विश्वकप प्रभाव पार्न सक्ने खेलाडी

विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् ।विश्वकप प्रभाव पार्न सक्ने  सबैभन्दा हेर्नलायक २२ खेलाडी यस्ता छन :

थोमस मुलर

थोमस मुलर जर्मन राष्ट्रिय टोलीका प्रभावशाली हतियारमध्ये एक हुन्। २८ वर्षीय मुलर व्यावसायिक फुटबल भने बुन्डेस लिगा क्लब बायर्न म्युनिखबाट खेल्छन्। मुलरको आक्रामक अल राउन्डर भूमिकाले मैदानमा जस्तोसुकै बलियो टोलीलाई पनि आच्छुआच्छु पार्ने गर्छ। उनी स्ट्राइकर र मिडफिल्डर दुवै भूमिकामा उत्तिकै खुबीका साथ खेल्न सक्ने क्षमता भएका खेलाडी हुन्।

राष्ट्रिय टोली र क्लब फुटबलमा पनि प्रायः उनलाई दुईवटै भूमिकामा राखिन्छ। मुलरको उपस्थितिमा जर्मनीको आक्रमण शक्ति सधैं सशक्त हुने गर्छ। मुख्यतः मिडफिल्डमा जम्ने मुलर विङ्सबाट पनि उत्कृष्ट खेल पस्कन माहिर छन्। विपक्षीलाई छक्याएर बल अगाडि बढाउन सक्ने उनको शैली झनै बेजोडको छ। मुलरले सन् २००४ मा यू-१६ बाट राष्ट्रिय युवा टोलीमा ‘डेब्यु’ गरेका थिए। युवा टोली र राष्ट्रिय टोलीमा जहाँ रहे पनि उनको प्रदर्शन लोभलाग्दो रह्यो।

उमेर समूहका सबै टोलीबाट खेलिसकेका मुलरले सन् २००९ देखि एक वर्ष यू-२१ टोलीमा खेलेका थिए। सोही प्रदर्शनले उनलाई सन् २०१० मा सिनियर राष्ट्रिय टोलीमा प्रवेश गरायो। सिनियर टोलीमा ‘डेब्यु’ गर्दा मध्यपंक्ति र अग्रपंक्ति दुवैमा मुलरको खेल उत्कृष्ट रह्यो। मुलर प्रेरित बायर्न म्युनिख र जर्मनी दुवैको खेल्ने शैली एकै खालको छ। प्रायः दुवैले ४-२-३-१ को ढाँचामा खेल्दा मुलरको भूमिका आक्रामक मिडफिल्डर हुने गर्छ।

मुलर परिपक्वता र तीव्र वेग भएका खेलाडी पनि हुन्। मैदानमा प्रवेश गरेपछि आफूलाई सजिलो रूपमा प्रस्तुत गर्नु र विपक्षीलाई दबाबमा राख्नु उनको मुख्य विशेषता हो। मुलरले जर्मनीका लागि खेलेका सबै खाले ९० खेलमा ३८ गोल गरेका छन्। जर्मनीको रूस विश्वकप यात्रा पक्का गर्न छनोट चरणमा उनले पाँच गोल गरेका थिए। यसैगरी अघिल्लो विश्वकपमा जर्मनीले विश्वकप जित्दा पनि उनले चार गोल गरेका थिए। त्यसैले आगामी विश्वकपमा मुलर जर्मन टोलीको खेललाई प्रभाव पार्न सक्ने क्षमता भएका खेलाडी हुन्।

‘नेमार’

पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडी मानिएका नेमार ब्राजिलको राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य हुन् । यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्धित हुँदा कीर्तिमानी रकम लिएका नेमार विश्वकै महँगा खेलाडी पनि हुन् । नेमार सन् २०१३ मा आफ्नै देशमा भएको कन्फिडेरेसन कप फुटबल प्रतियोगितासँगै ब्राजिलको राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रूपमा उदाएका हुन् ।

त्यसको वर्ष दिनपछि ब्राजिलले नै विश्वकप फुटबल आयोजना गर्दा नेमारले टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । उक्त विश्वकपको कोलम्बियाविरुद्धको क्वार्टरफाइनल खेलको अन्त्यतिर उनी चोटग्रस्त बन्दा ब्राजिल सेमिफाइनलभन्दा माथि उक्लन सकेन । ब्राजिल सेमिफाइनल खेलमा जर्मनीसँग ७-१ गोलको ठूलो अन्तरले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा समेत घरेलु टोली ब्राजिललाई नेदरल्यान्ड्सले ३-० गोलले हराएको थियो ।

त्यतिबेला ब्राजिलियन टोलीले ठूलै आलोचनाको सामना पनि गर्नु परेको थियो । त्यो लज्जास्पद प्रदर्शनको चार वर्षपछि ब्राजिल पुन: उपाधि जित्ने उद्देश्यसहित रूस विश्वकपको तयारीमा जुटिरहँदा नेमारबाट निकै आशा गरिएको छ । राष्ट्रिय टोलीबाट ८३ खेल खेलिसकेका नेमारले ५३ गोल गरेका छन् । यो सिजनको मध्यबाटै चोटका कारण मैदानबाहिर रहेका नेमार यतिबेला नयाँ ऊर्जासहित मैदानमा फर्कने तयारीमा छन् ।

विश्वकप सुरु हुन २५ दिन बाँकी रहँदा नेमार पीएसजीमै रहेर अभ्यास गरिरहेका छन् । आगामी जुन १७ तारिखमा ब्राजिलले स्विट्जरल्यान्डविरुद्ध खेल्दै रूस विश्वकपको यात्रा सुरु गर्नुअघि नै २६ वर्षीय नेमार खेलका लागि फिट हुने योजनामा छन् । कलात्मक फुटबल खेल्ने नेमारलाई रोक्न कुनै पनि टोलीका रक्षकलाई मुस्किल पर्ने गर्छ । उनी आफ्नो एक्लो खेलले टोलीलाई जिताउन सक्ने क्षमता भएका खेलाडी हुन् । त्यसैले रूस विश्वकपमा ब्राजिलको यात्रा धेरै हदसम्म नेमारकै प्रदर्शनमा निर्भर रहनेछ ।

लियोनेल मेसी

लियोनल मेसी अर्जेन्टिनी टोलीका मुख्य खेलाडी हुन् । मेसी फुटबलले पाएको पछिल्लो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन् । मेसीकै उत्कृष्ट प्रदर्शनका कारण पनि अर्जेन्टिना रुस विश्वकपमा छनोट भएको हो ।

गत वर्ष दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीले नै जादुमयी प्रदर्शन गरेपछि अर्जेन्टिना कपमा छनोट भएको थियो । छनोट पक्का गर्न कुनै पनि अवस्थामा जित आवश्यक रहेको उक्त खेलमा मेसीले नै तीन गोल गर्दै टोलीलाई ३–१ को जितसहित विश्वकप सहभागिता पक्का गराएका थिए ।

