अर्जेन्टिनासँग अंक खोस्यो आइसल्याण्डले

लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वकपको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डको डिफेन्सिफ खेलको आलोचना गर्दै पोष्ट अगाडि बस राखेको बताएका थिए । विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ । दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो आइसल्याण्डले । आजको खेलमा समेत आइसल्याण्डले राम्रो खेल प्रदर्शन गरेको छ ।

शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ । अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् । दोस्रो हाफमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर,लिओनल मेस्सी  गोल गर्न चुके । आइसल्यान्डमाथी निरन्तर दबाब कायम गरेपनि अर्जेन्टिनाले थप गोल गर्न सकेन। धेरैले अर्जेन्टिनाको लागि सहज  जीत हुने अनुमान गरिएपनि आइसल्यान्डका खेलाडीले अर्जेन्टिनी आक्रमणलाई निरन्तर असफल पारे ।

नतिजाले विश्वकपको उपाधि जित्दै पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा दर्ज हुने लियोनल मेसीको अन्तिम प्रयासमाथि पनि ठूलो धक्का पुरायो । क्लब फुटबलमा बार्सिलोनाबाट कुनै पनि कीर्तिमान आफ्नो नाममा ल्याउन बाँकी नछोडेका मेसी उमेर र राष्ट्रिय टोलीबाट निरन्तरको असफलताका कारण सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। ब्राजिलमा भएको गत २०औं विश्वकपमा उनले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए। तर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन्। अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो। त्यसपछि भएको कोपा अमेरिकी फुटबलको फाइनलमा समेत चिलीसँग पराजित हुँदै उपाधिबाट फेरि वञ्चित हुँदा मेसीले सन्न्यासकै घोषणा गरेका थिए। उनी सन्न्यासको निर्णय फिर्ता लिँदै फेरि राष्ट्रिय टोलीमा फर्किएका हुन्। फेरि पनि आफ्नै अविश्वसनीय प्रदर्शनसँगै उनले अर्जेन्टिनालाई रुस विश्वकपसम्म पुर्‍याएका छन् । यद्यपि अर्जेन्टिना यसपटक पनि उपाधिबाट चुकेमा राष्ट्रिय टोलीबाट मेसीको खेलजीवन उपाधिविहीन रहने निश्चित छ।