जेठ ११ मा ‘कोशेली’ रिलिज

काठमाडौं । गत वर्षको पौष ७ रिलिज मिति तोकिएको फिल्म ‘कोशेली’ यो मितिबाट सरेर आगामी साता अर्थात जेठ ११ गतेबाट रिलिज हुने भएको छ । प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्ममा मनोज खत्रीको लेखन तथा निर्देशन छ ।

निर्देशक खत्रीले फिल्मको प्राविधिक काम सक्न समय लागेकाले फिल्म पौषबाट जेठमा पुगेको बताए । ‘अहिलेको पुस्ताले मनपराउने समसामयिक कथालाई फिल्ममा प्रस्तुत गरेका छौं,’उनले भने,‘युवापुस्ताको प्रेमकथालाई प्राथमिकता दिइएकोले पनि फिल्मलाई दर्शकले मनपराउनेमा हामी ढुक्का छौं ।’

भोले बाबा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ ।

फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ ।