विश्वकपको रोचक तथ्य

विश्वकप फुटबलले सारा संसारलाई तताईरहेको छ। सबैको प्रतिक्षाको विषय बनेको छ रसिया विश्वकप फुचबल । रोचकताले भरिएको हुन्छ फुटबल खेल । इतिहासदेखि आजसम्म रोचकता नै रोचकताले फरिएको फुटबलको गर्विलो इतिहास पल्टाएर केहि रोचक कुरा यहॉ प्रस्तुत गरिएको छ।

जर्सीमा खेलाडीको नाम

विश्वकपको १५औं संस्करण अमेरिकाले आयोजना गरेको थियो। त्यसअघिका संस्करणमा कतिपय टोलीको जर्सी उस्तै देखिने र कुन खेलाडीले बल प्रहार गरे भन्ने विषय नै अन्योलपूर्ण थियो। अझ सन् १९५० मा ब्राजिल र १९७४ मा पश्चिम जर्मनीले आयोजना गरेको विश्वकपमा खेलाडीको जर्सीका विषय धेरै विवादमा परेको थियो। त्यति बेला कुन खेलाडीले बल हान्यो भनेर पत्ता लगाउनसमेत गाह्रो भएको थियो।

खेलाडीको जर्सी चिनिने र अझ नामसमेत खेल्ने विषयमा १९५० को विश्वकपदेखि नै छलफल भएको थियो। तर, उक्त कुराले सन् १९९४ मा अमेरिकामा आयोजना भएको विश्वकप फुटबलदेखि साकार रूप लियो। १५औं विश्वकपदेखि सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो नाम लेखिएको जर्सीमा मैदानमा उत्रिए। यसले निर्णायक र समर्थकलाई समेत बल प्रहार कसले गर्‍यो भनेर छुट्ट्याउन सजिलो भयो।

१५औं संस्करणदेखि खेलाडीले लगाउने जर्सीमा नाम राखिने परम्परा हालसम्म जारी नै छ। त्यति बेला विश्वकपमा २४ टोलीले भाग लिएका थिए। विश्वकपको त्यही कुरालाई पछ्याउँदै लिग फुटबलमा पनि जर्सीमा खेलाडीको नाम लेख्न थालियो। हाल विश्वका चर्चित खेलाडीको नाम लेखिएको जर्सी लगाउने र उसको टोलीलाई समर्थन गर्ने जमात विश्वभर उत्तिकै छ। पुराना खेलाडीको नाम लेखिएको जर्सी करोडौं रुपैयाँमा बिक्रीसमेत हुँदै आएका छन्।

आत्मघाती गोलपछि हत्या

सन् १९९४ को विश्वकप अमेरिकामा आयोजना भएको थियो । उक्त विश्वकपमा कोलम्बिया समूह ‘ए’ मा परेको थियो । जुन २२ तारिखमा कोलम्बिया र अमेरिकाबीचको खेल थियो ।

खेलको ३५औं मिनेटमा अमेरिकी मिडफिल्डर जोन हार्केसले गरेको प्रहार कोलम्बियन डिफेन्डर आन्द्रेस स्कोबरसँग ठोक्किएर आत्मघाति गोलमा परिणत हुन पुग्यो । उक्त खेलमा अमेरिकासँग २—१ गोलले पराजित भयो ।

प्रारम्भिक चरणको तीनमध्ये एक खेलमा मात्र जित हात पारेको कोलम्बिया विश्वकपको पहिलो चरणबाटै बाहिरिन पुग्यो । अमेरिकाविरुद्घको खेल जितेको भए कोलम्बिया नकआउट चरणमा पुग्ने थियो ।

त्यसपछि कोलम्बियन टोलीसँगै स्कोबर पनि स्वदेश फर्किए । तर, हारको जिम्मेबार स्कोबरको आत्मघाती गोल भएको आरोप लगाउँदै हुल्याहा समर्थकले जुलाइ २ तारिखका दिन विहान ३ बजे एक रात्री क्लबको पार्किङमा गोेली ठोकेर उनको हत्या गरे ।

स्कोबरमाथि गोली चगाउँदा हत्याराले ‘गोल, गोल’ भनि चिच्याएको थियो । स्कोबरको हत्याको संशारभर ब्यापक आलोचना भयो । उनको हत्याले विश्वभर कोलम्बियाको छवीमा समेत दाग लगायो ।

