फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलको समूह सी अन्तर्गतको खेलमा फ्रान्सले पेरुलाई १–० ले हराएको छ । फ्रान्सको जितमा १९ वर्षीय केलियन अम्बाप्पेले ३४ औं मिनेटमा गोल गरे । पेरिस सेन्ट जर्मेनका सुपरस्टार अमबाप्पेले एक वर्षअघि फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । एमबाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन्। पेरुविरुद्घको खेलमा गोल गर्दा एमबाप्पेको उमेर केवल १९ वर्ष एक सय ८३ दिन भएको थियो।

लगातार दुई खेलमा विजयी भएपछि फ्रान्स ६ अंक बटुल्दै समूहगत चरणको आफ्नो एक खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा पुगेको हो। तालिकाको दोस्रो स्थानमा आसिन डेनमार्कको दुई खेलबाट चार अंक छ। एक अंकसहित अस्ट्रेलिया तेस्रो स्थानमा छ। दुबै खेलमा पराजित भएको पेरु भने एक खेल खेल्न बाँकी रहँदै उपाधि होडबाट बाहिरिएको हो।खेलको प्रारम्भदेखि नै फ्रान्सलाई कडा चुनौती दिएको पेरुले ३१ औं मिनेटमा गोल गर्ने गतिलो अवसर गुमाएको थियो। स्ट्राइकर पाओलो ग्वेरेरोले क्रिस्टियन कुएभाको पासमा पोष्ट नजिकैबाट गरेको प्रहारलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले विफल बनाएका थिए।