सर्बियाले कोस्टारिकालाई हरायो

विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई हराएको छ । प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा अलेक्जेण्डर कोलारोभले गरेको गोल नै सर्बियाको जितमा निर्णायक बन्यो । कोष्टारिका लागि ११ नम्बरका सर्वियाली कप्तान एलेक्सान्दर कोलासोभले फ्रिकिकबाट शानदार गोल गरेका थिए । कोष्टारिकाका फ्रान्सिष्को कोल्भाले फउल गरेपछि सर्वियाले फ्रिकिक पाएको थियो। सोही फ्रिकिकलाई कोलासोभले गोलमा परीणत गरेका थिए ।

पहिलो हाफमा दुबै टोलीले एकअर्काको पोस्टमा आक्रमण गरे पनि गोल गर्न भने सकेनन् । खेल अवधिभर कोस्टारिकाले केही उत्कृष्ट मौका गुमाएको थियो। पाँचौ पटक विश्वकपमा सहभागी कोस्टारिका सर्बियन टिमको तुलनामा सन्तुलित देखिए पनि प्रभाव पार्न सकेन । फिफा वरियतामा २३ औं स्थानमा रहेको कोस्टारिकालाई ३४ औं स्थानमा रहेको सर्बियाले निराश पारिदियो । कोस्टारिक र सर्बिया यसअघि एकपटक पनि विश्वकपमा आमने सामने भएका थिएनन् ।

खेलमा ५३ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको कोस्टारिकाले प्रहार गरेका १० सटमा ३ सट मात्रै पोस्टको दिशामा थिए । सर्बियाले प्रहार गरेका १० सटमध्ये ३ सट पोस्टको दिशामा थिए । कोस्टारिका पाँचौ पटक विश्वकपमा खेल्दैछ । यो टोली सन् १९९० र २०१४ मा नकआउट चरणसम्म पुग्न सफल भएको थियो । उसले हालसम्म विश्वकपको चार मध्ये तीनवटा शुरुवाती खेलमा जीत हासिल गर्न सफल भएको थियो । तर, अहिले उसको विजयी यात्रामा पूर्णविराम लागेको छ ।यता चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा कोस्टारिकाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। यसपाली पनि त्यही उपलब्धिलाई निरन्तरता दिने लक्ष्यका टोलीको रहेको छ ।

सर्बियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। युरोपेली छनोट प्रतियोगिता अन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले विजेताको हैसियतमा रूसको टिकट पक्का गरेको हो । युगोस्लाभियाको नामबाट १९३० कै संस्करणबाट विश्वकपमा सहभागिता जनाएको युरोपेली टोलीले सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेलेको हो । २००६ मा स्वतन्त्र राष्ट्रको हैसियत बनाएको सर्बियाले विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो ।

समूह ‘ई’ कै दोस्रो खेलमा राति पौने १२ बजे ब्राजिल र स्वीट्जरल्याण्ड खेल्दै छन् ।