पछि उनको हत्यारालाई पक्राउ गरी ४३ वर्षको जेल सजाय ताकियो । हत्या हुँदा उनी केवल २७ वर्षका थिए । उनको अन्त्येष्ठीमा एक लाख २० हजार ब्यक्ति सहभागी भए । उनी आफ्नो समयका निकै अनुशासित र भद्र खेलाडीमा गनिन्थे ।

चोरी भएको ट्रफी जब कुकुरले भेट्टायो

विश्वकप फुटबल सुरु गर्ने विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जुल्स रिमेटको नामबाट उक्त ट्रफीको नामकरण गरिएको थियो ।

चोरी भएको आठ दिनपछि मार्च २७ मा एकजना व्यक्ति आफ्नो कुकुरसँग मर्निङ वाकमा निस्किएको बेला सोही कुकुरले उक्त ट्रफी झाडीमा फालिएको अवस्थामा फेला पारेको थियो ।

ट्रफी फेला पारेको खुसीमा ‘पिकल्स’ नाम गरेको उक्त कुकुरलाई फिफाले जीवनभरका लागि खाने कुरा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । कुकुरका मालिक डेभ कोर्बेटलाई पनि ६ हजार पाउन्ड पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी तीनपटक विश्वकप जितेपछि सन् १९७० मा ब्राजिलले विश्वकप ट्रफी आफूसँगै रियोे दी जेनेरियो लग्यो । पछि सन् १९८३ मा रियोस्थित ब्राजिलियन फुटबल महासंघको कार्यालयबाटै विश्वकप ट्रफी फेरि चोरी भयो । तर, यसपटक चोरी भएको ट्रफी भने भेट्टाउन सकिएन ।

सन् १९६६ को विश्वकप इङ्ल्यान्डमा आयोजना हुँदै थियो । विश्वकप सुरु हुनुभन्दा चार महिनाअघि प्रदर्शनका लागि विश्वकप ट्रफी इङ्ल्यान्ड लगिएको थियो ।

वेस्टमिन्स्टर सेन्ट्रल हलमा कडा सुरक्षाबीच प्रदर्शनमा राखिएको विश्वकप ट्रफी आश्चर्यजनक तरिकाले चोरी भयो । पछि चोरले ट्रफी फिर्ता गर्न १५ हजार पाउन्ड माग गर्‍यो । उक्त जुल्स रिमेट ट्रफी खोज्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

 विश्वकप झल्काउने नोट

आगामी विश्वकप फुटबललाई ध्यानमा राखी आयोजक राष्ट्र रुसले कागजी मुद्रा प्रचलनमा ल्याएको छ । एक सय रुबल दरको उक्त नोट विश्वकपको २१औं संस्करणलाई अविस्मरणीय बनाउने उद्देश्यले प्रचलनमा ल्याइएको रुसी अधिकारीहरूले जनाएका छन् । विश्वकपको २१औं संस्करण आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसका ११ वटा सहरमा आयोजना हुँदैछ ।

उक्त नोटले थुप्रै विशेषता बोकेको अधिकारीहरूले जनाएका छन् । सम्बद्ध रुसी अधिकारी आर्काडी त्राचुकका अनुसार रुसी मुद्राको इतिहासमा पूर्ण रूपमा पोलिमरबाट तयार पारिएको यो पहिलो नोट हो । यसैगरी रुसका कुनै पनि राष्ट्रप्रमुखको तस्बिर प्रयोग नगरिएको पनि यो पहिलो रुसी मुद्रा हो।

उक्त नोटमा फुटबल समाएका एकजना बालकले तत्कालीन सोभियत संघका चर्चित गोलरक्षक लेभ यासिनलाई हेरिरहेको चित्र छापिएको छ । यसैगरी नोटको अर्कोतर्फ रुसको नक्साभित्र मध्य भागमा फुटबलको चित्र अंकित गरिएको छ । यसैगरी आगामी विश्वकप आयोजना हुने रुसका ११ वटा सहरको नाम पनि उल्लेख गरिएको छ । नोटमा ट्रफीसहित फिफा वल्र्ड कप-२०१८ मा अंकित गरिएको छ ।

विश्वकपमा सहभागी ३२ टोलीको आआफ्नै उपनाम

रुसमा १८ दिनपछि सुरु हुने २१औं संस्करणको विश्वकप फुटबलको माहोल तात्दै गर्दा विश्वकपमा सहभागी टोलीको उपनाम (निकनेम) समेत बाहिर आएको छ । पहिलोपटक विश्वकपमा सहभागी ३२ टोलीलाई आयोजकले उपनामले समेत परिचित गराउन लागको हो ।

