“चाहिएन सागर ” गीती संग्रहको लोकार्पण

गीतकार किरण खरेलको प्रमुख आतिथ्यतामा , नेपाली गीत र संगीतका   महारथीहरूको अभुतपूर्व जमघटमाझ सम्पुर्ण संगीत पारखीहरूलाई साक्षीराखी आज नेपाल टेलिभिजन प्लसको लोकप्रिय कार्यक्रम झंकार लाईभ शो मार्फत बरिष्ठ संगीतकार  दीपक जंगम  र गीतकार  लक्ष्मण राईको  “चाहिएन सागर ” गीती संग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

गीतकार किरण खरेल , गायक प्रेमध्वज प्रधान  र  दीप श्रेष्ठले गीती संग्रहकोलागी बधाई तथा सफलताको शुभकामना प्रदान गर्नु भएको थियो । प्रा. डा. श्री कृष्णहरि बरालले सम्पुर्ण गीतहरूको समिक्षा गर्दै गीती संग्रह एक उत्कृष्ट प्रस्तुती भएको र आफुले यो गीती संग्रहलाई आधुनिक नभनी कन्टेम्पोरेरी भन्न रुचाउने बताउनु भयो  ।

संगीतकार शक्ति बल्लभले संगीतको महासागरमा डुबुल्की मार्नेलाई साच्चै सागर चाहिदैन र यो गीती संग्रहको आसय  आफुलाई त्यहि लागेको कुरा ब्यक्त गर्नु भयो र साथै अहिलेको परिस्थितिमा श्रोता छैनन् भन्न मिल्दैन, श्रोता बनाउनु पर्छ र हरेक संगीत साधक चाहे त्यो गीतकार होस, संगीतकार होस वा गायक- गायिका श्रोता बनाउन सक्नुनै सफलता हो र यो गीती संग्रहले आफ्नो श्रोता बनाउन सकेकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।

गीतकार राजेन्द्र थापाले आफु र  दीपक जंगम बाल्यकालदेखि नै साथी रहेको र आफुले जंगमलाई संगीतकार भन्दा पनि गायकको रूपमा चिन्ने गरेको कुरा ब्यक्त गर्नु भयो र आफ्नो संगीत क्षेत्रको सुरुवाती दिनको कुरा गरेर एक किसिमको रमाइलो वातावरण सिर्जना गर्नुभयो । गीतकार  लक्ष्मण राईले आफुले  पहिलो प्रयास गरेको र श्रोताहरूको प्रतिकृया पाए पछि निखार्दै लैजाने र नयाँ नयाँ प्रस्तुती लिएर श्रोता सामु उपस्थित भैरहने बताउनु भयो । संगीतकार  जंगमले यस गीती संग्रहमा नयाँ पुस्तासँग काम गर्न पाएकोमा आफु अत्यन्तै खुसी रहेको कुरा ब्यक्त गर्दै , यस गीती संग्रहमा आफुलाई प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै गीतीसंग्रह कसरी बन्न पुग्यो भन्ने कुरामा प्रकाश पार्नु भएको थियो ।

गायिका  संगीता राणा प्रधानले यस गीती संग्रहको गीतमा आफ्नो स्वर भर्न पाउँदा अत्यन्तै खुशी रहेको कुरा ब्यक्त गर्नु भयो र गीत गाएर पनि सुनाउनुभयो । गायक  अजर जंगमले भने आफुले गाउने मात्र जिम्मेवारी नपाईकन एउटा गीतमा आफ्नो संगीत पनि भर्न पाएकोमा आफु अत्यन्तै खुसी रहेको कुरा ब्यक्त गर्नु भयो र कार्यक्रममै गीत पनि गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा सोहि गीतीसंग्रहको २ वटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रम  बिवश राईले प्रस्तुतगर्नु भएको थियो ।