रुस विश्वकपमा पनि अर्जेन्टिनाको यात्रा मेसीमाथि नै निर्भर रहनेछ । उनकै प्रदर्शनमा अर्जेन्टिनाले विश्वकपमा तय गर्ने यात्राको निर्धारण हुनेछ । अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीका लागि एक सय २३ खेल खेलेका मेसीले ६१ गोल गरेका छन् । यद्यपि उनको यो गोल हालसम्म उनलाई सिनियर राष्ट्रिय टोलीबाट उपाधि दिलाउन भने पर्याप्त बन्न सकेको छैन ।

पछिल्लो १२ वर्षयता अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट खेल्दै आएका उनी उपाधिविहीन छन् । राष्ट्रिय टोलीबाट निरन्तरको असफलतापछि गत वर्ष सन्न्यास लिएर पनि फेरि राष्ट्रिय टोलीमा फर्किएका ३० वर्षीय मेसीका लागि रुस विश्वकप अन्तिम अवसर पनि मानिएको छ ।

त्यसैले उनी सिनियर राष्ट्रिय टोलीबाट विश्वकप उपाधिसहित बिदाइ हुने योजनामा छन् । खेलकौशल र अनुशासनमा विश्वका फुटबलप्रेमीको मन जितेका मेसीको खेल वास्तवमै हेर्न लायकको हुनेछ ।

 ‘सर्जियो रामोस

स्पेनले विश्वकपसहित लगातार तीनवटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी सर्जियो रामोसको छवि अहिले पनि उस्तै छ। उनी स्पेनले पाएको पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडी हुन्। स्पेनले सन् २००८ देखि सन् २०१२ को अवधिमा दुईवटा युरोपियन च्याम्पियनसिप र एउटा विश्वकप उपाधि जित्दा रामोस निकै चम्किएका थिए। स्पेनिस राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने सूचीमा दोस्रो स्थानमा रहेका रामोस यस्ता खेलाडी हुन्, जो रक्षापंक्तिबाट अघि बढ्दै गोल गर्न सफल हुन्छन्।

हालसम्म स्पेनिस राष्ट्रिय टोलीबाट एक सय ५१ खेल खेलेका ३२ वर्षीय रामोसले १३ गोल गरेका छन्। सधैं फिट र आफ्नो खेलमा केन्द्रित रहने रामोस विपक्षी खेलाडीलाई डीबक्स बाहिरै रोक्नमात्रै होइन, सही ठाउँमा कुरेर हेडिङ गोल गर्न पनि उत्तिकै माहिर छन्।

यही गुण र क्षमताले गर्दा नै रामोस क्लब फुटबल र राष्ट्रिय टोलीमा पनि लामो समयदेखि पहिलो रोजाइमै पर्दै आएका छन्। आफ्नो खेलले मात्रै होइन, टोलीलाई मैदानमा सही नेतृत्व दिन सक्ने क्षमताले पनि रामोस प्रशिक्षकहरूको पहिलो रोजाइमा पर्ने गरेका छन्।

उनी सेन्टर वा राइट डिफेन्स दुवै पोजिसनमा खेल्न माहिर छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक सफलमध्येको एक क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका रामोस क्लबसँगै स्पेनी राष्ट्रिय टोलीका पनि कप्तान हुन्।

सन् २०१६ को युरो कपमा इकेर कासियास टोलीमा नपरेपछि स्पेनिस टोलीको नेतृत्व गर्ने जिम्मा रामोसले पाएका थिए। त्यसयता टोलीको नियमित कप्तानका रूपमा रहँदै आएका रामोसले रुस विश्वकपमा समेत स्पेनलाई उपाधिसम्म डोहोर्‍याउन कप्तान र रक्षकको हैसियतमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

स्वारेज

स्पेनिस टोली बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका लुइस स्वारेज उरुग्वेको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । रुस विश्वकपमा उरुग्वेले हात पार्ने सफलता उनकै प्रदर्शनमा निर्भर रहने पक्का छ । यो सिजन क्लब र आफ्नो देशका लागि ३४ गोल गरेका स्वारेज उरुग्वेका लागि समग्रमा अहिलेसम्म सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

बार्सिलोनालाई यो सिजन स्पेनिस ला लिगाको उपाधि दिलाउन सशक्त प्रदर्शन गरेका स्वारेज कुनै पनि बेला गोल गर्दै टोलीलाई अघि बढाउन सक्षम छन् । तेस्रो विश्वकपको तयारीमा जुटेका स्वारेजले यसअघिका दुई विश्वकपमा पाँच गोल गरेका छन् । उनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप पनि खेलेका थिए ।

सम्भवत: आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेकाले पनि रुस विश्वकपमा उनले अझ उत्कृष्ट खेल पस्कने अनुमान गर्न सकिन्छ । यद्यपि खेलका क्रममा विभिन्न खाले उटपट्याङ व्यवहारका कारण पटकपटक विवाद र प्रतिबन्धमा परिरहने स्वारेजले आगामी विश्वकपमा टोलीलाई उपाधिसम्म डोहोर्‍याउन आफ्नो व्यवहारमा पनि नियन्त्रणमा राख्नुपर्नेछ ।

ब्राजिल विश्वकपमा इटालीविरुद्धको खेलका क्रममा विपक्षी टोलीका रक्षक जर्जियो चिलेनीलाई मैदानमै टोकेपछि उनी प्रतिबन्धमा परेका थिए । त्यस बेला इङ्लिस क्लब लिभरपुलमा आबद्ध रहेका स्वारेज त्यही वर्ष बार्सिलोनासँग अनुबन्धित भएका थिए । सिजनको लामो समय प्रतिबन्धमा रहेर पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि महत्वपुर्ण योगदान पुर्‍याए ।

बार्सिलोनाले त्यही वर्ष घरेलु लिगसहित युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि जित्यो । बार्सिलोनाबाट युरोपियन च्याम्पियन्स लिगसहित क्लब विश्वकपको उपाधिसमेत जितिसकेका स्वारेजले रुस विश्वकपमा पनि सशक्त प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

ग्याब्रियल जेसस 

ग्याब्रियल जेसस विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलियन टोलीको महत्त्वपूर्ण सदस्य हुन् । २०१४ मा ब्राजिलमा विश्वकप आयोजना हुँदा उनले सडक रंगाउने काम गरेका थिए भने अहिले ब्राजिलका सडकहरु उनकै तस्वीरले रंगाइएको छ ।

२१ वर्षे फरवार्ड जेसस यस सिजन प्रिमियर लिग उपाधि जितेको टोली म्यानचेस्टर सिटीका सदस्य पनि थिए । तर अनुभवी सर्जियो अगुएरो अग्रपंक्तिमा फिट रहँदा उनले बिरलै अवसर पाए । आफ्ना पाएका मौकाहरुको भने सदुपयोग गर्दै सुरुवात गरेका १९ लिग खेलमा १३ गोल गरे र सबै प्रतियोगितामा कुल १९ गोल गरे ।

