मीठो वाणीका गीतकार:अरुण तिवारी

‘अरुण तिवारी’ नेपाली गीतिकारितामा स्थापित नाम हो । गन्तिमा आउने सबै गायक÷गायिका र संगीतकारहरुले उनका शब्दसँग खेल्ने मौका पाइसकेका छन् । सिंगो जीवन नै गीतिकारितामा सुम्पेका तिवारीका सावन (२०५४), माया सबैलाई (२०५६), बाँच्नुको अर्थ (२०५७), इफेक्टस (२०५९), स्वीकारोक्ती (२०६०), जुनी(२०६५), पर्खाल(२०६८), एकजुनी(२०७०)जस्ता एल्बम प्रकाशित छन् । एक्लै एक्लै (२०६३) नदेखिने ईश्वर (२०६४) नामक गीतका पुस्तक पनि प्रकाशित छन् । कवितामा पनि यिनको सक्रियता छ । सेलेक्टेड पोयम (२०६६) नामक कविता संग्रह यिनको छ ।

अरुण भावनामा राम्ररी पौडी खेल्न सक्छन् । भावनासँग खेल्दा खेल्दै नेपाली गीतिकारितामा कुशल गीतकारको परिचय बनेको छ । सयौं गीत लेखे पनि उनी आफूलाई गीतकार ठान्दैनन् । गीतकार त अरुले भन्छन् उनलाई । दुई चार टुटेफुटेका शब्द कोरेर आफूलाई ठूलै गीतकार बताउँदै हिड्नेको हुलमा अरुण पर्दैनन् । त्यसैले अरुण सच्चा गीतकार हुन् । दुई दशकदेखि नेपाली गीतको सेवा गर्दै आएका अरुण श्रोता र पाठकको सदासयताको अपेक्षा भने राख्छन् । जसले श्रोता र पाठकको माया
सद्भाव पाउँछ त्यो नै सफल गीतकार मानिन्छ । यस अर्थमा अरुणलाई आजसम्म श्रोताको माया र सद्भावले टिकाएको देखिन्छ । त्यसैले उनी सफल गीतकार हुन् । दर्जनौ फुटकर एल्बममा उनका गीतहरु समावेश देखिन्छन् । नयाँ पुराना सबैले उनका गीत गाएका छन् । कसैलाई विभेद नगरी उनी गीत दिन्छन् । सबैप्रति उनको सद्भाव देखिन्छ ।

मान्छेको रुपन्दनलाई उनी गीतको रुप दिन्छन् । कहिले आफ्ना त कहिले अरुका भावना रुपि रुपन्दनलाई उनले गीतको आकार दिदै आएका छन् । छटपटाहट र बेचैनी, उदासी र डर, अध्ययन र विश्लेषणले पनि अरुणलाई गीतकार बनाएको छ । जीवनका उकाली र ओरालीमा भोगेका तमाम् त्रासद् पीडाहरुलाई गीतबाट अभिव्यक्त गरेका छन् । गीतमा पोखिएका तमाम भावनाहरु अरुणका भए पनि त्यसलाई सुन्दा, पढ्दा सहज अनुभूति भएकाले ति भावनाहरु आम मान्छेका जस्ता लाग्दछन् । उनका गीत कालो बादल बीचको चाँदीको घेरा जस्तै दुःख पीडा र त्रासदी बीचमा पनि मनलाई केही हल्का महसुुस गराउने खालका देखिन्छन् । मान्छेले भोग्ने पीडा र कुण्ठा अनि प्रेम र घृणाको मझधारमा रहेर अरुणले गीत लेखेको देखिन्छ ।

अरुणका गीतमा शुद्ध गद्यको वास्ना पाइन्छ । उनी विचारलाई सहज र सरल ढंगमा चिन्तन गर्दै गीतमा मिठो वाणीमा बोल्छन् । उनी एउटा यस्तो भाषामा गीत लेख्छन् जुन भाषा कहिल्यै मर्दैैन त्यो सो मानवियता । फरक विषयमा पृथक कोणबाट बोल्ने शैलीमा उनी अब्बल छन् । उनका गीतहरु समकालिन नेपालको सजीव तस्वीर पनि हो । कम शब्दमा धेरै कुरा र धेरै कुरालाई थोरै शब्दमा भन्न सक्ने खुबी भएका गीतकार पनि हुन् ।

उनका गीतमा जीवन दर्शन, सामाजिक परिवर्तन, मानविय मन, यत्रतत्र पाइन्छ । साहित्यिक जटिलता कहिकतै छैन । सु–ललित छन् उनका सृजनाहरु । शिल्प र साधनाले उनलाई उचालेको छ । उनको रचनाशिलता, सक्रियता सम्बद्धता र सौम्यता पे्ररणादायी छन् । उनका गीतले उत्सुकता र कौतुलता प्रदान गर्देै आएका छन् । समग्रमा राम्रो गीतकारको परिचय उनीसँग छ । गीतिकारितामा अनवरत क्रियाशील अरुण बिशेषगरि युवा पुस्तासंग काम गर्न रुचाउछन् । मासिक रुपमा तीनवटा गीत उनका रेकर्ड हुदै आएका छन् । युवाहरुकै भाबना गीतमा उन्न सिपालु अरुण युबाहरुबाट धेरै कुरामा आफू रिचार्ज हुने गरेको कुरा स्वीकार गर्छन् ।