इन्जुरी समयमा दुई गोल गरेपछि ब्राजिलको जित

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ । ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् । ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो  समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी खेलेर दबाबमा रहेको ब्राजिलले शुक्रबार संघर्षपूर्ण जित निकाल्दै आफूलाई समूह ईमा अंक तालिकाको शीर्ष स्थानमापुर्‍याएको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ ।

यसअघि नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्धको पेनाल्टीलाई भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएको थियो । खेलको ७९ औँ मिनेटमा नेमारलाई कोस्टारिकाको डि बक्समा लडाएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएका थिए । पेनाल्टी हान्न नेमार तयार भएको अवस्थामा भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिने निर्णयलाई उल्टाइएको थियो । त्यसपछि खेलको ८१ औँ मिनेटमा ब्राजिलका नेमार र काउटिन्होलाई रेफ्रीले एलोकार्ड देखाएका थिए ।त्यसअघि खेलको नवौँ मिनेटमा ब्राजिललाई पहिलो फ्रि किक मिलेको थियो । १० औँ मिनेटमा नेमारले फ्रि किक त हाने तर गोलमा परिणत गर्न चुके । उनी स्विट्जरल्यान्डविरुद्धको खेलमा गोलीगाँठोमा चोट लागेर घाइते भएका थिए । खेलका क्रममा २६ औँ मिनेटमा नेमारको पासमा ग्याब्रियल जिससले गोलमा परिणत त गरेर तर रेफ्रीले उनलाई अफ साइड दिए ।

कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो जसमा अन्तिम समयमा गोल खाएर विफल हुन पुग्यो । यससँगै पहिलो खेलमा सर्बियासँग हारेको कोस्टारिका स्तब्ध बनेको छ  । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् । कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन । दुबै खेल गुमाएको कोस्टारिका शून्य अंकसहित पुछारमा छ ।