विश्वकप : चुनौती, सम्भावना र यथार्थ

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलका लागि रसियाका विभिन्न ११ सहरमा १२ रंगशाला तयारी अवस्थामा छन् । आउँदो जुन १४ देखि जुलाई १५ सम्म यी रंगशालामा फुटबल उत्सव लाग्नेछ ।रसिया विश्वकपमा केही खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा पहिलेदेखि नै छ । केही स्टार खेलाडीलाई समर्थकहरुले पछ्याउन पनि थालिसकेका छन् ।

यस्तोमा केही नचिनिएका युवा प्रतिभा छन्, जसको नाम विश्वकपपछि फुटबल समर्थकमाझ छाउन सक्ने छ ।रसियामा हुन गइरहेको विश्वकप २०१८ फिफा फुटबल इतिहासको २१औँ संस्करण हो । यसअघि भएका विश्वकपकप प्रतियोगिताका २० वटा संस्करणमा केवल ८ वटा देशले मात्रै यो उपाधि हात पार्न सफल भएका छन् । २१औ संस्करणसम्म आइपुग्दा केही देशहरुले दुई–दुई पटक विश्वकपको आयोजना गरेका छन् भने केहीले एक पटक । ब्राजिल, इटाली, फ्रान्स, मेक्सिको र जर्मनीले दुई–दुई पटक विश्कप आयोजना गरेका छन् ।

स्विटजरल्याण्ड, उरुग्वे, स्विडेन, चिली, इङल्याण्ड, अमेरिका, अर्जेन्टिना, स्पेन, दक्षिण कोरिया, जापान र दक्षिण अफ्रीकाले एक–एक पटक विश्वकपको आयोजना गरेका छन् ।प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ । दावेदार सबै टोलीमा गोलरक्षकको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । समूह चरणमा टोलीहरुलाई तुलनात्मक जित दर्ता गर्न सहज हुन्छ । दोस्रो चरण पार गरेपछि भने उत्कृष्ट बिचको लडाईमा गोलरक्षकको भूमिका देखिने गर्छ ।

समूह एः

विश्वकप फुटबलको समूह ‘ए’ मा आयोजक रसियासँगै साउदी अरेबिया, इजिप्ट र उरुग्वे छन् । फुटबल पण्डितहरु यो सहज समूह भएको र अघिल्लो चरणमा जाने दुई टिम सजिलै अनुमान गर्न सकिने बताउँछन् । तर, फुटबल सम्भावनाको मात्र खेल होइन । नतिजाको आँकलन खेलाडी, तयारी र विगत हेरेर अनुमान लगाउन सकिए पनि मैदानमा हुने कुरा अनुमानभन्दा भिन्न भइदिन सक्छ ।

रसिया

रसियाले विश्वकप आयोजना गर्न अग्रसर हुँदा र अहिले विश्वकप हुनै लाग्दा समय निकै फेरिएको छ । फुटबल जगतमै उदाउँदो देशहरु राम्रा भनिएका देशविरुद्ध चुनौती बनिरहेका छन् ।

सन् २००८ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनमा पुगेपछि रसियन फुटबलमा आशा बढेको थियो । त्यसपछिका समयमा भने त्यो अनुरुप खेल प्रदर्शन भएको छैन । सन् २००८ पछिका कुनै पनि प्रतियोगितामा रसिया समूह चरणबाट माथि पुगेको छैन ।

सन् १९९० सम्म सोभियन युनियनका रुपमा विश्वकपमा सहभागी भएको रसिया १९९४ पछि रसियन टिमका रुपमा विश्वकपमा सहभागी छ । त्यसपछिका तीन विश्वकप सन् १९९४, २००२ र २०१४ मा खेलेको रसिया समूह चरणबाट माथि पुगेको छैन । सन् १९९८, २००६, २०१० मा रसिया विश्वकपमा छनोट हुन सकेको थिएन ।

फिफा विश्व फुटबल वरियतामा पनि रसिया विश्वकप खेल्ने राष्ट्रमध्ये पुछारतिर ६६ औँ स्थानमा रहेको छ । यसैले विश्वकपको आयोजक राष्ट्र हुँदा हुँदै पनि रसियालाई कमजोर आँकिएको छ ।

मुख्य खेलाडी – इगर एकिनफिव

क्लब फुटबलमा सीएसकेए मस्कोबाट खेल्ने उनी रसियन टिमका कप्तान पनि हुन् । उनको अनुभव रसियन टिमका लागि महत्वपूर्ण छ ।

प्रशिक्षक – टनिस्लाव चेर्चेस्वोव

रसियन टिमका प्रशिक्षक चेर्चेस्वोव पूर्व खेलाडी पनि हुन् । सन् २००४ देखि विभिन्न क्लब फुटबलमा प्रशिक्षकको काम गरीरहेका चेर्चेस्वोव सन् २०१६ देखि रसियन टिमको प्रशिक्षक बनेका हुन् । उनले रसियन टिमलाई सेमिफाइनलसम्म पुर्‍याउने लक्ष्य लिएका छन् ।

साउदी अरेबिया

एसियाबाट विश्वकपमा छनोट भएको साउदी अरेबियाको यो पाँचौ विश्वकप हो । यसअघि साउदी अरेयिबा सन् १९९४, १९९८, २००२ र २००६ को विश्वकपमा सहभागी भएको थियो ।

फिफा विश्व फुटबल वरियतामा ६७ औँ स्थानमा रहेको साउदी अरेबियालाई रसिया विश्वकपमा समूह चरणबाट माथि जान कठीन छ ।

साउदी अरेबिया सन् १९९४ को विश्वकपमा मोरक्को र बेल्जियमलाई हराएर अन्तिम १६ मा पुगेको थियो । त्यसपछिका विश्वकपमा साउदी अरेबियाले एक खेल पनि जित्न सकेको छैन ।

मुख्य खेलाडी – मोहम्मद अल शालवी

साउदी अरेबियन फुटबल क्लब अल नासार एफसीबाट व्यावसायिक फुटबल खेल्ने शालवी साउदी अरेबिया टिमका मुख्य खेलाडी हुन् । ३० वर्षका स्ट्राइकर शालवीले साउदी अरेबियालाई विश्वकपमा छनोट गर्न उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले विश्वकप छनोटका खेलमा १६ गोल गरेका थिए ।

प्रशिक्षक – जुआन एन्टोनियो पिजी

पूर्व खेलाडीसमेत रहेका प्रशिक्षक जुआन एक अनुभवी प्रशिक्षक हुन् । यसअघि उनले विभिन्न क्लबसँगै एक वर्ष चिली टिममा प्रशिक्षकको भूमिका निभाइसकेका छन् । उनी सन् २०१७ बाट साउदी अरेबियन टिमका प्रशिक्षक बनेका हुन् । उनले बार्सिलोना, भ्यालेन्सिया, पोर्टो र भिलारियल जस्तो महत्वपूर्ण क्लबमा खेलाडी जीवन बिताएको अनुभव प्रशिक्षणमा लगाइरहेका छन् ।

इजिप्ट

इजिप्ट विश्वकप समूह ‘ए’को बलियो टोली हो । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्ट यो पटक लयमा देखिएको छ ।

यसअघिका विश्वकपमा भने इजिप्टको नतिजा सम्झनलायक छैन । समूह चरणमै हार खाएको इजिप्ट यसपटक स्टार खेलाडी मोहम्मद सलाहका कारण पनि चर्चामा छ । अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ ।

फिफा वरियतामा ४६ औँ स्थानमा रहेको इजिप्ट यो विश्वकपमा क्वाटरफाइनलसम्म पुग्ने अनुमान गरिएको छ । सलाह घाइते रहेकाले इजिप्टको विश्वकप सपनामा भने असर परेको छ ।

मुख्य खेलाडी – मोहम्मद सलाह

इंग्लिस पि्रमियर लिग क्लब लिभरपुलबाट ३६ खेलमा ३२ गोल गरेर उनले आफ्नो फुटबल कला प्रमाणित गरे । च्याम्पियन्स लिगमा १० गोल गरेका उनी रियल मडि्रडसँगको फाइनलमा घाइते हुन पुगे । विश्वकपसम्म उनी फिट हुने र दोस्रो खेलबाट मैदान प्रवेश गर्ने आशा गरिएको छ ।

प्रशिक्षक – हेक्टर कुपर

१० भन्दा धेरै क्लबमा प्रशिक्षण दिइसकेका पूर्व अर्जेन्टिनी खेलाडी कुपर सन् २०१५ देखि इजिप्ट टिमको प्रशिक्षणमा छन् । प्रशिक्षक कुपरले आफूहरु डिफेन्सिभ खेल्ने र मौका पाएको अवस्थामा आक्रमणमा उत्रने बताएका छन् । उनको यो शैलीले बलियो मानिएका देशमाथि पनि खतरा देखाएको छ ।

उरुग्वे

विश्वकपमा उरुग्वेको आफ्नै गर्विलो इतिहास छ । यसपटक विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा ब्राजिल पछिको बलियो टोली उरुग्वे देखिएको थियो ।

सन् १९३० र १९५० गरी दुईपटक विश्व विजेता बनेको उरुग्वे गएको ब्राजिल विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । यसपटक अनुभवि खेलाडीसँगै नयाँ स्टारहरुले पनि उरुग्वे टिम बलियो बनेको छ ।

डिफेन्डर डिएगो गोडिनसँगै स्ट्राइकरहरु इडिसन काभानी र लुइस स्वारेज विपक्षी टिमका लागि प्रमुख चुनौती हुन् । साथै युवा मिडफिल्डर नहिटन नान्देज पनि उरुग्वे टिममा महत्वपूर्ण देखिएका छन् ।

