कलाकार भीम बहादुर हामीबीच रहनुभएन

कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ ।  पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ । थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् । उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए ।  भिमबहादुर र दीपाश्रीले ‘देवि’ सिरियलदेखि नै सँगै काम गरेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए । थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए ।

खोटाङ जिल्लाको लामिडाँडामा जन्मेका उनले दोस्रो विश्वयुद्ध लडेका थिए। सन् १९४२ देखि ४५ सम्म दोस्रो विशवयुद्ध लडेका उनी त्यहाँबाट फर्किएर नेपालमै सैनिक सेवामा भर्ति भएका थिए। नेपाल टेलिभिजन स्थपाना भएपछि उनले त्यहाँ ‘शाही नेपाली सैनिक’ कार्यक्रम सञ्चालनको मौका पाए। त्यसअघि नै रेडियो नेपालमा उनले सोही नामको कार्यक्रम संचालन गरिसकेका थिए। सैनिक सेवामा हुँदा नै उनले ‘के घर के डेरा’ लगायत आधा दर्जन फिल्ममा अभिनय गरिसकेका थिए। उनी गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत पदकबाट विभूषित भएका थिए। उनका श्रीमती, छोरा र दुई छोरी छन्। दुई विवाह गरेका उनकी कान्छि श्रीमतीको २०६० सालमै निधन भइसकेको छ। उनका छोरा प्रकाश थापा अमेरिकामा छन्।