‘बोबी’ को प्रिमियर नर्वेमा

चलचित्र ‘बोबी’को प्रिमियर नर्वेमा गरिएको छ । नर्वेमा पहिलो पटक नेपाली चलचित्रको प्रिमियर भएको हो । नर्वेको ओस्लोस्थित भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा चलचित्र हेर्नका लागि ४ सय बढी दर्शक उपस्थित थिए । सबटाइटलसहितको चलचित्र हेर्नका लागि नर्वे, इटाली, माल्टा, यूके लगायतका देशका नागरिक पनि हलमा उपस्थित थिए । प्रमियरमा नर्वेका कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि सहभागिता रहेको थियो ।

‘बोबी’ मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र हो । नर्वे हलिउड चलचित्र प्रिमियरका लागि बिषेश मानिएको ठाउँ हो । निर्देशक चाम्सले नेपाली चलचित्रको नयाँ देशमा बजार विस्तार भएको बताए । सफल प्रिमियर पश्चात चाम्सले नेपाली चलचित्र बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे ।


यो चलचित्रले नर्वेमा नै बसोबास गर्दै आएका रियल जोडी कविता गुरुङ र उमेश थापाको प्रेम कथालाई प्रस्तुत गर्छ । चलचित्रमा यी दुई नै मुख्य भूमिकामा छन् । यो चलचित्रले दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथालाई उठान गरेको छ । चलचित्रमा विजय लामा, रुवी राणा, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, रवि गिरी, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणाको मुख्य भूमिका छ ।  कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर र कविता होटल म्यानेजर हुन् ।

चलचित्रको स्क्रिप्ट सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।यो चलचित्रले प्रेम गर्ने जोडीको माया, संघर्ष र सफलताको कथा बोल्छ ।