विश्वकप फुटबल २०१८ का सहभागी देशहरु

विश्वकप फुटबलको चर्चा अहिले संसारभर नै चुलिएको बेला नेपाली समर्थकहरु समेत निकै उत्साहित छन् । कतै अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका ठूला समर्थकहरुको भिड छ भने कतै ब्राजिलका युवा स्ट्राइकर नेयमार जुनियरको चर्चा छ । ३२ राष्ट्र सहभागी विश्व फुटबलको महाकुम्भमा चर्चित खेलाडीहरुका जर्सी संसारका कुनाकाप्चामा पुगिसकेका छन् । यसबाट नेपाल अछुतो रहने कुरो नै भएन । देशभित्र मात्र हैन डायस्फोरामा रहेका नेपालीहरुलाई पनि विश्वकपको ज्वरोले छोइसकेको छ । विश्वकप फुटबल २०१८ का सहभागी देशहरुको टिम यस्ता छन :

पोर्चुगल

पोर्चुगल विश्वकप फुटबलको समुह ‘बी’ मा रहेको छ। पोर्चुगलको समुहमा स्पेन, मोरक्को र इरान रहेका छन् । पोर्चुगल अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो पुस्ताका उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोको टोली हो । सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबलको उपाधि जितेको पोर्चुगल युरोपेली च्याम्पियन टोलीको रूपमा रुस विश्वकपमा सहभागी हुँदैछ। पोर्चुगल यस्तो देश हो, जो विश्वकै उत्कृष्ट फुटबलर जन्माउँछ। यसका बाबजुद पोर्चुगल युरोकप र विश्वकपजस्ता ठूला प्रतियोगितामा उपाधिबाट पटकपटक चुक्ने गरेको छ ।

लुइस फिगो, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी जन्माएको पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म युरोकपको एकमात्र उपाधि (सन् २०१६) जितेको छ। पोर्चुगलले विश्वकप फुटबलमा अहिलेसम्म फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन । पोर्चुगलले सातौं पटक छनोट चरण पार गर्दै विश्वकप फुटबलको अन्तिम चरणको खेल खेल्न लागेको हो । यद्यपि यस पटक पोर्चुगलसँग विश्वकप उपाधि जित्ने राम्रो अवसर छ। जर्मनी, फ्रान्स, इटाली, इङ्ल्यान्डलगायत अन्तर्राष्ट्रिय फुटबलका सशक्त टोलीहरू सहभागी रहने युरोकपको उपाधि जितेपछि टोलीमा खेलाडीको मनोवल पनि उच्च बनेको छ ।

पोर्चुगलले आफ्नो महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डो बिनानै फाइनलमा आयोजक फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै युरोकपको उपाधि जितेको थिथो । खेलको सुरुआतमै चोटग्रस्त हुँदा रोनाल्डोले फाइनल खेल पूरा समय खेल्न पाएका थिएनन् । घरेलु टोलीविरुद्धको फाइनल खेल, त्यसमाथि आफ्ना मुख्य खेलाडीबिना नै उपाधि जितेर पोर्चुगलले आफू कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सक्षम रहेको प्रमाणित गरिसकेको छ । पोर्चुगलका लागि खुसीको कुरो रोनाल्डो अहिले पनि उच्च लयमा देखिएका छन् । स्पेनिस क्लब रियल म्याड्रिडलाई यसपटक युरोपियन च्याम्पियन्स लिगको लगातार तेस्रो तथा समग्रमा १३औं उपाधि दिलाउन उनै रोनाल्डोले सशक्त प्रदर्शन गरेका थिए।

पोर्चुगलसँग यसपटक युरोपका ठूला लिग फुटबल खेलेका अनुभवी खेलाडीहरूको गतिलो साथ छ । टोलीमा गत युरो कप जितेको खेलाडीको बाहुल्य देखिएको पोर्चुगलले यस पटक विश्वकपमा नयाँ सफलता प्राप्त गर्न सक्नेछ । पोर्चुगलले हालसम्म विश्वकपमा सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन। पोर्चुगलले सन् १९६६ र सन् २००६ को विश्वकपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । यद्यपि यी दुवै पटक पोर्चुगल सेमिफाइनलमा पराजित भएको थियो । पोर्चुगल सन् १९६६ मा तेस्रो र सन् २००६ मा चौथो भएको थियो ।

युरोकपको प्रदर्शनलाई निरन्तरता दिन सके पोर्चुगलले रुस विश्वकपबाट अहिलेसम्मकै ठूलो सफलता प्राप्त गर्ने पक्का छ । प्रशिक्षक फर्नान्डो सान्तोषले क्रिष्ट्रियानो रोनाल्डोको कप्तानीमा टोलीको अन्तिम नामावली सार्वजनिक गरेका हुन् । टोलीमा लाजियोका स्ट्राइकर पोर्चुगलबाट तेस्रो बढी क्याप जितेका नानी, बार्सिलोनाका मिडफिल्डर आन्दे्र गोमेज र बार्यन म्युनिखबाट लोनमा स्वान्सी गएका रेनाटो सान्चेसले भने स्थान बनाउन सकेनन् । त्यस्तै युरो कप २०१६ मा फाइनल खेलमा फ्रान्सविरुद्ध एक गोल गर्दै उपाधि दिलाएका स्ट्राइकर एडर पनि टोली अटाएनन्। प्रशिक्षक सान्तोषले युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका खेलाडी टोलीमा पर्न नसक्नु दुखद भएको प्रतिक्रिया दिएका छन्।

पोर्चुगलको  टोली

गोलरक्षक : एन्थोनी लोपेज (लियोन), बेटो (गोटेप) र रुई प्याट्रिसियो (स्पोर्टिङ लिस्बन)।

रक्षक : ब्रुनो आल्भेस (रेन्जर्स), सेड्रिक सोरेस (साउथह्याम्पटन), जोसे फोन्ट (डालियन यिफाङ), मारियो रुई (नापोली), पेपे (बेसिकटस), राफेल ग्वेरेइरो (बोरुसिया डर्टमन्ड), रिकार्डो पेरेइरा (पोर्टो) र रुवेन डियास (बेनफिका)।

मिडफिल्डर : एड्रिन सिल्भा (लिसेस्टर), ब्रुनो फर्नान्डेस (स्पोर्टिङ लिस्बन), जो मारियो (वेस्ट ह्याम), जो मोउटिन्हो (मोनाको), म्यानुएल फर्नान्डेस (लोकोमोतिभ) र विलियम कार्भाल्हो (स्पोर्टिङ लिस्बन)।

स्ट्राइकर : आन्द्रे सिल्भा (एसी मिलान), बेर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड), गेल्सन मार्टिन्स (स्पोर्टिङ लिस्बन), गोन्कालो ग्वेडेस (भ्यालेन्सिया) र रिकार्डो क्वारेस्मा (बेसिकटस)।

प्रशिक्षक : फर्नान्डो सान्तोष

पोर्चुगलको खेल

समूह ‘बी’

जुन १५ : स्पेनविरुद्ध

जुन २० : मोरोक्कोविरुद्ध

जुन २५ : इरानविरुद्ध

पोर्चुगल

सहभागिता : सातौं पटक

उपाधि : छैन

फिफा वरीयता : ४

 फ्रान्स

रुस विश्वकपमा फ्रान्स समूह  ‘सी’ मा रहेको छ। उसको समुहमा अष्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् । प्रशिक्षक डिडियर डेस्क्याम्पले विश्वकप २०१८ का लागी अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।  प्रशिक्षक डेस्क्याम्पले यो विश्वकपमा केही चर्चित खेलाडीलाई टोलीमा अटाएका छैनन्। टोलीमा स्थान बनाउन असफल बनाउने खेलाडीहरू हुन इङलिस क्लब म्यानचेष्टर युनाइटेडका एक महत्वपूर्ण सदस्य एन्थोनी मार्सियल र आर्सनलका एलेक्जान्डर लाकाजेटी । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट पनि टोलीमा छैनन्। त्सस्तै बायर्न म्युनिखका किङ्सली कोमान र पिएसजीका एड्रियन राबियोट पनि विश्वकप टोलीमा स्थान बनाउन विफल रहे।

आगामी विश्वकपमा फ्रान्स र अस्ट्रेलिया एउटै समूहमा परेका छन् । अस्ट्रेलियन टोलीको नेतृत्व गर्ने ६६ वर्षीय डच नागरिक बेर्ट भान मार्विक रुस विश्वकपका सबैभन्दा अनुभवी प्रशिक्षकमा पर्छन् । प्रशिक्षक मार्विककै विश्लेषण र अनुभवलाई आधार मान्ने हो भने फ्रान्सले आगामी विश्वकपको उपाधि घर लगेमा कसैले आश्चर्य नमाने हुन्छ । ‘फ्रान्सेली टोलीमा निकै क्षमतावान्, छरिता र शारीरिक रूपमा पनि बलिया खेलाडीको वर्चस्व छ । विश्वकै उत्कृष्ट खेलाडी पनि छन्,फ्रान्समा । यस्तो स्थितिमा फ्रान्सले उपाधि जिते कसैले पनि अचम्म नमाने हुन्छ’, प्रशिक्षक मार्विकले एक अन्तर्वार्ताका क्रममा भनेका छन् ।

पक्कै पनि, रुस विश्वकपमा समूह ‘सी’ मा रहेको फ्रान्स तुलनात्मक रूपमा बलियो देखिएको छ ।  फ्रान्सलाई समूहगत चरण पार गर्न खासै कठिन हुने छैन । फ्रान्सले जुलाई १६ तारिखमा अस्ट्रेलियासँग खेल्दै रुस विश्वकपको थालनी गर्नेछ । वास्तवमा मार्विकले भनेजस्तै फ्रान्स यसपटक बलियो टोलीको रूपमा स्थापित भएको छ । सन् १९९० को दशकमा पनि फ्रान्स इतिहासकै बलियो थियो । त्यसैले त सन् १९९८ मा फ्रान्सले घरेलु मैदानमा ब्राजिलजस्तो बलियो टोलीलाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो ।

वास्तवमा फ्रान्स सधैं विश्वकपको बलियो टोली हो । जाइन्ट किलरको छवि बनाएको फ्रान्सले हरेक विश्वकपमा दमदार प्रदर्शन गर्दै आएको छ । यति हुँदाहुँदै पनि फ्रान्सले दोस्रो उपाधि भने हात पर्न सकेको छैन । सन् १९३० को पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सले हालसम्म १४ पटक सहभागिता जनाएको छ । यस क्रममा फ्रान्स दुई पटक फाइनलमा पुगेको थियो भने पाँच पटक सेमिफाइनलमा पुगेको छ । टोलीमा रहेका प्रभावशाली खेलाडी र लामो समयको तयारीलाई यसपटक फ्रान्सले आफ्नो प्रमुख हतियार बनाएको छ ।

प्रशिक्षक डिडियर डेसच्याम्पसले  आफ्नो टोलीमा अनुभवी र नयाँ खेलाडीको राम्रो संयोजन गरेका छन् । सन् २०१२ देखि फ्रान्स टोली सम्हालेका डेसच्याम्पसलाई टोलीको कमजोरी र क्षमताबारे पनि राम्रो ज्ञान छ । उनले रुस विश्वकपलाई यादगर बनाउने दाबी पनि गरेका छन् । उनले टोट्टनहामका ह्युगो लोरिस, पेरिस सेन्ट जर्मन क्लबका अल्फोन्से एरोलाजस्ता गोलरक्षकलाई गोल पोस्टको जिम्मेवारी सुम्पिएका छन् । रक्षापंक्तिमा समेत बार्सिलोनाका म्यानुएल उम्टिटी, रियल म्याड्रिडका राफेल भारानेजस्ता खेलाडी उतार्ने तयारीमा छन् ।

पछिल्लो समय फ्रान्सको डिफेन्स, मिडफिल्ड र स्ट्राइकिङ लाइन निकै बलियो देखिएको छ । छोटो र छरितो पास खेल्ने फ्रान्सको शैली पनि बेजोडको छ । विपक्षीलाई नियन्त्रणमा राख्ने र बल छलाउने कला फ्रान्सको अर्को हतियार हो । फ्रेन्च लिग र प्रिमियर लिग, स्पेनिस ला लिगा खेलिरहेका युवा र दमदार खेलाडीको साथ फ्रान्सलाई छ । टोलीमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यान, चेल्सीका ओलिभर गिरोड, बार्सिलोनाका ओसमेन डेम्बेलजस्ता अनुभवी स्ट्राइकर छन् ।

यसैगरी युवा खेलाडी काइलियन एमबाब्बेलाई पनि प्रशिक्षक डेसच्याम्पसले महत्वपूर्ण यतियारका रूपमा लिएका छन् । पछिल्लो समय एमबाब्बेको प्रदर्शन पनि स्तरिय छ । मिडफिल्डमा चेल्सीका एनगोलो कान्टे र म्यानचेस्टर युनाइटेडका पल पोग्वाजस्ता अनुभवी खेलाडीको साथ पनि छ, फ्रान्सलाई । विश्वकप छनोट प्रतियोगितामा पनि फ्रान्सले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

