‘मलाई नेपालै राम्रो लाग्छ, विदेशी पासपोर्टको रहर छैन ’-कामिरिता

एभरेष्टभन्दा अघि ‘पन्ध्रौं–चुली’ नाम भएको विश्वकै अग्लो हिम चुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक पाइला राख्ने आरोही कामिरिता शेर्पा  संसारभरका मिडिया न्यूजमेकर भइरहेका छन् । कामिरिता शेर्पा २२ औं पटक सगरमाथाको चुचुरोमा पुगेको खबर विश्वभर फैलिएको छ । एक आरोहीको साहस, उत्साह र विश्व कीर्तिमानको खबरले धेरैलाई छोयो । ४८ वर्षको उमेरमा उनले देखाएको उर्जा प्रशंसनीय छ । कामिरितामा त्यो शक्ति र उत्साह कहाँबाट आयो उनको बाबुलाई हेर्दा थाहा हुन्छ । कामिरिताका बाबु लाक्पा १०१ वर्षको उमेरमा पनि हट्टाकट्टा छन् । उनी खुशीसाथ छाती उँचो पारेर सुनाउँछन्, ‘कामिरिता मेरो छोरा हो ।’

कामिरिताले २०५१ अघि दुई वर्ष चुचुरोमा पुग्ने प्रायस गरेका थिए । तर दुईपटकका प्रयास विफल भएका थियो । आफ्ना माइला भिनाजु र दाइको लहलहैमा पर्वतारोहणमा लागेका उनी २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक चुचुरोमा पुग्न सफल भए । २२ औं पटकको रेकर्ड बनाएर काठमाडौं फर्किएका कामिरिताले भने -‘मिति ठ्याक्कै याद छैन, डायरीमा  लेखेको छु’  । २२ पटकको अरोहण मध्ये उनले १ पटक तिब्बतबाट चढेका  थिए । धेरैपटक सगरमाथा आरोहण गर्नेमा अहिलेसम्म तीन नेपाली शेर्पाहरुको किर्तीमान रहेको छ । जसमा सबैभन्दा पहिले आप्पा शेर्पाले बि. स.  २०६८ मा र बि. स. २०७० मा फुर्बा तासी शेर्पाले रेकर्ड राखेका थिए । यी दुईकै हाराहारीमा कामिरिताले गत वर्ष  रेकर्ड बनाएका थिए ।

काठमाडौंको बौद्धमा बस्दै आएका कामिरिताले २०६५, ०६९ र ७० सालको वसन्तकालिन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरेका थिए । तर, ०६९ सालको दुईपटकको उनको चुचुरोसम्मको यात्रामध्ये एउटाले मात्रै सरकारी मान्यता पायो । त्यस वर्ष उनी ‘बाटो बनाउँदै’ पहिले ८८४८ मिटर उचाईको चुचुरोमा पुगे । ओर्लिएपछि चौथो क्याम्पबाट फेरी उक्लिनुपर्‍यो । त्यसैले उनले दुईपटक चुचुरोमा पुगे पनि एकपटकको मात्रै सरकारी मान्यता पाए । ४ कक्षासम्मको औपचारिक शिक्षा लिएका उनले भने-‘मेरो गेस्टहरु चौथौं क्याम्पसम्म आइपुगेका थिए । म आधारशिविरमा फर्किने कुरै भएन, फेरी उनीहरूलाई डोर्‍याउँदै उक्लिएँ ।’ यसरी गरिएको दुइटा यात्रालाई पनि गन्ती गर्दा कामिरिताले सगरमाथामा २५ पटक पाइला टेकिसकेका छन् ।

      

कामिरिताले २५ पटक पुगेपछि यस पेशमा रहेपनि हिमाल उक्लिने कामबाट भने विश्राम लिने मनशाय बनाएका छन् । ‘मेरो पेशा नै हिमाल चढ्ने हो, अझै केही वर्ष आरोहण गर्छु २५ पटक पुगेपछि उक्लिन्न, हिमाल चढ्नु सोचेजस्तो सजिलो छैन । पहिलेभन्दा इक्विप्मेन्टहरु राम्रा र हलुका आएका छन्, तर हिमाल भनेको ज्यानकै जोखिम भएको गाह्रो खेल हो’ उनी भन्छन् ।

