रोनाल्डोको गोलमा पोर्चुगल विजयी

विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह ‘बी’को आफ्नो दोस्रो खेलमा पोर्चुगल विजयी भएको छ। अफ्रिकी टोली मोरक्कोविरुद्ध पोर्चुगलले पहिलो जित दर्ता गरेको हो। पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

पोर्चुगलका किष्टियानो रोनाल्डोले खेल सुरु भएको चार मिनेटमै मोरक्कोविरुद्ध गोल गरे। त्यही गोल नै निर्णयक बन्यो। रुस विश्वकपमा रोनाल्डोको यो व्यक्तिगत चौथो गोल हो। यसअघि पहिलो खेलमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए। मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो ।  स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।

उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् । यो जितसँगै पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनेको छ। स्पेन र इरानबीचको खेलले पोर्चुगलको दोस्रो चरणको सम्भावनालाई नयाँ मोड दिनेछ। 

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए । इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय  नियन्त्रण राखेर हार भोगेको थियो । राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।

मोरक्को र पोर्चुगलबीच एउटा गज्जबको संयोग छ। मोरक्कोले रुससहित पाँचवटा विश्वकप फुटबलमा गरी १४ खेल खेल्दा केवल दुई खेलमा जित हात पारेको छ।  दुईमध्ये पहिलो जित पोर्चुगलविरुद्ध दर्ता गरेको थियो। सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा पोर्चुगलविरुद्ध आफ्नो टोलीले जित हात पारेको थियो। त्यसताका मोरक्कोले पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो। ३२ वर्ष अघिको पोर्चुगल र मोरक्कोको इतिहासलाई रोनाल्डोले उल्टाएका हुन्। पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।