नेपथ्यको ‘कुरुप अनुहार’ सार्वजनिक

नेपथ्यले  आफ्नो  दसौं  एल्बममा  समावेश छैठौं  गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्डले ‘ कुरुप अनुहार हो ’ बोलको  गीतको  भिडियो सार्वजनिक गरेको हो ।

                                                 

‘कुरुप अनुहार हो’ मा सरुभक्तको शब्द र विक्रम गुरुङको संगीत रहेको छ । यि दुवै परिचित श्रष्टा असीको दशक प्रारम्भमा पोखराबाट काठमाडौं आइ त्रिभुवन विश्वविद्यालयमा पढ्न थालेका थिए । त्यतिबेलैको सत्संगमा यो गीत तयार भएको थियो । यसको शब्दमा एक्लो र परित्यक्त महसुस गर्ने तन्नेरी भाव अटाएको कवि एवं गीतकार सरुभक्त बताउँछन् ।‘यो गीतको पुनर्जागरण गराएकोमा म नेपथ्यलाई धन्यवाद दिन्छु,’  , ‘यस गीतमा कोरसको जुन प्रकारले प्रयोग गरिएको छ, त्यसले मलाई सबैभन्दा धेरै छोयो ।’सरुभक्तले बताए ।

                            

पोहोर साल नै नेपथ्यले हङकङमा यो गीत गाउँदा संगीतकार विक्रम गुरुङले यसको नौलो स्वरुपलाई अनुभूत गरेका थिए । अरुण थापालगायत थुप्रै चर्चित गायकका लागि संगीत दिएका संगीतकार गुरुङ  लामो समयदेखि हङकङको स्थायी वासिन्दाका रुपमा उतै बसोबास गर्छन् ।सो गीत सुनिरहँदाआफ्नो मन पुराना दिनतिर पुगेको गुरुङले बताएका थिए ।‘कीर्तिपुरमा विश्वविद्यालय पढ्दा सरु र मसँगै बसेर यसलाई तयार पारेका थियौं,’ उनले भने, ‘नेपथ्यले यसलाई उसकै शैलीमा प्रस्तुत गरेता पनि म यसमा आफ्नो धडकन महसुस गरिरहेको छु ।’नेपथ्यले यो गीत तयार पारेयता आफ्नो स्थापनाको रजत जयन्ती मनाउने क्रममा वर्षभरि ‘कुरुप अनुहार हो’लाई कन्सर्टकै पहिलो गीतका रुपमा प्रस्तुत गर्दै आएको छ ।       

यस म्युजिक भिडियोमा प्रयोग गरिएको दृश्यहरु ब्याण्डले गत वर्ष आफ्नो अष्ट्रेलिया र न्यूजिल्याण्ड कन्सर्ट गर्दा खिचिएका हुन्। भिडियो ‘क्लोज अप’ दृश्यहरु रहित प्रयोगको रुपमा तयार परिएको छ।‘हामीले यसमा वाइड एंगल दृश्य मात्र प्रयोग गरेका छौं,’ भिडियोका निर्माता तथा नेपथ्यलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ‘भिडियो हेर्दैगर्दा प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं।’

हिजोआज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपथ्यले आफ्ना प्रत्येक सिर्जनाहरु आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ का माध्यमबाट सार्वजनिक गर्दै आएको छ। त्यसबाहेक ब्याण्ड र श्रोता नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ।नेपथ्यले उसका जे जति गीतहरु आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको छ, ती सबैलाई श्रोता–दर्शकहरुले अत्यधिक मनपराएको पाइएको छ। ब्याण्डको आधिकारिक  थुप्रै गीतहरु समावेश भइसकेका छन्। छिट्टै नै यस च्यानलमा नेपथ्यका सम्पूर्ण गीतहरु राख्ने तयारी चलिरहेको नेपालयले जनाएको छ।

‘हाम्रा आगामी एल्बमका सबै गीतहरु श्रोताहरुले मनपराइरहनुभएको जानकारी पाउँदा म उत्साहित छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुरुप अनुहार हो गाउँदै गर्दा मञ्चमा म जति आनन्दित महशुस गर्छु त्यस्तै आनन्द अब यसका श्रोता र दर्शकहरुलाई पनि मिलोस्।’नेपथ्यमा यतिबेला अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन्।