचथरतर्फ लाग्यौ । अलि पर पुगियो डिलबाट फेरि तिम्बुङ पोखरी हेर्न थालियो । बहुत सुन्दर देखियो । पोखरीमा हामी सात बाहेक कोहि थिएन । भएकै सात पनि सबै आआफ्नै तालमा । म भने पर इवा खोला पारी डीलमा मग्न ।
यहॉसम्मको यात्रा निकै आनन्द दायक र मनकारी । बाटोमा आउदै गर्दा मकालु र कुम्भकर्ण हिमालको श्रृंखलाहरु हेर्दै आईयो । मनसुनको बेला भए पनि मौसमले निकै राम्रो साथ दियो । बिहान सवेरै देखि मौसम खुलेको थियो । तिम्बुङ पोखरीमा धेरै रहस्य किम्बदन्तीहरु लुकेको छ जोडिएको छ । यो पोखरी भित्र सुनको बिछ्यौना भएको कथा छ । यसलाई नागेरामानको वासस्थानको रुपमा पनि लिईन्छ । कसैले विष्णुको बास रहेको पोखरी पनि भन्ने गर्छन् ।
भारतमा राज्य गर्दा नेपाल छिरेका अग्रेजहरुलाई यो पोखरीले रोकेको कथा पनि छ । तिम्बुङ पोखरीबाट बन्दुक पड्केको आवाज आउछ रे ! जोसुकैले सुन्दैन रे आवाज । भाग्यमानीले चाहि सुन्छ रे ! यो पोखरीमा कहि कतैबाट पानीको मुल देखिदैन तर पानी निकास भने भएको छ ।
यो क्षेत्रमा यो मात्रै नभएर अनेकौ पोखरीहरु छन् । हुन त ताप्लेजुंग पॉचथर पोखरी नै पोखरीको जिल्ला हो । यो क्षेत्रमा हिमतालहरु धेरै छन् । सबैको आफ्नै विशेषता र महत्व छ । सबै एक से एक सुन्दर । तिम्बुङ पोखरी आफैमा सुन्दर र रहस्यले भरिएको एउटा कुमारी पर्यटन स्थल चाहि हो । निकै कम मान्छेले भ्रमण गरेको यो ठाउँ अहिले पनि पर्यटकलाई पर्खेर बसिरहेको छ ।

पोखरी पारी किन्जो देखिन्छ । डाडैभरी पातलो रुपमा फैलिएको छ । तर वारी एउटै छैन । यो दुर्लभ बनस्पती हो । यहॉ बाहेक अन्त नपाईने ।वास्तबमा यो औषधिय गुण भएको फूल हो । हेर्दा अग्लो धरहरा जस्तो देखिने फूल निकै सुन्दर छ । हामीले यहि हेर्न यो यात्रा तय गरेका थियौ । यहि सिजनमा फूल्छ भन्ने कुरा त्यहॉका स्थानिय युवाहरु सन्तोष पुर्कोटी र अमीर राई अनि गाउँपालिका अध्यक्षज्युसंग परामर्श गरेर हामी गएका थियौ । सबैले सकेको सहयोग गरे । यसका लागि आभारी भयौ हामी ।
तिम्बुङ पोखरी किन्जोको राजधानी भन्दा पनि फरक नपर्ने रहेछ ।किन्जो वरिपरी अरु फूल पनि कति राम्रोसंग फूलेको । याकथुम मुन्धुम अनुसार यो संसारको सृष्टि हुँदा देउताले सबै बनाए । यसै क्रममा बनेको पोखरी हो तिम्बुङ पोखरी । यसलाई तिम्बक वरक पनि भनिन्छ । तिम्बक वरकको अर्थ बन्दुक पड्कने पोखरी हो । यो पोखरी याकथुम लिम्बुहरुको मुन्धुमस्थल हो । याकथुम मुन्धुम अलिखित ग्रन्थ भएपनि वाचन भने गरिन्छ । यसरी वाचन गर्दा यो पोखरीको नाम लिइन्छ । जुठो परेपछि चोख्याउन यसैको नाम लिईन्छ । सुत्केरी चोख्याउदा यहि पोखरीको नाम लिईन्छ । विभिन्न लिम्बु संस्कार गर्दा यसैको नाम पुकारिन्छ । तसर्थ यो लिम्बुको संस्कृति जोडिएको पोखरी हो । पबित्र तिर्थस्थल हो ।
हिन्दुहरुको लागि पनि यो तिर्थस्थल नै हो । बिष्णुले बास गरेको पोखरी मानिन्छ । यहि पोखरीमा नागमाथी बिष्णुले आराम गर्ने गरेका थिए रे ! धार्मिक मान्यता आफ्नो आफ्नो
ठाउमा छोडेर हेर्दा तिम्बुङ पोखरी प्राकृतिक सम्पदा हो । यो सबैको सॉझा सम्पत्ति हो । यसको उचित संरक्षण प्रचार हुनुपर्छ ।

