रिजु मानन्धर ‘मिस नेवा:’

१६ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी रिजु मानन्धरले ‘मिस नेवा:’ को १३ औं संस्करण जितेकी छन् । पब्लिक च्वाइस अवार्डसमेत जितेकी उनले ताजसहित २० हजार रुपैयाँ पाइन् । ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ? ’ भन्ने प्रश्नको ‘विपत् व्यवस्थापनका लागि हरेक व्यक्तिमा जागरुकता अर्थात् सचेतना हुनुपर्छ’ भन्ने जवाफ दिएर उनले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा डा. सरिसा श्रेष्ठ फस्र्ट रनरअप भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन् । मतिना मानन्धरले सेकेन्ड रनरअपको उपाधिसहित १० हजार रुपैयाँ पाइन् । मतिनाले मिस पर्सनालिटीको टाइटलसमेत जितिन् ।

सृष्टि शाक्यले पाँच हजार रुपैयाँसहितको मिस ट्यालेन्टको टाइटल जितिन् । अञ्जु श्रेष्ठले बेस्ट ड्रेस र बेस्ट हेयर, सरिना महर्जन उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठ बेस्ट स्किन, मिलु श्रेष्ठ मिस डिसिप्लिन, बिना महर्जन बेस्ट स्माइल, प्रदिका श्रेष्ठ मिस फ्रेन्डसिप, उस्मी श्रेष्ठ मिस फोटोजेनिक, राधा श्रेष्ठ बेस्टवाक र पस्मिना शाक्य सोसल वेलफेयर एम्बेसडर चिफको टाइटल पाए । सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठ सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनरअप तथा सेकेण्ड रनरअप भए । परम्परागत संस्कृति र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले डेढ दशकदेखि प्रतियोगितालाई निरन्तरता दिँदै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जनाइन् ।

तियोगिताको निर्णायकमा प्राइम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यवसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रीना डंगोल, पूर्वमिस नेवा योगिता महर्जनलगायत थिए  । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।