विश्वकपमा सहभागीमध्ये अर्जेन्टिनाले ह्वाइट एन्ड स्काई ब्लु, अस्ट्रेलियाले द सकरोज, बेल्जियमले रेड डेभिल्स, ब्राजिलले द सेलेक्सन, कोलम्बियाले द कफी ग्रोवर्स, कोस्टारिकाले कोस्टारिका नेटिभ्स, क्रोयसियाले द ब्लाजर्स, डेनमार्कले डानिस डायनामिट र इजिप्टले द फरावस्को उपनाम पाएको छ ।

यसैगरी इङ्ल्यान्डले द थ्री लायन्स, फ्रान्सले द ब्लु, साविक विजेता जर्मनीले द टिम, आइसल्यान्डले आवर ब्वाइज, इरानले द लाइन्स अफ पर्सिया, जापानले सामुराई ब्लु, दक्षिण कोरियाले एसियन टाइगर, म्याक्सिकोले इल त्रिकोलोर, मोरोक्कोले एट्लास लायन, नाइजेरियाले द सुपर इगल्स, पानामाले द रेड टाइड, पेरुले लस इनकास, पोल्यान्डले द पुलिस इगल्स, पोर्चुगलले टिम अफ द कास्टलेस, आयोजक रुसले टिम र साउदी अरेबियाले द ग्रिन फाल्कोन्स उपनाम पाएको छ ।

यसैगरी सेनेगललाई द लायन्स अफ तेरांगा, सर्वियालाई द इगल्स, स्पेनलाई द रेड फुरी, स्विडेनलाई द ब्लु एन्ड एलो, स्विटजरल्यान्डलाई द रेड क्रुसाडर, ट्युनिसियालाई द इगल्स अफ कार्टेज र उरुग्वेलाई अ वारियर ट्रिब इन उरुग्वे उपनाम दिइएको छ ।

फुटबल र क्रिकेट दुवैको विश्वकप खेल्ने खेलाडी

एउटै विश्वकपका लागि राष्ट्रिय टोलीमा छनोट हुनु कुनै पनि खेलाडीका लागि मुस्किल हुन्छ । तर, यस्ता पनि खेलाडी छन्, जसले दुई विश्वकप खेलेका छन् । त्यो पनि फरकफरक खेलको । भिभ रिचर्डस् ती कीर्तिमानी खेलाडी हुन् । जसले क्रिकेट र फुटबलको विश्वकप खेलेका छन् । रिचर्डस्ले फुटबलतर्फ विश्वकपको छनोट खेलमा राष्ट्रिय टोलीबाट सहभागिता जनाए पनि क्रिकेटमा भने विश्वकपको अन्तिम चरणको खेल नै खेलेका छन् ।

रिचर्डस्ले फुटबलतर्फ एन्टिगुवा र बार्बुडाको राष्ट्रिय टोलीको नेतृत्व गर्दै सन् १९७४ को विश्वकपको छनोट प्रतियोगिता खेलेका थिए । दुर्भाग्य, त्यस बेला रिचर्डस्को टोली जर्मनीले आयोजना गरेको सो विश्वकपका लागि छनोट हुन सकेन । त्यसपछि उनले क्रिकेटबाट वेस्ट इन्डिजको नेतृत्व गर्दै विश्वकप खेले ।

वेस्ट इन्डिजले सन् १९७५ र १९७९ को क्रिकेट विश्वकप उपाधि जित्दा रिचर्डस् टोलीका महत्वपूर्ण सदस्य थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट क्रिकेटर मध्येका मानिएका रिचर्डस् सन् १९७५ देखि १९८४ सम्म वेस्ट इन्डिजको टेस्ट टोलीका कप्तान मेत रहे । रिचर्डस्पछि यो उपलब्धि अस्टे«लियाकी महिला खेलाडी इलिसी पेरीले हात पारेकी छन् । उनले अस्टे«लियन टोलीबाट सन् २००९ को क्रिकेट विश्वकप र सन् २०११ को फुटबल विश्वकपका खेलहरू खेलेकी छन् ।