जेसस ब्राजिलको अग्रपंक्तिको जिम्मेवारी लिने लगभग पक्का देखिन्छ । उनलाई नेयमार र फिलिप कौटिन्होले साथ दिने छन् । तर कतिपय विश्लेषकहरुले उनको स्थानमा लिभरपुलका रोबर्टो फिर्मिनो खेलाइनु पर्ने बताए पनि प्रशिक्षक टिटे भने जेससलाई नै प्राथमिकतामा राखेका छन् ।

लिभरपुलका फिर्मिनो यस सिजन आफ्नो टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन ठूलो भुमिका खेलेका छन् र जेससभन्दा उनी नै अनुभवी र लयमा रहेका छन् । तर अग्रपंक्तिमा कौटिन्हो र नेयमारसँग संयोजन मिलाउन जेसस खेलाउने टिटेको रणनितीले बताउँछ ।

टोलीमा आफ्नो स्थान पक्का नभएको डरले पनि जेससले निखारिएको प्रदर्शन गर्नु जरुरी छ । यदि ब्राजिलले १६ वर्षपछि विश्वकप उचाल्ने छ भने जेससको पनि त्यहाँ भुमिका निकै महत्वपूर्ण हुने छ ।

डेभिड सिल्भा

म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाको २०१७/१८ सिजन निकै आकर्षक रह्यो । सबै प्रतियोगितामा १० गोल र ११ असिस्ट गर्दै उनले सिटीलाई उपाधि जिताउन तथा लिगमा १५ विभिन्न नयाँँ कीर्तिमान राख्न महत्त्वपूर्ण भुमिका खेले । मिडफिल्डमा केभिन डे ब्रुयनसँग उनले गरेको साझेदारी हेर्न लायक नै थियो ।

विश्वकपमा पनि सिल्भाको स्पेनको मिडफिल्डमा भुमिका उत्तिकै महत्त्वपूर्ण हुने छ । डिफेन्सबाट बल लिँदै मिडफिल्डबाट फरवार्डहरुसम्म पुर्‍याउने उनले भूमिका खेल्नेछन् । उनी आफ्नो रचनात्मक खेलकै लागि धेरै चिनिन्छन् ।

दिग्गज मिडफिल्डर आन्द्रेस इनिएस्टा शतप्रतिशत फिट नभएकाले र थियागो अलाकान्टारा, कोके, इस्को र मार्को एसेन्सियो लगायत खेलाडीहरु राष्ट्रिय टोलीमा तुलनात्मक रुपमा नयाँँ भएकाले सिल्भामा थप जिम्मेवारी आउने देखिन्छ ।

स्पेनले २०१० को विश्वकप जित्दा सिल्भा टोलीमा स्थापित भइसकेका थिएनन् । २०१२ को युरोमा भने उनले २ गोल र ३ असिस्ट गर्दै आफ्नो टोलीलाई उपाधि दिलाए । २०१४ को विश्वकपमा पनि उनले केवल १ खेल सुरुवात गर्न सके भने २०१६ को युरोकपमा स्पेनले खेलेको चारै खेलमा सिल्भा महत्त्वपूर्ण सदस्यका रुपमा उदाए ।

विश्वकप छनोटमा उनी टोलीका अभिन्न अङ्ग रहे । सिटीका लागि डिफेन्सिभ मिडफिल्ड, अट्याकिङ मिडफिल्ड र दायाँ विङमा खेलेकाले स्थितिले मागेअनुरुप उनी आफ्नो शैलीलाई ढाल्न सक्छन् । त्यसैले पनि दाबेदार मानिएको स्पेनको यस अभियानमा लयमा रहेका सिल्भाको भूमिका अति महत्त्वपूर्ण हुने छ ।

हेरी केन

रुस विश्वकप फुटबलको दाबेदार टोलीका रूपमा हेरिएको इङ्ल्यान्डका प्रभावशाली खेलाडी हुन्, कप्तान हेरी केन । केनको जादुमय प्रदर्शन इङ्ल्यान्डका लागि मुख्य हतियार बन्ने देखिएको छ । विपक्षीविरुद्ध डटेर खेल्ने केनसँग बल पाउनासाथ पोस्टतर्फ लैजाने क्षमता पनि अद्भुत छ । टोट्टनहामबाट व्यावसायिक फुटबल खेलिरहेका केन क्लब फुटबलमा पनि उत्तिकै दमदार प्रदर्शन गर्छन् ।

सानैदेखि बल खेलाउन माहिर केनले आठ वर्षको उमेरमै आर्सनल फुटबल एकेडेमीबाट फुटबल कला सिकेका थिए । मुख्यत: एट्याकिङ स्ट्राइकरको भूमिकामा रहँदै आएका केन बल छलाउन माहिर छन् । उनले सन् २००२ देखि २००४ सम्म रिडवे रोभर्सबाट युथ फुटबल खेले । २००४ मा वाटफोर्डबाट एक सिजन प्रिमियर लिग खेलेपछि उनी टोट्टनहाममा आबद्ध भएका हुन् । टोट्टनहालाई अघिल्लो सिजन बलियो टोलीका रूपमा प्रस्तुत गराउँदा केनको जादुमयी गोल महत्वपूर्ण थियो ।

अघिल्लो सिजन प्रिमियर लिगमा टोट्टनहाम नौ खेलसम्म अपराजित रहँदा केनको सर्वाधिक गोलले निर्णायक भूमिका खेलेको थियो । केनले अघिल्लो सिजन क्लबका लागि १२ खेलमा १४ गोल गरेर सनसनी मच्चाएका थिए । प्रिमियर लिगमा यो सिजन तेस्रो स्थान ओगट्न सफल टोट्टनहामका लागि केनको भूमिका उल्लेख्य रह्यो । केनले टोट्टनहामका लागि एक सय आठ गोल गरिसकेका छन् । एक सय ५० गोलमा उनको सहयोग रहेको छ । केले लेटोन ओरियन्ट, मिलवेल, नर्विच सिटी र सन् २०१३ मा लिसेस्टर सिटीबाट लोनमा पनि खेले र सबै क्लबका लागि गोल गरेका थिए ।

सन् २०१० मा इङ्ल्यान्डको यू-१७ राष्ट्रिय टोलीमा डेब्यु गरेका केनले उमेर समूहका सबै खेल खेले । सन् २०१५ मा सिनियर टोलीमा डेब्यु गरेका केनले सिनियर टोलीका लागि १२ गोल गरिसकेका छन् । उनले २३ गोलका लागि सहयोगसमेत गरेका छन् । ६ फिट दुई इन्च अग्ला २४ वर्षीय केनको जादुमयी प्रदर्शन रुस विश्वकपमा विपक्षीको टाउको दुखाइ बन्ने निश्चित छ ।

एन्टोइन ग्रिजम्यान

उसो त रुस विश्वकपको अन्तिम तयारीमा व्यस्त फ्रान्ससँग अनुभवी र क्षमतावान् खेलाडीको कमी छैन । यति हुँदाहुँदै पनि रुस यात्राका क्रममा स्ट्राइकर एन्टोइन ग्रिजम्यान फ्रान्सका मुख्य हतियार हुन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ग्रिजम्यानको प्रदर्शन बेजोड छ । एट्लेटिकोलाई ला लिगाको उपविजेता बनाउन पनि ग्रिजम्यानको भूमिका उत्कृष्ट रह्यो।

