सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता दुई विभागिय टोलीलाई उपाधि

प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ एपिएफ र पुरुषतर्फ अर्को विभागिय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् ।

बैशाख २९ गतेबाट शुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीले लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । रोल्पाको लिवाङमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै तथा महिलातर्फ एपिएफले नेपाल पुलिसलाई ३–० को सहज सेटमा हराउँदै  सभामुख कप हात पारेको हो ।

कपसँगै पुलिसले ३ लाख ५० हजार रुपैयाँ जितेको छ । उपविजेता आर्मीले २ लाख पायो । तेस्रो भएको प्रदेश ४ ले १ लाख पाएको छ ।महिलातर्फ  ३ लाख ५० हजार र उपविजेता पुलिसले २ लाख रुपैयाँ पाए ।  महिलातर्फ आर्मी तेस्रो भयो ।

थापा र चौधरी उत्कृष्ट खेलाडी


प्रथम सभामुख कपमा पुरुषतर्फ पुलिसका कुलबहादुर थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् । थापा पुलिसका राम्रा स्पाइकरका रूपमा चिनिन्छन् । महिलातर्फ एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी बनेकी छिन् । सात प्रदेश र तीन विभागीय टिममध्ये उनी उत्कृष्ट छनोट भएकी हुन् ।