अधिकांश रेकर्ड होल्डरहरु अमेरिका लगायतका मुलुकमा पलायन मात्रै नभई उतैको नागरिकता लिएको अवस्थामा आफूले  त्यसो नगर्ने संकल्प गरेका छन् । उनी भन्छन् – ‘मलाई नेपालै राम्रो लाग्छ, विदेशी पासपोर्टको रहर छैन ।’ २०७० मा  पहिलो कतारी नागरिक सेख मोहम्मद अल थानीको आरोहण अभियान ‘अरब हुइथ अल्टीच्यूट’को सफल आरोहण गराए पछि कतारी शासकका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले कामिरितालाई कतार र साउदीअरबको एक महिने भम्रणको निम्तो दिएका थिए । एक महिनाको भिसा थियो । १५ दिनमै नेपाल फर्कें । सेखले सबै प्रायोजन गरेको यात्रा सकेपछि काठमाडौं फर्किनेबेला उनलाई २ लाख ५० हजार थप पुरस्कार रकम दिइएको थियो ।

    

कामिरिता वर्षमा ६ महिना काठमाडौंमा आराम गर्छन भने ६ महिना हिमालतीर हुन्छन् । हिउँदमा तीन महिना, बर्खामा तीन महिना  उनको समय काठमाडौंमा श्रीमतीसँग पूजापाठ र स्तुपा घुमेर बित्छ । दुई सिजनमा गरेर वर्षमा १३ लाख हाराहारी आम्दानी गर्ने कामिरिताले हिमालमा उक्लिेने/ओर्लिने काममा २८ वर्ष बिताइसकेका छन् । २० वर्षको उमेरमा यो पेशमा आएका उनले हालसम्म आफ्नै आरोहण दलका ६ जना शेर्पाहरुले ज्यान गुमाएको दु:ख भोगेका छन् ।

हरेक सिजनमा जब उनी सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ लम्किन्छन्, त्यसबेला कुनै न कुनै खोँचमा हिउँले पुरिएका आरोहीको शव देख्छन् । त्यतिबेला उनको  मनमा  ‘मेरो पनि यस्तै हालत पो हुने हो की ? अब परिवारसँग भेट होला की नहोला भन्ने  लाग्छ ‘। तैपनि उनको साहसमा भने कुनै कमी देखिँदैन ।सगरमाथाको चुचुरोमा पुग्नु सामान्य कुरा होइन । अझ त्यो पनि २२ पटकसम्म । यसैले होला विश्वकै उचो शिखर सगरमाथा राष्ट्रभक्तिको अटल बिम्बको रुपमा प्रयोग हुने । तर, मानिसलाई अप्ठेरो, अनौठो र साहसिक काम लागेको सगरमाथा आरोहण कीर्तिमानी कामिरिताका लागि सामान्य नै छ । हरेकले आफ्नो र परिवारको लालनपालनका लागि गर्ने विभिन्न काम जस्तै हो कामिरिताका लागि सगरमाथा आरोहण ।

‘२५ वर्ष अघिदेखि निरन्तर गइरहेको नै हो । ट्याक्सी ड्राइभरले ट्याक्सी चलाएजस्तै हो मैले सगरमाथामा अरुको लागि गाइड गर्नु । यसमा नयाँ कुरा त केही होइन । यसपटक कीर्तिमान बनेकाले अलि भिन्न भयो’ आफ्नो कीर्तिमानलाई रोजिरोटीको सामान्य पेशामार्फत बुझाउँदा कामिरिताको अनुहारमा श्लेष पनि घमण्ड थिएन । आफू गाइड भएकाले सगरमाथामा अरुका लागि गाइड गर्दै धेरै पटक गएको उनले बताए ।