मोरक्कोको आत्मघाती गोलले इरान विजयी

रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शुक्रबार दोस्रो दिनको दोस्रो खेलमा मोरक्कोको आत्मघाती गोलले इरान विजयी भएको छ । इन्जुरी समयमा मोरक्कोबाट आत्मघाती गोल भएको हो । अधिकांश समय बल नियन्त्रणमा लिएको मोरक्कोका अजिज बोहादुजले ९०+४ मिनेटमा आत्मघाती गोल गरेपछि एसियाली मुलुक इरानले पहिलो जित हात पारेको हो । इरानले पाएको फ्रिकिकमा मोरक्कोका अजिजले हेडिङमार्फत आत्मघाती गोल गरेका थिए ।

मोरक्कोलाई हराएको इरान समूह बिमा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । मोरक्कोले २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो । यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकप खेलेयता मोरक्को छनौट भएको थिएन । यी दुई टिम पाँचौंपटक आमनेसामने भएका हुन्। यसअघिका चार भिडन्तमध्ये तीनमा मोरक्कोले जीत हात पारेको थियो । अन्तिमपटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भने इरानले बाजी मारेको थियो।

सुरुअाती समयमा मोरक्को टिम इरानमाथि हाबी थियो । बल पास दिनमा पनि मोरक्कोका खेलाडी कुशल देखिएका थिए । खेलको १९ औं मिनेटमा मोरक्कोको कडा प्रहारलाई इरानका किपरले उत्कृष्ट बचाउ गरेका थिए । २६ औं मिनेटमा मोरक्कोको कडा प्रहारलाई इरानका डिफेन्डरले रोकेका थिए । किपर बिट भइसकेको अवस्थामा डिफेन्डरले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको अन्त्यतिर इरानका कडा प्रहारलाई मोरक्कोका रक्षककले बचाउ गरे । खेलको ४३औं मिनेटमा इरानका खेलाडीले वान भर्सेस वान बललाई गोल गर्न सकेनन् ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको एसियाली मुलुक इरानले केही राम्रा गोल गर्ने मौका खेर फाल्यो । बल पोजिसनमा पछि परेको इरानले मोरक्कोको पोष्टमा ८ पटक प्रहार गर्‍यो भने मोरक्कोले १० पटक प्रहार गर्‍यो । खेलको ७८ औं मिनेटमा मोरक्कोको कडा प्रहार इरानी किपरले रोकेका थिए ।