रसियामा आयोजना हुने विश्वकपमा पहिलो पटक देखिने ५ कुराहरु

काठमाडौँ । यो गृष्ममा हुन लागेको फुटबल विश्वकपलाई रसियाले अहिलेसम्मको सबैभन्दा ठूलो र भव्य उत्सव बनाउने वाचा गरेको छ । खेल पारखीहरुमा रसियामा यो पटक के के नयाँ कुरा हुने हो भन्नेमा पनि जिज्ञासा रहेको छ । यहाँ हामीले यो वर्ष रसियामा हुन लागेको विश्वकपमा पहिलो पटक देखिने पाँच कुराको बयान गर्दैछौँ ।

भिडियो एसिस्टेट रेफ्री(भीएआर)
विश्वकप इतिहासमा पहिलो पटक भिडियो रिप्लेबाट खेलको केही महत्वपूर्ण क्षणको अन्तिम निर्णय दिनेछ ।भिडियो एसिटेड रेफ्री महत्वपूर्ण क्षणमा हुने मानवीय त्रुटी हटाउनको लागि प्रयोगमा ल्याइएको हो । यो प्रविधि विशेष गोल लाइनबाट बल पार भए नभएको निक्र्यौल गर्न र अफसाइड छुट्याउनको लागि प्रयोगमा आएको छ । तर यो प्रविधि पनि प्रयोगमा ल्याइएदेखिनै खोटरहित भने देखिएको छैन ।

हालै भीएआरको एक त्रुटीले न्यू क्यासल जेट्स र मेलबर्नबीचको खेलको निर्णय भएको फुटबल फेडेरेशन अफ अष्ट्रेलियाले स्वीकार गरेपछि अष्ट्रेलियाको ए डिभिजन लिग अहिले स्क्याण्डलमा फसेको छ । सो खेलमा मेल्बर्न विजयी बन्दै राष्ट्रिय लिगको विजेता तय भएको थियो । यो प्रणाली रेफ्रीलाई स्पष्ट, अकाट्य प्रमाण प्रदान गर्नको लागि विकास गरिएको बताइएको थियो । तर अष्ट्रेलियामा भएको उक्त खेलमा निर्णायक गोल हुँदा तीन खेलाडी अफसाइड भएको भीएआरले खुट्याउन सकेन । एक महिना अघि जर्मन फुटबल लिग बुन्डेललिगामा पनि भीएआरले गल्ती गरेको थियो । एक जर्मन टिमलाई यो प्रणालीले हाफटाइम ब्रेकमा पेनाल्टी दियो तर यो निर्णय त्यो समयमा दिइएको थियो जब विपक्षी टिमका खेलाडीहरुले मैदान छाडिसकेका थिए ।

इटालीमा त भीएआरको एक विवादाष्पद निर्णयमा प्रशंसकहरुले ठूलो विरोध ¥यालीनै निकालेका थिए । उता बेल्जियममा भीएआर सफ्टवेयरमा आएको गडबडीले खेल १५ मिनेट ढिलो भएको थियो ।

विश्वकपमा झन् धेरैको नजर र समर्थन हुने भएकाले भीएआरको एक गलत निर्णयले कुन समूहको अर्को चरणमा जान्छ र को घर फर्किन्छ भन्ने निर्धारण हुनसक्छ । यसले यो विश्वकपमा भीएआरको पनि परिक्षा हुनेछ ।

आइसल्याण्डको ‘भाइकिङ्ग थन्डर क्लाप’
३,३०,००० जनसङ्ख्या भएको आइसल्याण्डले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा नसोचेको सफलता हासिल गरेको छ । युरोपको सुदुर पश्चिमी भागमा रहेको यो सानो भूमीलाई परम्परागत रुपमा फुटबलको शक्ति केन्द्र मानिदैन । तर, पछिल्लो समय आइसल्याण्डले गरेको प्रदर्शन, विशेष युरोपेली च्याम्पियनसीपमा देखाएको खेलले यो मान्यता बदलिनेवाला छ ।

फ्रान्समा बेलायतलाई हराएको आइसल्याण्डले त्यो बेला देखाएको दृढता, टिम स्पीरिट र सुन्दर खेल सीपको सबैले प्रशंसा गरेका थिए । त्यो समय आइसल्याण्डका प्रसंशकहरुले रङ्गशालामा देखाएको ‘भाइकिङ्ग थन्डर क्लाप’ले पनि फुटबलमा प्रेमीहरुको मन जितेको थियो ।

यदी तपाईहरुले तिनको ‘भाइकिङ्ग थन्डर क्याप’ छुटाउनु भएको थियो यो विश्वकप त्यसको नजर पाउने राम्रो अवसर हुनेछ । आइसल्याण्ड पहिलो पटक विश्वकप फुटबलमा छानिएको हो ।