युरोपेली क्षेत्रबाट समूह ‘ए’ को विजेता बन्दै रुस विश्वकपको ढोका खोलेको फ्रान्सले समूहगत चरणमा स्विडेनसँग एउटा खेल मात्र हारेको थियो । फ्रान्स सन् २०१६ मा घरेलु मैदानमा भएको युरो कपमा फाइनलसम्म पुगेको थियो । फाइनलमा भने फ्रान्सलाई पोर्चुगलले थप समयमा १–० गोलले हराएको थियो । २४ टोली सम्मिलित युरो कपमा आफूलाई प्रमाणित गरिसकेकोले पनि आगामी विश्वकपमा फ्रान्सलाई बलियो दाबेदारको रूपमा हेरिएको छ ।

फ्रान्सको टोली

गोलरक्षक : ह्युगो लोरिस (टोट्टनहाम), स्टिभ मान्डाना (मार्सिल्ले) र अल्फोन्से एरोला (पीएसजी) ।

डिफेन्डर : डिब्रिल सिडिबे (मोनाको), बेन्जामिन पाभर्ड (स्टुटगार्ट), सामुएल उम्टिटी (बार्सिलोना), राफेल भाराने (रियल म्याड्रिड), प्रेसनल किमपेम्बे (पीएसजी), अदिल रामी (मार्सिल्ले), बेन्जामिन मेन्डी (म्यानचेस्टर सिटी) र लुकास हर्नान्डेज (एट्लेटिको म्याड्रिड) ।

मिडफिल्डर : पल पोग्बा (म्यानचेस्टर युनाइटेड), कारेन्टिन टोलिसो (बायर्न म्युनिख), ब्लाइस माटुडी (युभेन्ट्स), एनगोलो कान्टे (चेल्सी) र स्टिभन एनजोन्जी (सेभिल) ।

स्ट्राइकर : एन्टोनियो ग्रिजम्यान (एट्लेटिको म्याड्रिड), ओलिभर गिरोड (चेल्सी), काइलियन एमबाप्पे (पीएसजी), ओसमेन डेम्बेल (बार्सिलोना), फ्लोरिन थाउभिन (मार्सिल्ले), नबिल फेकिर (लियोन) र थोमस लेमर (मोनाको) ।

प्रशिक्षक : डिडियर डेसच्याम्पस ।

फ्रान्स

सहभागिता : १५औं पटक

उपाधि : १ पटक

फिफा वरीयता : ७

फ्रान्सको खेल

समूह ‘सी’

जुन १६ : अस्ट्रेलियाविरुद्घ

जुन २१ : पेरुविरुद्घ

जुन २६ : डेनमार्कविरुद्घ

ब्राजिल

 ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।

 प्रशिक्षक टिटेले चोटग्रस्ट स्ट्राइकर नेइमारलाई समेट्दै टोली छनोट गरेका हुन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का समेत स्ट्राइकर रहेका नेयमार हाल खुट्टाको शल्यक्रिया गराइरहेका छन्। नेइमार फेन्स लिग खेल्दा घाइते भएका थिए । उनी विश्वकपसम्म फिट हुने अपेक्षा गरिएको छ।

ब्राजिलीयन टोली
गोल किपरः एलिसन (रोमा), एडरसन (म्यानचेस्टर सिटी) र  क्यासिओ ( कोरिनथियन्स)

डिफेन्डरः डेनिलो (म्यानचेस्टर सिटी), फ्यागनर ( कोरिनथियन्स), मार्सेलो (रियल मड्रिड), फिलिपे लुइस (एथ्लेटिको मड्रिड), थियागो सिल्भा (पिएसजी), मार्किन्योस (पिएसजी), मिरान्डा (इन्टर मिलान) र पेड्रो जेरोमेल (ग्रीमिओ)

मिडफिल्डरः क्यासिमिरो (रियल मड्रिड), फर्नान्डीन्हो (म्यानचेष्टर सिटी), पाउलीन्हो (बार्सिलोना), फ्रेड (सख्तर डोनेस्क), रेनाटो अगुस्टो (बेइजीङ ग्वान), फिलिपे कौटिन्हो (बार्सिलोना), विलियन (चेल्सी) र डग्लस कोस्टा (युभेन्टस)

स्ट्राइकरः नेइमार (पिएसजी), टाइसन (सख्तर डोनेस्क), ग्याब्रिएल जिसस (म्यानचेष्टर सिटी) र रोबर्टो फिरमिनो (लिभरपुल)

डानी आल्भेसले भने चोटका कारण टोलीमा स्थान बनाउन सकेनन् ।  ब्राजिल विश्वकप फुटबलको ‘समूह इ’ मा रहेको छ। ब्राजिलको समुहमा स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन। ब्राजिलले आफ्नो पहिलो खेल १७ जुनमा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

इंग्ल्यान्ड

समूह ‘जी’मा इंग्ल्यान्ड र ट्युनिसियासहित बेल्जियम र पानामा पनि रहेका छन् । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इङ्ल्यान्ड सधैं सशक्त टोलीका रूपमा प्रस्तुत भएको छ । तर, दुर्भाग्य इङ्ल्यान्ड फुटबलका ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘पेनाल्टी सुट आउट’मा भने अभागी ठहरिँदै आएको छ ।

इङ्ल्यान्ड पेनाल्टी अवसरमा चुक्दा सन् १९९० यता फुटबलका ६ ठूला प्रतियोगिताबाट बाहिरिएको तीतो इतिहास छ । त्यसैले इङ्ल्यान्डले आफ्ना पछिल्ला ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पेनाल्टी प्रहारमै बढी जोड दिने गरेको छ । २१औं संस्करणको विश्वकपको तयारीमा जुटेको इङ्ल्यान्डले अहिले आफ्नो अभ्यासलाई पेनाल्टी प्रहारमा बढी ध्यान दिएको प्रशिक्षक गारेथ साउथगेटले बताएका छन् । उनले इङ्लिस टोलीको पेनाल्टी प्रहार गर्ने शैलीकै पुन: मूल्यांकन गर्नु परेको खुलासासमेत गरेका छन् ।

गत वर्ष सम्पन्न यू-१७ विश्वकपमा इङ्ल्यान्डले उपाधि जित्दा पनि पेनाल्टी प्रहारमा विशेष मेहनत गरिएको र त्यसबाट प्राप्त नतिजा राष्ट्रिय टोलीको विश्वकप तयारीका क्रममा निकै महत्वपूर्ण बनेको प्रशिक्षक साउथगेटले बताए । प्रशिक्षक साउथगेटले रुस विश्वकपका लागि आफ्नो प्रारम्भिक २३ खेलाडीको सूची सार्वजनिक गरिसकेका छन्, जसमा नयाँ तर क्षमतावान् र अनुभवी खेलाडीलाई प्राथमिकता दिइएको छ ।

टोट्टनहाम हर्टस्परबाट पछिल्लो दुई सिजन उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्ट्राइकर हारी केनको कप्तानीमा घोषित टोली रुस विश्वकपमा कुनै पनि टोलीविरुद्ध सशक्त प्रदर्शन गर्न सक्षम हुनेछ । इङ्लिस टोलीसँग राम्रा मिडफिल्डर र स्ट्राइकर छन् । मिडफिल्डमा डेली अली, जोर्डन हेन्डर्सन आक्रामक मिडफिल्डर हुन् । उनीहरू आफ्ना स्ट्राइकरलाई अवसर सिर्जना गर्न मात्रै हैन, आफैं पनि गोल गर्न सक्षम खेलाडी हुन् । उनीहरूसँग स्ट्राइकर र मिडफिल्डरको दुवै भूमिकामा उत्तिकै सशक्त प्रदर्शन गर्नसक्ने रहिम स्टर्लिङ छन् । अग्रपंक्तिमा हारी केन, डानी वेलबेक र जेमी भार्डी कुनै पनि बेला गोल गर्दै टोलीलाई अघि बढाउन सक्षम खेलाडी छन् ।

यी सबै खेलाडीले यो सिजन लिग फुटबलमा निकै सशक्त प्रदर्शन गरेका छन् । यसअघिका प्राय: प्रतियोगितामा अवरोधका रूपमा देखिँदै आएको पेनाल्टी प्रहारमा सुधार ल्याउन सफल भए, इङ्ल्यान्डले रुस विश्वकप फुटबलमा उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गर्न सक्नेछ । सन् १९६६ मा आफैंले आयोजना गरेको विश्वकप फुटबलको उपाधि जितेयता इङ्ल्यान्डले फेरि फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन । फिफा विश्वकप फुटबल २१औं संस्करणसम्म आइपुग्दा इङ्ल्यान्ड १५औं पटक सहभागिता जनाउँदै छ ।  दुईपटक सेमिफाइनलमा पुगेको इङ्ल्यान्ड त्यसबाहेक अन्य अवसरमा अघिल्लो चरणबाटै घर फर्किएको छ ।

सन् २०१४ मा ब्राजिलमा आयोजना भएको पछिल्लो विश्वकप फुटबलमा पनि इङ्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो । इटाली र उरुग्वेसँग पराजय बेहोरेको इङ्ल्यान्ड ब्राजिल विश्वकपबाट मात्र एक अंक जोड्दै समूह चरणबाटै घर फर्किएको थियो । इङ्ल्यान्डले कोस्टारिकासँग गोलरहित बराबरी खेल्दै एक अंक लिएको थियो । त्यसको चार वर्षपछि अहिले इङ्लिस टोलीमा नयाँ पुस्ताका क्षमतावान् खेलाडीको बाहुल्य देखिएको छ । अघिल्लो विश्वकपको खराब प्रदर्शनलाई बिर्सन इङ्ल्यान्डले रुस विश्वकपमा सशक्त प्रदर्शन गर्न आवश्यक छ । यसका लागि इङ्ल्यान्डको टोली सशक्त र सक्षम पनि देखिएको छ ।

इङ्ल्यान्डको  टोली

गोलरक्षक : ज्याक बटल्यान्ड (स्टोक सिटी), जोर्डन पिकफोर्ड (एभर्टन), निक पोप (बर्नली)

रक्षक : ट्रेन्ट एलेक्जेन्डर-आर्नाेल्ड (लिभरपुल), गारी काहिल (चेल्सी), फाबियन डेल्फ (म्यानचेस्टर सिटी), फिल जोन्स (म्यानचेस्टर युनाइटेड), हारी मागुइरे (लेस्टर सिटी), डान्नी रोज (टोट्टानहाम हर्टस्पर), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किइरान ट्रिपिइर (टोट्टानहाम हर्टस्पर), किल वाल्कर (म्यानचेस्टर सिटी), आश्ले योङ (म्यानचेस्टर युनाइटेड)

मिडफिल्डर : डेली अली (टोट्टनहाम हर्टस्पर), इरिक डाइर (टोट्टनहाम हर्टस्पर), जोर्डन हेन्डर्सन (लिभरपुल), जेस्से लिन्गार्ड (म्यानचेस्टर यूनाइटेड), रुबेन लफटस-चिक (चेल्सी)

स्ट्राइकर : हारी केन (टोट्टनहाम हर्टस्पर), मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), जेमी भार्डी (लेस्टर सिटी), डानी वेलबेक (आर्सनल)

प्रशिक्षक : गारेथ साउथगेट

इङ्ल्यान्डको खेल

समूह ‘जी’

जुन १८ : ट्युनिसियाविरुद्ध

जुन २४ : पानामाविरुद्ध

जुन २८ : बेल्जियमविरुद्ध

इङ्ल्यान्ड

सहभागिता : १५औं पटक

उपाधि : एकपटक

फिफा वरीयता : १३

जर्मनी

साविक विश्वकप विजेता जर्मनीले आउंदो विश्वकपका लागि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले आफ्नो अन्तिम टोलीमा म्यानचेस्टर सिटीका लयमा रहेका विङर लेरोय सानेलाई भने समावेश गरेका छैनन् ।

लेरोय साने अष्ट्रिया विरुद्धको हारमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका निल्स पेटेरसन पनि अन्तिम टोलीमा परेनन् । यसैगरी गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाह पनि रुस जाने टोलीमा सामेल छैनन् ।

जर्मनीको अन्तिम विश्वकप टोली यस प्रकारको रहेको छ:

गोलकिपर – म्यानुयल नोया, मार्क-आन्द्रे टेर स्टेघन

डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर

मिडफिल्डर/ फरवार्ड – जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इक्ले गुन्डोगन, मारियो गोमेज, लियोन गोरेट्जका, मेसुट ओजिल, थोमस मुलर, मार्को रोयस, सेबास्टियन रुडि

 

अर्जेन्टिना

गोलकिपर : सर्जियो रोमेरो (म्यानचेस्टर युनाइटेड), विल्फ्रेडो काबालेरो (चेल्सी) , नाहुएल गुज्मान (युएएनएल), फ्रान्को अर्मानी (रिभर प्लेट)

