उरुग्वे अन्तिम १६ मा

दुई पटकको विश्वकप विजेता उरुग्वेले बुधबार राति खेलिएको खेलमा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा आफूलाई सुरक्षित गरेको हो। यसअघि मंगलबार राति खेलिएको खेलमा रुसले इजिप्टलाई ३-१ गोलले पाखा लगाएको थियो। समूह ‘ए’ मा सहभागी चारवटै टोलीले दुई÷दुई खेल खेलिसक्दा उरुग्वेले लगातार आफ्नो दुबै खेल जित्दै ६ अंक बनाएको छ।

आफ्ना दुबै खेलमा पराजित भएका साउदी र इजिप्ट भने समूहगत चरणबाटै घर फर्किने निश्चित भएको छ।  उरुग्वेले पहिलो खेलमा इजिप्टमाथि १-० को प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो।साउदीविरुद्घको खेलको २३औं मिनेटमा उरुग्वेका लागि प्रभावशाली खेलाडी लुइस स्वारेजले हेडमार्फत गोल गरेका हुन्। उनले कार्लोस सान्चेजले बायाँ कर्नरबाट डीबक्सभित्र दिएको कलात्मक पासलाई सदुपयोग गरे। स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने ३१ वर्षीय स्वारेजका लागि राष्ट्रिय टोलीबाट गरेको यो गोल विषेश रह्यो। उनले उरुग्वेका लागि खेलेको यो एक सयौं खेल हो।