कोस्टाको गोलमा स्पेनको जित

यो विश्वकपको बलियो टोलीका रुपमा हेरिएको स्पेनले एसियाली टोली इरानविरुद्ध कठिन जित दर्ता गरेको छ । पोर्चुगलले मोरक्कोलाई हराएछि जित्नै पर्ने दबाबमा रहेको स्पेनले इरानलाई १–० को झिनो अन्तरले हराएको हो । पहिलो खेलमा मोरक्कोलाई हराएको इरानलाई पराजित गर्ने क्रममा स्पेनका लागि खेलको ५४ औँ मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे ।

समूह बी को पहिलो खेलमा पोर्चुगलविरुद्ध २ गोल गरेका कोस्टाले इरानविरुद्ध पनि गोल गर्न सफल भएका हुन् । पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा स्पेनका लागि कोस्टाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । इरानले खेलको ६१ औँ मिनेटमा गरेको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रीेले अफ साइड देखाउँदै मान्यता नदिएपछि इरान चुकचुकाउन बाध्य भयो । यो जितपछि स्पेनले २ खेलबाट पोर्चुगलसँगै समान ४ अंक बनाएको छ ।

यो समूहबाट अन्तिम १६ मा पुग्ने टिमको छिनोफानो अन्तिम अर्थात् तेस्रो खेलबाट हुने भएको छ । पोर्चुगल र स्पेनले २ खेलबाट समान चार अंक जोडेको अवस्थामा इरानले २ खेलबाट ३ अंक बटुलेको छ । यस्तोमा अब अन्तिम खेलमा इरानले पोर्चुगलसँग खेल्नेछ । यदि इरानले पोर्चुगललाई पराजित गरेमा ६ अंक बनाउँदै अन्तिम १६ मा पुग्नेछ । अर्कातिर पोर्चुगल भने अन्तिम खेलमा बराबरी खेले मात्रै पनि अन्तिम १६ को टिकट काट्नेछ । अर्कातिर स्पेनले पनि अगाडि बढ्न अन्तिम खेलमा मोरक्कोलाई बराबरीमा रोके पनि पर्याप्त हुनेछ । ​