विश्वकपमा रोनाल्डोको सम्भवत अन्तिम खेल
क्रिटियानो रोनाल्डो विश्व फुटबलका एक राजकुमार हुन् । यो गृष्ममा आयोजना हुने विश्वकपमा उनी सम्भवत अन्तिम पटक सहभागी हुनेछन् । रियल म्याड्रिडका यी स्टार खेलाडी अर्को पटक सन् २०२२ मा हुने विश्वकपमा ३७ वर्ष हुनेछन् । त्यो उमेर भनेको उनी जस्तो क्षमता भएको खेलाडीको लागि पनि बुढो उमेर हो ।त्यसैले हाम्रो पुस्ताको सबैभन्दा उत्कृष्ट खेलाडीको अन्तिम खेलको लागि तयार हुनुहोस् ।

यो कुराले एक बेफाइदा हुनेछ, रानोल्डोको विदाईसँगै रसियामा हुने विश्वकप रोनाल्डो र मेसीको प्रतिद्वन्द्वीताको पनि अन्तिम विश्वकप हुनेछ । यी दुई समकालिन विश्व फुटबलका सबैभन्दा सशक्त खेलाडी हुन् । र, दुवैजना प्रत्येक सिजन स्पेनको घरेलु खेल ला–लिगाको लागि प्रतिस्पर्धा गर्छन् । तर उनीहरुलाई ला–लिगामा जस्तो खेल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो प्रदर्शन नगरेको आरोप लाग्ने गर्छ । दुबै खेलाडीले क्लबबाट लगभग सम्पूर्ण प्रमुख उपाधिहरु जितिसकेका छन् । तर, देशको नाममा उनीहरुले कुनै विश्वकप जित्न सकेका छैनन् ।

उनीहरु यो पुस्ताको महान खेलाडी हुन् भन्ने निर्विवाद छ तर फुटबल इतिहासमा पनि नाम लेखाउनको लागि उनीहरु विश्वकप जित्नुपर्ने हुन्छ । उदाहरणको लागि म्याराडोनालाई लिन सकिन्छ ।

रोनाल्डोभन्दा तीन बर्ष कान्छा मेसीलाई अर्को एक अवसर छ तर उनी पनि करिअरको लगभग अन्तिम समय उन्मुख छन् । यो विश्वकप यी दुई खेलाडीहरु आफ्नो क्षमताको शिखरमा हुदाँको समयमा सँगै खेलेको हेर्ने अवसर हो ।

सबैभन्दा धेरैले हेर्ने 
एउटा कुरा भने निश्चित छ विश्वकप अवधिभर विश्वको नजर यो खेलमा हुनेछ । तथ्यमा भन्ने हो भने यो विश्वकप हालसम्मकै सबैभन्दा धेरैजनाले हेर्नेछन् । यो विश्वकपलाई तीन अर्ब मानिसहरुले हेर्ने अनुमान गरिएको छ । मध्य जुलाईमा हुने फाइनल खेललाई एकै पटक विश्वभरका एक अर्ब मानिसहरुले अबलोकन गर्नेछन् ।फुटबल विश्वकप कुनै पनि खेल प्रतियोगितामा सबैभन्दा धेरैले हेरिने घटना हो । र यो विश्वकप अघिका सबै किर्तिमान तोड्नेछ ।

टिभीका हेर्नुको अतिरिक्त लाखौँ मानिसहरु प्रत्यक्ष रुपमा रङ्गशालामा गएर फुटबल हेर्नेछन् । यसले गर्दा विश्वकप प्रतियोगिताका खेलहरु आयोजना हुने ११ शहरहरुलाई ठूलो आर्थिक योगदान पुग्नेछ । मस्कोमा मात्र १० लाख प्रशंसक जाने अनुमान गरिएको छ ।

अकिलिज बिरोलो
पल अक्टोपस हामी माझ नरहे पछि खेल परिणामको भविष्यवाणी गर्ने जिम्मेवारी यो पटक अकिलिज नामक बहिरो बिरोलोको ‘पन्जा’मा आएको छ । ऊ सेन्ट पिटरबर्गस्थित हर्मिटेज संग्राहलयमा मुसा मार्न ल्याइएको बिरालो हो ।केही वर्ष अघि दक्षिण अफ्रिकामा भएको विश्वकपमा अक्टोपस पलले आफूप्रति धेरैको ध्यान तानेको थियो । यो पटक अकिलिजले आफूतिर उस्तै ध्यान तान्ने बताइएको छ ।

अकिलिजलाई अक्टोपस पललाई जस्तै झण्डा टाँसिएका दुई बटुकामा खाना दिएर भविष्यवाणी जाचिनेछ । अकिलिजले जुन बटुकोको खाना खानेछ त्यस टिमले जित्ने मानिनेछ ।

अकिलिजको फुटबल खेल परिणाम भविष्यवाणी गर्न सक्ने क्षमता अघिल्लो वर्ष भएको कन्फेडेरेशन कपको क्रममा विश्वको ध्यानमा आएको थियो । उसले त्यो प्रतियोगिताको ७५ प्रतिशत परिणाम मिलाएको थियो । पलको भविष्यवाणीको सफलता दर ८५ प्रतिशत थियो ।

अकिलिज बिरालो बहिरो भएकाले उसलाई अरुले उक्साएर कुनै एउटा बटुकातिर आकर्षित गर्न नसकिने भएकाले उसको भविष्यवाणीमा ‘बाह्य प्रभाव’ नहुने भनिएको छ ।