डिफेन्डर : ग्याब्रिएल मर्काडो (सेभिया), क्रिस्टियन अन्साल्दी (टोरिनो), एडुएर्डो साल्भियो (बेन्फिका), ज्याभियर मास्सेरानो (हेबाई चाइना फोर्चुंन), निकोलोस ओटामेन्डी (म्यानचेस्टर सिटी), जर्मान पेजेला (फियोरेन्टिना), फेडेरिका फाजियो (रोमा), मार्कोस रोहो (म्यानचेस्टर युनाइटेड), निकोलास ट्याग्लीफिको (आयाक्स), मार्कोस अकुना (स्पोर्टिङ्ग सिपी), रामिरो फ्युनेस मोरी (एभेर्टन)

मिडफिल्डर : मानुएल लान्जिनी (वेस्ट ह्याम ), लियान्द्रो पारेदेस (जेनित), रिकार्डो सेञ्चुरियन (रेसिङ), म्याक्सीमिलियानो मेजा (इन्डीपेनडिएन्टे), लुकास बिग्लिया (मिलान), गुइडो पिजारो (सेभिया), एञ्जो पेरेज (रिभर प्लेट), एभर बनेगा (सेभिया), जियोभानी लो सेल्सो (पिएसजी), रोड्रिगो बाटाग्लिया (स्पोर्टिङ्ग सिपी), एन्जल डी मारिया (पिएसजी), क्रिस्टियन पाभोन (बोका जुनियर्स), पाब्लो पेरेज (बोका जुनियर्स)

फरवार्ड : पौलो ड्याबला (युभेन्टस), डिएगो पेरोटी (रोमा), लियोनल मेस्सी (बार्सिलोना), सर्जियो अगुएरो (म्यानचेस्टर सिटी), गोन्जालो हिगुएन (युभेन्टस), लाउटारो मार्टिनेज (रेसिङ्ग), माउरो इकार्डो (इन्टर)

स्वीडेन

यसपटक बलियो मानिएको स्वीडेनले अन्तिम टिम घोषणा गरेको छ । जसमा स्टार स्ट्राइकर जाल्टन इभ्राहिमोभिक भने पर्न सकेनन् । स्वीडेनको टिममा ६ जना इंगल्याण्डबाट लिग खेल्ने खेलाडी छन् ।

विश्वकपमा स्वीडेन समूह ‘एफ’ मा रहेको छ । जसमा जर्मनी, मेक्सिको र दक्षिण कोरिया रहेका छन् ।

को को परे स्वीडेनको टिममा ?

गोलकिपर – रोबिन ओल्सन, कार्ल जोहान जोनसन, क्रिस्टोफर नर्डफेल्ड्ट

डिफेन्डर – मिकल लुस्टिग, भिक्टर लिन्डलफ, एन्दे्रस ग्रानक्विभ्स्ट, मार्टिन ओलसन, लुडविग अग्युस्टिनसन, फिलिप हेलन्डर, इमिल क्राˆथ, पोन्टस ज्यानसन

मिडफिल्डर – सेबास्टियन लार्सन, अल्बिन एक्डल, इमिल फोर्सबर्ग, गुस्तव सेभन्सन, ओस्कर हिल्जेमार्क, भिक्टर क्लेसन, मार्कस रोडेन, जिम्मी डरमेज

फरवार्ड – मार्कस बर्ग, जोन गुदेटी, ओला टोइभोनेन, आइज्याक किसे थेलिन

स्पेन

सन् २००८ देखि सन् २०१२ सम्मको अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको प्रदर्शन उत्सर्गमा थियो। यही अवधिमा हो, स्पेनले लगातार दुई युरोपियन च्याम्पियनसिप र एउटा विश्वकप फुटबलको उपाधि जितेको पनि। आठ वर्षअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा स्पेनले उपाधि जित्दा फुटबलको नयाँ शैलीलाई पनि स्थापित गरेको थियो, ‘टिकी-टाका’।

आफ्ना सहकर्मीसँग छोटो तर, नियमित पास खेल्दै बल आफ्नो नियन्त्रणमा राख्ने र गोल गर्ने ‘टिकी-टाका’ शैली निकै प्रभावकारी देखिएको थियो। तर, त्यसको चार वर्षपछि सन् २०१४ को ब्राजिल विश्वकपसम्म आइपुग्दा स्पेनको त्यो शैली असफल नै देखियो।

प्रतियोगिताको आफ्नो पहिलो खेलमै स्पेन नेदरल्यान्ड्ससँग ५-१ गोलको भारी अन्तरले पराजित हुन पुग्यो। अन्य खेल पनि गुमाउँदा साबिक विजेता टोलीको हैसियतमा ब्राजिल विश्वकपमा सहभागी भएको स्पेन समूहगत चरणभन्दा अगाडि बढन सकेन। त्यसको चार वर्षपछि रुस विश्वकपको तयारीमा जुटेको स्पेनिस टोलीमा धेरै परिवर्तन भएको छ। ‘टिकी-टाका’ शैलीबाट देशलाई विश्वकप फुटबलको पहिलो उपाधि दिलाएका सीमित खेलाडी मात्रै रुस विश्वकपका लागि घोषित २३ सदस्यीय प्रारम्भिक टोलीमा परेका छन्।

अझ महत्वपूर्ण कुरा, प्रशिक्षक जुलेन लोपेटेगुइले स्पेनको खेल्ने शैली पनि परिवर्तन गरिदिएका छन् र त्यो शैलीमा स्पेन फेरि सशक्त देखिएको छ। आफ्नो यही नयाँ शैलीमा स्पेनिस टोली पछिल्लो १८ खेलमा लगातार अपराजित छ। प्रशिक्षक लोपेटेगुईले स्पेनले खेल्नै शैली केही छिटो र ‘डाइरेक्ट’ बनाएका छन्। स्पेनिस फुटबलमा अहिलेको टोली र लोपेटेगुईको नेतृत्वलाई नयाँ युगको थालनीको रूपमा हेरिएको छ। पूर्वप्रशिक्षक लुइस अरागोन्जको नेतृत्वमा हात पारेको सन् २००८ को युरोकप उपाधि तथा भिसेन्ट डेल बस्कको प्रशिक्षकत्वमा हात पारेको सन् २०१० को विश्वकप र सन् २०१२ को युरो कप उपाधिलाई स्पेनिस फुटबलमा सफल युग मानिन्छ। ‘टिकी-टाका’ शैलीको झल्को यतिबेला पनि स्पेनिस क्लब बार्सिलोनाको खेल्ने शैलीमा पाइन्छ।

दक्षिण अफ्रिकामा खेल्दा सुरुआती ११ मध्ये सात र युरोकप-२०१२ खेल्दा सुरुआती ११ मध्ये ६ जना खेलाडी बार्सिलोनाका थिए। प्रशिक्षक लोपेटेगुईले अहिले अपनाएको शैली अर्को स्पेनिस क्लब रियल म्याड्रिडसँग निकै मिल्दोजुल्दो छ भने रुस विश्वकपका लागि घोषित प्रारम्भिक टोलीमा समेटिएका खेलाडीमा पनि रियल म्याड्रिडकै खेलाडीको वर्चस्व देखिएको छ। प्रशिक्षक लोपेटेगुईले आफ्नो टोलीमा अनुभवी र नयाँ खेलाडीको राम्रो संयोजन गरेका छन्।

उनले देशलाई पहिलो विश्वकप उपाधि दिलाउने आन्द्रेस इनिएस्टा, जेरार्ड पिके, सर्जियो रामोसलगायतका पुराना खेलाडीसँगै इस्को र मार्को असेन्सियोजस्ता खेलाडीलाई पनि नियमित अवसर दिइरहेका छन्। टोलीमा अनुभवी र प्रतिभाशाली युवा खेलाडीको बाहुल्य नै आगामी विश्वकपमा स्पेनको बलियो हतियार हो। यिनै खेलाडीको उपयुक्त समायोजनमार्फत नै स्पेनले रुस विश्वकपमा आठ वर्षअघिको इतिहास दोहोर्‍याउने योजना बुनेको छ। चेल्सीबाट आफ्नै देशको क्लब एट्लेटिको म्याड्रिड फर्किएपछि पुन: पुरानै फर्ममा देखिएका डिएगो कोस्टा र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग आबद्ध गोलरक्षक डेभिड डी जियाको प्रदर्शनले पनि स्पेनी टोली निकै बलियो देखिएको छ।

स्पेनको  टोली

गोलरक्षक : डेभिड डी जिया (म्यानचेस्टर युनाइटेड), केपा अरिजाब्लागा (एथलेटिक बिल्बाओ) र पेप रेइना (नापोली)।

रक्षक : डानी कार्भाजल (रियल म्याड्रिड), अल्भारो ओड्रिओजोला (रियल सोसिएडाड), जेरार्ड पिके (बार्सिलोना), सर्जियो रामोस (रियल म्याड्रिड), नाचो (रियल म्याड्रिड), सेसर एज्पिलिक्युटा (चेल्सी), जोर्डी अल्बा (बार्सिलोना) र नाचो मोनरियल (आर्सनल)।

मिडफिल्डर : सर्जियो बासक्वेट्स (बार्सिलोना), कोके (एट्लेटिको म्याड्रिड), सल निग्वेज (एट्लेटिको म्याड्रिड), थिएगो अलकान्टरा (बायर्न म्युनिख), डेभिड सिल्भा (म्यानचेस्टर सिटी) र आन्द्रेस इनिएस्टा (बार्सिलोना)।

स्ट्राइकर : इस्को (रियल म्याड्रिड), मार्काे असेन्सियो (रियल म्याड्रिड), लुकास भाजक्वेज (रियल म्याड्रिड), इयागो अस्पास (सेल्टा भिगो), रोड्रिगो मोरेनो (भ्यालेन्सिया) र डिएगो कोस्टा (एट्लेटिको म्याड्रिड)।

प्रशिक्षक : जुलेन लोपेटेगुई।

स्पेनको खेल

समूह ‘बी’

जुन १५ : पोर्चुगलविरुद्ध

२० जुन : इरानविरुद्ध

२५ जुन : मोरोक्कोविरुद्ध

स्पेन

विश्वकपमा सहभागिता : १५औं पटक

उपाधि : १ पटक

फिफा वरीयता : ८

बेल्जियम

बेल्जियमलाई फुटबलको एउटा एकेडेमीभन्दा पनि फरक पर्दैन । बेल्जियमले आफ्नो मात्रै हैन, अन्य देशबाट पनि प्रतिभा छानेर अन्तर्राष्ट्रिय फुटबललाई थुप्रै उत्कृष्ट फुटबलर दिएको छ । फुटबलको यही वातावरणले बेल्जियमको राष्ट्रिय टोलीलाई सदाबहार र उत्कृष्ट मानिन्छ । बेल्जियम फिफा वरीयतामा पनि प्राय: शीर्ष पाँचभित्रै रहने गर्छ । तर, यही टोली अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा भने उपाधिको नजिक पनि पुग्न सक्दैन ।

बेल्जियम सन् १९३० यता १३औं पटक विश्वकपमा सहभागी हुँदैछ । तर, बेल्जियमले सन् १९८६ मा चौथो स्थान हात पार्नुबाहेक विश्वकपमा त्योभन्दा ठूलो नतिजा हात पार्न सकेको छैन । बेल्जियमले विश्वकपमा त्यही एकपटक सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । त्यसयता बेल्जियम क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन । बेल्जियम सन् २०१४ मा ब्राजिलमा भएको २०औं संस्करणमा अर्जेन्टिनासँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो । त्यसपछि सन् २०१६ मा भएको युरोकपमा पनि वेल्ससँग ३-१ ले पराजित हुँदै क्वार्टरफाइनलबाटै घर फर्कियो ।

त्यसैले रुस विश्वकपमा बेल्जियममाथि आफ्नो यही खराब इतिहासलाई सुधार्नु पर्ने चुनौती रहेको छ । रुस विश्वकपका लागि घोषित अन्तिम २३ खेलाडी र विश्वकप छनोटदेखि पछिल्लो मैत्रीपूर्ण खेलसम्म देखाएको लयलाई हेर्दा बेल्जियम यसपटक हरेक चुनौती पार गर्न सक्षम देखिएको छ । बेल्जियमको वर्तमान टोली पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडीले भरिएको छ । टोलीमा एकजना घरेलु लिग र दुईजना चिनियाँ लिग खेल्ने खेलाडी छन् । अन्य २० जना भने युरोपियन लिगमा खेलिरहेका खेलाडी छन् । टोलीमा इङ्लिस प्रिमियर लिग क्लबबाट खेल्ने मात्रै ११ जना खेलाडी छन् ।

बेल्जियम सम्भवत: ३० मध्ये २८ अंक हात पार्दै रुस विश्वकपका लागि छनोट पक्का गर्ने एकमात्र युरोपियन टोली पनि हो । बेल्जियमले छनोट चरणमा ग्रिससँग १-१ को बराबरीसहित अंक बाँड्योे भने अन्य सबै खेलमा जित हात पारेको थियो । त्यसपछि विश्वकपको तयारी स्वरूप खेलिएको खेलमा पनि बेल्जियमले शतप्रतिशत नतिजा निकालेको छ । विश्वकप छनोटपछि खेलिएको पाँच मैत्रीपूर्ण खेलमा बेल्जियमले पराजय बेहोरेको छैन । बेल्जियमले जापानलाई १-०, साउदी अरेबियालाई ४-० र इजिप्टलाई ३-० ले पराजित गरेको थियो । बेल्जियमले मेक्सिकोसँग ३-३ र पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो । पराजित नहुने आफ्नो यही लयलाई कायम राख्न सकेमा बेल्जियमले आगामी विश्वकपमा उपाधिसम्मको यात्रा तय नगर्ला भन्न सकिन्न ।