प्रमुख खेलाडी : इडिसन काभानी र लुइस स्वोरज

इडिसन काभानी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्लब फुटबल खेल्छन् । उनले यो सिजन पीएसजीबाट खेलेका ४८ खेलमा ४० गोल गरे । विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा पनि उनले १८ खेलमा १० गोल गरेका थिए ।

लुइस स्वोरज स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर हुन् । उनले यो सिजन ला लिगाका ३३ खेलमा २५ गोलसहित बार्सिलोनाबाट खेलका ५१ खेलमा ३१ ग्ाोल गरेका छन् । काभानी जस्तै उनी पनि उरुग्वे टिमका लागि महत्वपूर्ण खेलाडी हुन् । गोलको अवसरमा उत्कृष्ट फिनिसिङ गर्दै उनले टिमलाई अग्रता दिलाउन सक्छन् ।

प्रशिक्षक – ओस्कार तबरेज

प्रशिक्षक ओस्कारले उरुग्वे टिमलाई यसपटक चौथो विश्वकप र लगातार तेस्रो विश्वकपमा प्रशिक्षण गरीरहेका हुन् । सन् १९८८ देखि १९९० सम्म उरुग्वे टिमका प्रशिक्षक रहेका उनी सन् २००६ देखि पुनः उरुग्वे टिम सम्हालिरहेका छन् ।

सन् १९९० को विश्वकपमा उनको प्रशिक्षणमा उरुग्वे अन्तिम १६ सम्म पुगेको थियो । उनकै प्रशिक्षणमा सन् २०१० को विश्वकपमा उरुग्वे ४० वर्षपछि सेमिफाइनलमा पुगेको थियो । यसैले प्रशिक्षक ओस्कारको अनुभव यसपटक रसिया विश्वकपमा फाइदाजनक हुने अनुमान गरिएको छ ।

समूह बी:

विश्वकप फुटबलको समूह ‘बी’ मा स्पेन, पोर्चुगल, मोरक्को र इरान रहेका छन् । फुटबल चर्चा र स्टार खेलाडी हेर्दा यो समूहबाट स्पेन र पोर्चुगल अघिल्लो चरणमा जाने अनुमान गरिए पनि त्यसका लागि सहज भने छैन ।

स्पेन

सन् २०१० को विश्व विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । स्पेन उसको कलात्मक फुटबलका लागि विश्वभर चर्चित छ । स्पेनिस ला लिगाका समर्थक विश्व फुटबल प्रेमीमाझ छाएकाले पनि स्पेनिस टिम धेरैको रोजाइँको टिम हो ।

अहिले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले निकाल्ने विश्व वरियतामा आठौँ स्थानमा रहेको स्पेनलाई यसपटक पनि दाबेदारको रुपमा हेरिएको छ ।

स्पेन अहिलेसम्म १४ पटक विश्वकपमा सहभागी भएको छ । सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको स्पेनले सन् २०१० मा उपाधि उचालेर विश्व फुटबलमा आफ्नो उत्कृष्टता सावित गरेको थियो ।

मुख्य खेलाडी ः बुस्केट्स

स्पेनिस टिम स्टार खेलाडीले भरिएको छ । डिफेन्स र मिड लाइनमा उत्कृष्ट तालमेल मिल्ने खेलाडी स्पेन टिममा छन् । डिफेन्समा रियल मड्रिडका सर्जिओ रामोस र बार्सिलोनाका जेरार्ड पिके साथै मिडफिल्डमा बार्सिलोनाका आन्द्रेस इनिस्टा र बुस्केट्स उम्दा लयमा छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने किपर डेभिड डे गा पनि विश्व फुटबलको उत्कृष्ट किपरको रुपमा अघि आएका छन् । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन साथै २०१० को विश्व कप जित्दाका केही खेलाडी अझै स्पेन टिममा छन् ।

प्रशिक्षक – जुलेन लोपेटेगी

प्रशिक्षक लोपेटेगीले विश्वकप छनोटकै खेलमा आफ्नो कौशल देखाइसकेका छन् । विश्वकप छनोटमा ९ जित र १ बराबरीसहति अपराजित रहेको स्पेन टिमलाई यसपटक उनको प्रशिक्षण राम्रो भइरहेको छ । बार्सिलोना तथा रियल मड्रिडका पूर्व गोलरक्षकसमेत रहेका उनले सन् १९९४ को विश्वकप फुटबलमा स्पेनको प्रतिनिधित्व गरेका थिए । सन् २०१६ को युरोकपपछि उनी स्पेनको टिम सम्हाल्न आएका हुन् ।

पोर्चुगल

विश्वकप खेल्ने तीन महादेशीय च्याम्पियन मध्ये एक हो पोर्चुगल । दुई वर्षअघि अप्रत्याशित खेल देखाउँदै पोर्चुगलले युरोकप जितेको थियो । रियल मडि्रडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिममाथि धेरेको आशा छ ।

युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समूह ‘बी’ मा रहेको पोर्चुगल समूह उपविजेता बन्दै विश्वकपका लागि छनौट भएको थियो । अहिले फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले यो विश्वकपमा पनि युरोपकमा जस्तै सबैलाई चकित पार्न सक्छ ।

विश्वकप खेल्न लाजिओका नानी, बार्सिलोनाका गोमेज र बार्यन म्युनिखका सान्चेज टिममा नपर्नुले पनि पोर्चुगलको टिम कति बलियो बनेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।

विश्वकपमा पोर्चुगल अहिलेसम्म ६ पटक सहभागी भएको छ । त्यसमा सन् १९६६ र २००६ मा गरी दुई पटक सेमिफाइनलसम्म पुग्न सफल भएको छ । गएको विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो । पोर्चुगलले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन ।

मुख्य खेलाडी – क्रिष्टियानो रोनाल्डो

पोर्चुगल भन्ने वित्तिकै आउने नाम हो स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो । क्लब प्रतिस्पर्धामा सबैजसो उपाधि उचालिसकेका ३३ वर्षे रोनाल्डोको यो अन्तिम विश्वकप हुने अनुमान गरिएको छ । उनले यो सिजन रियल मडि्रडबाट खेलेका ४९ खेलमा ५० गोल गरेका छन् । यो सिजन च्याम्पियन्स लिगका १३ खेलमा १५ गोल गरेका उनी पाँच पटकको बालोन डि’ओर विजेता पनि हुन् ।

प्रशिक्षक – फर्नान्डो सान्तोस

फर्नान्डो सान्तोसले सन् २०१४ देखि पोर्चुगिज टिमको जिम्मेवारी सम्हालेका छन् । उनी त्यसअघि गि्रसको प्रशिक्षक थिए । त्यसबेला उनले गि्रसलाई युरोकप २०१२ मा अन्तिम ८ सम्म तथा विश्वकप २०१४ मा अन्तिम १६ सम्म लगेका थिए ।

लिस्बोनमा जन्मिएका सान्तोसले दुई वर्षअघि पोर्चुगललाई युरोपकको उपाधि जिताएर इतिहास बनाएका थिए । विश्वकपमा डिफेन्सिभ लाइन बलियो पार्ने र रोनाल्डोको लागि अवसर सिर्जना गर्ने उनको प्रमुख ध्येय हुनेछ ।

मोरक्को

मोरक्को २० वर्षपछि विश्वकपमा फर्किएको हो । सन् १९९८ को फ्रान्स विश्वकपमा समूह चरणबाट बाहिरिएको मोरक्को त्यसपछि विश्वकपमा छनोट हुन सकेको थिएन ।

मोरक्कोले सन् १९७०, १९८६, १९९४ र १९९८ मा गरेर यसअघि चार पटक विश्वकप खेलेको छ । विश्वकपमा सन् १९८६ मा अन्तिम १६ मा पुग्नु नै मोरक्कोको सबैभन्दा ठूलो उपलब्धी हो ।

मोरक्को टिम यो विश्वकपमा अपत्याशित रुपमा उदाउन सक्ने टिम हो । बलियो डिफेन्स लाइन र विपक्षीको पोस्टमा तीब्र आक्रमणले मोरक्को टिमले राम्रो मानिएको टिमलाई मात दिन सक्छ ।

मुख्य खेलाडी – नबिल डायरर

नबिल डायरर टर्कीको सुपर लिग क्लब फेनेरबाचबाट व्यावसायिक फुटबल खेल्छन् । मिडफिल्डर डायरर मोरक्कन टिमका मुख्य खेलाडी हुन् । उनी अट्याक र मिडफिल्ड दुवै स्थानबाट खेल्न सक्छन् । सन् २००८ देखि राष्ट्रिय टिममा खेलिरहेका उनले २६ खेलमा ३ गोल गरेका छन् ।

प्रशिक्षक – हेर्भे रेनार्ड

फ्रान्सका रेनार्ड सन् २०१६ मा मोरक्को राष्ट्रिय टिमका प्रशिक्षक बनेका हुन् । पूर्व फुटबलरसमेत रहेका उनले सन् २०१२ मा जाम्बियालाई अफ्रिकन कप अफ नेसन्सको उपाधि पनि जिताएका थिए । उनैले आइभेरीकोस्टलाई पनि सन् २०१५ मा अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताएका थिए । यसपटक मोरक्को टिमलाई पनि उनले उत्कृष्ट लयमा ल्याएका छन् ।

इरान

इरान यसपटक विश्वकपमा एसियाबाट छनोट हुने पहिलो टिम हो । उज्वेकिस्तानलाई २-० ले हराएपछि इरानले विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