 दक्षिण अफ्रिकाको खराब कीर्तिमान

हालसम्म विश्वकप फुटबलको २० वटा संस्करण आयोजना भइसकेको छ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप यात्रामा हालसम्म दक्षिण अफ्रिकामा मात्र यस्तो राष्ट्र हो जुन, आफैं आयोजक भएर पनि प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिन पुगेको थियो । सन् २०१० मा दक्षिण अफ्रिकामा १८औं विश्वकप आयोजना भएको थियो । उक्त विश्वकपमा दक्षिण अफ्रिकामा पहिलो चरणबाटै बाहिरिन पुग्यो ।

त्यसअघि विश्वकप फुटबलको इतिहासमा कुनै पनि आयोजक राष्ट्र पहिलो चरणबाट बाहिरिएका थिएनन् । सन् २०१० को विश्वकपमा समूह ‘ए’ मा परेको दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा मेक्सिकोसँग १—१ को बराबरीमा रोकियो भने दोस्रो खेलमा उरुग्वेसँग ३—० ले पराजित हुन पुग्यो । तेस्रो खेलमा फ्रान्सलाई २—१ गोलले हराए पनि घरेलु टोली अगाडि बढ्न सकेन ।

सन् २०१० को विश्वकपलाई अपवाद मान्ने हो भने हालसम्म हरेक संस्करणमा आयोजक राष्ट्र कम्तिमा दोस्रो चरणसम्म पुगेका छन् । हालसम्म घरेलु मैदानमा विश्वकपको उपाधि जित्ने राष्ट्रको संख्या भने ६ वटा छ । सन् १९३० मा उरुग्वे, सन् १९३४ मा इटाली, सन् १९६६ मा इङ्ल्यान्ड, सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्सले घरेलु मैदानमा विश्वकप जितेका थिए ।

खेलाडीलाई रुसी केटी भेट्न प्रतिबन्ध

नाइजेरियाले रुस विश्वकपको अवधिमा आफ्ना खेलाडीलाई रुसी महिलासँग समय बिताउन र प्रेमिका बनाउन प्रतिबन्ध लगाएको छ। नाइजेरियाका प्रशिक्षक गर्नोट रोहरले आफ्ना खेलाडीलाई आफ्नो परिवारबाकेह अन्यसँग भेट्न प्रतिबन्ध लगाइएको जनाएका छन्। उनले खेलाडीलाई        श्रीमती र परिवारका सदस्यसँग पनि टोलीको अभ्यास र खेल नरहेको समयमा मात्र भेट्न छुट दिएका छन्। उनले खेलाडीले दिनको समयमा मात्रै आफ्ना परिवारका सदस्यलाई भेट्न पाउने बताएका छन्।

‘हो, खेलाडीले श्रीमती र परिवारसँग भेट्न सक्छन् तर उनीहरूलाई टोलीको अभ्यास वा खेल नभएको दिन मात्रै भेट्न अनुमति दिएको छु’, प्रशिक्षक रोहरले भनेका छन्, ‘यद्यपि म उनीहरूलाई रुसी महिलाहरूसँग समय बिताउन र प्रेमिका बनाउन अनुमति दिन सक्दिनँ।’ नाइजेरियाका कप्तान मिकेलकी श्रीमती भने रुसी नागरिक नै हुन्। प्रशिक्षक रोहरले कप्तान मिकेललाई उनको रुसी        श्रीमतीसँग भेट्न छुट दिइएको बताए।

विश्वकप फुटबलका क्रममा सहभागी टोलीहरूले आफ्ना खेलाडीका बारेमा यस्ता विभिन्न नियम बनाउने गरेका छन्। यसअघि अर्जेन्टिनाको फुटबल संघले रुस विश्वकपमा रुसी महिलासँग प्रेम गर्ने तरिकासहितको पुस्तिका छापेको थियो। आफ्ना खेलाडी, पदाधिकारी र मिडियालाई बाँडेको सो पुस्तिकामा अर्जेन्टिनी फुटबल संघले रुसी महिलालाई प्रेममा पार्न सधैं सकारात्मक रहनु, फोहोरी र बोरिङ नबन्नु लगायतका सुझाव दिएको थियो। सञ्चारमाध्यममा त्यसको विरोध भएपछि अर्जेन्टिनी फुटबल संघका पदाधिकारीले गल्तीले ती कुरा छापिन पुगेको जनाएका थिए।

 गोलको लेखाजोखा

 

सन् १९३० मा उरुग्वेमा सम्पन्न पहिलो विश्वकपदेखि सन् २०१४ मा ब्राजिलमा सम्पन्न २०औं विश्वकपसम्म दुई हजार तीन सयभन्दा बढी गोल भएका छन्। विश्वकपको इतिहासमा पहिलो गोल सन् १९३० मा फ्रान्सका लुसियन लाउरेन्टले गरेका थिए भने २०औं संस्करणसम्म पुग्दा एक हजार दुई सयभन्दा बढी खेलाडीले गोल गरिसकेका छन्।

