राष्ट्रिय महिला लिग भलिबल जेठ २१ देखि २६ सम्म

काठमाडौं : चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल जेठ चौथो साता हुने भएको छ । भलिबलप्रति युवापुस्तालाई आकर्षित गर्ने लक्ष्यका साथ आयोजना हुने प्रतियोगिता जेठ २१ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुने टोलीले ५० हजार र चौथो हुने टोलीले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी विधागततर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भदौमा इन्डोनेसियाको जकार्तामा हुने एसियाली खेलकुदको तयारीका लागि पुरुष टोली प्रशिक्षणमा रहेकाले महिला लिगको मात्र मिति घोषणा गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले एसियाली खेलकुदपछि पुरुष लिग सञ्चालन गरिने बताए ।

लिगको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत लिगलाई प्रायोजन गरेको र यो प्रायोजन आगामी दिनमा पनि निरन्तर रहने बताए ।