ग्रिजम्यान प्रेरित एट्लेटिकाले अघिल्लो सिजनमा पनि युरोपियन च्याम्पियन्स लिगको फाइनलसम्म पुग्यो । २७ वर्षीय यी प्लेमेकरले करिब १० वर्ष स्पेनकै अर्को क्लब रियल सोसिएडाडबाट खेलेका थिए । उनी सन् २०१४ मा एट्लेटिकोमा आबद्ध भएका हुन् । एट्लेटिकोमा उनले ७९ गोल गरेका छन् । यसैगरी उनले एक सय ४२ गोलका लागि सहयोगसमेत गरेका छन् ।

मैदानमा बल पाउनासाथ एक्लो प्रयासमा पोस्ट्तर्फ लैजाने र उत्कृष्ट फिनिसिङ गर्ने उनको क्षमता गजबको छ । उनी जस्तोसुकै बलियो प्रतिद्वन्द्वीलाई पनि अत्याउने क्षमता राख्छन् । ग्रिजम्यानको बल छक्याउने कलाले विपक्षी रक्षकलाई सधैं दबाबमा राख्छ । सन् २०१४ मा सिनियर राष्ट्रिय टोलीमा आबद्ध भएका ग्रिजम्यानले राष्ट्रिय टोलीका लागि १९ गोल गरिसकेका छन् । उनले ५१ गोलमा सहयोगीको भूमिकासमेत निर्वाह गरेका छन् ।

उमेरसमूहका यू-१९, यू-२० र यू-२१ राष्ट्रिय टोली हुँदै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका ग्रिजम्यान रूप विश्वकपको उपाधि चुम्दै इतिहासमा आफ्नो नाम लेखाउन चाहन्छन् । सन् २०१४ को विश्वकपअघि खेलिएको पाराग्वेविरुद्घको अभ्यास खेलमा उनले फ्रान्सका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यसपछि खेलिएको जमैकाविरुद्घको अन्तिम अभ्यास खेलमा पनि उनले ओलिभर गिरोडको स्थानमा परिवर्तित खेलाडीको रूपमा मैदान प्रवेश गरी दुई गोल गरेका थिए ।

यसैगरी उनले सन् २०१४ को विश्वकप पनि खेलेका थिए । उक्त विश्वकपको होन्डुरसविरुद्घको पहिलो खेलमा उनले घाइते खेलाडी फ्रान्क रिबेरीको स्थान लिएका छन् । यसैगरी नाइजेरियाविरुद्घको प्रिक्वार्टरफाइनल खेलमा उनले परिवर्तित खेलाडीको रूपमा मैदान छिर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । पाँच फिट नौ इन्च अग्ला ग्रिजम्यानको यही बेजोडको क्षमता देखेर प्रशिक्षक डिडियर डेसच्याम्ससले उनलाई आगामी विश्वकपमा आफ्नो महत्वपूर्ण खेलाडीका रूपमा लिएका छन् ।

फेदर स्मोलोभ

फेदर स्मोलोभ पछिल्लो केही समययता रुसको मुख्य खेलाडी रहँदै आएका छन्। सेन्टर स्ट्राइकरको भूमिकामा खेल्ने उनी रुसी टोलीका मुख्य स्ट्राइकर हुन्। रुसले आगामी जुन १४ तारिखमा साउदी अरेवियाविरुद्ध खेल्दै २१औं विश्वकपको यात्रा सुरु गर्दा पनि फेदर यही भूमिकामा रहनेछन्। टोलीको मुख्य स्ट्राइकर उनी अन्य खेलाडीलाई सहयोग गर्न मिडफिल्ड र त्यसभन्दा तलसम्म पनि पुग्छन्।

गत वर्ष कन्फिडेरेसन कपको न्युजिल्यान्डविरुद्धको खेलमा झन्डै मध्यभागबाट आफैंले अघि बढाएको बलमा गोल गरेपछि उनको चर्चा चुलिएको हो। मैदानको मध्यभागभन्दा केही अघिबाट बल लिएर अगाडि बढेका उनले डी बक्स नजिक पुगेपछि अर्का साथीलाई पास दिएका थिन्। पुन: त्यही बलमा आएको क्रसबललाई सही ठाउँमा पुगेर उनले सहज गोल गरेका थिए। उनको त्यही प्रदर्शनले प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभले उनीमाथि अझ बढी विश्वास देखाएका हुन्।

रुसका लागि अर्को खुसीको कुरा, फेदरले पछिल्ला खेलहरूमा निरन्तर गोल गरिरहेका छन्। कन्फिडेरेसन कपपछि खेलिएको ६ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमध्ये चार खेलमा उनले लगातार गोल गरेका छन्। रुसी टोलीले खेलेको पछिल्लो मैत्रीपूर्ण खेलमा फ्रान्ससँग ३-१ ले पराजित हुँदा टोलीका लागि एक गोल उनै फेदरले गरेका थिए। त्यसबाहेक स्पेनसँगको ३-३ को बराबरीमा टोलीका लागि दुई गोल र इरानसँगको १-१ को बराबरीमा एक गोल पनि फेदरले नै गरेका थिए।

यसैगरी दक्षिण कोरियालाई ४-२ ले पराजित गर्दा पनि उनले गोल गरेका थिए। बलियो टोलीविरुद्ध भएका पछिल्ला खेलमा निरन्तर गोल गरिरहेकाले पनि अबको १५ दिनपछि सुरु हुने विश्वकपमा आयोजक टोली रुसको यात्रा उनै फेदरको प्रदर्शनमा निर्भर रहने स्पष्ट छ। सन् २०१२ को नोभेम्बरदेखि रुसको सिनियर राष्ट्रिय टोलीमा समावेश भएका फेदर त्यसयता टोलीको मुख्य प्रतियोगितामा छुटेका छैनन्। रुसको सिनियर राष्ट्रिय टोलीबाट हालसम्म ३० खेल खेलेका उनले १२ गोल गरेका छन्।

लुका मोड्रिच

२०११/१२ को सिजनमा इंग्लिस टोली टोटनह्यामबाट खेल्दा मोड्रिचले आफ्नो खेलशैलीद्वारा कैयौं फुटबल प्रेमी र विश्लेषकहरुलाई लालायित बनाए । अर्को सिजन रियल म्याड्रिड उनलाई खरिद गर्न आयो र टोटनह्यामले सो प्रस्ताव अस्वीकार गर्न सकेन । रियलमा आएदेखि मोड्रिच विश्वकै उत्कृष्ट मध्येका मिडफिल्डरका रुपमा उदाएका छन् ।

रियलमा मोड्रिच लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल टोलीको अभिन्न अंग रहिआएका छन् । अब आफ्नो लय विश्वकपमा पनि निरन्तरता दिने होडमा हुने छन् क्रोएसियाका कप्तान समेत रहेका मोड्रिच ।

