यो बर्षको पहिलो सगरमाथा आरोहण:आठजना गाइडले चुमे चुचुरो

यस बर्ष बसन्त ऋतुमा पहिलो सगरमाथा आरोहण आठजना गाइडले एकै साथ गरेका छन् । आरोहीलाई चुचुरो पुर्‍याउन बाटो निर्माणमा खटिएका दक्ष गाइड पासाङ तेन्जीङ शेर्पा, पासदावा शेर्पा, लाक्पाडेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धीबहादुर तामाङ, पेम्वाछिरी शेर्पा, तेन्जीङ ग्याल्जेन शेर्पा र डाटुक भोटेले सामूहिक रुपमा बाटो निर्माण गरेर विहान साढे तीन बजे  चुचुरो चुमेका हुन् ।सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनको बाटो निर्माण गर्दै हिडेँको टोली चुचुरोमा पुगेको हो ।नेपालतर्फको मोहोडाबाट यो टोली विश्वको अग्लो चुचुरोमा पुग्न सफल भएको हो ।

हिमालयन गाइड नेपाल ट्रेकबाट खटिएका गाइडले आइतबार हिलारी स्टेप भन्दा मुनीदेखि बाटो निर्माण गरी चुचुरो पुगेको कम्पनीका प्रमुख ईश्वरी पौडेलले बताए । ‘यस बर्ष बाटो बनाउने जिम्मा हामीले पाएका छौँ,’ आठजना दक्ष गाइडले दुई सातादेखि लगातार प्रयास गरी बाटो निर्माण गरेर आइतबार दिउँसो सगरमाथाको सफल आरोहण गरेको स्यटलाइट फोनबाट खवर प्राप्त गरेको पौडेलले जानकारी दिए । यो बसन्त ऋतुकै पहिलो आरोहण हो ।

यस वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट ३८ वटा आरोहण दलका ३ सय ६४ सदस्य सगरमाथातर्फ गएका छन् । यी मध्ये ४ आरोहण दलमा २० जना नेपाली पनि रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।
गत वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । चैतदेखि सुरु भई जेठमा सकिने आरोहण सिजनमा १ सय ८९ विदेशी र २ सय ५९ नेपाली गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।