बेल्जियमको टोली

गोलरक्षक : थिबउट कोर्टियस (चेल्सी), सिमोन मिग्नोलेट (लिभरपुल) र कोइन क्यास्टिल्स (उल्फसबर्ग) ।

रक्षक : टोबी अल्डरवेइरेल्ड (टोट्टानहाम), थोमस भर्मेइलिन (बार्सिलोना), भिनसेन्ट कोम्पनी (म्यानचेस्टर सिटी), जन भर्टाेङ्घन (टोट्टनहाम), थोमस मुनियर (पीएसजी), डेड्रिक बोयटा (सेल्टिक) र लिन्डर डेन्डोन्कर (एन्डरलेच) ।

मिडफिल्डर : एक्सेल विसल (तियानजिन क्वान्जियन), केभिन डी ब्रुन (म्यानचेस्टर सिटी), मारउनी फेलाइनी (म्यानचेस्टर युनाइटेड), यान्निक कारास्को (डालियन विफाङ), थोर्गन हाजार्ड (बोरुसिया मोचेनग्लाबाच), युरी टाइलम्यान्स (एएस मोनाको), मोउसा डेम्बेल (टोट्टनहाम) र नासिर चाड्ली (वेस्ट ब्रोमविच) ।

स्ट्राइकर : अदनान जानुजाज (रियल सोसिडाड), रोमेलु लुकाकु (म्यानचेस्टर युनाइटेड), ड्राइज मेर्टन्स (नेप्लेस), मिची बात्सुयी (बोरुसिया डर्टमन्ड) र इडेन हाजार्ड (चेल्सी) ।

प्रशिक्षक : रोबर्टो मार्टिनेज

बेल्जियमको खेल

समूह ‘जी’

जुन १८ : पानामाविरुद्ध

जुन २३ : ट्युनिसिया

जुन २८ : इङ्ल्यान्डविरुद्ध

विश्वकप सहभागिता : १३औं पटक

उपलब्धि : चौथो स्थान (सन् १९८६)

फिफा वरीयता : ३

 

उरुग्वे

उरुग्वे विश्वकप फुटबलको पहिलो आयोजक राष्ट्र, अनि पहिलो उपाधि विजेता टोली पनि हो । सन् १९३० मा पहिलोपटक विश्वकप फुटबल आयोजना हुँदा उरुग्वेले उपाधि घरमै राखेको थियो । त्यसपछि सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फुटबलमा पनि उरुग्वेले फेरि उपाधि जित्यो । यद्यपि त्यसपछिका विश्वकपमा भने उरुग्वेले संघर्ष गर्दै आएको छ ।

सन् १९५० यता भएका १६ वटा विश्वकप फुटबलमा उरुग्वेले फाइनल सम्मको यात्रा पनि तय गर्न सकेन । यद्यपि यसबीचमा उरुग्वे तीनपटक सेमिफाइनलसम्म भने पुग्न सफल भएको छ । यी तीनै अवसरमा उरुग्वेले सेमिफाइनल खेल त गुमायो नै, तेस्रो स्थानका लागि भएको खेलमा समेत पराजय बेहोर्दै चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो । सन् १९५४ मा अस्ट्रियासँग ३-१, सन् १९७० मा पश्चिम जर्मनीसँग १-० र सन् २०१० मा जर्मनीसँग ३-२ गोलले पराजित हुँदै उरुग्वे चौथो स्थानमा समेटिन पुगेको थियो।

विश्वकपको २१औं संस्करण नजिकिँदै गर्दा उरुग्वे सुरुआती दुई संस्करणमा हात पारेको इतिहासलाई दोहोर्‍याउने उद्देश्यका साथ तयारीमा जुटेको छ । युरोपेली क्लब फुटबलमा तहल्का मच्चाएका दुई स्ट्राइकर बार्सिलोनाका लुइस स्वारेज र पेरिस सेन्ट जर्मन (पीएसजी)का एडिन्सन काभानीको साथ पाएको उरुग्वेलाई यसपटक उपाधिको दाबेदार टोली मध्येको एक मानिएको छ ।

रक्षापंक्तिमा उत्कृष्ट मानिएका एट्लेटिको म्याड्रिडका डिएगो गोडिन तथा अनुभवी र चतुर प्रशिक्षक ओस्कर टाबरेजको रणनीतिमा उरुग्वेले रुस विश्वकपमा कुनै पनि टोलीलाई कडा टक्कर दिने क्षमता राख्छ । उरुग्वेले दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानको ब्राजिलभन्दा पछि दोस्रो स्थानमा रहेर रुस विश्वकपको यात्रा तय गरेको हो ।

प्रशिक्षक टाबरेजले रुस विश्वकपका लागि रक्षात्मक खेल खेल्दै काउन्टर अट्याकमा गोल गर्ने शैलीमा परिवर्तन गरी आक्रामक खेलको शैली अपनाएका छन् । त्यसका लागि उनले मिडफिल्डमा यू-२० राष्ट्रिय टोलीका दुई क्षमतावान् खेलाडी फेड्रिको भाल्भर्डी र रोड्रिगो बेन्टान्कुरलाई टोलीमा समावेश गरेका छन् । त्यसयता टोलीको अवस्था अझ बलियो देखिएको छ ।

तुलनात्मक रूपमा सहज समूहमा परेको उरुग्वेले नकआउट चरणमा पनि सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । उरुग्वे रहेको समूह ‘ए’मा आयोजक रुससहित इजिप्ट र साउदी अरेबिया परेका छन् । सन् २००६ यता निरन्तर रूपमा उरुग्वेको राष्ट्रिय टोलीको जिम्मेवारी समाल्दै आएका प्रशिक्षक टाबरेजले टोलीलाई यसअघि सन् २०१० मा विश्वकपको सेमिफाइलसम्म पुर्‍याएका थिए ।

यद्यपि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भने उरुग्वे प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन । विश्वकपमा सर्वाधिक बढी खेलमा कुनै पनि टोलीको नेतृत्व गर्ने कीर्तिमान बनाएका प्रशिक्षक टाबरेजले यसपटक टोलीलाई उपाधिसम्मै पुर्‍याउने योजना बनाएका छन् । आफूले चाहेको लक्ष्यसम्म पुग्न कुनै पनि टोलीले दिने चुनौती सहज नहुने तथ्य आफूले बुझेको उनले बताएका छन्।

उरुग्वेको प्रारम्भिक टोली

गोलरक्षक : फर्नान्डो मुस्लेरा (गालातसारे), मार्टिन सिल्भा (भास्को डी गामा) र मार्टिन क्याम्पाना (इन्डिपेन्डियन्ट) ।

रक्षक : डिएगो गोडिन (एट्लेटिको म्याड्रिड), सेबास्टियन कोएट्स (स्पोर्टिङ सीपी), जोसे मारिया जिमेनेज (एट्लेटिको म्याड्रिड), माक्सिमिलियानो पेरेइरा (एफसी पोर्टो), गुस्टोन सिल्भा (इन्डिपेन्डियन्ट), मार्टिन कासेरेस (लाजियो) र गुइलेर्माे भारेला (पेनारोल) ।

मिडफिल्डर : नहितान नान्देज (बोका जुनियर्स), लुकास टोरेइरा (साम्पडोरिया), माटियस भेसिनो (इन्टर मिलान), फेड्रिको भालभर्डि (रियल म्याड्रिड), रोड्रिगो बेन्टान्कुर (यूभेन्टस), कार्लाेस सन्चेज (मोन्टेर), गियोर्जियन डे अरासकाइटा (क्रुजेइरो), डिएगो लक्साल्ड (जेनोआ), क्रिस्टियन रोड्रिगेज (पेनारोल), जोनाथन उर्रेटाभिस्काया (मोन्टेर), निकोलस लोडेइरा (सियाटल साउन्डर्स) र गास्टोन रामिरेज (साम्पडोरिया) ।

स्ट्राइकर : क्रिस्टियन स्टुआनी (गिरोना), माक्सिमिलियानो गोमेज (सेल्टा भिगो), इडिसन काभानी (पीएसजी), लुइस स्वारेज (बार्सिलोना) ।

प्रशिक्षक : ओस्कर टाबरेज

उरुग्वेको खेल

जुन १५ : इजिप्टविरुद्ध

जुन २० : साउदी अरेबिया

जुन २५ : रुसविरुद्ध

उरुग्वे

विश्वकप सहभागिता : १३औं पटक

उपाधि : २ पटक

फिफा वरीयता : १७

रुस

रुसले फिफा विश्वकप फुटबलमा पहिलो पटक घरेलु मैदानबाट आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ। रुसले पहिलो पटक विश्वकप फुटबल आयोजनाको तयारी गरिरहँदा उसको टोली पनि विश्वकप फुटबलको पहिलो उपाधि हात पार्ने योजना बुन्न व्यस्त छ। रुसले विभिन्न आरोप र विवादबीच विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो। रुसको टोली अहिले उपाधिको लक्ष्यसहित घरमै तयारीमा जुटेको छ।

रुस युरोपको यस्तो देश हो, जहाँ फुटबल लोकप्रिय खेल भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन भने कमजोर रहँदै आइरहेको छ। रुसले सोभियत युनियनकै हैसियतमा रहँदा पनि अन्तर्राष्ट्रिय फुटबलमा स्तरीय प्रदर्शन गर्न सकेको थिएन। एक पटक मात्रै सन् १९६६ मा सेमिफाइनल खेलेको रुसले विश्वकप फुटबलमा अहिलेसम्म त्योभन्दा माथिको यात्रा तय गर्न सकेको छैन। सोही विश्वकपमा हात पारेको चौथो स्थान नै रुसले अहिलेसम्म खेलेको १० वटा विश्वकपबाट हात पारेको सबैभन्दा उत्कृष्ट नतिजा हो।

यस पटक रुसको परिस्थिति केही फरक छ। यसपटक रुस घरमै विश्वकप खेल्दै छ। आफ्नो परिचित मैदानमा खेलिरहँदा रुसलाई घरेलु समर्थनको पनि पर्याप्त साथ रहनेछ। अन्य सहभागी टोली रुसको हावापानीसँग अभ्यस्त हुने प्रयासमा व्यस्त रहँदा आयोजक रुसलाई भने त्यसको चिन्ता छैन। आगामी विश्वकपमा यो रुसका लागि सकारात्मक पक्ष हो।

आगामी विश्वकपमा रुसले सशक्त प्रदर्शन गर्दै उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गर्न पछिल्लो समय केही खस्किएको जस्तो देखिएको आफ्नो प्रदर्शनमा सुधार ल्याउनु आवश्यक छ। रुसले पछिल्लो केही खेलमा खराब प्रदर्शन गरेको छ। गत वर्ष आफैंले आयोजना गरेको कन्फिडेरेसन कपमा रुस समूहगत चरणबाटै बाहिरिएको थियो। आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई पराजित गरेको रुस त्यसपछिको दुई खेलमा भने क्रमश: पोर्चुगल र मेक्सिकोसँग पराजित भएपछि प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो।

रुसले त्यसपछि भएका मैत्रीपूर्ण खेलमा भने केही सुधारिएको प्रदर्शन गरेको छ। कन्फिडेरेसन कपपछि सन् २०१७ मै खेलिएको पाँचवटा मैत्रीपूर्ण खेलमध्ये रुसले दुईमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो। रुसले आफ्नै देशको डाइनामो मस्कोलाई ३-० र दक्षिण कोरियालाई ४-२ गोलले पराजित गरेको थियो भने इरानसँग १-१ र स्पेनसँग ३-३ को बराबरी खेलेको थियो।

मैत्रीपूर्ण खेलमा रुसी टोली अर्जेन्टिनासँग मात्रै १-० गोलले पराजित भएको थियो। सन् २०१८ लागेपछि भने रुसले फेरि लय गुमाएको छ। सन् २०१८ मा खेलिएको दुईमध्ये दुवै मैत्रीपूर्ण खेलमा रुसले पराजय बेहोरेको छ। रुसले ब्राजिलसँग ३-० र फ्रान्ससँग ३-१ ले पराजय बेहोरेको छ। आफ्नो टोली रक्षापंक्तिमा कमजोर देखिएकाले रुसी टोलीका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभले आफ्नो रणनीतिमा केही परिवर्तन गर्न बताएका छन्। उनले आफ्ना नयाँ शैलीमा रक्षापंक्ति र स्ट्राइकिङ लाइनलाई बलियो बनाइने बताएका छन्।

रुसको टोली

गोलरक्षक : इगोर एकिनफिभ (सीएसकेए मस्को), भ्यादिमिर गाबुलोभ (क्लब ब्रुग), सस्लन झानाएभ (रुविन कजान) र आन्द्रेइ लुनेभ (जेनिट सेन्ट पिटर्सबर्ग)।