इरानको यो पाँचौ विश्वकप हो । यसअघि इरानले सन् १९७८, १९९८, २००६ र २०१४ को विश्वकप खेलेको थियो । इरानले विश्वकपमा खेलेका १२ खेलमा ८ खेल हारेको छ । ३ खेल बराबरी गरेको छ । एक खेल जितेको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २-१ गोलले हराएको थियो ।

यसपटक इरानले समूह चरण पार गर्ने लक्ष्य लिएको छ । इरानका प्रशिक्षक कार्लोस क्विरोजले पनि आफूहरु टुरिस्टको रुपमा मात्र रसिया नजाने राम्रो खेल प्रदर्शन गर्ने बताएका छन् ।

मुख्य खेलाडी – सरदार अजमुन

सरदार अजमुन रसियामा नै व्यावसायिक फुटबल खेल्छन् । उनी रसियन क्लब रुबिन कजानका फरवार्ड हुन् । २३ वर्षका उनले इरानी टिमबाट पनि राम्रो प्रभाव पारेका छन् । सन् २०१४ मा राष्ट्रिय टिममा परेका उनले त्यसयता ३२ खेलमा २३ गोल गरिसकेका छन् । उनी इरानको अन्डर १७, अन्डर २० र अन्डर २३ टोलीबाट पनि खेलिसकेका छन् ।

प्रशिक्षक – कार्लोस क्विरोज

इरानका प्रशिक्षक कार्लोस क्विरोजले यसपटक रसियामा इरानी टिमले राम्रो खेल्ने विश्वास व्यक्त गरेका छन् । कार्लोसले यसअघि पोर्चुगल, दक्षिण अफ्रिका र युनाइटेड अरब इमिरेट्सको राष्ट्रिय टिमका साथै स्पेनिस क्बल रियल मड्रिडलाई पनि प्रशिक्षण दिइसकेका छन् ।

उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा पनि झण्डै पाँच वर्ष सहायक प्रशिक्षकका रुपमा थिए । उनी सन् २०११ देखि इरानी टिमको प्रशिक्षणमा छन्

समूह सीः

विश्वकप फुटबलको समूह ‘सी’ मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र पेरु रहेका छन् । फ्रान्स यो पटक पनि विश्वकपको दाबेदार टिम हो । उत्कृष्ट लयमा रहेका युवा खेलाडीले भरिएको फ्रान्स टिम नै बाँकी टिमका लागि चुनौती बनेको छ ।

फ्रान्स

फिफा बरियतामा सातौँ स्थानमा रहेको फ्रान्स विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको समूह ‘ए’ को विजेता बनेर विश्वकपमा पुगेको हो ।

फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

फ्रान्स दुई पटक फाइनलसम्म र पाँच पटक सेमिफाइनलसम्म पुगेको छ । फ्रान्स यसपटक २० वर्षपछि उपाधि फर्काउने लयमा देखिएको छ ।

मुख्य खेलाडी – ओलिभर जिरउड र एन्टोनी ग्रिजम्यान

फ्रान्स टिम समग्रमा बलियो टिम हो । टिममा सबैजसो स्टार खेलाडी छन् । सबै खेलाडी विश्वका शीर्ष लिगका क्लबमा आबद्ध छन् । गएको वर्षको जुन ९ मा भएको खेलमा ओलिभर जिरउडको सुन्दर गोलबाट स्वीडेनलाई २-१ ले हराएर फ्रान्सले विश्वकपमा स्थान बनाएको हो ।

जिरउडसँगै एन्टोनी गि्रजम्यानमा धेरैको नजर छ । उनी सन् २०१६ को युरोकपका सर्वाधिक गोलकर्ता हुन् र प्लेअर अफ दि टुर्नामेन्ट पनि हुन् । उनले विश्वकप २०१८ को छनोटमा फ्रान्सका लागि चार गोल गरे भने चार गोलका लागि सहयोग गरेका थिए ।

यस्तै टिममा पउल पोग्बा, उसमान डेम्बेले जस्ता उत्कृष्ट खेलाडी पनि छन् । जसका कारण फ्रान्स विश्वकप दाबेदार बनेको छ ।

प्रशिक्षक – डिडिएर डेसच्याम्प्स

खेलाडीका रुपमा विश्वकप विजेता डिडिएर डेसच्याम्प्स अहिले प्रशिक्षक छन् । उनले सन् १९९८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी गएको ६ वर्षदेखि फ्रान्सको प्रशिक्षक छन् । उनकै प्रशिक्षणमा दुई वर्षअघि फ्रान्स युरोपकको फाइनलमा पुगेको थियो । उनले मोनाको, युभेन्टस तथा मार्सेलीमा पनि प्रशिक्षकको भूमिका निभाइसकेका छन् । खेलाडीका रुपमा पाएको सफलताले पनि उनलाई प्रशिक्षणमा सहयोग मिलिरहेको छ ।

अस्ट्रेलिया

अस्ट्रेलियाको यो पाँचौ विश्वकप हो । पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको अस्ट्रेलिया अहिले लगातार चौथो पटक विश्वकपको लागि छनोट भयो ।

१९७४ पछि सन् २००६, २०१० र १०१४ को विश्वकप खेलेको अस्ट्रेलिया २००६ मा अन्तिम १६ सम्म पुगेको थियो । यसपटक सिधै छनोट हुन नसकेर प्ले अफमार्फत अस्टे्रलिया विश्वकपमा पुगेको हो ।

प्ले अफमा होन्डुरसलाई हराएको थियो । सन् २०१५ मा एसियन कपको उपाधि जितेको अस्ट्रेलिया यसपटक विश्वकपमा समूह चरणबाट माथि पुग्ने लक्ष्यका साथ रसिया जाँदै छ । फिफा वरियतामा ४० औँ स्थानमा रहेको अस्टे्रलियाले समूह चरण पार गर्ने आँकलन फुटबल पण्डितहरुले गरेका छन् ।

मुख्य खेलाडी – टिम चाहिल

अस्टे्रलियन टिमका लागि फरवार्ड टिम चाहिल महत्वपूर्ण खेलाडी हुन् । विश्वकप छनोटका खेलमा ११ गोल गरेका उनमै अस्टे्रलियाको प|mन्ट लाइन निर्भर छ । उनी उत्कृष्ट हेडिङ गोलका लागि पनि चिनिन्छन् । उनी इंग्लिस क्लब मिलवालका लागि व्यावसायिक फुटबल खेल्छन् ।

टिम चाहिलसँगै अस्टे्रलियन टिमका अर्का मुख्य खेलाडी मिल जेडिनक हुन् । एस्टोन भिलाबाट व्यावसायिक फुटबल खेल्ने उनी मिडफिल्डका राम्रा खेलाडी हुन् । २००८ देखि अस्टे्रलियन टिममा रहेका उनले राष्ट्रिय टिमबाट ७५ खेलमा १८ गोल गरेका छन् ।

प्रशिक्षक – ब्रेट भ्यान मरविक

मरविकले गएको जनवरीदेखि मात्रै अस्टे्रलियन टिम सम्हालेका हुन् । प्रशिक्षक एन्गे पोस्टेकोग्लुले राजीनामा दिएपछि मरविल प्रशिक्षक नियुक्त भएका हुन् । पूर्व खेलाडीसमेत रहेका नेदरल्याण्ड्सका उनले यसअघि नेदरल्याण्ड्स र साउदी अरेबियाको टिम पनि सम्हालिसकेका छन् ।

पेरु

पेरु ३६ वर्षपछि विश्वकपमा फर्किएको टोली हो । चार पटक विश्वकप खेलेको पेरु सन् १९८२ यताका विश्वकपमा छनोट हुन सकेको थिएन । त्यसअघि पेरुले सन् १९३०, १९७० र १९७८ को विश्वकप खेलेको थियो ।

पेरुका धेरैजस्तो खेलाडी मेक्सिकोमा व्यावसायिक फुटबल खेल्छन् । यसपटक समूह चरणमा पेरुको सम्भावना पनि बलियो मानिएको छ । फिफा वरियतामा ११ औँ स्थानमा रहेको पेरु अप्रत्याशित टोलीको रुपमा उदाउन सक्नेछ ।

मुख्य खेलाडी – जेफरसन फरफान

फरवार्ड फरफानले ३३ वर्षको उमेरमा पनि आˆनो उत्कृष्टता देखाइरहेका छन् । यो पटक विश्वकपसम्म पुग्न पेरुका लागि उनको खेल महत्वपूर्ण रहृयो ।

पाराग्वे र न्यूजिल्याण्डलाई हराउँदा उनको भूमिका प्रमुख रहृयो । उनी रसियन क्लबबाट नै व्यावसायिक फुटबल खेल्छन् । सन् २००३ देखि पेरुको राष्ट्रिय टिममा रहेका उनले ८२ खेलमा २५ गोल गरेका छन् ।

प्रशिक्षक – रिकार्डो गारेका

प्रशिक्षक रिकार्डो गारेकाले सन् २०१५ देखि पेरुको टिम सम्हालिरहेका छन् । उनकै प्रशिक्षणमा ३६ वर्षपछि पेरु विश्वकपमा फर्किएकाले पनि उनीमाथि ठूलो आशा राखिएको छ । पूर्व खेलाडीसमेत रहेका उनले सन् १९९६ देखि नै प्रशिक्षणको काम सुरु गरेका हुन् ।

डेनमार्क

डेनमार्क युरोपमा सबैभन्दा छिटो फुटबलमा सुधार गरेको टिम हो । डेनमार्कको यो पाँचौ विश्वकप हो । यसअघि डेनमार्कले सन् १९८६, १९९८, २००२ र २०१० को विश्वकप खेलेको थियो ।

