खेलकुद परिषद्‌‌का ११ बोर्ड सदस्य लिए पद तथा गोपनीयताको सपथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त बोर्ड सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपमा आयोजित समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्यहरू कुनै न कुनै भूमिकामा खेल क्षेत्रसँग सम्बन्धित भएकाले खेल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न उनीहरूको योगदान महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

मन्त्रीपरिषद्को २९ गते बसेको बैठकले राखेपमा ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी ओलीले बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुुमित्रा चौधरीलाई मनोनित गरेको थिए ।

लगत्तै परिषद् अध्यक्षको हैसियतमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई बोर्ड सदस्य नियुक्त गरेका थिए । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुद मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । मन्त्री विश्वकर्माले बोर्ड सदस्यमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द्र भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेका थिए । नयाँ ऐनले ३७ सदस्यीय राखेपको बोर्डको परिकल्पना गरेको छ । सरकारले राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई यस अघिनै नियुक्त गरिसकेको छ ।

सोही अवसरमा डिएन घिसिङद्वारा लिखित खेल जीत मनोविज्ञान पुस्तकको पनि मन्त्री विश्वकर्माले विमोचन गरेका थिए। शपथपछि मन्त्री विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल लगायतका पदाधिकारीको उपस्थितिमा नवनियुक्त सदस्यहरुसँग छलफल गरेका थिए।