डिफेन्डर : भ्लादिमिर ग्रानट (रुविन कजान), रुस्लान काम्बोलोभ (रुविन कजान), फेदर कुदर्‍यासोभ (रुविन कजान), इल्या कुतेपोभ (स्पार्टक मस्को), रोमन नुस्तादर (फेनरवाच), कोन्सटान्टिन राउच (डाइनामो मस्को), आन्द्रेइ सेमेनोभ (अख्मत ग्रोझ्नी), इगोर स्मोलनिकोभ (जेनिट सेन्ट पिटर्सबर्ग) र मारियो फर्नान्डेज (सीएसकेए मस्को)।

मिडफिल्डर : युरी गाजिन्सकी (क्रासनोदर), एलेक्जेन्डर गोलोभिन (सीएसकेए मस्को), एलन जागोएभ (सीएसकेए मस्को), एलेक्जेन्डर एरोखिन (जेनिट सेन्ट पिटर्सबर्ग), युरी झिर्कोभ (जेनिट सेन्ट पिटर्सबर्ग), दालेर कुजएभ (जेनिट सेन्ट पिटर्सबर्ग), रोमन जोबनिन (स्पार्टक मस्को), एलेक्जेन्डर सामेदोभ (स्पार्टक मस्को), एन्टन मिरान्चुक (लोकोमोतिभ मस्को), एलेक्जेन्डर तासाएभ (डाइनामो मस्को) र डेनिस चेरिसेभ (भिल्लारियल)।

स्ट्राइकर : आर्टिम ज्युबा (आर्सनल टुला), एलेस्की मिरान्चुक (लोकोमोतिभ मस्को), फेदर स्मोलोभ (क्रासनोदर) र फेदर चालोभ (सीएसकेए मस्को)।

प्रशिक्षक : स्टानिस्लाभ चर्चेसोभ

रुसको खेल

समूह ‘ए’

जुन १४ : साउदी अरेबियाविरुद्ध

जुन १९ : इजिप्टविरुद्ध

जुन २५ : उरुग्वेविरुद्घ

सहभागिता : ११औं पटक

उपाधि : छैन

फिफा वरीयता : ६६

आइसल्यान्ड

युरोपेली राष्ट्र आइसल्यान्डले पहिलो पटक विश्वकप फुटबलमा सहभागिता जनाउँदै छ। आइसल्यान्डले आगामी जुन १६ मा लियोनल मेसीको टोली अर्जेन्टिनासँग खेल्दै फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा ‘डेब्यु’ गर्नेछ। आइसल्यान्ड विश्वकप खेल्ने यस्तो टोली बनेको छ, जसले आफूसँगै कयौं कीर्तिमान पनि लिएर आएको छ।

आइसल्यान्ड जनसंख्याको हिसाबले हालसम्म विश्वकपमा सहभागी हुने सबैभन्दा सानो राष्ट्र हो। अर्जेन्टिनाविरुद्ध ‘डेब्यु’ खेलसँगै आइसल्यान्डको नाममा यो कीर्तिमान दरिन पुग्नेछ। सन् १९४६ यता फिफाको आधिकारिक प्रतियोगिता खेल्न थाले पनि आइसल्यान्डले निकै पछि मात्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति जनाउन थालेको हो।

आइसल्यान्डले दुई वर्षअघि सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबल पनि खेलेको थियो। आइसल्यान्डले आफ्नो फुटबल इतिहासमा कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको र खेलेको त्यो नै पहिलो अवसर थियो। त्यतिबेला पनि आइसल्यान्ड युरोकपका लागि छनोट हुने र खेल्ने सबैभन्दा सानो (जनसंख्याको हिसाबले) देश थियो।

यही सानो देशले आगामी जुन १४ तारिखदेखि रुसमा सुरु हुने विश्वकपमा ठूला देशहरूलाई ठूलै चुनौती प्रस्तुत गर्दैछ। आइसल्यान्डको यो चुनौती कुनै पनि देशका लागि सहज भने पक्कै हुने छैन। आइसल्यान्डले पहिलो पटक ठूलो प्रतियोगितामा सहभागिता जनाए पनि उच्चस्तरको प्रदर्शन गर्दै आएको छ। आइसल्यान्डले गत युरोकपमा उपाधिको दाबेदार मानिएका ठूला टोलीहरूलाई गतिलो चुनौती मात्रै दिएको थिएन, कतिपय टोलीलाई त पराजयको स्वाद पनि चखाएको थियो।

युरोकप—२०१६ को छनोट प्रतियोगितामै नेदरल्यान्ड्सजस्तो बलियो टोलीलाई दुवै लेग खेलमा पराजित गरेको आइसल्यान्डले त्यसपछि पनि सशक्त प्रदर्शन गर्‍यो। युरोकपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा इङ्ल्यान्डलाई नै पराजित गरेको थियो। क्वार्टरफाइनलमा भने आयोजक फ्रान्ससँग ५–२ गोलले पराजित भएपछि आइसल्यान्ड त्यसभन्दा अगाडि बढ्न सकेन। यद्यपि युरोकपको पहिलो सहभागितामै आइसल्यान्डले आफू ठूला प्रतियोगिताका लागि तयार रहेको सन्देश भने दिएको थियो।

आइसल्यान्डको त्यही प्रदर्शनबाट रुस विश्वकपमा पनि आयसल्यान्डले बलिया प्रतिद्वन्द्वीहरूलाई गतिलो चुनौती दिने अनुमान गर्न सकिन्छ। आइसल्यान्डले युरोकपपछि खेलेको २१ मध्ये १२ खेलमा जित हात पारेको छ। केवल सात खेलमा पराजय व्यहोरेको आइसल्यान्डले दुई खेलमा भने बराबरीको नतिजा निकालेको छ। आइसल्यान्डले सन् २०१८ मा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।

सन् २०१८ मा खेलिएको चारमध्ये दुई खेलमा जित हात पारेको आइसल्यान्ड दुई खेलमा भने पराजित भएको छ। आइसल्यान्डले गत जनवरीको दोस्रो साता इन्डोनेसियाविरुद्ध खेलेको दुईवटा मैत्रीपूर्ण खेलमध्ये पहिलोमा ६–० र दोस्रोमा ३–१ गोलको जित निकालेको थियो। यसैगरी गत मार्चमा मेक्सिकोसँग खेलेको खेलमा ३–० र पेरुसँग खेलेको खेलमा ३–१ गोलको हार भोगेको थियो। यतिबेला आइसल्यान्ड आफ्नो पहिलो विश्वकप सहभागितालाई यादगार बनाउने अन्तिम तयारीमा व्यस्त छ। आइसल्यान्ड विश्वकपमा पनि युरोकपको जस्तै प्रदर्शन दोहोर्‍याउने योजनामा छ।

आइसल्यान्डको टोली

गोलरक्षक: हानेस थोर हाल्डोर्सन (र्‍यान्डर्स ), रुनार एलेक्स रुनार्सन (नोर्जेल्यान्ड) र फ्रेडरिक स्चार्म (रोसकिल्ड)।

रक्षक: कारी अर्नासन (एबर्डिन), एरी फ्रेयर स्कुलासन (लोकरेन), बिर्किर मार साइभर्सन (भालुर), स्भेरिर इन्गी इन्गासन (रोस्तोभ), होर्डर माग्नुसन (ब्रिस्टोल सिटी), होमर आइजोल्फसन (लेभस्की सोफिया) र राग्नर सिगुर्डसन (रोस्तोभ)।

मिडफिल्डर: जोहन बर्ग गुडमन्डसन (बर्नली), बिर्किर बिजार्नासन (एस्टन भिल्ला), आर्नर इनग्भी ट्राउस्टासन (माल्मो), इमिल हाल्फ्रेडसन (उडिनेस), गिल्फी सिगुर्डसन (एभर्टन), ओलाफुर इन्गी स्कुलासन (काराबुकस्पोर), रुरिक गिस्लासन (सन्धउसेन), स्यामुएल फ्रिडजोन्सन (भालेरेन्गा) र एरोन गुनर्सन (कार्डिफ सिटी)।

स्ट्राइकर: अल्फ्रेड फिनबोगासन (अग्सबर्ग), बिजोर्न बर्गम्यान सिगुर्डसन (रोस्तोभ), जोन डाडी बोडभर्सन (रिडिङ) र अल्बर्ट गुडमन्डसन (पीएसभी)।

प्रशिक्षक: हेमिर हलग्रिमसन।

आइसल्यान्डको खेल

जुन १६: अर्जेन्टिनाविरुद्ध

जुन २२: नाइजेरियाविरुद्ध

जुन २६: क्रोएसिाविरुद्ध

आइसल्यान्ड

विश्वकप सहभागिता: पहिलो

उपाधि: छैन

फिफा वरीयता: २२

अस्ट्रेलिया

एसियाली राष्ट्र अस्ट्रेलिया लगातार चौथो र समग्रमा पाँचौंपटक फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपमा सहभागी हुँदैछ। अस्ट्रेलियासँग विश्वस्तरका राम्रा खेलाडी छन्। घरभित्र पनि फुटबलको राम्रो वातारण छ। अस्ट्रेलियामा फुटबल लोकप्रिय पनि छ। अस्ट्रेलियन खेलाडी युरोपका महँगा लिग पनि खेल्छन्। यसका बीच ठूला प्रतियोगिताहरूमा अस्ट्रेलिया सधैं अघिल्लो चरणबाटै बाहिरिने गरेको छ। यही प्रदर्शनले रुस विश्वकपअघि अस्टेलियन टोलीलाई ‘अन्डरडग’ भनिएको हो।

सन् १९७४ मा पहिलोपटक विश्वकप खेलेको अस्ट्रेलियाले ३२ वर्षपछि सन् २००६ मा दोस्रोपटक पुन: विश्वकप खेल्यो। त्यसयता लगातार चौथो विश्वकप फुटबलको तयारीमा जुटेको छ, अस्ट्रेलिया। यद्यपि विश्वकपमा अस्ट्रेलियाको इतिहास राम्रो छैन। अस्ट्रेलियाले पाँचवटा विश्वकपमा एकपटक सन् २००६ मा मात्र समूहगत चरण पार गरेको छ। जर्मनीले आयोजना गरेको सो विश्वकपमा पनि अस्ट्रेलिया प्रिक्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन। अन्य चार विश्वकपमा भने अस्ट्रेलियाले समूहगत चरण पार गर्न सकेन।

त्यसैले रुस विश्वकपमा सशक्त प्रदर्शन गर्दै ‘अन्डरडग’ टोलीको ट्याग हटाउनु अस्ट्रेलियाका लागि चुनौती देखिएको छ। तर, यो चुनौती पार गर्नु अस्ट्रेलियाका लागि सहज भने छैन। अस्ट्रेलिया मुस्किलले विश्वकपमा छनोट भएको हो। एसियाली छनोटको समूह ‘बी’मा जापान र साउदी अरेबियापछि तेस्रो स्थानमा रहेका कारण अस्ट्रेलियाले विश्वकपको यात्रा तय गर्न अन्तर महादेशीय प्ले अफ खेल्नु परेको थियो। एसियन प्ले अफमा सिरिया र महादेशीय प्ले अफमा होन्डुरसलाई हराएपछि अस्ट्रेलिया ३१औं टोलीका रूपमा रुस विश्वकपमा छनोट भएको हो।

त्यसपछि भएका मैत्रीपूर्ण खेलमा पनि अस्ट्रेलियाको प्रदर्शन सन्तोषजनक छैन। विश्वकपमा छनोट भएपछि खेलिएको दुवै मैत्रीपूर्ण खेलमा अस्ट्रेलिया रह्यो। गत मार्चमा भएको मैत्रीपूर्ण खेलमा नर्वेसँग ४-१ गोलले पराजित भएको अस्ट्रेलिया कोलम्बियासँग भने गोलरहित बराबरीमा रोकियो। फ्रान्स, डेनमार्क र पेरुजस्ता बलिया टोली रहेको समूहमा परेकाले रुस विश्वकपमा पनि अस्ट्रेलियालाई समूहगत चरण पार गर्न मुस्किल देखिएको छ। यद्यपि अस्ट्रेलियाले रुस विश्वकपका लागि अनुभवी र अन्य टोलीबाट निरन्तर सफलता हात पारेका डच प्रशिक्षक बर्ट भान मार्विकलाई नियुक्त गरेको छ।

मार्विक त्यही प्रशिक्षक हुन्, जसले नेदरल्यान्ड्सलाई सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा फाइनलसम्म पुर्‍याएका थिए। यसपटक पनि उनले साउदी अरेबियालाई अस्ट्रेलियाभन्दा अघि रुस विश्वकपमा छनोट गराएका थिए। प्रशिक्षक मार्विकले नर्वे र कोलम्बियाविरुद्धको खेलमा एकमात्र स्ट्राइकर तथा चार रक्षक राखेर अस्ट्रेलियालाई रक्षात्मक रणनीतिमा मैदानमा उतारेका थिए। रुस विश्वकपमा पनि उनले आफ्ना खेलाडीलाई त्यही रणनीतिमा अभ्यास गराएको देखिन्छ।