विश्वकपमा हालसम्म ९० जना खेलाडीले पाँच वा सोभन्दा बढी गोल गरेका छन्। विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी भने जर्मनीका मिरोस्लाभ क्लोस हुन्। चारवटा विश्वकपमा २४ खेल खेलेका क्लोसले १६ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका ब्राजिलियन खेलाडी रोनाल्डोले १५ गोल गरेका छन्। उनले सन् १९९४ देखि सन् २००६ सम्म चारवटा विश्वकपमा १९ खेल खेलेका थिए।

यसैगरी पश्चिम जर्मनीका गर्ड मुल्लरले दुईवटा विश्वकपमा १३ खेल खेलेर १४ र फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ को एउटै विश्वकपमा ६ खेल खेलेर १३ गोल गरेका थिए। ब्राजिलका पेलेले भने सन् १९५८ देखि सन् १९७० सम्म चारवटा विश्वकपमा १४ खेल खेलेर १२ गोल गरेका थिए। जस्ट फोन्टेन विश्वकप फुटबलको इतिहासमा एउटै खेलाडी सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्।

एउटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हंगेरीका स्यान्ड्रो कोसिस दोस्रो स्थानमा छन्। उनले सन् १९५४ मा भएको विश्वकपमा पाँच खेल खेल्दे ११ गोल गरेका थिए।

विश्वकपका जेठा गोलकर्ता

आफ्नो समयका चर्चित फुटबलर हुन्, क्यामरुनका रोजर मिल्ला। विश्वकप फुटबलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान मिललाकै नाममा छ। उनले सन् १९९४ मा अमेरिकामा आयोजना भएको विश्वकप फुटबलमा रुसविरुद्घ गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेका थिए। उक्त खेलमा गोल गर्दा उनको उमेर ४२ वर्ष थियो।

जुन २८ तारिखमा क्यामरुन र रुसबीच समूहगत चरणको खेल भएको थियो। उक्त खेलको ४६औं मिनेटमा मिल्लाले क्यामरुनका लागि गोल गरेका थिए। यद्यपि उक्त खेलमा रुस ६-१ गोलले विजयी भएको थियो। उक्त विश्वकपमा रुस र क्यामरुन समूहगत चरणबाटै बाहिरिएका थिए समूह ‘बी’ बाट ब्राजिल र स्विडेन अघिल्लो चरणमा प्रवेश गरेका थिए।

सन् १९९० मा इटालीमा भएको विश्वकपमा भने स्ट्राइकर मिल्लाकै उत्कृष्ट प्रदर्शनका कारण क्यामरुन क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यतिबेला क्यामरुन विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र पनि बनेको थियो। सो विश्वकपमा मिल्लाले चार गोल गरेका थिए। सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि ६६ वर्षीय मिल्लाले तीनवटा विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गरेका थिए।

गोल गरेपछि खुसीयाली मनाउने मिल्लाको शैली पनि अन्तर्राष्ट्रिय फुटबलमा निकै चर्चित बनेको थियो। उनी गोल गरेपछि दौड्दै कर्नर प्रहार गर्ने स्थानमा गाडिएको झन्डानजिक पुगेर नाच्दै खुसीयाली मनाउँथे। उनले सुरु गरेको खुसीयाली मनाउने त्यो शैली अन्तर्राष्ट्रिय फुटबलमा निकै चर्चित बनेको थियो। सन् २००४ मा महान् ब्राजिलियन फुटबलर पेलेले सार्वजनिक गरेको विश्व फुटबलका एक सय २५ जना महान् जीवित फुटबलरको सूचीमा मिल्लाको नाम पनि छ। सन् २००७ मा अफ्रिकन फुटबल महासंघले अघिल्लो ५० वर्षयताको सर्वोत्कृष्ट अफ्रिकन फुटबल खेलाडीको सम्मान पनि प्रदान गरेको थियो।