क्रोएसिया अघिल्लो विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो भने युरोकप २०१६ मा पनि क्रोएसियाको प्रदर्शन खास आकर्षक रहेन । यस आउंदो विश्वकपमा क्रोएसिया अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरियासँग समूह ‘डि’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ को नाम पनि दिएको छ ।

कतिपय विश्लेषकहरुले क्रोएसियाले समूह चरणमा अर्जेन्टिनालाई निराश गर्ने अनुमान गरेका छन्, र फिफा वरियतामा १८ औं मा रहेको क्रोएसियासँग सो क्षमता पनि रहेको छ ।

मोड्रिच आफ्नो मिहेनतका लागि चिनिन्छन् र मिडफिल्डमा नियन्त्रण लिन माहिर छन् । उनी आफ्ना सटिक पासहरुका लागि पनि उत्तिकै प्रख्यात छन् । मोड्रिचलाई मिडफिल्डमा बार्सिलोनाका इभान राकिटिच र इन्टरका इभान पेरिसिचले सघाउने छन् भने अनुभवी मारियो मान्डजुकिचले टोलीको अग्रपंक्ति सम्हाल्ने छन् । क्रोएसियाको डिफेन्स पनि अनुभवी रहेको छ ।

गत विश्वकपमा कोस्टा रिका र कोलम्बियाले सबैलाई आश्चर्यचकित बनाएझै क्रोएसिया पनि उस्तै क्षमता राख्छ । यसका लागि मोड्रिचले टोलीमा भुमिका निकै महत्त्वपूर्ण पनि रहेको छ ।

 एडेन हाजार्ड 

बेल्जियम कागजमा हेर्दा विश्वकप दाबेदार मानिएका ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन र अर्जेन्टिना भन्दा कम छैन । विश्वका उत्कृष्ट टोलीहरुमा खेल्ने उत्कृष्ट खेलाडीहरुले बेल्जियमको टोली बनेको छ र फिफा वरियतामा पनि बेल्जियम तेस्रोमा रहेको छ ।

बेल्जियम युरो २०१६ मा क्वाटरफाइनलमा वेल्ससँग पराजित भएको थियो र विश्वकप २०१४ मा पनि क्वाटरफाइनलमै अर्जेन्टिनासँग पराजित हुन पुगेको थियो । ठूला प्रतियोगितामा सोचेअनुरुप प्रदर्शन नगरेकाले बेल्जियमलाई दाबेदार भन्दा पनि ‘अन्डरडग्स’ मानिएको छ ।

यस विश्वकपमा भने बेल्जियमलाई आफ्नो क्षमता पुष्टी गर्दै विश्व फुटबलमा आफूलाई स्थापित गर्ने मौका रहेको छ, र कप्तान तथा चेल्सीका स्टार एडेन हाजार्डको पनि यसमा भूमिका निकै महत्त्वपूर्ण हुने छ ।

गएको सिजन चेल्सीका लागि लिगमा १२ गोल गरेका हाजार्डले त्यसभन्दा अघि १६ गोल गरेका थिए । बेल्जियमका लागि भने उनले आफ्नो क्षमता पूरा देखाउन सकेका छैनन् र यो प्रतियोगिता उनलाई व्यक्तिगत हिसाबमा एक मौका पनि हुने छ ।

हाजार्डलाई अग्रपंक्तिमा म्यानचेस्टर सिटीका स्टार केभिन डि ब्रुयनले साथ दिने छन् भने अग्रपंक्तिमा नेपोलीका ड्रायस मर्टेन्स र युनाइटेडका रोमेलु लुकाकुले सघाउने छन् । डिफेन्समा भिन्सेन्ट कम्पनीको अनुभवले पनि हाजार्ड र बेल्जियम टोलीलाई धेरै मद्दत पुग्ने छ ।

चलाख फुटबलरका रुपमा परिचित हाजार्डको टोलीमा गोल गर्ने, गोल सिर्जना गर्ने र कप्तानको रुपमा नेतृत्व गर्ने भुमिका हुने छ । यी सबै जिम्मेवारीले उनको खेल थप निख्रिने अपेक्षा गरिएको छ ।

 एन्जल डि मारिया

एन्जल डि मारियाले यस सिजन पेरिस सेन्ट जर्मन (पिएसजी) बाट लिग १ को उपाधि जित्न सफल रहे । नियमित टोलीमा स्थान नपाए पनि आफूले सुरुवात गरेको २६ लिग खेलमा उनले ११ गोल र ६ असिस्ट गरे । सबै प्रतियोगितामा उनले २० गोल गर्न सफल भए ।

२०१४ को विश्वकपमा डि मारियाले अर्जेन्टिनाले खेलेका ७ खेलमध्ये ५ मा सुरुवात गरेका थिए र १ गोल पनि गरेका थिए । त्यस्तै २०१५ को कोपा अमेरिकामा सबै ६ खेल खेल्दै २ गोल र २ असिस्ट गरेका थिए । यस विश्वकपमा पनि डि मारियाको भुमिका निकै महत्त्वपूर्ण हुने देखिन्छ ।

२०१४/१५ को सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका डि मरियाको पिएसजी सरुवापछी खेल निकै सुध्रेको छ र ३० वर्षे उनी आफ्नो करियरकै उच्च लयमा पनि छन् ।

अर्जेन्टिनाको अग्रपंक्तिमा डि मारियासहित स्टार लियोनल मेस्सी, गोन्जालो हिग्वाइन, सर्जियो अगुएरो र पौलो डिबाला रहेका छन् । हिग्वाइन र अगुएरो एकै प्रकारका खेलाडी भएकाले ती दुई मध्ये एकले मात्र सुरुवात गर्ने देखिन्छ भने विपक्षीलाई मध्यनजर राख्दै डिबाला खेल्ने वा नखेल्ने निर्णय प्रशिक्षक जोर्जे साम्पाउलीले लिने देखिन्छ ।

अग्रपंक्तिका यी खेलाडीभन्दा डि मारियाको खेलशैली केही भिन्न छ । उनी पूर्णत विङर रहेका छन् र विङको दायाँ वा बायाँमा खेल्न सक्छन् जसले उनलाई टोलीको अभिन्न अङ बनाएको छ । क्रस र लामो दुरीको प्रहारमा माहिर डि मारियाले अर्जेन्टिनी टोलीलाई छुट्टै आयाम प्रदान गर्ने छन् ।

गत विश्वकपमा दोस्रो स्थान हासिल गरेको अर्जेन्टिना यस पटक भने उपाधि जित्न केन्द्रित छ । स्टार खेलाडी मेस्सीमा मात्र निर्भर भएर त्यो सम्भव नहुने भएकाले डि मारियाको अनुभव, कौशल र गोल गर्ने कला अर्जेन्टिनाका लागि पक्कै उपयोगी सावित हुने छ ।

 एन्गोलो कान्टे

सन् २०१५ सम्म ‘एन्गोलो कान्टे’ विश्व फुटबलमा अपरिचित नाम थियो । फ्रान्सको तुलनात्मक रुपमा कम्जोर क्लब कायनमा अघिल्लो सिजन खेलेर २०१५/१६ को सिजनमा उनलाई लेस्टर सिटीले भित्राउन सफल भयो । उनका पहिला केही खेलको झल्कोले सबैलाई आश्चर्यचकित बनायो ।

