क्रिस्टियानो चम्किएपछि पोर्चुगल स्पेनलाई बराबरीमा रोक्न सफल

रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो चम्किएपछि पोर्चुगलले उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ । रोनाल्डोले रसिया विश्वकपको पहिलो ह्याट्रिक गरेपछि स्पेनविरुद्ध समूह बी को खेलमा पोर्चुगलले एक अंक लिन सफल भएको हो ।

खेलमा अग्रता समेत दिलाएका रोनाल्डोले एक गोल पेनाल्टीबाट, एक गोल काउन्टर एट्याक र अर्को गोल फ्री किकबाट गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो गोल तेस्रो मिनेटमा गरेका रोनाल्डोले खेलको ८७ औँ मिनेटमा पाएको फ्री किकबाट उत्कृष्ट गोल गर्दै यो विश्वकपको पहिलो ह्याट्रिक गरेका हुन् । स्पेनको डी बक्स भन्दा केही मिटर बाहिरबाट हानेको फ्री किक बल स्पेनी किपर डेभिड डेयालाई झुक्याउँदै जाली चुम्न पुगेको हो ।

दोस्रो हाफको ५५ औँ मिनेटमा डिएगो कोस्टाले स्पेनका लागि गोल गरेका थिए । त्यसपछि नाचोले ५८ औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । कोस्टाले यसअघि २४ औँ मिनेटमा पनि गोल गरेका थिए । त्यसअघि रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउँदै गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गरेका रोनाल्डोले खेलको ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै पोर्चुगोललाई २–१ को अग्रता दिलाएका थिए ।

४४ औँ मिनेटमा रोनाल्डोले डी बक्स नजिकैबाट हानेको शक्तिशाली प्रहार स्पेनका किपर डेभिड डेयाको हातमा लागेर टाङ्गमुनिबाट छिरेर जालीमा पुगेको थियो । यो खेलको गोलसँगै रोनाल्डो पोर्चुगलबाट चार विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि भएका छन् ।

पोर्चुगलले तेस्रो मिनेटमै गोल गरेपछि दबाबमा परेको स्पेनका लागि डिएगो कोस्टाले गोल गरेका थिए । कोस्टाले काउन्टर एट्याकमा खेलको २४ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

पोर्चुगलले स्पेनविरुद्ध खेलको तेस्रो मिनेटमै रोनाल्डोको पेनाल्टी गोलमा सनसनीपूर्ण अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै डी बक्स भित्र नाचोले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डो आफैँले गोल गरेर स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेका थिए ।

नाचोले डी बक्सभित्र रोनाल्डोलाई खराब ट्याकल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । डी बक्समा लडाएपछि रोनाल्डोले स्पेनिस किपर डेभिड डेयालाई छक्याउँदै अर्को दिशामा बललाई जाली चुमाएका थिए ।

संयोग कस्तो भने रोनाल्डोको व्यक्तिगत ५१ औँ हयाट्रिक विश्वकपमा पनि ५१ औँ ह्याट्रिकका रुपमा दर्ता भएको छ । स्पेन र पोर्चुगलले अंक बाँडेपछि यो समूहमा तीन अंकसहित इरान शीर्ष स्थानमा रहेको छ । पराजित भएको मोरक्को भने अंकबिहीन रहँदै पुच्छरमा छ । स्पेनभन्दा तुलनात्मक रुपमा कमजोर मानिएको पोर्चुगलले स्पेनलाई कडा चुनौती दिएको छ।