छिरिङ शेर्पा एन्फा अध्यक्षमा विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । प्रत्यासी मणि कुँवरलाई ५१ मतले हराउँदै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाले ६३ मत पाउँदा कुँवर १२ मतमा सीमित भए । यससँगै गणेश थापामाथि प्रतिबन्ध लागेको साढे ३ बर्षपछि एन्फा औपचारिक रुपमा उनको छत्रछायाँबाट मुक्त भएको छ ।

थापामाथि १८ कार्तिक २०७१ मै फिफाले प्रतिबन्ध लागेको थियो । ३० कार्तिक २०७२ मा फिफाले थापामाथि १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी कडा प्रतिबन्ध लगायो । तर, एन्फामा गणेश थापाकै हालीमुहाली हटेन । उनले चाहेकाहरु नै नेतृत्वमा आए ।

यो पटक उनले मणि कुँवरलाई अघि सारेका थिए । कुँवर थापाको आफ्नै सालो हुन् ।कुँवरले अन्तिम समयमा आएर विधान सम्वत नभएको भन्दै चुनाव बहिस्कारको घोषणा गरेका थिए । साधारणसभा स्थलमा उपस्थित भए पनि उनी हलमा पसेनन्।  निर्वाचन कमिटीले समय घर्किसकेको भन्दै उनको उम्मेदवारी फिर्ता स्वीकार गरेन र चुनाव गराएको थियो ।

शनिबार ललितपुरमा भएको १६ औं साधारणसभाबाट शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। कार्यसमितिमा सबै शेर्पा प्यानलका निर्वाचित भए।साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए। गरेका थिए।

केन्द्रीय कार्यसमितिमा सबै कर्मा समूहबाटै आएका छन् । चार उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका छन् । ११ सदस्य पनि कर्मा समूहबाटै आएका छन् ।

सदस्यमा दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ विजयी भएका छन् ।