विश्वकपमा डेनमार्क दुई पटक अन्तिम १६ मा र एकपटक क्वाटरफाइनलसम्म पुगेको छ । यसपटक समूह ‘सी’ मा रहेका टोलीमध्ये अघिल्लो चरणमा जाने सम्भावना डेनमार्कको बलिायो छ ।

विश्वकप छनोटमा पोल्याण्डलाई ४-० र आयरल्याण्डलाई ५-१ ले हराएर डेनमार्कले सनसनी मच्चाएको थियो । फिफा विश्व वरियतामा १२ औँ स्थानमा रहेको डेनमार्क यसपटक स्टार स्ट्राइकर क्रिष्टियन इरिकसनका कारण पनि चर्चामा छ ।

मुख्य खेलाडी – क्रिष्टियन इरिकसन

इंग्लिस क्लब टोटनहृयामबाट व्यावसायिक फुटबल खेल्ने इरिकसनले १८ वर्षकै उमेरमा सन् २०१० को विश्वकपमा डेब्यू गरेका थिए । त्यसयता उनले डेनमार्कका लागि ७७ खेलमा २१ गोल गरेका छन् ।

विश्वकप छनोटका खेलमा पनि गोल गर्न र गोलका अवसर सिर्जना गर्न महत्वपूर्ण बनेका इरिकसनकै खेलमा रसिया विश्वकपमा डेनमार्कको भविष्य आँकलन हुने फुटबल विश्लेषक बताउँछन् । छनोट चरणमा पनि उनले ८ खेलमा ११ गरेका थिए ।

प्रशिक्षक – एज हराइड

नर्वेका ६४ वर्षे एज हराइड सन् २०१६ देखि डेनमार्कको टिममा छन् । पूर्व खेलाडीसमेत रहेका हराइड सन् १९८५ देखि नै प्रशिक्षणमा छन् । उनले सन् २००३ देखि २००८ सम्म नर्वेको राष्ट्रिय टिम पनि सम्हालेका थिए ।

समूह डी:

विश्वकप फुटबलको समूह ‘डी’ मा आइसल्याण्ड, अर्जेन्टिना, क्रोयसिया र नाइजेरीया छन् । फुटबल विश्लेषकहरु यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भन्छन् । सबै टिम उस्तै बलियो हुँदा हुँदै पनि यो समूहमा स्टार स्ट्राइकर लियोनल मेसी रहेका कारण अर्जेन्टिनाको चर्चा बढी छ ।

आइसल्याण्ड

दुई वर्षअघि भएको युरोकप फुटबलमा इंग्ल्याण्डलाई हराएर आइसल्याण्डले क्वाटरफाइनल पुग्दै सबैलाई चकित पारेको थियो । त्यो प्रमुख प्रतियोगितामा पाएको आइसल्याण्डको ठूलो उपलब्धी थियो ।

यसपटक विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्डको अर्को राम्रो उपलब्धी हो । यसैले आइसल्याण्डका लागि विश्वकपमा कुनै दबाब हुने छैन । आइसल्याण्ड विश्वकप खेल्ने सबैभन्दा सानो देश पनि बनेको छ । आइसल्याण्डको जनसंख्या ३ लाख ३० हजार छ ।

युरोकपमा राम्रो गरेका धेरै खेलाडी अहिले विश्वकपका लागि घोषणा भएको टिममा पनि छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको वरियतामा २२ औँ स्थानमा रहेको आइसल्याण्डको टिममा गिल्फी सिगुडर्सन जस्ता स्टार खेलाडी छन् । आइसल्याण्डले विश्वकप खेल्ने सबै टिमलाई चुनौती दिने क्षमता राख्छ ।

आइसल्याण्ड गएको वर्षको अक्टोबर ९ मा भएको खेलमा क्रोयसियालाई २-० ले हराउँदै विश्वकप स्थान बनाएको हो । उसले युरोपियन क्षेत्रको समूह आई को विजेताको रुपमा विश्वकपमा स्थान बनाएको हो ।

मुख्य खेलाडी – गिल्फी सिगुडर्सन

गिल्फी सिगुडर्सन आइसल्याण्डका स्टार खेलाडी हुन् । घुँडाको चोटका कारण गएको मार्चदेखि मैदान बाहिर रहेका उनी नर्वेसँग भएको मैत्रीपूर्ण खेलबाट मैदान फर्किए । उनले यो खेलमा गोल पनि गरे ।
उनी गएको पाँच वर्षदेखि आइसल्याण्डका वर्ष फुटबलर पनि हुन् । उनले विश्वकप छनौटका क्रममा चार गोल गरेका थिए भने त्यति नै गोलका लागि सहयोग पनि गरे ।

प्रशिक्षक – हेमिर हलग्रिमसन

पूर्व डेन्टिस्ट हेमिर हलगि्रमसन अहिले आइसल्याण्डको प्रशिक्षक छन् । उनी पूर्व फुटबलर पनि हुन् । दुई वर्षअघि टिमले युरोकपमा राम्रो प्रदर्शन गर्दा लार्स लागेब्र्याकसँगै उनी संयुक्त रुपमा प्रशिक्षक थिए । उनको एकल प्रशिक्षणमा आइसल्याण्डले विश्वकपको यात्रा गरेको हो । सन् १९९९ देखि नै फुटबल प्रशिक्षणमा लागेका हेमिर २०११ देखि आइसल्याण्डको सहायक प्रशिक्षक र २०१३ देखि मुख्य प्रशिक्षकको भूमिकामा छन् ।

अर्जेन्टिना

सन् १९३० देखि २०१४ सम्म १६ पटक विश्वकप खेलेको अर्जेन्टिना दुई पटकको विजेता पनि हो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।

पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । चार पटक क्वाटर फाइनलमा पराजित भएको छ ।

यो विश्वकपका लागि कठीन यात्रा गरेको अर्जेन्टिनाको सम्भावनालाई स्टार स्ट्राइकर लियोनल मेसीका कारण पनि कसैले नकार्न सक्दैन ।

अर्जेन्टिना मेसीकै हृयाटि्रकको सहयोगमा विश्वकपका लागि छनौट भएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीको हृयाटि्रकमा अर्जेन्टिनाले रुस यात्रा तय गरेको थियो ।

मुख्य खेलाडी – लियोनल मेसी

अर्जेन्टिना र स्पेनिस क्लब बार्सिलोनाका समर्थक मात्रै होइन, विश्वभर रहेका फुटबल समर्थक मेसीको उत्कृष्ट खेल शैलीसँग परिचित छन् । गएको विश्वकपमा पनि उनकै उत्कृष्ट खेल लयमा अर्जेन्टिना फाइनलसम्म पुगेको थियो । पाँच पटकका बलोन डि’ओर विजेता मेसीले यसपटक पनि विश्वकपमा राम्रो खेल प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

उनले यो सिजन बार्सिलोनाबाट खेलेका ५४ खेलमा ४५ गोल गरे । ला लिगाको ३६ खेलमा उनले गरेको ३४ गोल यो वर्षको गोल्डेन बुट उपाधिको गोल पनि बन्यो ।

मेसीले यसअघि तीन वटा विश्वकप खेलिसकेका छन् । मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वाटरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १-० ले पराजित भएको थियो ।

प्रशिक्षक – जर्ज सामपाओली

सन् २०१२ देखि ०१६ सम्म चिलीको प्रशिक्षक रहेका सामपाओली सन् २०१७ देखि अर्जेन्टिनाको प्रशिक्षक छन् । सन् २००२ मा पेरुको फुटबल क्लबबाट प्रशिक्षण सुरुवात गरेका उनले त्यसयता आˆनो क्षमता देखाइसकेका छन् । उनले सन् २०१६ देखि ०१७ सम्म स्पेनिस क्लब सेभियामा रहेर पनि काम गरे । ५८ वर्षका उनले यसपटक अर्जेन्टिनालाई विश्वकप दाबेदारको रुपमा प्रस्तुत गरेका छन् ।

क्रोयसिया

फिफा वरियतामा १८ औँ स्थानमा रहेको क्रोयसियाको यो पाँचौ विश्वकप सहभागिता हो । सन् १९९० अघि युगोस्लाभियामा रहेर विश्वकप खेल्ने क्रोयसिया सन् १९९८ को पहिलो सहभागितामा नै तेस्रो भएको थियो । त्यसपछि सन् २००२, २००६ र २०१४ मा क्रोयसियाले विश्वकप खेलेको छ । पछिल्लो तीनै विश्वकपमा भने क्रोयसिया समूह चरणबाट अघि जान सकेको छैन ।

सन् १९९८ को विश्वकपको क्वाटरफाइनलमा जर्मनीलाई ३-० ले हराएपछि क्रोयसियाको चर्चा विश्व फुटबलमा चुलिएको थियो ।

विश्व फुटबलका ठूला भनिएका क्लबबाट खेल्ने खेलाडीको वर्चस्वले गर्दा पनि क्रोयसिया टिम सरपाइज प्याकेज बन्न सक्छ । स्पेनिस क्लब रियल मडि्रडका लुका मोडरिक, बार्सिलोनाका इभान र्‍याकिटिक जस्ता खेलाडी क्रोयसियन टिममा छन् ।

मुख्य खेलाडी – लुका मोडरिक

विश्व फुटबलमा अहिलेको सयमका उत्कृष्ट मिडफिल्डर लुका मोडरिक क्रोयसिन टिमका मुख्य खेलाडी हुन् । सन् २००६ देखि क्रोयसियन टिममा रहेका मोडरिकले १०५ खेलमा १२ गोल पनि गरेका छन् । कप्तान समेत रहेका उनले अर्का मिडफिल्डर इभान र्‍याकिटिकसँगको तालमेलमा क्रोयसियालाई विश्वकप दाबेदारका रुपमा प्रस्तुत गर्ने छन् ।

