विश्वकप झल्काउने नोट

विश्वकप झल्काउने नोट

आगामी विश्वकप फुटबललाई ध्यानमा राखी आयोजक राष्ट्र रुसले कागजी मुद्रा प्रचलनमा ल्याएको छ । एक सय रुबल दरको उक्त नोट विश्वकपको २१औं संस्करणलाई अविस्मरणीय बनाउने उद्देश्यले प्रचलनमा ल्याइएको रुसी अधिकारीहरूले जनाएका छन् । विश्वकपको २१औं संस्करण आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसका ११ वटा सहरमा आयोजना हुँदैछ ।

उक्त नोटले थुप्रै विशेषता बोकेको अधिकारीहरूले जनाएका छन् । सम्बद्ध रुसी अधिकारी आर्काडी त्राचुकका अनुसार रुसी मुद्राको इतिहासमा पूर्ण रूपमा पोलिमरबाट तयार पारिएको यो पहिलो नोट हो । यसैगरी रुसका कुनै पनि राष्ट्रप्रमुखको तस्बिर प्रयोग नगरिएको पनि यो पहिलो रुसी मुद्रा हो।

उक्त नोटमा फुटबल समाएका एकजना बालकले तत्कालीन सोभियत संघका चर्चित गोलरक्षक लेभ यासिनलाई हेरिरहेको चित्र छापिएको छ । यसैगरी नोटको अर्कोतर्फ रुसको नक्साभित्र मध्य भागमा फुटबलको चित्र अंकित गरिएको छ । यसैगरी आगामी विश्वकप आयोजना हुने रुसका ११ वटा सहरको नाम पनि उल्लेख गरिएको छ । नोटमा ट्रफीसहित फिफा वल्र्ड कप-२०१८ मा अंकित गरिएको छ ।