डिफेन्सिभ मिडफिल्डरको भुमिकामा खेलेका कान्टेले विपक्षीलाई बल डिफेन्ससम्म अघि बढाउनै दिदैन थिए । कति पय खेलाडीहरुले त मैदानमा २-३ ओटा कान्टे छन् कि भन्ने प्रतिक्रिया जनाउथे । उनी सहि समयमा ट्याकल, स्फुर्ति र मिहिनेतका लागि चिनिए । २०१५/१६ को सिजनभरि उनले लगातार आफ्नो उच्च लयमा प्रदर्शन गर्दै लेस्टरलाई अविश्वसनीय तरिकाले प्रिमियर लिगको उपाधि दिलाए ।

२०१६/१७ को सिजनमा चेल्सीले उनलाई भित्रायो र त्यहाँ पनि उनले सबैको वाहवाही पाए । त्यति बेलासम्म उनले फ्रान्सबाट पनि डेब्यु गर्दै आफ्नो टोलीमा स्थान स्थापित बनाइसकेका थिए । सोही सिजनमा उनले चेल्सीसँग फेरी लिगको उपाधि जित्दा महत्त्वपूर्ण भुमिका निर्वाह गरे ।

गत सिजन भने चेल्सीका लागि सोचेअनुरुप नरहे पनि कान्टेको खेल भने अझै सुध्रिदै छ । उनले आफूलाई विश्वकै नम्बर १ डिफेन्सिभ मिडफिल्डरका रुपमा स्थापित गरेका छन् र यसमा दुई मत छैन ।

यस समर विश्वकप २०१८ मा कान्टे आफ्नो राष्ट्र फ्रान्सबाट उपाधि जित्न केन्द्रित रहनेछन् । स्टार खेलाडीहरुद्वारा भरिपूर्ण फ्रान्सको टोलीलाई कान्टेले टोलीको डिफेन्स र अग्रपंक्तिमा सन्तुलन पनि प्रदान गर्ने छन् । गोल र असिस्टमा उनको नाम विरलै देखिएला तर विश्वकपमा आफ्नो खेलले भने निकै प्रभाव पार्ने क्षमता कान्टेमा रहेको छ ।

गिल्फी सिगुर्डसन

आइसल्यान्डको पछिल्लो सफलतामा मुख्य खेलाडी गिल्फी सिगुर्डसनले महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने उनी रुस विश्वकपमा पनि आइसल्यान्डको महŒवपूर्ण खेलाडी रहने पक्का छ । सिगुर्डसन यस्ता खेलाडी हुन्, जसले मिडफिल्डबाट आफ्ना स्ट्राइकरलाई निरन्तर गोलको अवसर सिर्जना गर्दै आएका छन् । उनी आफंै पनि गोल गर्न सक्षम छन् ।

आइसल्यान्डले सन् २०१६ को युरोकपको छनोट चरण पार गर्दै प्रतियोगितामा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा पनि सिगुर्डसनको भूमिका महŒवपूर्ण थियो । यसैगरी आइसल्यान्डलाई रुस विश्वकपमा छनोट गराउन पनि उनै सिगुर्डसनले मिडफिल्डबाट स्ट्राइकरलाई पर्याप्त अवसर सिर्जना गराएका थिए । यसका अतिरिक्त उनी आफैंले पनि गोल गरेर टोलीको सफलतामा महŒवपूर्ण योगदान पु¥याएका थिए ।

युरो कप—२०१६ को छनोटमा आइसल्यान्डका लागि महŒवपूर्ण मानिएको नेदरल्यान्ड्सविरुद्धको पहिलो लेग खेलमा २–० र दोस्रो लेग खेलमा १–० को जित हात पार्दा सबै गोल सिगुर्डसनले नै गरेका थिए । सोही खेलपछि आइसल्यान्डको युरोकप छनोट सहज बनेको थियो । इङ्लिस क्लब एभर्टनबाट व्यावसायिक फुटबल खेल्ने २८ वर्षीय सिगुर्डसनले त्यसपछि युरोकपमा टोलीलाई क्वार्टरफाइनलसम्म पु¥याउन सशक्त प्रदर्शन गरेका थिए ।

सिगुर्डसनले आइसल्यान्डलाई विश्वकपमा छनोट गराउने क्रममा चार गोल गरेका थिए भने थप चार गोलका लागि आफ्ना स्ट्राइकरलाई अवसर पनि सिर्जना गरिदिएका थिए । सन् २०१० मा एन्डोराविरुद्धको खेलमा आइसल्यान्डले ४–० को जित हात पार्दा सिगुर्डसनले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । सो खेलमा पनि दोस्रो गोलका लागि उनले फ्रिकिकमार्फत अवसर सिर्जना गरिदिएका थिए ।

आइसल्यान्डको राष्ट्रिय टोलीबाट हालसम्म ५५ खेल खेलेका सिगुर्डसनले १८ गोल गरेका छन् । मिडफिल्डको भूमिकासहित टोलीका लागि आवश्यक परेको अवस्थामा गोल गर्न सक्नु उनको बलियो पक्ष हो । रुस विश्वकपमा उनको टोली आइसल्यान्डले पहिलो पटक आफ्नो चुनौती प्रस्तुत गर्दा उनै सिगुर्डसनको खेल हेर्न लायकको हुनेछ ।

इस्को

इस्कोको करियरलाई फर्केर हेर्दा, २०१२ मा २० वर्षे इस्कोले स्पेनिस टोली मालागाबाट आकर्षक प्रदर्शन गरे र अर्को सिजन रियल म्याड्रिड उनलाई खरिद गर्द सफल रह्यो । त्यस बेलादेखि इस्कोको करियर उभो लागि रहेको छ ।

सन् २०१५ मा गोलकिपर इकर क्यासिलासले इस्कोको प्रतिभा देख्दै उनी आगामी समयमा स्पेनका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुने बताएका थिए, र यस विश्वकपमा क्यासिलासको अनुमान सही सावित हुँदै छ ।

इस्को आफ्नो पास गर्ने शैली, गोल गर्ने कला र बलमा नियन्त्रणका लागि परिचित छन् । एक अग्रपंक्तिमा खेल्ने खेलाडीमा हुनु पर्ने सबै गुण उनीमा छ भन्ने कुरामा दुई मत छैन । उनी स्पेनिस टोली खेल्ने शैली र प्रणालीका मूल पात्रका रुपमा उदाएका छन् ।

स्पेनको टोलीमा सर्जियो बुस्केट्सले डिफेन्सिभ मिडफिल्डको जिम्मेवारी लिनेछन् भने उनलाई थियागो अलाकान्टार वा कोकेले साथ दिनेछन् । मिडफिल्डको आक्रामक पक्ष भने आन्द्रेस इनिएस्टा, डेभिड सिल्भा र इस्कोको जिम्मामा हुने छ र स्पेन सधैं आफ्नो आक्रमक मिडफिल्डकै लागि चिनिएको छ ।