प्रशिक्षक – लाट्को डालिस

डालिस सन् २०१७ देखि क्रोयसियन टिमको प्रशिक्षक बनेका हुन् । त्यसअघि उनी सन् २००६ देखि ०११ सम्म क्रोयसियन यु २१ टिमका सहायक प्रशिक्षक पनि थिए । पूर्व खेलाडीसमेत रहेका युगोस्लाभियाका डालिस डिफेन्सिभ मिडफिल्डबाट खेल्थे । विश्वकप छनोटको अन्तिम सयममा क्रोयसियन टिमलाई सम्हालेका उनले युक्रेनविरुद्धको अन्तिम खेल र प्ले अफ खेलमा गि्रसलाई हराउन महत्वपूर्ण भूमिका निभाए ।

नाइजेरिया

नाइजेरिया यसपटक अफ्रिकाबाट विश्वकपमा छनोट हुने पहिलो टिम हो । नाइजेरियाले सन् १९९४, १९९८, २००२ मा लगातार तीन पटक विश्वकप खेलेको थियो । २००६ मा छनोट हुन नसकेको नाइजेरिया त्यसपछिका तीन वटै विश्वकपमा छनोट भएको छ ।

नाइजेरियाको यो छैठौँ विश्वकप सहभागिता हो । दुई पटक समूह चरणबाटै बाहिरिएको नाइजेरिया यसअघि तीन पटक अन्तिम १६ मा पुगेको छ ।

क्यामरुन, जाम्बिया र अल्जेरिया रहेको विश्वकप छनोटको समूहमा नाइजेरियाले आˆनो उत्कृष्ट खेल देखाएर विश्वकपमा राम्रो गर्ने सम्भावना प्रस्तुत गरेको थियो । विश्वकपको समूह ‘डी’ मा रहेका जुनसुकै टिमविरुद्ध नाइजेरिया हाबी हुन सक्छ ।

मुख्य खेलाडी – जोन ओबी मिकेल

नाइजेरियाका कप्तानसमेत रहेका मिकेल सेन्ट्रल मिडफिल्डबाट उत्कृष्ट तालमेल बनाउँछन् । सन् २००६ देखि २०१७ सम्म इंग्लिस क्लब चेल्सीमा रहेका मिकेल अहिले चाइनिज क्लबमा आबद्ध छन् । उनी सन् २००६ देखि नै नाइजेरियन राष्ट्रिय टिममा सामेल छन् । नाइजेरियालाई विश्वकपसम्म ल्याउन उनको खेल महत्वपूर्ण रहेको छ । सेन्ट्रल मिडफिल्डबाट बल जोगाउने र विपक्षीको पोस्टमा आक्रमणमा बढाउने उनको शैली राम्रो छ ।

प्रशिक्षक – ग्रेनट रोह

नाइजेरियाले गएको ब्राजिल विश्वकप २०१४ देखि दुई वर्षमा आठ पटक प्रशिक्षक परिवर्तन गर्‍यो । त्यसैले पनि ग्रेनट रोह नाइजेरियामा उत्कृष्ट शैली र तालमेल बनाइरहेका प्रशिक्षक हुन । पूर्व खेलाडीसमेत रहेका जर्मनीका रोहले सन् २०१६ देखि नाइजेरियाको रााष्ट्रिय टिम सम्हालिरहेका छन् । नाइजेरियालाई विश्वकपसम्म लग्न उनको भूमिका महत्वपूर्ण रहृयो ।

समूह ई:

विश्वकप फुटबलको समूह ‘ई’ मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बिया रहेका छन् । स्टार खेलाडीले भरिएको टिम भएकाले ब्राजिलको सम्भावना बलियो रहे पनि अन्य टिमको उत्कृष्ट खेल शैली र तालमेललाई कमजोर आँक्न भने मिल्दैन ।

ब्राजिल

ब्राजिल रसिया विश्वकपका लागि सबैभन्दा पहिले छनोट हुने टिम हो । पाँच पटकको विश्व विजेता ब्राजिल गएको विश्वकपमा घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो । लज्जास्पद हारबाट बाहिरिन र छैठौँ पटक विश्वकप जित्न यसपटक ब्राजिल टोली सक्षम देखिन्छ ।

ब्राजिलले सन् १९३० देखि २०१४ सम्म २० पटक विश्वकप खेलेको छ । सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो ।

२० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । चार पटक क्वाटरफाइनलबाट बाहिरिएको छ ।

मुख्य खेलाडी – नेमार

ब्राजिलको टिममा सबै स्टार खेलाडी छन् । त्यसमा पनि नेमार आफ्नो उत्कृष्टमा लयमा देखिन्छन् । बार्सिलोनाबाट अघिल्लो सिजन विश्वकीर्तिमानी मूल्यमा फ्रेन्च  लिग वान क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) गएका नेमार यो विश्वकपकै स्टार खेलाडी हुन् । फिफा कन्फेडेरेसन कप र ओलम्पिक स्वर्ण पदक विजेता खेलाडी नेमार आफ्नो दोस्रो विश्वकपमा सहभागी हुन लागेका हुन् । उनले यो सिजन पीएसजीबाट खेलेका ३० खेलमा २८ गोल गरेका छन् ।

प्रशिक्षक – टिटे

टिटेले ब्राजिलको जिम्मेवारी सम्हालेदेखि ब्राजिलको टिममा आश लाग्दो परिवर्तन देखिएको छ । टिटेले सन् २०१६ को जुनमा ब्राजिलको जिम्मेवारी लिएका हुन् । उनले जिम्मेवारी सुरु गर्ने बेला दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट तालिकामा ब्राजिल छैटौँ स्थानमा थियो ।

तर त्यसपछिका लगातार ९ खेलमा जित निकाल्दै ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम बन्यो । उनले ब्राजिललाई यो पटक विश्वकपको उपाधिसम्म लैजाने आश गरिएको छ । सन् २०१७ को मार्च २८ मा पाराग्वेलाई ३-० ले हराएपछि ब्राजिलले विश्वकपमा स्थान पक्का गरेको थियो ।

स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप सहभागिता हो । फिफा वरियतामा छैठौँ स्थानमा रहेको स्वीट्जरल्याण्ड यसअघि सन् १९३४, १९३८ र १९५४ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यसपटक पनि स्वीट्जरल्याण्ड क्वाटरफाइनलसम्म पुग्ने आश गरिएको छ । त्यसको छनक स्पेनसँग भएको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी गरेर स्वीट्जरल्याण्डले दिइसकेको छ ।

सन् २००९ मा यु १७ विश्व विजेता बनेको टोलीका धेरै सदस्य अहिले विश्वकप खेल्ने टोलीमा छन् । यसैले स्वीट्जरल्याण्डले आˆनो उत्कृष्ट खेल क्षमता देखाइरहेको छ ।

सन् २०१४ को ब्राजिल विश्वकपमा पनि स्वीट्जरल्याण्ड राम्रो लयमा थियो । त्यसबेला अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग अतिरिक्त समयमा १-० ले पराजित भएको स्वीट्जरल्याण्ड टिम अहिले झनै बलियो बनेको छ ।

मुख्य खेलाडी – ग्रेन्ट हाका

हाका स्वीट्जरल्याण्डको सन् २०१७ का वर्ष खेलाडी हुन् । सन् २०११ देखि स्वीट्जरल्याण्ड टिममा रहेका उनले २०१४ को विश्वकपमा पनि राम्रो खेल देखाएका थिए । सन् २०१६ देखि इंग्लिस क्लब आर्सनलको मिडफिल्ड सम्हालिरहेका हाका स्वीट्जरल्याण्ड टिमका प्रमुख खेलाडी हुन् । उनले स्वीट्जरल्याण्डका लागि ६१ खेलमा ९ गोल गरेका छन् ।

प्रशिक्षक – भ्ल्यादिमिर पेट्कोविक

युगोस्लाभियाका पेट्कोविकले सन् २०१४ देखि स्वीट्जरल्याण्डको टिम सम्हालिरहेका छन् । पूर्व खेलाडीसमेत रहेका उनले स्वीट्जरल्याण्ड टिममा राम्रो प्रभाव पारिरहेका छन् । उनले स्वीट्जरल्याण्डलाई युरो २०१६ मा अन्तिम १६ सम्म पुर्‍याएका थिए । यसपटक विश्वकप छनोटमा पनि उनको राष्ट्रिय टिमसँगको तालमेल राम्रो देखिएको छ ।

कोस्टारिका

कोस्टारिकाको यो पाँचौ विश्वकप हो । सन् १९९० मा पहिलोपटक विश्वकप खेल्दा नै कोस्टारिक अन्तिम १६ सम्म पुगेको थियो ।

सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोस्टारिका सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो समय कोस्टारिका नेदरल्याण्ड्ससँग टाइबे्रकरमा ४-३ ले पराजित भएको थियो ।

विगतलाई हेर्दा र वर्तमान टोलीलाई नियाल्दा पनि कोस्टारिका बलियो टोली हो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिका यसपटक पनि राम्रा भनिएका टोलीका लागि चुनौती हो ।

मुख्य खेलाडी – ब्रायन रुइज

ब्रायन रुइज कोस्टारिका टिमका भरपर्दा खेलाडी हुन् । अट्याकिङ मिडफिल्डबाट खेल्ने उनी परिआउँदा स्ट्राइकरको भूमिका पनि निर्वाह गर्न सक्छन् । गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्दा पनि उनको खेल उत्कृष्ट थियो । रसिया विश्वकप छनोटमा पनि उनले तीन गोल गरेका थिए । सन् २००५ देखि कोस्टारिका टिममा रहेका उनले १०१ खेलमा २३ गोल गरेका छन् ।

