डेब्यूपछि अत्यान्तै खुसी सन्दीप लामिछाने

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दीप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्सजर्सविरुद्ध सन्दीप लामिछानेले सुरुमै बलिङको अवसर पाएका छन् ।  विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे । १० खेलपछि सन्दीपलाई मैदानमा उतारेको दिल्लीले उनलाई बैंगलोरको जवाफी इनिङको पहिलो ओभरमै बलिङको अवसर दिएको हो ।

पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो । पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका थिए ।

उनले दोस्रो ओभरमै विकेट लिँदै आफ्नो ‘डेब्यु’ लाई सनसनी बनाए । सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे । अर्को स्पेलमा तेस्रो ओभर लिएर आउँदा सन्दीपको पहिलो बलमा कोहलीले चौका प्रहार गरे । त्यसमा सन्दीपले ८ रनमात्र खर्चे । १२ औं ओभरमा बलिङ गरेका सन्दीपले आफ्नो ४ ओभर बलिङ कोटा सकाएका थिए । उक्त ओभरको पाँचौं बलमा सन्दीपको बलमा डी भिलियर्सले छक्का प्रहार गरे । सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चे ।

सन्दीप आईपीएल खेल्ने १३ औं देशका खेलाडी भएका छन् । यसअघि टेस्ट खेल्ने १० राष्ट्र तथा नेदरल्यान्ड्स र अफगानिस्तानका खेलाडीले मात्र आईपीएलमा खेल्दै आएका थिए । प्रशिक्षक रिकी पोन्टिङले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए ।

दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १७ वर्षे सन्दीपले अवसर पाएका थिएनन् । दिल्ली ३ खेलमात्र जिती अंक तालिकाको पुछारमा छ । टोली प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । दिल्लीले अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल र इंग्लिस खेलाडी लियम प्लुन्केटलाई विश्राम दिँदै सन्दीप र दक्षिण अफ्रिकी खेलाडी जुनियर डालालाई मौका दिएको हो । डालाको पनि आईपीएलमा पहिलो खेल हो । सन्दीप र डालासँगै अभिषेक शर्माले पनि दिल्लीबाट पहिलो खेल खेलेका हुन् । नोभेम्बरमा बेङ्लोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो ।

तर सन्दीप ‘डग आउट’ मै सीमित हुँदै आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईदिने नेपाल भ्रमणमा शनिबार सन्दीपको प्रसंग जोड्दै खेलको माध्यमबाट पनि जनस्तरमा सम्बन्ध अघि बढेको बताएका थिए । सन्दीप क्यारेबियन प्रिमियर लिगमा पनि वेस्ट इन्डिजका क्रिस गेयल, जिम्बावेका ग्रिम क्रिमरसँग खेल्दै छन् । सेन्ट किट्स एन्ड नेविस पेट्रिट्यसले सन्दीपलाई ५ हजार डलरमा अक्सनबाट लिएको थियो ।

सन्दीपले वर्ष २०७४ मा ८४ अन्तर्राष्ट्रिय विकेट लिए । उनले यु–१९ विश्वकप छनोट एसिया क्षेत्रमा २४ विकेट लिएका थिए । एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने कीर्तिमान बनाए पनि राष्ट्रलाई विश्वकपमा पुर्‍याउन सकेनन् । नामिबियामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बनाउने क्रममा सन्दीप १७ विकेटका साथ म्यान अफ द सिरिजमा चुनिएका थिए ।

रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेले अन्ततः मौका पाएकोमा खुसी देखिएका छन्।शनिबार राति बैंलोरविरूद्धको खेलपछि मैदानमा माइकल क्लार्कसँग कुरा गर्दै टिमले जित्न नसकेपछि आफूले मौका पाएकोमा खुसी रहेको बताएका छन्।

दिल्लीका लागि बलिङ गर्न पाउँदा अत्यान्त खुसी भएको भन्दै उनले आफू सक्दो राम्रो गर्ने बताए। ‘मैले संसारभरबाट म्यासेज पाएको छु। मलाई उहाँहरूले मैदानमा हेर्न चाहनुभएको छ अन्ततः आज पुरा भएको छ,’ उनले भने संसारभरीका आफ्ना फ्यानहरूले मलाई मैदानमा देख्न चाहेका थिए। अन्ततः मेरो कडा मेहनत पछि आज मौका पाएको छु। यसलाई उत्कृष्ट मौकाको रूपमा लिएको उनले बताए।आफूले विश्वका उत्कृष्ट ब्याट्मेनविरूद्ध बलिङ गर्न पाउँदा अत्यान्तै खुसी लागेको बताउने लामिछानेले यसबाट धेरै सिक्न पाएको बताए। आफू खेलमा रमाउन सकेको पनि उनले दोहोर्‍याए।