चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ प्रदान

चलचित्र पत्रकार संघ, नेपालले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ प्रदान गरेको छ । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल रमाईलो टिभिका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिएको छ । पाण्डे र लम्सालले चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।

त्यस्तै, संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान   गरिएको  छ । चलचित्र पत्रकारितामा देखिएकोे सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गरिएको संघले जनाएको छ । पुरस्कार स्वरुप रु.२१ हजार नगद, ताम्रपत्र र ट्रफी प्रदान गरिएको थियो ।

साथै, फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी थियो ।

यी सबै सम्मान तथा पुरस्कार संघले आफ्नो  १९औ स्थापना दिवसको अबसर पारेर एउटा समारोह बिच प्रदान गरेको थियो । अध्यक्ष सन्दिप सापकोटाको सभापतित्वमा सम्पन्न समारोहका प्रमुख अतिथी सुचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो।समारोहमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौड्यालको पनि उपस्थिति थियो । कलाकारहरुको पनि राम्रो उपस्थिती थियो    ।

फोटो: राजन काफ्ले