क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ । खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । तर क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

निकै नै प्रतिष्पर्धात्मक देखिएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो । खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गरे र क्रोएसियाको अग्रता २–१ बनाए । अन्ततः यही गोल नै निर्णायक बन्यो र क्रोएसियाको पल्लाभारी भयो । पहिलो पटक सन १९९८ को फ्रान्स विश्वकपमा सहभागिता जनाएको क्रोएिसयाले पहिलो पटक नै तेस्रो स्थान हासिल गरी  तहल्का मच्चाएको थियो ।

रूस विश्वकप क्रोएसियाका लागि  पाचौ सहभागिता हो ।  क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो ।  क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो । क्रोएिसयासँग स्तब्ध बनेको  १९६६ को विश्वविजेता इङ्ल्यान्डले तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । अब उसले आइतबार हुने फाइनल खेलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।