साविक विश्वबिजेता जर्मनी मेक्सिकोसँग पराजित

साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा  जर्मनी मेक्सिकोसँग १-० ले पराजित भयो ।मेक्सिकोलाई जिताउन खेलको ३५ औं मिनेटमा हिरभिङ लोजानोले गोल गरे । खेलको सुरूदेखी नै दुबै टोलीले निरन्तर एकअर्काको पोस्टमा आक्रमण गर्दै आक्रमकरूपमा खेलेका थिए।

खेलको अन्तिमसम्म पनि जर्मनले हारबाट बच्न निरन्तर आक्रमण गरे पनि उनीहरूको प्रहारले सहि दिशा लिन सकेन। त्यस्तै मेक्सिकोले पनि केही महत्वपूर्ण मौका गुमाएको थियो।  उसले पनि गोल थप्न सकेन । जर्मनीले पहिलो हाफमाा भन्दा दोस्रो हामा गोलका धेरै अवसरहरु सिर्जना गर्‍यो । तर गोल गर्नबाट भने चुक्यो ।

६० प्रतिशतसम्म बलमा नियन्त्रण राखेको जर्मनीले गोल गर्ने झण्डै २० अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । जर्मनीका खेलाडीको कतिपय प्रहार मेक्सिकोका गोलकिपर ओचावाले बचाएका थिए भने केही प्रहार बाहिरिएको थियो । यसअघि विश्वकपमा जर्मनी र मेक्सिको तीनपटक भिडेका थिए । तर, तीनै खेलमा जर्मनी विजयी भएको थियो । त्यस्तै यसअघि दुई टोली सबै प्रतियोगितामा ११ पटक आमने सामने भएका थिए जसमा मेक्सिकोले एकमा मात्र जीत हासिल गरेको थियो ।

अप्रत्यासित रुपमा पछि परेको जर्मनीले खेलको दोस्रो हाफमा मेक्सिकोमाथि निरन्तर दबाब राखेको थियो । विपक्षीमा खेलमा १६ पटक आक्रमण गरे पनि जर्मनीले गोल भने गर्न सकेन । जर्मनीले विश्वकपमा पहिलो खेल हारेको सन् १९८२ पछि पहिलो पटक हो । पछिल्लो पटक अल्जेरियासँग पहिलो खेलमा पराजित भए पनि जर्मनीले अन्ततः फाइनलसम्मको यात्रा तय गरेको थियो । खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेक्सिकोका राफायल मारक्वेज पाँचवटा फरक विश्वकप खेल्ने मात्र तेस्रो खेलाडी बनेका छन् । यसअघि मेक्सिकोका एन्टोनियो कार्बाजाल र जर्मनीका लोथर माथायसले उपलब्धि हासिल गर्न सफल भएका थिए ।