प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिसमा स्यान्टु र नविता च्याम्पियन

यस क्षेत्रको सर्वाधिक राशिको प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिसको उपाधि नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले जितेका छन् । बुटवलमा शनिबार सम्पन्न फाइनलमा एपीएफका अमरलाल मल्ललाई पराजित गर्दै वरीयतामा नम्बर एक खेलाडी स्यान्टुले उपाधि रक्षा गरेका हुन् । देवीनगरस्थित नवदीप कभर्डहलमा सम्पन्न ‘वेस्ट अफ सेभेन’ का आधारमा स्यान्टुले १२–१०, ११–४, ११–४, ११–५ को सोझो सेटमा जित निकाले । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । उपविजेता अमरलालले २५ हजार थापे


महिलातर्फ पहिलो नम्बरमा रहेकी नविता श्रेष्ठले पनि उपाधि रक्षा गरिन् । उनले फाइनलमा दोस्रो वरीयताकी आर्मीकी स्वेच्छा नेम्वाङलाई ४–० को सेटमा हराइन् । उनले ३० हजार र स्वेच्छाले १५ हजार रुपैयाँ पाइन् । एकतर्फी फाइनलमा नविताले ११–५, ११–६, ११–५, ११–७ को सेटमा खेल जितिन् । प्रतियोगितामा आर्मीका बोधित जीसी उदीयमान खेलाडीबाट पुरस्कृत भए  ।

मोफसलका चुनौतीसँगै राष्ट्रिय खेलाडी उत्पादनमा अघि बढिरहेको रूपन्देहीमा पहिलोपल्ट यो प्रतियोगिता आयोजना गरिएको हो । पुरुष र महिला गरी दुई इभेन्टमा भएको प्रतियोगितामा काठमाडाैं, धरान, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ४२ पुरुष र ३० महिला खेलाडी सहभागी थिए ।