प्रशिक्षक – ओस्कार रामिरेज

सन् १९८३ देखि २००० सम्म मिडफिल्डरको रुपमा फुटबलमा रहेका कोस्टारिकाका रामिरेज २००२ देखि प्रशिक्षणमा लागेका हुन् । उनले सन् २०१५ देखि कोस्टारिकाको राष्ट्रिय टिम सम्हालिरहेका छन् । रसिया विश्वकपमा रामिरेजको प्रशिक्षणमा कोस्टारिका अघिल्लो चरणसम्म पुग्ने अनुमान गरिएको छ ।

सर्बिया

फिफा वरियतामा ३५ औँ स्थानमा रहेको सर्बियाको यो १२ औँ विश्वकप सहभागिता हो । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाले अन्तिम पटक सन् २०१० मा सहभागिता जनाएको थियो ।

सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो । त्यो बेला युगोस्लाभियाकै रुपमा रहेको सर्बियाले त्यसपछिका विश्वकपमा भने सम्झनलायक सहभागिता जनाएको छैन ।
सर्बियाले सन् १९७४, १९८२, १९९०, १९९८, २००६ र २०१० मा पनि विश्वकप खेलेको थियो । त्यसमा १९९० मा क्वाटरफाइनलसम्म पुग्नु सर्बियाको ठूलो सफलता हो ।

२००६ मा स्वतन्त्र राष्ट्र भएपछि यसपटक सर्बियाको दोस्रो विश्वकप सहभागिता हो ।

मुख्य खेलाडी – ब्रेनिस्लाव इभानोभिच

सन् २००५ देखि सर्बियाको राष्ट्रिय टिममा रहेका इभानोभिच सन् २०१२ देखि राष्ट्रिय टिमका कप्तानको रुपमा छन् । टिममा मुख्य डिफेन्डरका रुपमा रहेका उनले १०२ खेलमा १२ गोल पनि गरेका छन् । सन् २००८ देखि २०१७ सम्म इंग्लिस क्लब चेल्सीमा रहेका उनी अहिले रसियामै व्यवसायिक फुटबलमा आबद्ध छन् । उनले चेल्सीमा रहँदा एकपटक च्याम्पियन्स लिग र तीन पटक इंग्लिस प्रिमियर लिग जितेका थिए । यसैले अनुभवि इभानोभिच सर्बिया टिमका भरपर्दा खेलाडी हुन् ।

प्रशिक्षक – माल्देन केस्टाजिक

सन् १९९२ देखि प्रशिक्षणमा लागेका माल्देन कोस्टाजिकले आˆनो प्रशिक्षणको धेरै समय सर्बियामै बिताएका छन् । सन् १९९९ देखि २००८ सम्म सर्बिया राष्ट्रिय टिमका प्रशिक्षक रहेका उनले सन् २०१६ देखि २०१७ सम्म पुनः सर्बियन टिम सम्हालेका थिए । बिचमा केही समय स्लावोलजव मुस्लिन प्रशिक्षक बने पनि केही समयमै उनलाई हटाएर पुनः माल्देनलाई नै प्रशिक्षक बनाइयो ।

समूह एफ:

विश्वकप फुटबलको समूह ‘एफ’ मा जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । जर्मनी सन् २०१४ को ब्राजिल विश्वकपको विजेता हो । यो समूहमा जर्मनी बलियो देखिए पनि अन्य टोलीमा को अघिल्लो चरणमा पुग्छ भन्ने अनुमान सहज छैन । यो समूहमा रहेको मेक्सिको विश्वकपको दाबेदार रहेको अर्को बलियो टोली हो ।

जर्मनी

चार वर्षअघि ब्राजिलमा भएको विश्वकप फुटबलमा घरेलु टोली ब्राजिललाई सेमिफाइनलमा ७-१ ले हराएर जर्मनीले सनसनी मच्चाएको थियो । त्यसपछि फाइनलमा अर्जेन्टिनालाई १-० ले हराएर जर्मनी विश्व विजेता बन्यो ।

फिफा वरियतामा शीर्ष स्थानमा रहेको जर्मनी यसपटक पनि दाबेदार टिम हो । अहिलेसम्म १८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सफल टिम हो ।
१९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी चार पटक विश्व विजेता बनेको छ । उसले पहिलो पटक१९५४ मा उपाधि उचालेको थियो भने पछिल्लो पटक २०१४ मा विजेता बन्यो ।

त्यसअघि१९७४ र १९९० मा पनि जर्मन विश्व विजेता बनेको थियो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ । जर्मनी तीन पटक क्वाटरफाइनलमा पराजित भएको छ ।

मुख्य खेलाडी – टोनी क्रुस

जर्मनीका धेरै प्रभावशाली खेलाडी छन् । त्यसमा रियल मडि्रडबाट खेल्ने टोनी क्रुसको प्रभाव बलियो मानिन्छ । उनी विश्वमा यो पुस्ताका उत्कृष्ट मिडफिल्डर हुन् ।
उनले बार्यन म्युनिख र रियल मडि्रडबाट च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

सन् २०१४ मा विश्वकप जित्दा पनि क्रुस टोलीका महत्वपूर्ण सदस्य थिए । मिडफिल्डबाट गोलको अवसर सिर्जना गर्ने र डिफेन्स लाइनसँग खेलमा भिज्ने उनको कला उत्कृष्ट छ ।

प्रशिक्षक – योआखिम लो

चार वर्षअघि उपाधि जिताएका योआखिम लो नै अहिले पनि जर्मनीको प्रशिक्षक छन् । उनले २००६ देखि जर्मनीको राष्ट्रिय टिम सम्हालिरहेका हुन् । दशकभन्दा लामो प्रशिक्षणकालमा उनले जर्मनीलाई विश्वकै उत्कृष्ट टिमको रुपमा स्थापित गराएका छन् ।

उनले पछिल्लो पटक गएको वर्ष, २०१७ मा फिफा कनफेडेरेसन कपको उपाधि दिलाए । जर्मनीले गएको अक्टोबर ८ मा अजरबैजानलाई ५-१ ले हराएसँगै विश्वकपमा स्थान बनाएको थियो । १९७८ देखि १९९५ सम्म खेलाडी जीवनमा रहेका उनले त्यसलगत्तै प्रशिक्षण सुरु गरेका थिए । अट्याकिङ मिडफिल्डबाट खेल्ने उनको प्रशिक्षण शैली पनि उस्तै आक्रामक छ ।

मेक्सिको

मेक्सिको यसपटक धेरैको नजरमा नपरेको तर बलियो टोली हो । मेक्सिको यस्तो टोली हो, जुन गएको ६ वटा विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको छ ।

सन् १९३० मा पहिलो विश्वकप खेलेको मेक्सिकोको यो १६ औँ विश्वकप हो । जसमा १९९४ देखि २०१४ सम्म मेक्सिको लगातार अन्तिम १६ बाट बाहिरियो । मेक्सिको १९७० र १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

गएको ब्राजिल विश्वकपमा पनि मेक्सिकोको खेल उत्कृष्ट थियो । त्यो बेला मेक्सिको अन्तिम १६ को खेलमा नेदरल्याण्ड्ससँग २-१ ले पराजित भएको थियो । मेक्सिको यसपटक समूह ‘एफ’ को राम्रो टोलीसँगै विश्वकपभर राम्रो फुटबल खेलका लागि चिनिने फुटबल पण्डितहरुको विश्लेषण छ ।

मुख्य खेलाडी – जेभियर हर्नान्डेज

सन् २०१० देखि २०१५ सम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका स्ट्राइकर हर्नान्डेजले केही समय स्पेनिस क्लब रियल मड्रिडबाट पनि खेले । अहिले उनी इंग्लिस क्लब वेस्ट हाम युनाइटेडमा छन् । २००९ मा मेक्सिकोको राष्ट्रिय टिममा डेब्यू गरेका हर्नान्डेजले १०१ खेलमा ४९ गोल गरेका छन् ।

उनले २०१० र २०१४ को विश्वकप पनि खेलेका थिए । यसैले उनको अनुभव र खेल क्षमता मेक्सिकन टिमका लागि महत्वपूर्ण छ ।

प्रशिक्षक – जुआन कार्लोस ओसोरिओ

कोलम्बियाका कार्लोस ओसोरिओ खेलाडी जीवनमा मिडफिल्डबाट खेल्थे । सन् २००० देखि प्रशिक्षण सुरु गरेका उनले २०१५ देखि मेक्सिकोको राष्ट्रिय टिम सम्हालिरहेका छन् । खेलका हरेक सानो सानो विषयमा जानकार रहने र छिटो छिटो आक्रमणमा जान सक्ने शैलीका लागि उनी विश्व फुटबलमा परिचित छन् ।

स्वीडेन

स्वीडेन विश्वकपसम्म आइपुग्ने यात्रा नै सनसनीपूर्ण रहृयो । चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै स्वीडेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
यसअघि पनि ११ पटक विश्वकप खेलेको स्वीडेनले पछिल्लोपटक सन् २००६ मा विश्वकप खेलेको थियो ।

स्वीडेनका लागि १९५८ को विश्वकप फाइनलमा ब्राजिलसँग पराजित भएपछि सम्झनलायक विश्वकप हुन सकेको छैन ।

स्वीडेन १९३८, १९५० र १९९४ मा सेमिफाइनलमा पराजित भएको थियो । २००२ र २००६ मा भने अन्तिम १६ बाट बाहिरिएको थियो ।