जसले दुई भूमिकामा ब्राजिललार्इ विश्वकप जिताए

ब्राजिलियन फुटबलर मारियो जागाल्लो आफ्नो समयका प्रभावशाली स्ट्राइकर हुन्। विश्वकप फुटबलको इतिहासमा आफ्नो टोलीलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा उपाधि जिताउने उनी पहिलो व्यक्ति पनि हुन्। सन् १९५८ र सन् १९६२ मा भएको विश्वकपको उपाधि ब्राजिलले जितेको थियो। ती दुवै विश्वकपमा जागाल्लो ब्राजिलियन टोलीका महत्वपूर्ण सदस्य थिए।

सन् १९५८ मा भएको विश्वकपको फाइनलमा ब्राजिलले आयोजक राष्ट्र स्विडेनलाई ५-२ गोलले हराएको थियो। उक्त खेलमा ब्राजिलका लागि पेले र भाभाले दुई÷दुई तथा जागाल्लोले एक गोल गरेका थिए। यसैगरी सन् १९६२ मा चिलीमा आयोजना भएको विश्वकपमा पनि जागाल्लोले एक गोल गरेका थिए। उक्त विश्वकपको समूहगत चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हराउँदा जागाल्लो र पेलेले एक÷एक गोलको योगदान गरेका थिए।

उक्त विश्वकपको फाइनलमा भने ब्राजिलले चेकोस्लोभाकियालाई ३-१ गोलले हराएको थियो। फाइनलमा ब्राजिलका लागि अमारिल्डो, जिटो र भाभाले एक÷एक गोल गरेका थिए। सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपको उपाधि पनि ब्राजिलले नै जितेको थियो। तर, उक्त विश्वकपमा जागाल्लोले ब्राजिलियन टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उक्त विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई ४-१ गोलले हराउँदै उपाधि चुमेको थियो।

सन् १९५८ र सन् १९६२ को विश्वकपमा जागाल्लोसँगै खेलेका महान् खेलाडी पेले भने सन् १९७० को विश्वकपमा पनि खेलाडीकै भूमिकामा थिए। पेलेले इटालीविरुद्घको फाइनल खेलमा पनि गोल गरेका थिए। सन् १९९८ को विश्वकपमा ब्राजिलियन टोली उपविजेता बन्दा पनि ८६ वर्षीय जागाल्लो नै टोलीको प्रशिक्षक थिए। उक्त विश्वकपको फाइनलमा फ्रान्सले ब्राजिललाई ३-० गोलले हराएको थियो।

विश्वकपका पहिलो ह्याट्रिक गोलकर्ता

 

विश्वकप फुटबलको पहिलो संस्करण सन् १९३० को जुलाई १३ देखि ३० तारिखसम्म उरुग्वेमा आयोजना भएको थियो । विश्वकपको पहिलो संस्करण आफैंमा ऐतिहासिक त हुने नै भयो, सँगसँगै यही विश्वकपमा एक खेलाडीले ह्याट्रिकसमेत गरेका थिए । विश्वकप फुटबलको इतिहासमा एउटै खेलमा तीन गोल गर्ने ऐतिहासिक खेलाडी हुन्, अमेरिकाका बेर्ट पेटनाउड ।

उक्त विश्वकपमा अमेरिका समूह ‘चार’मा परेको थियो । जुलाई १७ मा अमेरिकाले पाराग्वेसँग आफ्नो दोस्रो खेल खेलेको थियो । सो खेलमा अमेरिकाले पाराग्वेलाई ३-० गोलले हराएको थियो भने अमेरिकाका लागि तीनवटै गोल पेटनाउडले गरेका थिए । खेल सुरु भएको १५ मिनेटभित्रै उनले टोलीका लागि दुई गोल गरेका थिए । १०औं मिनेटमा पहिलो गोल गरेका पेटनाउटले १५औं मिनेटमा अर्को गोल थपेका थिए ।

यसैगरी खेलको ५०औं मिनेटमा तेस्रो गोल थप्दै उनी विश्वकप फुटबलको इतिहासमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए । उनको दोस्रोे गोल केही विवादित बनेकाले लामो समयसम्म उनले विश्व फुटबल महासंघ (फिफा)बाट विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडीको मान्यता पाएका थिएनन् । तर, सन् २००६ को नोभेम्बर १० मा फिफाले पेटनाउड नै विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी भएको आधिकारिक घोषणा गरेको थियो ।

