नेल आर्ट: सौन्दर्य वृद्धिका लागि

सफा, स्वस्थ एवं सुन्दर नङले मानिसको सौन्दर्य वृद्धिका लागि ठूलो भूमिका खेलेको हुन्छ । युवकहरूको तुलनामा युवतिहरू नङका सौखिन हुन्छन् । हिजोआज त नङकै सौन्दर्यलाई ध्यानमा राखेर विभिन्न उपायहरू अवलम्बन गर्न थालिएको छ । त्यसकै उपज हो- नेल आर्ट ।

केही वर्षयता नेपालमा पनि नेल आर्ट गर्ने चलन लोकप्रिय भएको छ  । विशेष पार्टी एवं अवसरहरूमा महिलाहरू नेल आर्ट गरी नयाँ अवतारमा प्रस्तुत हुन्छन् । विशेष गरी युवतिहरूका कारण नेपालमा  नेल आर्टको ट्रेन्ड फस्टाएको पाइन्छ । नङमा विभिन्न रंग लगाएर आफूलाई मन पर्ने बुट्टा, हाँगा एवं  पातका साथै अन्य आकृति कोर्ने कुराले फेसनको रूप लिएको छ ।

यसैगरी नङलाई विभिन्न रंगरूप दिएर लामो, चेप्टो, यु सेप बनाइन्छ । त्यस्तै कृत्रिम नङ जोड्ने चलन पनि फेसनका रूपमा आएको छ । नेल आर्टका २५ भन्दा बढी शैली छन् जसमध्ये तीन प्रकारका शैली नेपालमा बढी चलेका छन् । नेल आर्ट घरमा आफैंले पनि गर्न सकिन्छ भने नेल आर्ट सेन्टरमै जाँदा पनि हुन्छ । नेपालका सहरहरूमा मेहन्दी तथा नेल आर्ट सेन्टरहरू खुलेका छन्, कतिपय पार्लरहरूमा समेत यस्तो सेवा उपलब्ध

जेल नेल आर्ट

जेल नेल आर्टद्वारा नङलाई विभिन्न रंगले रङ्याएर विविध आकृति निकाल्न सकिन्छ । यसलाई पनि फ्रेन्स, कलरफुल, पेपर  आर्ट, वाटरप्रुफ मार्बलर, डट सेप, एल सेप, स्टाम प्रिन्ट, क्य्राक सेप आदि स्टाइल दिएर नङमा फरकपन ल्याउन सकिन्छ ।

जेल नेल एक्सटेन्सन

नङलाई विभिन्न आकार दिन जेल नेल एक्सटेन्सन गर्ने चलन छ । यसमा नङलाई विभिन्न आकार दिने वा लामो बनाउने काम गरिन्छ । एक्सटेन्सन गरेपछि त्यसलाई विभिन्न आकृतिमा रङ्ग्याउन सकिन्छ । यसरी नङलाई सुहाउँदो आकार दिएर रंग्याउने विधिलाई जेल नेल एक्सटेन्सन भनिन्छ ।

थ्रडी

यसमा नङलाई विभिन्न आकार दिएर नङमा फूल राखिन्छ । ब्रस र पाउडरको सहयोगमा फूलहरू राखिन्छ । यस्तो फूल महिना दिनसम्म टिक्ने हुन्छ । यसमा औंला वा नङको सेप हेरेर त्यसैसँग सुहाउँदो फूल वा बुट्टा बनाएर नङ सजाइन्छ ।

                                                                                                                                                                   प्रस्तुति:जुली प्याकुरेल