विश्वकपअघि अस्ट्रेलियालाई एक तथ्यले भने उत्साही बनाएको छ। अस्टेलियन खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा पेनाल्टीमा निकै खप्पिस देखिएका छन्। कप्तान माइल जेडिन्कले प्रहार गरेको कुनै पनि पेनाल्टी चुकाएका छैनन्। यसैगरी गोलरक्षक म्याट र्‍यान पनि पेनाल्टी रोक्न उत्तिकै माहिर छन्। कप्तान जेडिन्कले अहिलेसम्म प्रहार गरेको १४ मध्ये सबै पेनाल्टीमा गोल गरेका छन्। उनका सहकर्मी एरोन मुईले १० मध्ये नौ पेनाल्टी प्रहारमा गोल गरेका छन्। त्यसैले खेलका क्रममा काउन्टर एट्याक र पेनाल्टीको अवसर पाए विश्वकपमा अस्ट्रेलिया आफूमाथि लागेको ‘अन्डरडग’को ट्याग हटाएर टप डग बन्न सक्नेछ।

अस्ट्रेलियाको टोली

गोलरक्षक : म्याट र्‍यान (ब्राइटन), डेनी भुकोभिच (जेन्क) र ब्राड जोन्स (फेयनुर्ड)।

रक्षक : अजिज बेहिच (बुर्सास्पोर), मिलोस डेगेनेक (योकोहामा एफ मारिनोस), म्याथ्यु जुर्मान (सुओन ब्ल्युविङस), जेम्स मेरेडिथ (मिलवाल), जस रिस्डन (वेस्टर्न सिड्नी वन्डेरर्स), ट्रेन्ट सेन्सबरी (ग्राससोपर्स जुरिच) र फ्रान कारासिक (लोकोमोतिभ जाग्रेभ)।

मिडफिल्डर : जस ब्रिलियन्ट (सिड्नी एफसी), माइल जेडिन्क (एस्टन भिल्ला), मार्क मिलिगन (अल अहली), रोबी क्रुज (बोचुम), ज्याक्सन इर्भिन (हल सिटी), मासिमो लुंगो (क्विन्स पार्क रेन्जर्स), एरोन मुई (हड्र्सफिल्ड), टम रोजिक (सेल्टिक) र जेम्स ट्रोइसी (मेलबर्न भिक्ट्री)।

स्ट्राइकर : टिम काहिल (मिलवाल), टोमी जुरिक (एफसी लुजेर्न), म्याथ्यु लेस्की (हेर्था बर्लिन), एन्ड्र्यु नब्बाउट (एरावा रेड डायमोन्ड्स), निकिता रुकाभिटस्या (माकाबी हाइफा), दिमित्री पेट्राटोर्स (न्युक्यासल जेट्स) र ड्यानियल अर्जानी (मेलबर्न सिटी)।

प्रशिक्षक : बर्ट भान मार्विक।

अस्ट्रेलियाको खेल

समूह ‘सी’

जुन १६ : फ्रान्सविरुद्ध

जुन २१ : डेनमार्कविरुद्ध

जुन २६ : पेरुविरुद्ध

विश्वकपमा अस्ट्रेलिया

सहभागिता : पाचौंपटक

उपाधि : छैन

फिफा वरीयता : ४०

जापान

जापान फिफा विश्वकप फुटबलमा लगातार छैटौंपटक सहभागी हुँदैछ । अहिलेसम्म प्रिक्वार्टरफाइनलभन्दा माथि उक्लन नसकेको जापानले रुस विश्वकपमा भने त्योभन्दा माथिको लक्ष्य लिएको छ । त्यसका लागि जापानले आफ्ना पुरानै स्टार खेलाडीमाथि विश्वास गरेको छ । जापानले रुस विश्वकपका लागि यसै साता घोषिणा गरेको अन्तिम २३ खेलाडीको सूचीमा पुरानै खेलाडीको बाहुल्य छ ।

टोलीका अन्तरिम प्रशिक्षक अकिरा निसिनोले सार्वजनिक गरेको टोलीमा अन्तर्राष्ट्रिय करिअरको उत्तराद्र्धतिर पुगेका केइसुके होन्डा, सिन्जी ओकाजाकी, सिन्जी कागावा, माकोतो हासेबेजस्ता खेलाडी परेका छन् । टोलीका मुख्य प्रशिक्षक वाहिद हालिथोदजिकले राजीनामा दिएपछि रुस विश्वकपका लागि टोलीको सम्पूर्ण जिम्मेवारी जापान फुटबल संघमा प्राविधिक निर्देशक रहेका निसिनोमाथी आइपरेको हो ।

झन्डै डेढ महिना आफ्नो नेतृत्वमा ट्रेनिङ गराएपछि घोषित टोलीमा अनुभवी खेलाडीलाई अवसर दिइएको प्रशिक्षक निसिनोले बताएका छन् । सन् १९९८ बाट लगातार छैटौं विश्वकप फुटबलमा सहभागिता जनाउन लागेको जापानको प्रिक्वार्टरफाइनलसम्मको यात्रा अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

जापानले सन् २००२ मा दक्षिण कोरियासँग मिलेर आफैले आयोजना गरेको विश्वकप र सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो । यद्यपि सन् २००२ मा टर्कीसँग १-० र सन् २०१० मा पाराग्वेसँग टाइब्रेकरमा ५-३ ले पराजित भएपछि अन्तिम १६ मै रोकिनु परेको थियो ।

त्यस बाहेकका विश्वकपमा जापानले समूहगत चरण पार गर्न सकेको छैन । यसपटक पनि बलिया प्रतिद्वन्द्वी तथा निवर्तमान प्रशिक्षक वाहिदसँगको विवादपछि अवरुद्ध बनेको तयारीका कारण जापानलाई समूहगत चरण पार गर्न मुस्किल देखिएको छ । कोलम्बिया, पोल्यान्ड र सेनेगलजस्ता टोली रहेको समूह ‘एच’मा रहेको जापानलाई समूहगत चरण र प्रिक्वार्टरफाइनल चरण पार गर्दै नयाँ उपलब्धि हात पार्न पुराना स्टार खेलाडीले त्यही अनुसारको प्रदर्शन गर्नु आवश्यक छ । यद्यपि विश्वकप सुरु हुनु तीन साताअघि घरमै भएको मैत्रीपूर्ण खेलमा जापानी टोली घानासँग २-० ले पराजित भएको छ । यो नतिजाले जापानलाई केही चिन्ता थपेको छ ।

जापानको टोली

गोलरक्षक : इजी कावासिमा (मेट्ज), मासाकी हिगासीगुची (गाम्बा ओसाका) र कोसुके नाकामुरा (कासिवा रेसोल) ।

रक्षक : युतो नागातोमो (गालातसारे), तोमोएकी माकिनो (उरावा रेड डायमन्ड्स), वातारु इन्दो (उरावा रेड डायमन्ड्स), माया योसिदा (साउथह्याम्पटन), हिरोकी साकाई (मार्सेइली), गोतोकु साकाई (हाम्बर्ग), जेन सोजी (कासिमा एन्टलर्स) र नाओमिची वेदा (कासिमा एन्टलर्स) ।

मिडफिल्डर : माकोतो हासेबे (एइन्ट्रान्च्ट), केइसुके होन्डा (पाचुका), ताकासी इनुई (इबर), सिन्जी कागावा (बोरुसिया डर्टमुन्ड), होतारु यामागुची (सेरेजो ओसाका), गेन्की हारागुची (फोर्चुना डुसेल्डोर्फ), ताकासी उसामी (फोर्चुना डुसेल्डोर्फ), गाकु सिबासाकी (गेटाफे) र र्‍योता ओसिमा (कावासाकी फ्रोनटेल) ।

स्ट्राइकर : सिन्जी ओकाजाकी (लेस्टर सिटी), युया ओसाका (वेर्डर ब्रेमेन) र योसिनोरी मुतो (मेइन्ज) ।

प्रशिक्षक : अकिरा निसिनो ।

जापानको खेल

समूह ‘एच’

जुन १९ : कोलम्बियाविरुद्ध

जुन २४ : सेनेगलविरुद्ध

जुन २८ : पोल्यान्डविरुद्ध

जापान

विश्वकप सहभागिता : छैटौंपटक

उपाधि : छैन

फिफा वरीयता : ६०

 पानामा

पानामा आफ्नो पहिलो विश्वकप सहभागिताको रुसको यात्रा तय गर्ने केवल दुई राष्ट्रमध्ये एक हो । उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको छनोट प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै रुस यात्रा पक्का गरेको पानामाका आगामी विश्वकप पहिलो अनुभव हुनेछ । मध्य अमेरिकी राष्ट्र पानामाको अन्तिम चरणको विश्वकप छनोट यात्रा निकै रोचक पनि छ ।

सन् १९९६ सम्म पानामामा फुटबल खासै लोकप्रिय थिएन । बेसबल र बक्सिङ निकै लोकप्रिय रहेको पानामामा फुटबल खेल्ने ठाउँसम्म थिएन । देशमै फुटबलप्रति रुचि राख्ने युवा पाउनसमेत मुस्किल थियो । तर, त्यसपछिको २२ वर्षमा पानामाले अन्तर्राष्ट्रिय फुटबलमै यस्तो छलाङ मार्‍यो कि, विश्व फुटबलको महाकुम्भ छनोट भएर देखायो ।

पानामाको फुटबलको यो फड्कोमा निकै ठूलो मेहनत जोडिएका व्यक्ति हुन्, ग्यारी स्टेम्पल । बेलायती आमाबाट जन्मिएका पानामाका नागरिक ग्यारी सन् १९९६ मा फुटबल प्रशिक्षणकै लागि आफ्नो देश फर्किएका थिए, जतिबेला पानामामा फुटबल खेल्ने स्थान मात्र होइन, खेल्ने बल र बुटसमेत पाइँदैनथियो । यद्यपि उनकै पहलमा पानामामा फुटबलका प्रशिक्षणहरू सुरु भए । लिग फुटबल र फुटबल विकासका महŒवाकांक्षी योजनाहरू पनि अघि बढे ।

त्यसकै प्रतिफल हो, ग्यारीले आफ्नै प्रशिक्षणमा पानामालाई सन् २००३ मा यू-२० विश्वकपमा पहिलो पटक छनोट गराए । अहिले पानामाको सिनियर राष्ट्रिय टोलीमा रहेका प्राय: खेलाडी उनै ग्यारीले उमेरसमूह र यू-२० विश्वकपबाट अघि बढाएका खेलाडी हुन् । यही खेलाडीलाई लिएर कोलम्बियन प्रशिक्षक हर्नान डारियो गोमेजले पानामाको सिनियर राष्ट्रिय टोलीलाई पहिलो पटक विश्वकप फुटबलमा छनोट गराएका हुन् ।

हर्नान यस्ता प्रशिक्षक हुन्, जोसँग विभिन्न तीन देशको सिनियर राष्ट्रिय टोलीलाई विश्वकपमा छनोट गराएको अनुभव छ । अहिलेसम्म यस्ता केवल चारजना प्रशिक्षक छन्, जसले तीन फरक देशलाई विश्वकपसम्म पुर्‍याउन सफल भए । हर्नानले सन् १९९८ मा आफ्नै देश कोलम्बिया र सन् २००२ मा इक्वेडरलाई विश्वकपमा छनोट गराएका थिए । सन् २०१४ मा आबद्ध भएका यी अनुभवी प्रशिक्षकले पानामालाई पनि पहिलो पटक विश्वकपका लागि छनोट गराएका हुन् ।

निर्णायक खेलमा कोस्टारिकालाई २-१ गोलले पराजित गर्दै रुस विश्वकपको यात्रा पक्का गर्दा पानामाका राष्ट्रपति हुवाँ कार्लाेस भालेराले देशमा सार्वजनिक बिदा नै दिएका थिए । राष्ट्रपति भालेराले रुस विश्वकपमा आफ्नो टोलीले प्रतिस्पर्धा गर्दा सबैलाई खेल हेर्ने व्यवस्था मिलाउन निजी तथा सरकारी सबै कार्यालयलाई निर्देशनसमेत दिइसकेका छन् ।

अमेरिका तथा कोस्टा रिकाजस्ता टोलीलाई पछि पार्दै विश्वकपमा छनोट भएको पानामाका लागि यसअघिका प्रतिस्पर्धा भने मुस्किल देखिएको छ । बेल्जियम, इङ्ल्यान्ड र ट्युनिसियासँगै पानामा विश्वकपको समूह ‘जी’मा परेको छ । पानामाले यो वर्ष सुरु भएपछि खेलेको चार मैत्रीपूर्ण खेलमध्ये केवल एक खेलमा जित हात पारेको छ । डेनमार्कसँग १-० र स्विट्जरल्यान्डसँग ६-० गोलको भारीअन्तरले पराजित भएको पानामाले ट्रिनिडाड एन्ड टोबागोलाई भने १-० ले हराएको थियो ।

यसैगरी पानामाले उत्तरी आयरल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । टोलीको यो प्रदर्शनमा सुधार ल्याउन नसके पानामा पहिलो विश्वकप सहभागिताबाट अनुभव मात्रै बटुलेर घर फर्कने निश्चित छ ।

पानामाको टोली

गोलरक्षक : जामी पेनेदो (डाइनामो बुखरेस्ट), होजे काल्डेरोन (कोरिल्लो एफसी) र एलेक्स रोड्रिगेज (सानफ्रान्सिको एफसी) ।

