अन्तिम १६ मा पुग्न अर्जेन्टिनाको सम्भावना न्युन,क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हरायो

विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ । क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए ।

दोस्रो हाफमा भने क्रोएसियाले ३ गोल गर्न सफल रह्यो । ५३ औं मिनेटमा अर्जेन्टिनाका गोलकिपर विली काबेलेरोको गल्तीको सदुपयोग गर्दै आन्टे रेबिचले गोल गरे । त्यस्तै ८० औं मिनेटमा लुका मोड्रिचले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारे भने खेलको अन्तिम मिनेटमा इभान राकिटिचले तेस्रो गोल थप्दै अर्जेन्टिनालाई निराश पारे ।यससंगै क्रोएसिया प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ भने अर्जेन्टिनाको सम्भावना न्युन देखिएको छ । अर्जेन्टिना अब आइसल्यान्ड र नाइजेरियाको प्रदर्शनमा पनि निर्भर हुन बाध्य रहेको छ ।पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।