जेशिका गुरुङ र रत्नजित तामाङले पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा स्वर्ण जिते

काँकडभिट्टा जेस्ट ब्याटमिन्टन क्लबकी जेशिका गुरुङ र आर्मीका रत्नजित तामाङले योनेक्स सनराइज सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा  दुई स्वर्ण जितेका छन् ।

इटहरीमा शनिबार सम्पन्न महिला एकल फाइनलमा जेशिकाले आर्मीकी रशिला महर्जनलाई २१–१३, २१–१६ को सोझो सेटमा हराइन् । यू–१९ फाइनलमा पनि रशिलाविरुद्ध नै २१–१४, २१–१६ को नतिजासहित उपाधि जितिन् । उनले एकैदिन दोहोरो उपाधि जितिकी हुन् ।

उनले नेपालकै नम्बर एक खेलाडी नङसलदेवी तामाङलाई सेमिफाइनमा पराजित गरेर फाइनल तय गरेकी थिइन् । जेशिकाले एकलतर्फ ५० हजार र यू–१९ तर्फ १५ हजार रुपैयाँ पुरस्कार जितिन् । उपाधि जितले उनले आफू निकै नै हर्षित भएको सुनाइन् । उनलाई हाल प्रशिक्षक विकास श्रेष्ठले जेस्ट ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण प्रदान दिएका छन् । दोस्रो भएकी रशिलाले २५ हजार र र ७ हजार रुपैयाँ जितिन् ।

महिला युगलतर्फ भने जेशिका र सुनैना मुखियाको जोडी फाइनलमा नङसल र अनु राईको जोडीसँग २१–१६, २१–१८ ले पराजित भएको थियो । विजेता जोडीले २० हजार, दोस्रोले १० र तेस्रोले ५–५ हजार पुरस्कार पाए ।

पुरुष एकलमा आर्मीका रत्नजित च्याम्पियन हुँदा एपीएफका दिपेश धामीलाई २१–१३, २१–१२ ले हराएका थिए। यो रत्नजितको पुष्पलाल स्मृतिमा छैटौं उपाधि हो । उनले लगातार जितलाई २५ औं खेलमा पुर्‍याए । रत्नजितले ५० हजार र दिपेशले २५ हजार रुपैयाँ पाए ।

युगतलर्फ रत्नजित तामाङले नवीन श्रेष्ठसँग मिलेर उपाधि जिते । उनीहरूको जोडीले दिपेश धामी र विजित थापामगरलाई २१–१३, २१–१५ ले हराएको थियो । विजेताले २० हजार र उपविजेता जोडीले १० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

पुरुष यू–१९ तर्फ सेनाका प्रफुल महर्जनले आफ्नै क्लबका रुकेश महर्जनलाई २१–१६, २१–१८ ले हराएर स्वर्ण जिते । विजेताले १५ हजार र दोस्रो ७ हजार पुरस्कार पाए ।

भेट्रान्स युगलतर्फ धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधानको जोडी ललितपुरका सुनील शाक्य र सुगतरत्न शाक्यको जोडीलाई २१–१५, २१–१४ ले हराउँदै स्वर्ण जित्न सफल भयो । विजेताल जोडीले १५ हजार र उपविजेता जोडीले १० हजार पुरस्कार पाए ।