यसपटक अन्तिम १६ सम्म पुग्ने आँकलन गरिए पनि बलियो टोलीबीच स्वीडेनको सम्भावना आँकलन गर्न भने कठीन छ ।

मुख्य खेलाडी – मार्कस बर्ग

रसिया विश्वकप छनोटको खेलमा ८ गोल गरेका उनले स्टार खेलाडी जाल्टन इब्राहिमोविचको कमि पूरा गरीरहेका छन् । ३१ वर्षका उनी २००८ देखि स्वीडेनको राष्ट्रिय टिममा छन् । जसमा ५५ खेलमा उनले १८ गोल गरेका छन् ।

प्रशिक्षक – जाने एन्डरसन

एन्डरसन २०१६ देखि स्वीडेन टिमको प्रशिक्षक छन् । १९८८ देखि नै फुटबल प्रशिक्षणमा लागेका उनले सन् २०१५ मा आईएफके नर्कोपिंगलाई स्वीडेनको लिग जिताएर आफ्नो क्षमता देखाएका थिए । साथै रसिया विश्वकपको प्लेअफमा इटालीलाई हराएसँगै उनको क्षमता विश्व फुटबलमा उज्यालिएको थियो ।

दक्षिण कोरिया

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाको यो १० औँ विश्वकप सहभागिता हो । २००२ मा जापान र कोरियामै विश्वकप आयोजना हुँदा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।

त्यसअघि १९५४, १९८६, १९९०, १९९४ र १९९८ मा समूह चरणबाट बाहिरिएको दक्षिण कोरिया २००६ र २०१४ मा पनि समूह चरणबाटै बाहिरियो । सन् २०१० मा भने दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो ।

विश्वकपका लागि एसिया छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरी गरेपछि दक्षिण कोरियाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यसपटक दक्षिण कोरिया समूह चरणबाट माथि जाने लक्ष्यसहित रसिया प्रस्थान गर्दैछ ।

मुख्य खेलाडी – कि सुङ युङ

सन् २००८ देखि कोरियन टिममा रहेका सेन्टर मिडफिल्डर कि सुङ युङले राष्ट्रिय टिमका लागि एक सय खेलमा १० गोल पनि गरेका छन् ।

इंग्लिस क्लब स्वान्से सिटीबाट व्यावसायिक फुटबल खेल्ने उनी कोरियन टिमका मुख्य खेलाडी हुन् । कोरियन टिमका कप्तानसमेत रहेका उनी फुटबलकै कारण कोरियनमाझ निकै प्रख्यात पनि छन् । उनी डिफेन्स लाइन, बल पास साथै आक्रमणमा पनि उत्कृष्ट तालमेल मिलाउन सक्छन् ।

प्रशिक्षक – शिन ते योङ

जुलाई २०१७ देखि योङले दक्षिण कोरियाको राष्ट्रिय टिम सम्हालिरहेका छन् । दक्षिण कोरियाका पूर्व खेलाडीसमेत रहेका उनले यु २०, यु २३ टिमका लागि पनि प्रशिक्षण दिइसकेका छन् । विश्वकप छनोटमा कतार र चीनसँग पराजित भएर उथलपुथल भएको कोरियन टिमलाई उनले लयमा ल्याएका हुन् । यसैले पनि उनको प्रशिक्षणमा कोरियन टिमले यसपटक राम्रो खेल प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

समूह जी

विश्वकप फुटबलको समूह ‘जी’ मा बेल्जियम, इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । खेलाडी छनोटका आधारमा हेर्दा बेल्जियम र इंग्ल्याण्डको सम्भावना प्रबल देखिन्छ । यो समूहमा पहिलो पटक विश्वकप खेल्ने पानामा रहे पनि अघिल्लो चरणमा जाने प्रतिस्पर्धा भने सहज देखिँदैन ।

बेल्जियम

यो समूहको बलियो टोली बेल्जियम हो । फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमको यो १३ औँ विश्वकप हो । सन् १९३० बाट विश्वकप खेल्न थालेको बेल्जियम सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो ।

बेल्जियमले १९३० पछि १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ मा विश्वकप खेलेको थियो । गएको विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो । खेलाडी हेर्दा बेल्जियम टिम सन्तुलित देखिन्छ ।

बेल्जियम हरेक खेलाडी हेर्दा राम्रो देखिने र मैदानमा सामान्य हुने टोली पनि हो । विश्वकपको दाबेदारी दिन सक्ने बेल्जियम यसपटक सेमिफाइनलसम्म पुग्ने अनुमान फुटबल पण्डितहरु गर्छन् ।

प्रमुख खेलाडी – इडन हाजार्ड

तीब्र र कुशल खेल क्षमता हाजार्डको फुटबल विशेषता हो । गोल गर्न सक्ने र गोलका लागि अवसर सिर्जना गर्न सक्ने दुबै कुरामा उनी पोख्त छन् । विश्व फुटबलकै उत्कृष्ट फरवार्ड उनले बेल्जियम टिममा पनि राम्रो प्रभाव पारेका छन् । बेल्जियमलाई विश्वकपसम्म लैजाँदा उनले ६ गोल गरेका थिए । साथै पाँच गोलको अवसर सिर्जना गरेका थिए । सन् २००८ देखि बेल्जियम टिममा रहेका उनले ८३ खेलमा २१ गोल गरेका छन् । क्लब फुटबलमा इंग्लिस क्लब चेल्सीबाट प्रभाव जमाइरहेका उनको खेल रसिया विश्वकपमा पनि उत्कृष्ट हुने आशा गरिएको छ ।

प्रशिक्षक – रोबेर्टो मार्टिनेज

स्पेनका मार्टिनेजसँग इंग्लिस क्लब स्वान्से सिटी र इभर्टन सँगै ६ भन्दा धेरै क्लब सम्हालेको अनुभव छ । पूर्व खेलाडीसमेत रहेका उनले १९९१ देखि प्रशिक्षण सुरु गरेका हुन् । उनी सन् २०१६ देखि बेल्जियम राष्ट्रिय टिमको प्रशिक्षक छन् ।

रसिया विश्वकप रोबेर्टोको पहिलो विश्वकप भए पनि उनले आफ्नो टोलीमाथि पूरा विश्वास राखेका छन् । उनको प्रशिक्षणमा विश्वकप छनोटमा देखाएको खेललाई आधार मान्दा पनि बेल्जियम टोलीले यसपटक राम्रो गर्ने अनुमान गरिएको छ ।

इंग्ल्याण्ड

विश्वभर चर्चामा रहने सबैभन्दा महंगो फुटबल लिग ‘इंग्लिस प्रिमियर लिग’का कारण पनि इंग्ल्याण्ड फुटबल प्रेमिको रोजाइँमा पर्ने गर्दछ ।

इंग्ल्याण्ड यसपटक नाइजेरिया पछिको सबैभन्दा युवा टोली पनि हो । अर्को महत्वपूर्ण विषय इंग्ल्याण्ड मात्रै त्यस्तो टोली हो जसका सबै खेलाडी इंग्ल्याण्डकै लिगमा आबद्ध छन् ।

सन् १९५० बाट विश्वकप खेल्न थालेको इंग्ल्याण्डले १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको छैन ।

सन् २०१४ को विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि यो पटक निकै भिन्नता देखिएको छ । इंग्ल्याण्ड ६ पटक क्वाटरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ । इंग्ल्याण्ड विश्वकपमा अभागी टोली पनि हो । राम्रा खेलाडी र राम्रो खेल हुँदा हुँदै पनि त्यसको प्रभाव खेलमा भने देखिँदैन ।

प्रमुख खेलाडी – हृयारी केन

इंग्लिस क्लब टोटनहृयामबाट पि्रमियर लिगमा प्रभाव पारेका केन इंग्ल्याण्ड टिमका भरपर्दा स्ट्राइकर हुन् । इंग्ल्याण्ड राष्ट्रिय टिममा सन् २०१५ देखि रहेका उनले २४ खेलमा १३ गोल गरेका छन् ।

इंग्ल्याण्डबाट विश्वकप छनोटका ६ खेलमा ५ गोल गरेका उनले आफ्नो उत्कृष्टता सावित गरेका छन् । यो सिजन टोटनहृयामबाट खेलेका ४८ खेलमा उनले ४१ गोल गरेका छन् ।

प्रशिक्षक – गेरथ साउथगेट

इंग्ल्याण्ड टिमका पूर्व खेलाडीसमेत रहेका साउथगेट सन् २०१६ नोवेम्बरदेखि मुख्य प्रशिक्षकका रुपमा काम गरीरहेका छन् । उनले क्लब सम्हालेदेखि राम्रा परिवर्तनहरु पनि देखिएको छ । सन् १९९८ को प|mान्स विश्वकप र २००२ को कोरिया/जापान विश्वकपमा खेलाडीको रुपमा अनुभव लिएकाले पनि उनले यसपटक प्रशिक्षकका रुपमा राम्रो गर्ने अनुमान गरिएको छ ।

पानामा

बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूहमा पानामा आफ्नो पहिलो विश्वकप खेल्दै छ । फिफा वरियतामा ५५ औँ स्थानमा रहेको पानामा विश्वकपमा छनोट भएपछि एक दिन राष्ट्रिय बिदा दिइएको थियो ।

अन्तिम क्वालिफायरमा कोस्टा रिकालाई २-१ ले हराएपछि पानामाले विश्वकपमा स्थान पक्का गरेको थियो ।

चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।

प्रमुख खेलाडी – ब्लस पेरेज

पानामाका ब्लस पेरेज अनुभवि खेलाडी हुन् । सन् २००१ देखि पानामाको राष्ट्रिय टोलीमा रहेका ३७ वर्षीय उनले ११३ खेलमा ४३ गोल गरेका छन् । फरवार्ड लाइनमा रहेर पनि बल नियन्त्रण गर्ने र खेल मिलाउने उनको शैली राम्रो छ ।

ग्वाटेमालाको म्युनिसिपल क्लबबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टोलीबाट पनि राम्रो प्रभाव पारेका छन् । चार पटक विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका उनले ११ गोल गरेका छन् ।

प्रशिक्षक – हर्नान डेरियो गोमेज

पानामा टिममा अन्य टिममा भन्दा केही राम्रो भिन्नता छ भने त्यो हर्नान डेरियो गोमेज हुन् । सन् २०१४ देखि पानामा राष्ट्रिय टिम सम्हालिरहेका उनले टिममा निकै सुधार गरेका छन् ।

यसैले पानामालाई पहिलो पटक विश्वकपमा पुर्‍याएर उनले इतिहास बनाए । एल बोलिलो उपनामबाट चिनिने उनले १९९८ मा कोलम्बियालाई र सन् २००२ मा इक्वेडरलाई विश्वकपसम्म पुर्‍याएका थिए । पूर्व डिफेन्सिभ मिडफिल्डरसमेत रहेका उनले पानामा, कोलम्बिया, इक्वेडरसँगै ग्वाटेमाला टिम पनि सम्हालिसकेका छन् ।

ट्युनिसिया

फिफा वरियतामा १४ औँ स्थानमा रहेको ट्युनिसियाको यो पाँचौ विश्वकप हो । सन् १९७८ मा पहिलो विश्वकप खेलेको ट्युनिसियाले सन् १९९८, २००२ र २००६ को विश्वकपमा पनि सहभागिता जनाएको थियो ।

१२ वर्षपछि विश्वकपमा फर्किएको ट्युनिसिया यसअघि समूह चरणबाट माथि जान सकेको छैन ।

१९७८ को विश्वकपमा मेक्सिकोलाई ३-१ ले हराएपछि ट्युनिसियाले कुनै खेल जित्न सकेको छैन । विश्वकपमा खेलेका १२ खेलमा ट्युनिसियाले एक खेलमा जित, चार खेलमा बराबरी गरेको छ । सात खेलमा ट्युनिसिया पराजित भएको छ ।

यसपटक भने युवा खेलाडीको वर्चस्व रहेको ट्युनिसियाले समूह चरणमा कडा चुनौती प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

प्रमुख खेलाडी – वाहबी खजरी

ट्युनिसिया १२ वर्षपछि विश्वकपमा र्फकन अट्याकिङ मिडफिल्डबाट खेल्ने वाहबीको खेल महत्वपूर्ण सावित भएको छ । फ्रेन्च लिग वान क्लब रेनर्सबाट व्यावसायिक फुटबल खेल्ने उनले २०१७/१८ मा करिअरकै उत्कृष्ट खेल प्रदर्शन गरेको फुटबल विश्लेषक बताउँछन् ।

विश्वकप छनोटमा पनि मौरिटानिया र लिबियाविरुद्ध उनले गरेको गोल जितका लागि महत्वपूर्ण सावित भएको थियो । सन् २०१३ देखि ट्युनिसिया राष्ट्रिय टिमबाट खेलेका उनले ३६ खेलमा १२ गोल गरेका छन् ।

प्रशिक्षक – नबिल मालौल

सन् १९८० देखि १९९५ सम्म ट्युनिसिया टिमका मुख्य खेलाडी रहेका नबिल मालौलले सन् २०१७ देखि राष्ट्रिय टिम सम्हालिरहेका छन् ।

खेलाडी जीवनमा मिडफिल्डबाट खेल्ने उनले सन् १९९७ देखि प्रशिक्षण सुरु गरेका हुन् । ट्युनिसियालाई विश्वकपमा फर्काउन उनको शैली प्रभावकारी भएको छ । गेम होल्ड गरेर राख्ने र पाएको अवसरमा गोल गर्ने उनको तरिका ठूला टिमविरुद्ध पनि घातक हुन सक्छ ।

समूह एच

विश्वकप २०१८ को सबैभन्दा ठूलो विशेषता हो, यसमा कुनै त्यस्तो समूह छैन, जसलाई ‘ग्रुप अफ डेथ’ भन्न सकियोस् अर्थात रूसमा हुने अबको विश्वकपमा कुनै त्यस्तो समूह छैन, जसमा निकै ठूलो अप्रत्याशित नतिजाको सम्भावना होस् । प्रतियोगिताको समूह ‘एच’ त झन यस्तो समूह हो, जसमा सबै खाले सम्भावना खुल्ला छ । यसलाई प्रतियोगिताकै सबैभन्दा खुल्ला समूह भने हुन्छ, जहाँ समूहका चारवटै टिमको उत्तिकै सम्भावना छ ।

यो समूहमा प्रत्येक टिमले फरक–फरक महादेशको प्रतिनिधित्व गरिरहेका छन् । पोल्यान्ड, सेनेगल, कोलम्बिया र जापान सम्मिलित यो समूहलाई प्रतियोगिताको सबैभन्दा कमजोर समूह पनि भनिएको छ । यो समूहमा शीर्ष वरियताको टिम पोल्यान्ड छ र धेरै अर्थमा पोल्यान्ड यो समूहको सर्वाधिक बलियो टिम पनि हो । यसको एक मात्र कारण पोल्यान्डसँग अहिलेको विश्व फुटबलकै अब्बल दर्जाका स्ट्राइकर रोबर्ट लेवनडोस्की हुनु हो ।

बायर्न म्युनिखका यी खेलाडीले युरोपेली छनौटमा १६ गोल गरेका थिए, जुन छनौट चरणको सर्वाधिक व्यक्तिगत गोल थियो । लेबनडोस्कीको यो उपलब्धिले पनि देखाउँछ, उनी कति राम्रा अग्रपंक्तिका खेलाडी हुन् । उनले जर्मन बुंडेसलिगा क्लब बायर्नका लागि थुप्रै उपाधि जितेका छन्, तर आफ्नो देशका लागि कुनै चमत्कारी प्रदर्शन गर्न सकेका छैनन् । सम्भवत: यसपटक रूसमा हुने विश्वकप उनका लागि अन्तिम अवसर हुनेछ ।

सन् १९८६ को विश्वकप नै त्यस्तो अन्तिम प्रतियोगिता हो, जसमा पोल्यान्ड नकआउट चरणमा पुगेको थियो । त्यसैले प्रश्न रहने छ, के युरोपको प्रतिनिधि रहेको पोल्यान्ड यसपटक दोस्रो चरण पुग्नेछ ? यो समूहको अर्को टिम कोलम्बियाका लागि पछिल्लो विश्वकप निकै सुखद रह्यो । उक्त विश्वकपमा यो दक्षिण अमेरिकी टिम अन्तिम आठसम्म पुगेको थियो । त्यति मात्र होइन, कोलम्बियाका स्टार स्ट्राइकर जेम्स रोड्रिग्वेज प्रतियोगितामा गोल्डेन बुट एवार्ड जित्न समेत सफल रहे ।

कोलम्बिया आफ्नो अनुकुलताका लागि बराबरी खेल्ने खालको टिम पनि होइन । त्यसैले उसले विश्वकपमा खेलेका पछिल्ला १८ खेलमध्ये कुनै पनि खेल गोलरहित बराबरीमा टुंगिएको छैन । यो समूहमा सेनेगेलले अफ्रिकाको प्रतिनिधित्व गर्दैछ । यो टिमको नाम आउनेबित्तिकै धेरैले सन् २००२ को विश्वकप सम्झिन्छन् । उक्त विश्वकपमा सेनेगलले तत्कालीन डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई समूह चरणमै हराएर तहल्का मच्चाएको थियो । यसै क्रममा सेनेगल अन्तिम आठसम्म पुगेको थियो । त्यो नै उसले खेलेको अन्तिम विश्वकप पनि थियो ।

समूहको चौथो टिम जापानले एसियाको प्रतिनिधित्व गर्दैछ र उसले यसपटक छैटौं पटक विश्वकप खेल्दैछ । जापानसँग नकआउट चरण पुगेको अनुभव पनि छ । यस्तोमा जापान पनि समूहबाट अर्को चरणमा पुग्ने उत्तिकै दावेदार टिम हो, तर उसको प्रदर्शनको तथ्यांक भने खराव छ, किनभने जापानले विश्वकपका पछिल्ला ११ खेलमध्ये दुईमा मात्र जित निकालेको छ ।

यस्तोमा प्रश्न उठ्छ, यो समूहबाट अन्तिम १६ मा पुग्ने दुई टिम कुन–कुन हुने हुन त ? यो प्रश्नको जवाफ भने सजिलो छैन, किनभने सबैले भने जस्तै यो समूह विश्वकप २०१ कै सबैभन्दा खुल्ला समूह हो । यसै कारण यो समूह उत्तिकै रोमाञ्चक हुने सम्भावना पनि छ र यो समूहमा चर्को प्रतिस्पर्धा पनि हुनेछ । सम्भवत: अन्तिम १६ मा पुग्ने दुई टिममा पोल्यान्ड र कोलम्बियाको दाबी सबैभन्दा बढी छ ।

जुन १९

कोलम्बिया–जापान

जुन १९

पोल्यान्ड–सेनेगल

जुन २४

जापान–सेनेगल

जुन २४

पोल्यान्ड–कोलम्बिया

जुन २८

जापान–पोल्यान्ड

जुन २८

सेनेगल–कोलम्बिया