रक्षक : माइकल मुरिल्लो (न्युयोर्क रेड बुल्स), ह्यारोल्ड कुमिङ्स (सान जोसे अर्थक्वेक), फिडेल स्कोबर (न्युयोर्क रेड बुल्स), रोमन टोरेस (सिटल साउन्डर्स एफसी), एडोल्ड माचाडो (हउस्टन डाइनामो), एरिक डेभिस (डिएसी दुनाज्स्का स्ट्रिडा), लुइस ओभल्ली (सिडी ओलम्पिया) र फेलिप बालोई (सीएसडी मुनिसिपल) ।

मिडफिल्डर : ग्याब्रियल गोमेज (एट्लेटिको बुकारामाङ्गा), एड्गर बार्सिनस (क्याफेटालेरोस डी तापाचुला), अर्मान्डो कुपर (क्लब युनिभर्सिडाड डी चिली), भ्यालेन्टिन पिमेन्टल (प्लाजा अमाडोर), अल्बर्टो क्वाइन्टेरो (युनिसर्भिटारियो लिमा), एनिबल गोदोय (सान जोसे अर्थक्वेक) र होजे लुइस रोड्रिगेज (केएए जेन्ट) ।

स्ट्राइकर : ब्लास पेरेज (सीएसडी मुनिसिपल), ग्याब्रियल टोरेस (सीडी हुवाचिपाटो), स्माइल डियाज (डेपोर्टिभो ला कोरुना), अब्दिल अरोयो अब्दिइल (एलडी अलजुइलेन्स) र लुइस तेजदा लुइस (स्पोर्ट ब्वाइज) ।

प्रशिक्षक : हर्नान डारियो गोमेज

पानामाको खेल

समूह ‘जी’

जुन १८ : बेल्जियमविरुद्ध

जुन २४ : इङ्ल्यान्डविरुद्ध

जुन २८ : ट्युनिसियाविरुद्ध

पानामा

विश्वकप सहभागिता : पहिलो

उपाधि : ०

फिफा वरीयता : ५५

कोलम्बिया

दक्षिण अमेरिकी टोली कोलम्बियाको विश्वकप इतिहास खास गर्विलो छैन। ब्राजिल, अर्जेन्टिना, चिली, उरुग्वेजस्ता बलिया टोलीको छायाँमा परेको कोलम्बिया विश्वकप फुटबल २१औं संस्करणसम्म पुग्दा छैटौं पटकमात्र सहभागिताको तयारीमा छ। तर, कोलम्बियाले विश्वकप फुटबलको छोटो सहभागितामै आफूलाई ‘डार्क हर्स’ टोलीको रूपमा परिचित गराएको छ। ‘डार्क हर्स’ अर्थात् धेरैको नजरमा नपरेको तर, अपत्यारिलो नतिजा निकाल्ने टोली।

कोलम्बियाले विशेषगरी सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको प्रदर्शनपछि ‘डार्क हर्स’ टोलीको उपनाम पाएको हो। समूहगत चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको कोलम्बिया प्रिक्वार्टरफाइनलमा उरुग्वेलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको थियो। क्वार्टरफाइनलमा भने आयोजक ब्राजिलसँग २-१ गोलले पराजित भएपछि कोलम्बिया अघि बढ्न सकेन। यद्यपि त्यही प्रदर्शनपछि टोलीले धेरैको मन भने जित्यो।

टोलीका युवा मिडफिल्डर जेम्स रोड्रिगेज सबैको नजरमा परे। ब्राजिल विश्वकपमा कोलम्बियाले खेलेको पाँचमध्ये पाँचैं खेलमा गोल गरेका रोड्रिगेजले प्रतियोगितामा गोल्डेन बुटसमेत प्राप्त गरे। त्यसअघिका चार विश्वकप सहभागितामा कोलम्बिया क्वार्टरफाइनलभन्दा पहिले नै घर फर्किएको थियो। रुस विश्वकप नजिकिँदै गर्दा ब्राजिलमा हात पारेको सफलतालाई निरन्तरता दिने उद्देश्यसहित कोलम्बिया तयारीमा जुटेको छ। त्यसका लागि कोलम्बियाले आफ्नो ‘डार्क हर्स’ छविलाई पनि कायमै राख्न सक्नु पर्नेछ।

रुस विश्वकपमा पनि टोलीलाई अघि बढाउने जिम्मेवारी उनै रोड्रिगेज, राडामेल फाल्काओ, कार्लाेस बाक्कालगायत खेलाडीमाथि रहेको छ। ब्राजिल विश्वकप लगत्तै स्पेनिस क्लब रियल म्याड्रिडसँग अनुबन्धित भएका रोड्रिगेज गत वर्ष जर्मन क्लब बायर्न म्युनिख पुगेका छन्। बायर्नले यो सिजन घरेलु बुन्डेस लिगाको उपाधि जित्दा उनले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। फ्रान्सेली क्लब मोनाकोसँग अनुबन्धित रहेका फाल्काओलगायतका खेलाडी पनि लयमै छन्।

त्यसैले कोलम्बियाले ब्राजिल विश्वकपमा हात पारेको सफलता रुस विश्वकपमा पनि दोहोर्‍याउन सक्नेछ। कोलम्बिया रुस विश्वकपमा तुलनात्म रूपमा सहज प्रतिद्वन्द्वी रहेको समूह ‘एच’ मा परेको छ। पोल्यान्ड, सेनेगल र जापान रहेको उक्त समूहबाट कोलम्बियाले सहजै प्रिक्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गर्न सक्ने सम्भावना छ। कोलम्बियाका लागि खास कठिनाइ भने त्यसपछि सुरु हुनेछ।

कोलम्बियाले रुस यात्राअघि यो वर्ष खेलको तीनवटा खेलमा आफूलाई अपराजित राखेको छ। पहिलो खेलमा फ्रान्सलाई ३-२ ले पराजित गरेको कोलम्बियाले त्यसपछि अस्ट्रिया र इजिप्टविरुद्ध हालै भएको खेलमा गोलरहित बराबरीमा रोकेको थियो। रुस विश्वकपअघिको यो प्रदर्शनले पनि कोलम्बियालाई केही हौसला थप्ने काम गरेको छ।

कोलम्बियाको टोली

गोलरक्षक : ओस्पिना रामिरेज (आर्सनल), कामिलो भार्गस (काली) र जोसे क्वाडार्डो (वन्स काल्दास)।

रक्षक : क्रिस्टियन जापाटा (एसी मिलान), ओस्कार मुरिल्लो (मेक्स), सान्टिआगो एरियास (पीएसभी), ऐरी मीना (बार्सिलोना), जोहान मोजिका (गिरोना), फ्रांक फब्रा (बोका जुनियर्स) र डाभिन्सन सान्चेज (टोट्टनहाम)।

मिडफिल्डर : विल्मर बारियस (बोका जुनियर्स), कार्लाेस सान्चेज (आरसिडी स्पान्योल), अबेल अगुइलर (काली), जेम्स रोड्रिग्वेज (बायर्न म्युनिख), हुवाँ क्वार्डाडो (युभेन्टस), माटियस उरिब (अमेरिका), जेफर्सन लर्मा (लेभान्ते) र हुवाँ क्विन्टेरो (रिभर प्लेट)।

स्ट्राइकर : कार्लाेस बाक्का (भिल्लारियल), राडामेल फाल्काओ (मोनाको), लुइस मुरियल (सेभिल), मिगुएल बोर्जा (पाल्मेइरस) र जोसे इज्क्वार्डाे (ब्राइटन)।

प्रशिक्षक : जोसे पेकरम्यान।

कोलम्बियाको खेल

समूह ‘एच’

जुन १९ : जापानविरुद्ध

जुन २४ : पोल्यान्डविरुद्ध

जुन २८ : सेनेगलविरुद्ध

कोलम्बिया

विश्वकप सहभागिता : छैटौं पटक

उपलब्धि : क्वार्टरफाइनल

फिफा वरीयता : १६

 नाइजेरिया

नाइजेरिया लगातार पछिल्लो तीन विश्वकपमा छुटेको छैन। चार वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणको विश्वकपमा सहभागी भएकामध्ये रुसमा पनि सहभागी हुने नाइजेरिया एक्लो अफ्रिकी टोली हो। नाइजेरियाले छनोट प्रतियोगिताको अन्तिम एक खेलअगावै अफ्रिकी महादेशबाट पहिलो टोलीका रूपमा रुस विश्वकपको यात्रा पक्का गरेको थियो।

नाइजेरियाले यसअघिका पाँच सहभागितामा तीनपटक प्रिक्वार्टरफाइनलसम्मको यात्रा पनि तय गरेको छ। सन् १९९४ मा पहिलोपटक विश्वकपमा सहभागी भएको नाइजेरियाले पहिलो सहभागितासहित सन् १९९८ र २०१४ मा पनि प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गरेको थियो। विश्वकप फुटबलमा समग्रमा छैटौंपटक सहभागिताको तयारीमा रहेको ‘सुपर इगल’ उपनाम पाएको नाइजेरियालाई यसपटक भने समूह चरणकै चिन्ता थपिएको छ।

नाइजेरिया यसपटक बलिया टोलीहरू रहेको समूह ‘डी’मा परेको छ। अघिल्लो संस्करणमा फाइनल खेलेको अर्जेन्टिना, क्रोएसिया र आइसल्यान्ड रहेको समूह ‘डी’लाई ‘ग्रुप अफ डेथ’ मानिएको छ। अर्जेन्टिना गत संस्करणमा फाइनलको अतिरिक्त समयमा जर्मनीसँग १-० ले पराजित भएपछि उपाधिबाट चुकेको थियो। लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई यसपटक पनि उपाधिको दाबेदार मानिएको छ।

इभान राकिटिच, लुका मोड्रिच, मारियो मान्जुकिक, इभान पेरिसिकजस्ता युरोपियन क्लब फुटबलमा स्थापित खेलाडीहरूले भरिएको क्रोएसिया पनि समूहमा बलियो टोली हो। समूहको अर्को टोली आइसल्यान्ड पनि निकै सशक्त छ। दुई वर्षअघि भएको युरोकप फुटबलमा इङ्ल्यान्डलगायतका टोलीलाई पराजित गरेको आइसल्यान्डले रुस विश्वकपमा समते कुनै पनि टोलीविरुद्ध अप्रत्यासित नतिजा निकाल्न सक्नेछ।

यसकाबीच टोलीको पछिल्लो प्रदर्शन र नतिजाले नाइजेरियालाई रुस विश्वकपमा बलियो टोली देखाउँदैन। नाइजेरियाले रुस विश्वकपको तयारीस्वरूप खेलेको पछिल्लो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा निरन्तर कमजोर प्रदर्शन गर्दै आइरहेको छ। नाइजेरियाले पछिल्ला चार खेलमा जित हात पार्न सकेको छैन।

गत मार्चमा भएको खेलमा पोल्यान्डमाथि १-० को जित हात पारेयता खेलिएका चार खेलमध्ये नाइजेरियाले तीनमा पराजय तथा एकमा बराबरी खेलेको छ। नाइजेरियाले सर्भियासँग २-०, इङ्ल्यान्डसँग २-१ र चेक रिपब्लिकसँग १-० ले पराजित हुँदा कंगोसँग १-१ गोलको बराबरी खेलेको छ। यी सबै खेलमा नाइजेरियाले गोल गरिरहे पनि आफूले पनि नियमित रूपमा अझ बढी गोल बेहोरेको छ। त्यसैले रुस विश्वकपअघि नाइजेरियालाई आफ्नो रक्षात्मक खेलमा बढी सुधारको आवश्यकता देखिएको छ।

नाइजेरियाको टोली

गोलरक्षक : इकिचुक्वा इजेन्वा (इनिइम्बा), डानिइल एक्पेई (चिप्पा युनाइटेड), फ्रान्सिस उजोहो (डिपोर्तिभो ला कोरुना)

रक्षक : ब्रियन इदोऊ (एफके अम्कार पर्म), इल्डर्सन इचिजिइली (सर्कल ब्रुगी), विलियम इकोंक (बुर्सास्पोर), लियोन बालोगुन (मेइन्ज), अब्दुल्लाही सेहु (बुर्सास्पोर), चिडोजीई अवाजिइम (नान्तेस), टिरोन्नी इबुइही (अदो देन हाग), केन्नेथ ओमेरुव (कासिमपासा एसके)

मिडफिल्डर : ओनिनिई एन्दिदी (लेस्टर सिटी), ओघेनेकारो इतेबो (लस पाल्मस), जोन ओबी मिकेल (तियान्जिन टेडा), जोइल ओबी (टोरिनो), ओगेनई ओनाजी (ट्राबजोन्सपोर),

जोन ओगु (हापोइल बियर सेभा)

स्ट्राइकर : अहमेद मुसा (सिएसकेए मस्कोभा), ओडिवन इघालो (चांगचुङ याताई), भिक्टोर मोसेस (चेल्सी), सिमोन न्वांको (क्रोटोन), केलिचि इहिनाचो (लेस्टर सिटी), एलेक्स इओबी (आर्सनल),