सन् १९३० को विश्वकपको समूहगत चरणको आफ्नो पहिलो खेलमा बेल्जियमलाई पनि ३-० गोलले हराएको अमेरिका प्रतियोगिताको सेमिफाइनलमा अर्जेन्टिनासँग ६-१ गोलले पराजित भएको थियो । पेटनाउडले बेल्जियमसँगको खेलमा पनि एक गोल गरेका थिए । उक्त विश्वकपको फाइनलमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई ४-२ गोलले हराउँदै उपाधि चुमेको थियो । पेटनाउडको निधन सन् १९७४ को नोभेम्बर ४ मा ६५ वर्षको उमेरमा भएको थियो ।

घरमै असफल विश्वकप पूर्वविजेता

अबको ११ दिनपछि फिफा विश्वकप फुटबलको २१औं संस्करण रुसमा सुरु हुँदै छ । विश्वकप फुटबलको अघिल्लो २० संस्करणसम्म विभिन्न आठ देशले उपाधि जितेका छन् । तिनमा ब्राजिलले सबैभन्दा बढी पाँचपटक जितेको छ । तर, ब्राजिल यस्तो कीर्तिमानसँग पनि जोडिएको छ, जसले उसको सफलतालाई साथ दिँदैन ।

ब्राजिल यस्तो देशमा परेको छ, जो विभिन्न महादेशमा आयोजना भएको विश्वकपको उपाधि जितेर पनि घरमै भएको विश्वकप जित्नबाट चुकेको छ । अहिलेसम्म यस्ता दुई देश मात्रै छन्, ब्राजिल र स्पेन । ब्राजिल र स्पेन अन्य महादेशमा भएको विश्वकप जितेर पनि आफ्नै देशमा भने असफल हुँदै आइरहेका छन् ।

विश्वकप विजेता टोलीमध्ये उरुग्वेले आफ्नै देशमा भएको सन् १९३० को पहिलो संस्करणको उपाधि जितेको थियो । उरुग्वे विश्वकप फुटबलको पहिलो आयोजक र विजेता दुवै हो । त्यसपछि इटालीले १९३४ मा आफैंले आयोजना गरेको विश्वकप जित्यो । सन् १९६६ मा इङ्ल्यान्ड, सन् १९७४ मा वेस्ट जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्सले आफैंले विश्वकप फुटबल आयोजना गर्दा उपाधि घरमै राखेका थिए । तर, स्पेन र ब्राजिल यो कीर्तिमानमा अहिलेसम्म चुक्दै आइरहेका छन् ।

ब्राजिलले सन् १९५० र २०१४ मा विश्वकप फुटबल आयोजना गर्दा उपाधि जित्न सकेन । यस्तै स्पेनले पनि १९८२ मा विश्वकप आयोजना गर्दा उपाधि जित्न सकेन । विश्वकपको २१औं संस्करणले आयोजक रुसलाई पनि आफैंले आयोजना गरेको विश्वकप जित्ने कीर्तिमानको अवसर जुराइदिएको छ ।

अभागी नेदरल्यान्ड्स

विश्वकप फुटबलको २१औं संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन । यस अर्थमा विश्वभर रहेका असंख्य डच समर्थकका लागि पक्कै पनि रुस विश्वकप निराशाजनक हुनेछ । विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्ससँग अर्को नमीठो संयोग पनि जोडिएको छ । विश्वकपको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनलसम्म पुगेर पनि उपाधिबाट बञ्चित हुनु परेको छ ।

हालसम्म जर्मनी चार र अर्जेन्टिना तीन पटक विश्वकपको फाइनलमा पराजित भए पनि यी दुवै टोलीले उपाधिको स्वाद चाखिसकेका छन् । तर, नेदरल्यान्ड्सले भने तीन पटक फाइनलमा पुगेर पनि यो अवसर पाउन सकेन । नेदरल्यान्ड्स पहिलो पटक सन् १९७४ को विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा तत्कालीन पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई २-१ गोलले हराएको थियो ।

त्यसलगत्तै भएको सन् १९७८ को विश्वकपमा पनि नेदरल्यान्ड्स फाइनलमा पुग्न सफल भएको थियो । तर, उक्त विश्वकपको फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई थप समयको खेलमा ३-१ गोलले हराउँदै उपाधिबाट विमुख बनाएको थियो । त्यतिबेला निर्धारित समयको खेल भने १-१ गोलको बराबरीमा सकिएको थियो । विश्वकपको सदाबहार टोली नेदरल्यान्ड्स सन् २०१० मा पनि फाइनलमा पुगेको थियो । तर, यसपटक पनि फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई थप समयको खेलमा १-० गोलले निराश बनायो । निर्धारित समयको खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।