हालै खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६-१ ले हराउंदा इस्कोले ह्याट्रिक गरेका थिए ।

रियलले लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि जित्दाको इस्को महत्त्वपूर्ण सदस्य हुन् । तर स्पेनका लागि भने इस्कोले ठूला प्रतियोगितामा खेलिसकेका छैनन् । यो उनका लागि नयाँ अनुभव हुने नै छ, विश्व फुटबलमा आफ्नो नाम थप स्थापित गर्ने ठूलो मौका पनि रहने छ ।

स्पेनले सन् २०१० को विश्वकप जितेको थियो भने २०१४ मा खराब प्रदर्शन गर्दै समूह चरणबाट बाहिरिन पुग्यो । यस विश्वकपमा भने स्पेनलाई ब्राजिल, जर्मनी, अर्जेन्टिना, र फ्रान्ससँगै बलियो दाबेदारको रुपमा हेरिएको छ, र दाबेदार स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि जिताउने अभियानमा इस्कोको भुमिका अति महत्त्वपूर्ण हुने देखिन्छ

मेसुट ओजिल 

जर्मनीका पूर्व कप्तान फिलिप ल्हामले भनेका थिए, “ओजिलजस्तो खेलाडी पाउनु कुनै पनि स्ट्राइकरका लागि सपना हो ।” आफ्नो सृजनात्मक खेलका लागि परिचित ओजिल विश्व फुटबलमा ‘असिस्ट किङ’ का रुपमा पनि चिनिन्छन् ।

त्यस्तै इंग्लिस प्रिमियर लिगमा आर्सनलका लागि खेलिरहेका ओजिलले यस सिजन सबै प्रतियोगितामा ५ गोल सहित १२ असिस्ट गरे । ठूला प्रतियोगितामा उनको प्रदर्शन फर्केर हेर्दा, ओजिल विश्वकप २०१० मा उत्कृष्ट १० खेलाडीको सुचीमा पर्न सफल भएका थिए र त्यति बेला रियल म्याड्रिडले उनलाई खरिद गर्न ढिलो गरेन ।

युरोकप २०१२ मा पनि आकर्षक प्रदर्शन गरेका ओजिल त्यस वर्ष जर्मनीको उत्कृष्ट खेलाडी घोषित भए । २०१४ को विश्वकप जर्मनीले जित्दा पनि ओजिलको भुमिका निकै महत्त्वपूर्ण थियो । उनले प्रतियोगिताभरि १७ अवसरहरु सिर्जना गरेका थिए जुन लियोनल मेस्सी (२३) भन्दा मात्र कम थियो । युरोकप २०१६ मा पनि ओजिल उत्तिकै उत्कृष्ट लयमा थिए ।

सोझो रुपमा भन्दा, ठूला प्रतियोगितामा ओजिल जर्मनीका लागि चम्किने गर्छन् । पछिल्ला ७ वर्षमा उनले ५ पटक जर्मनीको उत्कृष्ट खेलाडीको उपाधि जितिसकेका छन् । जर्मनीका लागि उनी गोलमा भन्दा असिस्टमा धेरै देखा पर्छन् ।

जर्मनीको मिडफिल्डमा थोमस मुलर, टोनी क्रुस, इल्के गुन्डोगन, सामि खेडिरा, जुलियन ड्राक्सलर, लेरोय साने र मार्को रोयसजस्ता विश्वस्तरिय नामहरु रहेका छन् । तर जर्मनी खेल्ने शैली र प्रणालीको ओजिल अभिन्न अंग रहेकाले टोलीमा उनको स्थान सुरक्षित त छँदै छ, निकै महत्त्वपूर्ण पनि रहेको छ ।

जुन १७ मा मेक्सिकोसँग खेल्दै जर्मनीले आफ्नो अभियान थाल्ने छ । समूह ‘एफ’ मा यी दुई राष्ट्रसँगै स्विडेन र दक्षिण कोरिया पनि रहेका छन् । तुलनात्मक रुपमा समूह चरण जर्मनीका लागि सजिलो रहेको छ तर विश्वकप फेरी जित्न भने निकै कठिन हुने छ ।

ब्राजिल, स्पेन, फ्रान्स र अर्जेन्टिनासँगै जर्मनीलाई पनि यस वर्षको बलियो दाबेदार मानिएको छ, र विश्वकपको उपाधि रक्षा गर्ने हो भने प्रतियोगिताभरी मैदानमा ओजिलले आफ्नो जादु कायम गर्नु पर्ने हुन्छ ।

फिलिप कौटिन्हो

प्रिमियर लिगमा लिभरपुलबाट खेल्दा फिलिप कौटिन्होले आफ्नो नाम विश्व फुटबलमै चिनाउन सफल भएका थिए । सटिक पास र बलमा राम्रो नियन्त्रण उनका खुबी भए पनि डि-बक्स बाहिरबाट गोल गर्नु उनको खेलको सबैभन्दा बलियो पक्ष हो ।

यस सिजन लिभरपुलका लागि १२ गोल गरेका कौटिन्हो जनवरीमा बार्सिलोना आए । उनलाई बार्सिलोनाको स्तरमा खेल्न कठिन हुने आलोचना कतिपय विश्लेषकहरुले गरेका थिए । तर बार्सिलोनाको पद्दतिमा घुलमिल हुन उनलाई केही बेर पनि लागेन । बार्सिलोनाका लागि उनले थप ८ गोल र ५ असिस्ट गरेका छन् ।

तर राष्ट्र टोलीबाट ठूला प्रतियोगितामा भने कौटिन्हो खासै देखा परेका छैनन् । यो २५ वर्षे कौटिन्होको पहिलो विश्वकप पनि हुने छ । यस विश्वकप उनलाई नौलो अनुभव त पक्कै हुने छ, विश्व फुटबलमा आफ्नो प्रभाव अझ जमाउने मौका पनि हुने छ ।

कौटिन्हो मिडफिल्डको जुन पनि स्थानमा खेल्न माहिर छन् । लिभरपुलमा उनी अग्रपंक्तिको दायाँ वा बायाँमा खेल्थे । मोहम्मद सालाहको आगमनपछि उनी मिडफिल्डको दायाँमा खेल्न सुरु गरे भने बार्सिलोनामा बायाँतिर । तर, जुन स्थानबाट खेले पनि बक्स बाहिरबाट उनका सुन्दर गोलहरु भने छुटेनन् ।

ब्राजिलमा उनी नेयमार र ग्याब्रियल जेसससम्मिलित स्टार अट्याकको हिस्सा रहेका छन् । प्रशिक्षक टिटेले कौटिन्हो आफ्नो सुरुवाती ११ मा निसंकोच पर्ने पनि बताएका थिए । यस पटक ब्राजिललाई बलियो दाबेदार मानिएको छ । १६ वर्षपछि फेरी ब्राजिलले फेरी विश्वकप उठाउने हो भने कौटिन्होको त्यसमा भुमिका अति नै महत्त्वपूर्ण हुने छ