प्रशिक्षक : गर्नाेट रोहर

नाइजेरियाको खेल

समूह ‘डी’

जुन १६ : क्रोएसियाविरुद्ध

जुन २२ : आइसल्यान्डविरुद्ध

जुन २६ : अर्जेन्टिनाविरुद्ध

नाइजेरिया

सहभागिता : छैटौंपटक

उपलब्धि : प्रिक्वार्टरफाइनल

फिफा वरीयता :४८

पेरु

दक्षिण अमेरिका महादेशबाट विश्वकप यात्रा तय गरेको पेरु यसपटक नयाँ इतिहास बनाउने दाउमा छ । विश्वकपको पहिलो संस्करणमै सहभागी भएको पेरुले अहिलेसम्म आसलाग्दो सफलता भने हात पार्न सकेको छैन । यसअघि चारपटक विश्वकप खेल्ने अवसर पाएको पेरुको क्वार्टरफाइनलभन्दा अगाडि भने बढ्न सकेको छैन । त्यसैले आफ्नो पाँचौं सहभागितालाई पेरु अविस्मरणीय बनाउने धुनमा छ ।

पेरुले यसअघि सन् १९३०, सन् १९७०, सन् १९७८ र सन् १९८२ मा विश्वकप खेलेको थियो । पेरु पहिलो र पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरियो । पेरुका लागि सन् १९७० को संस्करण भने केही उपलब्धिमूलक बनेको थियो । त्यतिबेला क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको पेरु अन्तिम आठमा ब्राजिलसँग ४-२ गोलले पराजित भएको थियो । सन् १९७८ को संस्करणमा पेरु दोस्रो चरणमै रोकियो । ३६ वर्षपछि फेरि विश्वकपमा छनोट भएको पेरुमा अहिले युवा र अनुभवी खेलाडीको उत्कृष्ट तालमेल देख्न सकिन्छ । विश्वकप टोलीमा परेका अधिकांश खेलाडी घरेलु लिगमै सक्रिय छन् ।

विश्वकप छनोट चरणका सुरुवाती खेलमा पेरु त्यति जम्न सकेको थिएन । छनोट चरणको सात खेलसम्म चार अंकमा समेटिएको पेरु विस्तारै लय समाउँदै प्ले अफमा पुगेको थियो । समूहमा पाँचौं हुँदै अन्तरमहादेशीय प्ले अफमा छनोट भएको पेरुले प्ले अफमा न्युजिल्यान्डलाई नाटकीय रूपमा २-० गोलले हरायो । पहिलो लेगमा गोलरहित बराबरीका रोकिएको पेरुले दोस्रो लेगमा २-० को नतिजा निकालेको थियो ।

त्यसपछि पेरुले आफ्नो खेलमा निखार ल्याएको छ । प्रशिक्षक रिकार्डो गार्सियाले टोलीलाई मजबुत बनाएका छन् । प्लेअफपछि १५ वटा तयारी खेल खेलेको पेरु सबै खेलमा अपराजित रह्यो । विश्वकप तयारीका लागि स्विडेनसँग खेलिएको मैत्रीपूर्ण खेलमा भने पेरु गोलरहित बराबरीमा रोकिएको थियो । ‘अहिले हाम्रो टोलीमा जस्तोसुकै बलिया प्रतिद्वन्द्वीलाई पनि पाखा लगाउन सक्ने खेलाडी छन् । पेरुका लागि रुस यात्रा वास्तवमै यादगर हुनेछ,’ प्रशिक्षक रिकार्डो भन्छन् ।

रिकार्डोले सन् २०१५ देखि पेरुको राष्ट्रिय टोली सम्हालेका हुन् । उनको प्रशिक्षणमा पेरु कोपा अमेरिकाको सेमिफाइनलसम्म पुगेको थियो । पछिल्लो समय राम्रो लयमा देखिएको पेरु फिफा वरीयतामा समेत सुधार गर्दै ११औं स्थानमा छ । पेरुका कप्तान पाओलो ग्वेरेरो हालै डोपिङको आरोपमा ६ महिना प्रतिबन्धमा परेका थिए । तर, उनले विश्वकप खेल्नका लागि विश्व फुटबल महासंघ (फिफा) मा अपिल गरेपछि उनलाई विश्वकप खेल्न छुट दिइएको छ ।

पेरु ३४ वर्षीय अनुभवी स्ट्राइकर पाओलो र आन्द्रे क्यारिल्लो तथा मिडफिल्डर एडिसन फ्लोरेजको प्रदर्शन विपक्षीका लागि पक्कै पनि टाउको दुखाइको विषय बन्नेछ । रक्षापंक्तिमा पनि पेरु अब्बल छ । विश्वकपको समूह ‘सी’ मा रहेको पेरुका लागि बलियो प्रतिद्वन्द्वी फ्रान्स हो । पेरु समूहमा डेनमार्क र अस्ट्रेलियालाई समेत पन्छाएर अगाडि बढ्ने प्रयासमा छ । विश्वकप छनोट खेलमा दुई पटक अर्जेन्टिनाजस्तो बलियो प्रतिद्वन्द्वीलाई बराबरीमा रोक्न सफल पेरुले छनोट खेलमै उरुग्वेलाई समेत हराएर आफ्नो क्षमताको परिचय पनि दिइसकेको छ ।

पेरुको टोली

गोलरक्षक : पेड्रो गालेसी (भेराक्रुज), कार्लोस कासेडा (डेपोर्टिभो म्युनिसिपल) र जोसे कार्भाल्लो (यूटीसी) ।

रक्षक : एल्डो कोर्जो (युनिभर्सिटारियो), लुइस एड्भिनकुला (लोबोस बुयाप), क्रिस्टियन रामोस (भेराक्रुज), मिगुएल आरुजो (एलियन्जा लिमा), अल्बर्टो रोड्रिग्वेज (एट्लेटिको जुनियर), एन्डर्सन सान्तामारिया (पुएब्ला), मिगुएल ट्राउको (फ्लामिङ्गो) र निल्सन लोयोला (मेल्जर) ।

मिडफिल्डर : रेनाटो टापिया (फेयनुर्ड), पेड्रो एक्विनो (लोबोस बुयपा), योसिमार योतुन (ओल्र्यान्डो सिटी), पाओलो हुर्टाडो (भिक्टोरिया ग्विमारेज), क्रिस्टियन कुएभा (साओ पाउलो), एडिसन फ्लोरेज (अलब्रोग), एन्डी पोलो (पोर्टल्यान्ड टिम्बर्स) र विल्डर कार्टागेना (भेराक्रुज) ।

स्ट्राइकर : आन्द्रे क्यारिल्लो (वाट्फोर्ड), राउल रुइडियाज (मोरेलिया), जेफर्सन फारफन (लोकोमोेतिभ मस्को) र पाओलो ग्वेरेरो (फ्लामिङ्गो) ।

प्रशिक्षक : रिकार्डो गार्सिया

पेरुको खेल

समूह ‘सी’

जुन १६ : डेनमार्कविरुद्ध

जुन २१ : फ्रान्सविरुद्ध

जुन २६ : अस्ट्रेलियाविरुद्घ

पेरु

सहभागिता : पाँचौं पटक

उपलब्धि : क्वार्टरफाइनल

फिफा वरीयता : ११

पोल्यान्ड

पछिल्लो दुई संस्करणको अनुपस्थितिपछि पोल्यान्ड फेरि फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा फर्किएको छ । पोल्यान्ड यसबीचमा १२ वर्ष विश्वकपको फाइनल चरणको खेल खेल्नबाट बञ्चित रह्यो । तर, यसपटक निक्कै सशक्त प्रदर्शनसहित पोल्यान्डले आफूलाई विश्वकप फुटबलमा फर्काएको छ । युरोपेली छनोट प्रतियोगिताको समूह ‘ई’ मा शीर्ष स्थान हात पार्दै रुस विश्वकपमा स्थान सुरक्षित गर्दा पोल्यान्डले आफ्नो पुरानै छविलाई पछ्याएको संकेत गरेको छ ।

पोल्यान्ड यस्तो टोली हो, जोसँग विश्वकपमा ठूला सफलता हात पारेको इतिहास पनि छ । पोल्यान्डले यसअघि दुईपटक विश्वकपमा तेस्रो स्थान हात पारेको छ । यद्यपि त्यो धेरै पहिलेको कुरो हो । सन् १९७४ र सन् १९८२ मा दुई पटक पोल्यान्डले विश्वकपमा तेस्रो स्थान हात पारेको हो । दु:खको कुरा पोल्यान्डले त्यसपछि यो सफलतालाई अघि बढाउन सकेन ।

विश्वकप २१औं संस्करणसम्म आइपुग्दा पोल्यान्ड केवल आठौं पटक सहभागिता जनाउने तयारीमा छ । त्यसमध्ये पछिल्लो ३२ वर्षयता पोल्यान्डले विश्वकपको समूहगत चरण पनि पार गर्न सकेको छैन । सन् १९८६ मा प्रिक्वार्टरफाइनलसम्म पुगेर ब्राजिलसँग ४–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएयता पोल्यान्डले फेरि समूहगत चरण पार गर्न सकेको छैन । त्यसयता पोल्यान्डले सन् २००२ र सन् २००६ मा दुईपटक विश्वकप खेल्यो । यी दुवै अवसरमा पोल्यान्ड समूहगत चरणभन्दा माथि उक्लन सकेन ।

त्यसैले रुस विश्वकपमा पोल्यान्डमाथि सन् १९७४ र सन् १९८२ मा हात पारेको तेस्रो स्थानको सफलतालाई अघि बढाउने मात्रै होइन, समूहगत चरण पार गर्ने चुनौती पनि थपिएको छ । पोल्यान्ड यसपटक कोलम्बिया, सेनेगल र जापान रहेको समूह ‘एच’ मा परेको छ । यो समूह महादेशीय हिसाबले पनि निकै नै समावेशी देखिएको छ । पोल्यान्डले युरोपको प्रतिनिधित्व गर्दा कोलम्बियाले दक्षिण अमेरिका, सेनेगलले अफ्रिका र जापानले एसियाको प्रतिनिधित्व गर्नेछन् ।

यसको चुनौती यी सबै टोलीको फुटबल सिद्धान्त र खेल्ने शैली नै फरक हुने गर्छ । त्यसैले पनि पोल्यान्डमाथि समूहगत चरणमै ठूलो चुनौती देखिएको हो । पोल्यान्डले आफूले खेलेको पछिल्ला खेलमा पनि त्यस्तै नतिजा निकालेको छ । सन् २०१८ सुरु भएपछि पोल्यान्डले खेलेको तीन मैत्रीपूर्ण खेलमध्ये एकमा जित, एकमा पराजय र एकमा बराबरीको नतिजा निकालेको छ ।

गत मार्चमा भएको खेलमा नाइजेरियासँग १–० गोलले पराजित भएको पोल्यान्डले त्यसपछि भएको खेलमा भने दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको थियो । गत शनिबार भएको अभ्यास खेलमा पोल्यान्डलाई चिलीले २–२ गोलको बराबरीमा रोकेको थियो ।

पोल्यान्डको टोली

गोलरक्षक : वचसिइच सिजेस्नी (युभेन्टस), बार्ताेस्ज बियल्कोस्की (इप्सविच टाउन) र लुकास्ज फाबियन्स्की (स्वान्सी सिटी) ।

रक्षक : मिचाल पाज्दान (लेगिया वार्सा), अर्तुर जर्जिस्जिक (लेगिया वार्सा), थिएगो क्लोनेक (स्पाल), जान बेड्नारेक (साउथएम्टन), कामिल ग्लिक (मोनाको), बार्ताेस्ज बेरेस्जिन्स्की (साम्पडोरिया) र लुकास्ज पिस्जेक (बोरुसिया डर्टमन्ड) ।

मिडफिल्डर : किर्जिस्तोफ माक्जिन्स्की (लेगिया वार्सा), जासेक गोराल्सकी (पीएफसी लुडोगोरेट्स राजग्रेड), कारोल लिनेट्टी (साम्पडोरिया), ग्रिजेगोर्ज क्रिचोविक (वेस्ट ब्रोमविच), कामिल ग्रोसिस्की (हल सिटी), मासिज रिबस (लोकोमोतिभ मस्को), जाकुब ब्लेसजिकोस्की (उल्फसबर्ग), स्लवमिर पेस्ज्को (लेचिया जिदान्स्क), पियोटर जिलिन्स्की (नाप्लेस) र राफल कुर्जावा (गोर्निक जाबर्जी) ।

स्ट्राइकर : लुकास्ज टियोडोर्कजिक (एन्डरलेच), आर्कडिउज मिलिक (नाप्लेस), रोबर्ट लेवान्डोवस्की (बायर्न म्युनिख) र डाविड कोवनास्की (साम्पडोरिया) ।

प्रशिक्षक : एडम नावल्का ।

पोल्यान्डको खेल

समूह ‘एच’

जुन १९ : सेनेगलविरुद्ध

जुन २४ कोलम्बियाविरुद्ध

जुन २८ : जापानविरुद्ध

पोल्यान्ड

विश्वकप सहभागिता : आठौं पटक

उपलब्धि : तेस्रो स्थान

फिफा वरीयता : ८