 ब्राजिलका कीर्तिमान

विश्वकप फुटबलको इतिहासमा ब्राजिलको नामसँग थुप्रै कीर्तिमान जोडिएका छन्। जुन १४ देखि रुसमा विश्वकपको २१औं संस्करण आयोजना हुँदैछ। यी २१ वटै संस्करणमा सहभागिता जनाउने ब्राजिल एकमात्र राष्ट्र हो।

यसैगरी हालसम्म सर्वाधिक पाँचपटक विश्वकप जित्ने कीर्तिमान पनि ब्राजिलकै नाममा छ। चारवटा फरक महादेशमा विश्वकप जित्ने एकमात्र राष्ट्र पनि ब्राजिल नै हो। ब्राजिलले सन् १९५८ मा युरोप, १९६२ मा दक्षिण अमेरिका, सन् १९७० र सन् १९९४ मा उत्तर अमेरिका तथा सन् २००२ मा एसियामा विश्वकप जितेका थियो।

यसैगरी युरोपमा विश्वकपको उपाधि जित्ने एकमात्र दक्षिण अमेरिकी राष्ट्र पनि ब्राजिल नै हो। विश्वकपको इतिहासमा सर्वाधिक खेल जित्ने कीर्तिमान पनि ब्राजिलकै नाममा छ। ब्राजिलले हालसम्म विश्वकपमा ६७ खेल जितेको छ। विश्वकपको इतिहासमा लगातार सर्वाधिक खेल जित्ने राष्ट्र पनि ब्राजिल नै हो। ब्राजिलले सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपमा लगातार सात खेल जित्दै उपाधि हात पारेको थियो। त्यसअघि पनि उक्त कीर्तिमान ब्राजिलकै नाममा थियो। ब्राजिलले सन् १९७० को विश्वकपमा लगातार ६ खेल जित्दै कीर्तिमान बनाएको थियो।

यसैगरी पहिलोपटक तीनवटा विश्वकप जित्दै ट्रफी घर लैजाने राष्ट्र पनि ब्राजिल नै हो। यद्यपि, उक्त ट्रफी सन् १९८३ को डिसेम्बरमा ब्राजिलबाटै चोरी भएको थियो। चोरी भएको उक्त ट्रफी खोज्ने निकै प्रयास गरिए पनि फेला पर्न सकेन।

 दुई देशबाट विश्वकप फाइनल फुटबलर

विश्वकप टोलीमा पर्ने सपना हरेक फुटबल खेलाडीको हुन्छ । विश्वकपको मैदानमा देशको प्रतिनिधित्व गर्ने मौका हजारौं खेलाडीमध्ये एकाधले मात्र पाएका हुन्छन् । तर, अर्जेन्टिनाका लुइस फिलिप मोन्टी यस्तै भाग्यमानी खेलाडी हुन् । उनले विश्वकपमा लगातार दुई फरक देशबाट खेल्ने सौभाग्य पाएका थिए ।

मोन्टीले सन् १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपमा अर्जेन्टिनाबाट खेलेका थिए । दमदार एट्याकिङ मिडफिल्डर मोन्टीको प्रदर्शनमा अर्जेन्टिना पहिलो विश्वकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा आयोजक उरुग्वेसँग अर्जेन्टिना ४-२ गोलले पराजित हुन पुग्यो । अर्जेन्टिनी राष्ट्रिय टोलीबाट ओलम्पिक खेलकुदको समेत स्वाद चाखेका उनै मोन्टीले सन् १९३४ को दोस्रो विश्वकपमा भने इटालीबाट खेल्ने सौभाग्य पाए ।

मोन्टीको ऐतिहासिक जन्मस्थल रोमांगा इटालीमा गाभिएपछि उनी इटालीका खेलाडी बने । फुटबलमा मोन्टीको आक्रामक र कलात्मक क्षमतालाई त्यति बेला मोटोडो सिस्टमको उममासमेत दिइएको थियो । उनै मोन्टी प्रेरित इटालीले दोस्रो विश्वकपको उपाधि नै जित्यो ।

मोन्टीको टोली इटालीले दोस्रो विश्वकपको फाइनलमा चेकोस्लोभाकियालाई २-१ गोलले हराउँदै उपाधि चुमेको थियो । सन् १९८३ मा ८२ वर्षको उमेरमा निधन भएका मोन्टीले अर्जेन्टिनाका लागि खेलेका १६ खेलमा पाँच गोल र इटालीका लागि खेलेका १८ खेलमा एक गोल गरेका थिए ।