तिम्बुङ पोखरीलाई भेटभरि हेरिसके पछि अब लागियो सिक्किमी क्षेत्रमा पर्ने लक्ष्मी पोखरीतर्फ । ढुंगा छापेर मिलाइएको सजिलो पदमार्ग भएर पूर्वी क्षेत्रतर्फ करिव ५ सय मिटर हिडे पछि सेलेले पुगियो । त्यहि बाट हाम्रा पथप्रदर्शक पूर्ण राईले हामीलाई मूल पदमार्ग छाडेर ठाडो उकालो लगे । मूल बाटै बाटो लामो र किन्जो पनि नदेखिने कारणले उनले हामीलाई ठाडो चढ़ाएका थिए । अलि पर जाने वित्तिकै पहिलो किन्जो देखियो ।
हामी रमायौ । फोटो खिच्यौ । अली पर पुग्न पाएको छैन खर्क भरिनै किन्जो नै किन्जो ! निकै बेर त्यहॉ रमाइयो । जीवनमा पहिलो पटक यसरी किन्जो देखिएको थियो ।ठूलो हिमाली फॉटमा पातलो तर धेरै किन्जो फूल फुलिरहेको थियो । भुईमा कस्तुरी फूल पनि थियो । ठाउ ठाउमा ढुंगाको कापमा कपासे फूल अर्थात् माई कोपिला पनि फूलीरहेको थियो ।

हामी ति सबै हेर्दै क्रमश सिक्किमतिर लागिरहेका थियौ । पर ढुंगामाथी टिनको संकेत देखियो । त्यो नै नेपाल भारतको सिमा संकेत रहेछ । त्यो संकेत पारी भारत रहेछ । हामी भारत प्रवेश गर्यौ । त्यहॉ पनि किन्जो लगायत अरु फूलहरु फूलिरहेका थिए । हामी लक्ष्मी पोखरी देखिने डिलमा पुग्यौ । ४६८० मिटरअग्लो ठूलो डिलबाट तल गहिरोमा लक्ष्मी पोखरी देखियो । लक्ष्मीको बास भएकाले लक्ष्मी पोखरी भनिएको रे ।
पोखरी पारी कन्चनजंगा र अरु भारतिय हिमाल देखिरहेका थिए । मौसमले निकै राम्रो साथ दियो । हामी मन्त्रमुग्ध बन्यौ । निकै बेर त्यहॉ रमाएर अरु पोखरी पनि हेर्न पाइला अधि बनायौ । तर मौसम क्रमश बिग्रिन थाल्यो । कुहिरो आउन थाल्यो । पर पर देखिएका पोखरी छेकिन थाले । तैपनि हाम्रा पाईला रोकिएन । भारतीय सिमा रक्षकसंग भेट भयो । निकै राम्रो वातचित भयो ।
नेपालतिर जस्तै सिक्किम तिर पनि हाँडी पोखरी रहेछ । हॉडी पोखरी मुनी कान्छी पोखरी । त्यो पारी डाडामुनी राधाकृष्ण पोखरी । अरु ३,४ बटा बेनामे पोखरी पनि देखिएका थिए ।हिड्दै हामी लाम पोखरीको डिलमा पुग्यौ । त्यहॉ जाने क्रममै ३ वटा बेनामे पोखरी पार गरिसकेका थियौ । केहि बेर त्यहि आराम गरियो खाजा खाईयो ।

अनि लागियो नेपाल भारत सिमास्तम्भ भएको ठाउतिर । त्यहॉ जाने क्रममा पनि जुम्ल्याहा पोखरी लगायत धेरै पोखरी हेर्दै गइयो । सिक्किमका गोठहरु पनि देखियो । सिमास्तम्भ मुनी हॉस पोखरी रहेछ बाटुलो । नेपालतर्फ पनि एउटा बेनामे पोखरी थियो । त्यसैको आडमा पदमार्ग थियो । सिक्किमको छॉगापानी हुदै हामी त्यहि बाटो पुन तिम्बुङ पोखरीतर्फ फर्किन थाल्यौ । अलि पर पुगेपछि चुवाभन्ज्यांगबाट आउने पदमार्ग पनि त्यहि बाटोमा जोड़ियों । निकै आकर्षक खर्क हुदै आएको रहेछ । कति ठूलो चौर । कति राम्रो ट्रेल !

हाम्रो यात्रा त्यतापट्टी थिएन । हामी पुन तिम्बुङ पोखरीतर्फ नै फर्कियौ । बाटोमा ढुंगा ठडिएको निकै आकर्षक ठाउ पनि रहेछ । यो प्राकृतिक हो कि मान्छेले ठडाएका हुन् बुझ्न सकिएन । मान्छेले ठडाउनै नसक्ने ढुंगा पनि ठडिएको देखियो ।त्यहि अदभूत दृश्य हेर्दै पुन तिम्बुङ पोखरी हुदै रेड पाण्डा गेस्टहाउसमा फर्किएर खाजा खाएर पुन पांगदुवातर्फ लाग्यौ । त्यो दिन त्यहि बस्यौ । भोलीपल्ट कालीखोला झर्यौ । अनि मोटर चढेर गणेशचोक हुदै राती १० बजे फिदिम पुग्यौ । राती त्यहि आराम गर्यौ । भोलीपल्ट झापा झरेर काठमाडौं आयौ । हाम्रो तिम्बुङ पोखरी कल्चरल ट्रेल पदयात्रा यसरी सकियो ।