केभिन डि ब्रुयन 

केभिन डि ब्रुयन २०१३/१४ को सिजनमा चेल्सीमा आबद्ध थिए । तर त्यहाँ अवसर नपाएपछि उनी जर्मनीको वुल्फसबर्गतिर सरुवा भए । सिजनभरि १५ गोल र २५ असिस्ट गरेका डि ब्रुयनलाई अर्को सिजन म्यानचेस्टर सिटीले किन्यो ।

सिटीमा पहिलो सिजन १० गोल र ९ असिस्ट गर्दै सामान्य सुरुवात गरेपनि टोलीमा प्रशिक्षक पेप ग्वार्डिओलाको आगमानपछि उनको करियरले उचाई लियो । पछिल्ला दुई सिजनमा डि ब्रुयनले १६ गोल र ३९ असिस्ट गरेका छन् र युरोपमा उनले यस सिजन सर्वाधिक १६ असिस्ट पनि गरे ।

म्यानचेस्टर सिटी यस सिजन जादुयी लयमा थियो र त्यसमा विश्वकै उत्कृष्ट मिडफिल्डर मध्ये एकको दर्जा पाएका डि ब्रुयनको सबैभन्दा महत्त्वपूर्ण भुमिका रहेको थियो । अब सो लयलाई विश्वकपमा निरन्तरता दिने उनलाई मौका र चुनौती दुवै रहेको छ ।

बेल्जियम यस विश्वकपमा दाबेदारका रुपमा नहेरिए पनि बलियो टोलीका रुपमा गनिएको छ; र डि ब्रुयनको पास गर्ने कला, गोल गर्ने र खेल नियन्त्रणमा लिने क्षमताले बेल्जियम दाबेदार मानिएका ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र अर्जेन्टिनालाई पनि निराश पार्न सक्षम छ ।

क्रिस्टियानो रोनाल्डो

अन्तर्राष्ट्रिय फुटबलले पाएको महान् फुटबलर मध्येका एक हुन्, क्रिस्टियानो रोनाल्डो । उनी रुस विश्वकपमा पोर्चुगलका मुख्य खेलाडी हुन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डो क्लबका लागि मात्रै होइन, पोर्चुगलका लागि पनि राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पोर्चुगलको सिनियर राष्ट्रिय टोलीबाट हालसम्म एक सय ४९ खेल खेलेका रोनाल्डोले ८१ गोल गरेका छन् । यो पोर्चुगलका लागि राष्ट्रिय टोलीबाट कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिडबाट क्लब फुटबलमा सम्भव धेरै उपलब्धि हासिल गरिसकेका रोनाल्डोले सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबलको उपाधि जित्दै आफूलाई क्लब र राष्ट्रिय टोलीबाट समेत सफल फुटबलरका रूपमा स्थापित गराएका छन् । युरोकप-२०१६ को उपाधि पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म जितेको सबैभन्दा ठूलो उपाधि हो । फाइनलमा सुरुमै घाइते बनेपछि पूरा समय खेल्न नसके पनि समूहगत चरण र नकआउट चरणका खेलमा उनै रोनाल्डोको सशक्त प्रदर्शनमा पोर्चुगल फाइनलसम्म थियो ।

अग्रपंक्तिमा द्रुत गति र चलाखीपूर्ण तरिकाले बल अघि बढाउन सक्ने क्षमताका धनी रोनाल्डोलाई रोक्न कुनै पनि टोलीका रक्षकलाई हाम्मे पर्छ । लामो प्रहार र राम्रो ‘जम्प’सहित हेडिङ गोल गर्न माहिर रोनाल्डो टोलीलाई आवश्यक परेको कुनै पनि बेला गोल निकाल्ने खुसी राख्छन् । आफ्नो सक्रिय खेल जीवनको अन्त्यतिर आइपुग्दा रोनाल्डो रुस विश्वकपबाट अझ धेरै अपेक्षा गरिरहेका छन् । उनका लागि रुस विश्वकप देशमा युरोकपपछि लगातार दोस्रो ठूलो उपाधि भित्र्याउने अवसर पनि हो ।

पक्कै पनि रोनाल्डोले रुस विश्वकपलाई आफ्नो सफल खेल जीवनमा अर्को सिँढी थप्ने अवसरका रूपमा लिनेछन् । त्यसैले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट बारम्बार वर्षको उत्कृष्ट फुटबलर घोषित भएका रोनाल्डोले रुस विश्वकपमा पोर्चुगललाई उपाधिसम्म पुर्‍याउन मेहनत गर्नेछन्, जसबाट विश्वभरका फुटबल समर्थकले पनि भरपूर मनोरञ्जन प्राप्त गर्नेछन् ।

मोहम्मद अल-सहलावी

क्रुस जर्मनीलाई अघिल्लो पटक विश्वकप जिताउंदा टोलीमा महत्त्वपूर्ण सदस्य थिए । विश्वकपमा उनले गरेको प्रदर्शन वापत उनले त्यस वर्ष जर्मन प्लेयर अफ द एयर को उपाधि पनि पाएका थिए । रियल म्याड्रिडसँग आबद्ध रहेका क्रुसको क्लब स्तरमा पनि भुमिका र प्रभाव उत्तिकै बलियो रहेको छ ।

आफ्नो स्फुर्ती र खेलमा ध्यानका लागि चिनिने क्रुसले रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जिताउन मद्दत गरे, र अहिले जर्मनीलाई दोस्रो पटक विश्वकप दिलाउने अभियानमा रहेका छन् ।

यस सिजन रियलका लागि उनले सबै प्रतियोगितामा ५ गोल र ८ असिस्ट गरे । तर उनी आफ्नो पास गर्ने कला र ‘सेट पिस’ (कर्नर र फ्रिकिक) लिनका लागि बढी प्रख्यात छन् । मिडफिल्डमा एक्लैले राम्रो नियन्त्रण लिन सक्ने क्रुस विरलै नराम्रो खेल खेल्छन् र यही भरपर्दो पात्र भएकाले जर्मनीका लागि पनि उनी निकै महत्त्वपूर्ण छन् ।

विश्वकै उत्कृष्ट मिडफिल्डर मध्येका २८ वर्षे क्रुसलाई जर्मनीको मिडफिल्डमा इल्के गुन्डोगन वा अनुभवी सामि खेडिराले साथ दिनेछन् । डिफेन्सबाट बल बटुल्दै अग्रपंक्तितिर वितरण गर्न तथा मिडफिल्डमा नियन्त्रण दिलाउन क्रुसको भुमिका रहनेछ । फिलिप लाह्म र बास्टियन स्वाइन्स्टाइगरको अनुपास्थितिमा उनले मैदानमा नेतृत्व पनि लिना जरुरी छ ।

यस विश्वकपमा साविक विजेता जर्मनी ब्राजिल, स्पेन, फ्रान्स र अर्जेन्टिनासँगै दाबेदारका रुपमा हेरिएको छ । विश्वकप रक्षा गर्नु निकै मुश्किल कार्य हो र जर्मनी यसलाई सफल गर्न चाहन्छ भने क्रुस त्यसका मुख्य पात्र हुनु जरुरी छ ।